पहिलो थिस्सलोनिकी २:१-२०

  • पावलले थिस्सलोनिकामा गरेको सेवा (१-१२)

  • थिस्सलोनिकीहरूले परमेश्‍वरको वचन स्विकारे (१३-१६)

  • पावल थिस्सलोनिकीहरूलाई भेट्‌ने तीव्र इच्छा गर्छन्‌ (१७-२०)

२  हे भाइ हो, हामीले तिमीहरूसित गरेको भेटघाट बेकार गएन भनेर तिमीहरूलाई पक्कै थाह छ।+ २  किनकि फिलिप्पीमा दुःख अनि बेइज्जती भोगे तापनि+ परमेश्‍वरको मदत पाएर हामीले कसरी साहस बटुल्यौँ र घोर विरोधको बाबजुद* तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनायौँ, त्यो तिमीहरूलाई थाह छ।+ ३  किनकि हामी तिमीहरूलाई कुनै गलत वा अशुद्ध कुराको आधारमा वा कुनै छली मनसायले अर्ती दिँदैनौँ ४  तर परमेश्‍वर, जसले हाम्रो हृदय जाँच्नुहुन्छ,+ उहाँले नै हामीलाई जाँचेर सुसमाचार सुम्पिन योग्य साबित गर्नुभएको हुनाले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई प्रसन्‍न पार्न हामी प्रचार गर्छौँ। ५  भनौँ भने तिमीहरूलाई थाहै छ, हामीले न कहिल्यै तिमीहरूको चापलुसी गऱ्‍यौँ न त केही हासिल गर्ने लोभमा तिमीहरूसामु ढोँग नै रच्यौँ;+ यसको साक्षी परमेश्‍वर हुनुहुन्छ! ६  हुनत ख्रिष्टका प्रेषितहरू* भएको नाताले हामी तिमीहरूको निम्ति खर्चिलो बोझ बन्‍न सक्थ्यौँ तर हामीले मानिसहरूबाट प्रशंसा खोजेनौँ, अहँ, न तिमीहरूबाट न त अरूहरूबाटै।+ ७  बरु जसरी दूध खुवाउने आमाले आफ्नो नवजात शिशुको स्याहारसुसार गर्छिन्‌, त्यसरी नै हामीले पनि तिमीहरूसित कोमल व्यवहार गऱ्‍यौँ। ८  तिमीहरूको निम्ति हामी यत्ति धेरै कोमल स्नेहले भरिएका थियौँ कि तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार* थियौँ + किनकि तिमीहरू हाम्रो निम्ति अतिप्रिय भएका थियौ।+ ९  हे भाइहरू हो, हाम्रो मेहनत र कडा परिश्रम तिमीहरूले पक्कै पनि बिर्सेका छैनौ। तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर दिनरात काम गर्दै+ हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गऱ्‍यौँ। १०  तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूसित व्यवहार गर्दा हामी कत्ति वफादार, असल अनि दोषरहित थियौँ, तिमीहरू आफै त्यसको साक्षी छौ अनि परमेश्‍वर पनि त्यसको साक्षी हुनुहुन्छ। ११  एक जना बुबाले+ आफ्नो छोराछोरीलाई गरेजस्तै हामीले पनि तिमीहरू हरेकलाई कसरी अर्ती र सान्त्वना दियौँ अनि सम्झाइबुझाइ गऱ्‍यौँ,+ त्यो तिमीहरूलाई राम्ररी थाह छ १२  किनकि परमेश्‍वर, जसले तिमीहरूलाई आफ्नो राज्य+ अनि महिमाको भागीदार हुन बोलाउँदै हुनुहुन्छ,+ उहाँको सेवक कहलाइन योग्य जीवन तिमीहरूले बिताएको+ हामी चाहन्थ्यौँ। १३  त्यसैले हामी निरन्तर परमेश्‍वरलाई धन्यवाद पनि चढाइरहन्छौँ + किनकि तिमीहरूले हामीबाट सुनेको परमेश्‍वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्‍वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्‍यौ। अनि तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूबीच त्यही वचनले काम पनि गरिरहेको छ। १४  हे भाइ हो, तिमीहरूले यहुदियामा भएका परमेश्‍वरका मण्डलीहरू, जो ख्रिष्ट येसुसित एकतामा छन्‌, तिनीहरूको अनुकरण गऱ्‍यौ किनकि तिनीहरूले यहुदीहरूको हातबाट जस्तो दुःखकष्ट भोगिरहेका छन्‌, तिमीहरूले पनि आफ्ना देशवासीहरूको हातबाट त्यस्तै दुःखकष्ट भोग्यौ।+ १५  ती यहुदीहरूले भविष्यवक्‍ताहरू अनि प्रभु येसु ख्रिष्टलाई समेत मारे+ र हाम्रो खेदो गरे।+ तिनीहरू परमेश्‍वरलाई मन पर्ने होइन तर सबै मानिसको अहित हुने काम गर्छन्‌। १६  जातिजातिका मानिसहरूको उद्धार गर्ने सन्देश उनीहरूलाई प्रचार गर्नदेखि तिनीहरू हामीलाई रोक्न खोज्छन्‌।+ यसो गरेर तिनीहरू आफ्नै पापको घैँटो भर्दै छन्‌। त्यसैले तिनीहरूमाथि परमेश्‍वरको क्रोध पोखाउने समय अन्ततः आइपुगेको छ।+ १७  हे भाइ हो, केही समयका लागि तिमीहरूदेखि टाढा हुनुपर्दा (दूरीको हिसाबले टाढा भए तापनि मनमा त तिमीहरू हामीसितै थियौ) तिमीहरूलाई भेट्‌ने तीव्र इच्छा भएकोले हामीले तिमीहरूलाई भेट्‌न भरमग्दुर कोसिस गऱ्‍यौँ। १८  यसैकारण हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ। हो, म पावलले तिमीहरूकहाँ आउन एक चोटि होइन, दुई-दुई चोटि प्रयास गरेँ तर सैतानले हाम्रो बाटो छेक्यो। १९  हुन पनि हाम्रा प्रभु येसुको उपस्थितिको बेला उहाँसामु हाम्रो आशा, खुसी अनि विजयको मुकुट को हुनेछ? के तिमीहरू नै हुनेछैनौ र?+ २०  वास्तवमा तिमीहरू नै हाम्रो महिमा अनि खुसी हौ।

फुटनोटहरू

वा सम्भवतः “ठूलो सङ्‌घर्ष गर्दै।”
शब्दावली हेर्नुहोस्‌।
शा., “असाध्यै खुसी।”