सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो नयाँ मण्डलीसित कसरी घुलमिल हुन सक्नुहुन्छ?

आफ्नो नयाँ मण्डलीसित कसरी घुलमिल हुन सक्नुहुन्छ?

एलेन * यसो भन्छन्‌, “मलाई बसाइँ सरेर नयाँ ठाउँमा आउन डर लागिरहेको थियो। नयाँ साथी बनाउन सक्दिनँ होला वा अरूले मलाई आफ्नो साथी बनाउँदैनन्‌ होला जस्तो लाग्थ्यो।” तिनी १,४०० किलोमिटर टाढा पर्ने इलाकामा बसाइँ सरेका थिए। तिनी आफ्नो नयाँ मण्डलीसित घुलमिल हुन प्रयास गर्दै छन्‌।

नयाँ मण्डलीमा सर्दा तपाईंलाई पनि डर लागेको थियो होला। नयाँ मण्डलीसित घुलमिल हुन तपाईं के गर्न सक्नुहुन्छ? घुलमिल हुन आफूले सोचेभन्दा गाह्रो भएको महसुस गर्नुभएको छ भने के गर्न सक्नुहुन्छ? अर्कोतर्फ, बसाइँ सरेर आफ्नो मण्डलीमा आएकाहरूलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

नयाँ ठाउँमा घुलमिल हुन अनि रमाउन के गर्न सक्नुहुन्छ?

यो उदाहरण विचार गर्नुहोस्‌: रूखलाई एक ठाउँबाट अर्को ठाउँमा सारिंदा त्यसलाई निकै गाह्रो हुन्छ। सजिलै अर्को ठाउँमा सार्न सकियोस्‌ भनेर रूखको जराको थुप्रै भाग काटेर फाल्ने गरिन्छ। नयाँ ठाउँमा सारेपछि त्यसले तुरुन्तै नयाँ जरा उमार्न थाल्नुपर्छ। त्यसैगरि, नयाँ मण्डलीमा सर्दा तपाईंले पनि सुरुमा केही तनाव महसुस गर्नुभयो होला। पहिलाको मण्डलीमा राम्रा साथीहरू बनाएर अनि राम्रो आध्यात्मिक तालिकाअनुसार चलेर तपाईंले “जरा” गाड्‌नुभएको थियो होला। तर अब भने नयाँ ठाउँमा घुलमिल हुन तपाईंले नयाँ जरा उमार्नुपर्ने हुन्छ। यसो गर्न तपाईंलाई केले मदत गर्छ? बाइबल सिद्धान्तहरू लागू गरेर। आउनुहोस्‌, केही सिद्धान्त विचार गरौं।

नियमित रूपमा परमेश्‍वरको वचन पढ्‌ने मानिस ‘खोलाको धारको छेउमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।’भज. १:१-३.

रूखलाई स्वस्थ रहिरहन पानीको आवश्‍यकता परे जस्तै आध्यात्मिक रूपमा बलियो भइरहन हामीले नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गर्नु एकदमै जरुरी छ। त्यसैले हरेक दिन बाइबल पढ्‌नुहोस्‌ अनि नियमित रूपमा सभाहरूमा उपस्थित हुनुहोस्‌। पारिवारिक उपासना र व्यक्‍तिगत अध्ययन गर्ने राम्रो बानी कायम राख्नुहोस्‌। यहोवासित बलियो सम्बन्ध कायम गर्न तपाईं पहिलाको मण्डलीमा हुँदा जे-जे गर्नुहुन्थ्यो, नयाँ मण्डलीमा पनि तपाईंले तिनै कुरा गरिरहनुपर्छ।

“अरूलाई उत्साह दिने व्यक्‍तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ।”हितो. ११:२५, NRV.

प्रचारकार्यमा पुरापुर भाग लिनुभयो भने तपाईंले ताजा महसुस गर्नुहुनेछ अनि नयाँ ठाउँमा छिट्टै घुलमिल हुन सक्नुहुनेछ। एल्डरको रूपमा सेवा गरिरहेका भाइ केभिन यसो भन्छन्‌, “नयाँ मण्डलीमा सरेको केही समय नबित्दै म र मेरी पत्नीले सहायक अग्रगामी सुरु गऱ्‍यौं। त्यसले गर्दा हामीले नयाँ मण्डलीमा घुलमिल हुन धेरै मदत पायौं। हामीले थोरै समयमा नै भाइबहिनीहरू अनि अग्रगामीहरूलाई चिन्‍न सक्यौं अनि नयाँ इलाकाबारे पनि अझ धेरै कुरा थाह पायौं।” रोजर आफ्नो घरदेखि १,६०० किलोमिटरभन्दा टाढा पर्ने इलाकामा बसाइँ सरेका थिए। तिनी यसो भन्छन्‌, “नयाँ ठाउँमा छिट्टै घुलमिल हुने सबैभन्दा राम्रो तरिका भनेको प्रचारकार्यमा जति सक्दो धेरै भाग लिएर हो। अनि मण्डलीको जुनसुकै कामको लागि पनि आफू उपलब्ध छु भनेर एल्डरहरूलाई थाह दिनुहोस्‌। जस्तै, राज्यभवन सफा गर्ने, कुनै कारणवश सभामा कसैले आफ्नो असाइनमेन्ट दिन सकेनन्‌ भने आफूले त्यो असाइनमेन्ट पूरा गरिदिने वा कोही भाइबहिनीलाई सभामा आउन-जान मदत गर्ने। आत्मत्यागी मनोभाव देखाउँदा मण्डलीका भाइबहिनीले तपाईंसित घुलमिल हुन सजिलो मान्‍नेछन्‌।”

“ठूलो मनका होओ।”२ कोरि. ६:१३.

भ्रातृप्रेम देखाउने सन्दर्भमा ठूलो मनको हुनुहोस्‌। मेलिसा र तिनको परिवार नयाँ मण्डलीमा सरेका थिए। त्यहाँ पुग्नेबित्तिकै तिनीहरूले नयाँ साथी बनाउन थाले। तिनी भन्छिन्‌, “हामी सभाअघि अनि पछि एकअर्कासित कुरा गर्थ्यौं। यसरी हामीले सामान्य अभिवादन मात्र नभई अरू कुराकानी पनि गर्न सक्यौं।” यसो गर्नाले तिनको परिवारले छिट्टै भाइबहिनीको नाम याद गर्न सके। तिनीहरूले ठूलो मनको हुँदै मण्डलीका भाइबहिनीलाई अतिथिसत्कार पनि गरे, जसले गर्दा भाइबहिनीसितको सम्बन्ध बलियो भयो। मेलिसा अझै यसो भन्छिन्‌, “आध्यात्मिक क्रियाकलापमा र अन्य गतिविधिमा सामेल हुन सकौं भनेर हामीले भाइबहिनीको फोन नम्बर लियौं र हाम्रो फोन नम्बर पनि उहाँहरूलाई दियौं।”

तपाईंलाई नयाँ मानिसहरूसित कुराकानी गर्न साह्रै अप्ठ्यारो लाग्छ भने स-सानो कुरादेखि सुरु गर्न सक्नुहुन्छ। जस्तै, मुस्कुराउनुहोस्‌। नयाँ मानिसलाई भेट्‌दा मुस्कुराउन मन नलागे पनि मुस्कुराउनुहोस्‌। तपाईंको मुस्कान देखेर अरू व्यक्‍तिहरू तपाईंसित नजिकिनेछन्‌। बाइबल भन्छ, “हँसिलो मुखले मनमा आनन्द दिन्छ।” (हितो. १५:३०) आफू हुर्केको ठाउँबाट टाढा बसाइँ सरेकी रेचल यसो भन्छिन्‌, “मलाई अरूसित कुरा गर्न असाध्यै लाज लाग्छ। नयाँ मण्डलीमा भाइबहिनीसित कुरा गर्न त्यति मन नलागे पनि कहिलेकाहीं जबरजस्ती कुरा गर्न जान्छु। राज्यभवनमा कोही व्यक्‍ति कसैसित नबोली आफ्नो कुर्सीमा बसिरहेको देख्दा ‘ऊ पनि मजस्तै लजालु व्यक्‍ति होला’ भन्ठान्छु र ऊसित कुरा गर्न जान्छु।” हरेक सभाको अघि वा पछि कोही नयाँ व्यक्‍तिसित कुराकानी गर्ने लक्ष्य राखे कसो होला?

अर्कोतर्फ, तपाईंलाई नयाँ व्यक्‍तिहरूसित भेट्‌दा सुरुको केही हप्ता त रमाइलो लाग्छ होला। तर समय बित्दै जाँदा त्यस्तो उत्साह हराएर जान सक्छ। त्यस्तो बेला तपाईंले नयाँ साथीहरू बनाउन प्रयास गरिरहनुपर्ने हुन सक्छ।

रूखलाई एक ठाउँबाट अर्को ठाउँमा सारिंदा त्यसलाई निकै गाह्रो हुन्छ। तर सारिसकेपछि भने नयाँ जरा पलाउँछ

नयाँ ठाउँमा घुलमिल हुन समय चाहिन्छ

नयाँ वातावरणमा जरा गाड्‌न कुनै-कुनै रूखलाई धेरै समय लाग्न सक्छ। त्यसैगरि नयाँ मण्डलीमा घुलमिल हुन कसै-कसैलाई समय लाग्न सक्छ। नयाँ मण्डलीमा सर्नुभएको केही समय भइसक्यो तर अझै पनि घुलमिल हुन गाह्रो महसुस गरिरहनुभएको छ भने यी बाइबल सिद्धान्तहरू लागू गर्न सक्नुहुन्छ:

“आओ, हामी हरेस नखाई असल काम गरिरहौं, किनकि थाकेनौं भने हामीले ठीक समयमा कटनी गर्नेछौं।” गला. ६:९.

नयाँ ठाउँमा घुलमिल हुन सोचेभन्दा धेरै समय लाग्न सक्छ, त्यसैले आफूलाई पर्याप्त समय दिनुहोस्‌। उदाहरणको लागि, गिलियड स्कुलबाट तालिम पाएका धेरैजसो मिसनरी नयाँ ठाउँमा आएपछि केही वर्षसम्म आफ्नो देश फर्कंदैनन्‌। यसो गर्दा तिनीहरूले स्थानीय भाइबहिनीसित बलियो सम्बन्ध गाँस्न सक्छन्‌ अनि नयाँ ठाउँको रहनसहनमा घुलमिल हुन सक्छन्‌।

नयाँ ठाउँमा घुलमिल हुन समय लाग्छ भनेर धेरै पटक बसाइँ सरिसकेका आलेहान्द्रोले बुझेका छन्‌। तिनी यसो भन्छन्‌, “गएको पटक बसाइँ सर्दा मेरी पत्नीले यसो भनेकी थिइन्‌, ‘मेरा सबै साथीहरू पहिलाको मण्डलीमा छन्‌!’” दुई वर्षअघि त्यो मण्डलीमा सरेर आउने बेलामा पनि उनले त्यही कुरा भनेकी थिइन्‌ भनेर आलेहान्द्रोले उनलाई सम्झाए। तर त्यो दुई वर्षमा तिनकी पत्नीले नयाँ मण्डलीमा पनि साथीहरू बनाएकी थिइन्‌ अनि पहिला नचिनेका व्यक्‍तिहरू अहिले तिनको नजिकका साथीहरू भएका थिए।

“उहिले-उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध, किनभने त्यो ता मूर्ख सवाल हो।”उप. ७:१०.

नयाँ मण्डलीलाई पुरानो मण्डलीसित तुलना नगर्नुहोस्‌। जस्तै, नयाँ मण्डलीका भाइबहिनी अलि लजालु स्वभावका वा धेरै कुरा गर्न मन पराउने स्वभावका हुन सक्छन्‌। तिनीहरूको राम्रो गुणमा ध्यान दिनुहोस्‌ किनभने तपाईं पनि अरूले आफ्नो राम्रो गुणमा ध्यान दिएको चाहनुहुन्छ। नयाँ ठाउँमा सरेपछि कोही-कोही आफैलाई यस्तो प्रश्‍न सोध्न बाध्य भएका छन्‌, ‘के म साँच्चै “सबै भाइहरूलाई” प्रेम गर्छु?’—१ पत्रु. २:१७.

“मागिरहो अनि तिमीहरूलाई दिइनेछ।”लूका ११:९.

मदतको लागि प्रार्थना गरिरहनुहोस्‌। एल्डरको रूपमा सेवा गरिरहेका डेभिड यसो भन्छन्‌, “आफ्नै बलबर्कतमा सबै गर्न सक्छु भन्‍ने नसोच्नुहोस्‌। थुप्रै कुरा हामी यहोवाको मदत पाएर मात्र गर्न सक्छौं। त्यसैले यहोवालाई प्रार्थना गर्नुहोस्‌!” माथि उल्लेख गरिएकी रेचल पनि यसो भन्छिन्‌, “मण्डलीका भाइबहिनीबाट अलिकति टाढा भएको जस्तो महसुस भएमा हामी श्रीमान्‌-श्रीमती यहोवालाई यसरी तोकेरै प्रार्थना गर्छौं, ‘भाइबहिनीलाई हामीसित नजिकिन गाह्रो हुने केही कुरा गरिरहेका छौं भने कृपया हामीलाई देखाइदिनुहोस्‌।’ त्यसपछि हामी भाइबहिनीसित अझ धेरै समय बिताउने प्रयास गर्छौं।”

आमाबुबा हो, छोराछोरीलाई नयाँ मण्डलीमा घुलमिल हुन गाह्रो भइरहेको कुरा याद गर्नुभयो भने तिनीहरूसित बसेर प्रार्थना गर्न समय निकाल्नुहोस्‌। उत्थानदायी सङ्‌गतिको लागि प्रबन्धहरू मिलाएर तिनीहरूलाई नयाँ साथी बनाउने मौका दिनुहोस्‌।

बसाइँ सरेर आएकाहरूलाई सजिलो महसुस गराउनुहोस्‌

मण्डलीमा बसाइँ सरेर आएकाहरूलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ? तिनीहरूको राम्रो साथी बन्‍न सुरुदेखि नै प्रयास गर्नुहोस्‌। तपाईं बसाइँ सरेर आउनुभएको भए अरूले तपाईंको लागि के-के गरिदिएको चाहनुहुन्थ्यो, विचार गर्नुहोस्‌ अनि तिनीहरूको लागि पनि त्यसै गरिदिनुहोस्‌। (मत्ती ७:१२) ती नयाँ भाइबहिनीलाई आफ्नो पारिवारिक उपासनामा बस्न वा सँगै JW ब्रोडकास्टिङ हेर्न बोलाउन सक्नुहुन्छ कि? आफूसँगै प्रचारमा लैजान सक्नुहुन्छ कि? खाना खान बोलाउन सक्नुहुन्छ कि? त्यसो गर्नुभयो भने तपाईंले देखाउनुभएको अतिथिसत्कार तिनीहरूले पछिसम्म सम्झिरहनेछन्‌। तिनीहरूलाई अरू कस्तो व्यावहारिक मदत दिन सक्नुहुन्छ?

कार्लोस यसो भन्छन्‌, “हामी नयाँ मण्डलीमा सरेपछि एक जना बहिनीले हामीलाई सस्तो सामान पाउने पसलहरूबारे बताइदिनुभयो। त्यसले गर्दा धेरै सजिलो भयो।” फरक मौसम भएको ठाउँबाट बसाइँ सरेर आएकाहरूलाई जाडोमा, गर्मीमा वा वर्षायाममा कस्तो लुगा लगाउने भनेर बताइदिनु पनि मदतकारी हुन सक्छ। नयाँ ठाउँबारे उपयोगी जानकारी बताइदिंदा वा इलाकाका मानिसहरूको धार्मिक आस्थाबारे बताइदिंदा तिनीहरूले प्रभावकारी तरिकामा प्रचार गर्न मदत पाउन सक्छन्‌।

तपाईंको प्रयास खेर जानेछैन!

सुरुको अनुच्छेदमा उल्लेख गरिएका एलेन नयाँ मण्डलीमा सरेको एक वर्षभन्दा धेरै भइसक्यो। तिनी भन्छन्‌, “सुरुमा त भाइबहिनीसित चिनजान बढाउनको लागि आफै अग्रसर भएर निकै प्रयास गरें। तर अहिले मलाई उहाँहरू आफ्नो परिवारजस्तै लाग्छ। म साह्रै खुसी छु।” बसाइँ सर्दा कुनै साथी गुमाएको जस्तो तिनलाई लागेन। बरु तिनले जीवनभर साथ दिने नयाँ साथीहरू पाए।

^ अनु. 2 केही नामहरू परिवर्तन गरिएका छन्‌।