सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“माथिका कुराहरूमा ध्यान देओ”

“माथिका कुराहरूमा ध्यान देओ”

“तिमीहरू माथिका कुराहरूमा ध्यान देओ, पृथ्वीका कुराहरूमा होइन।”—कल. ३:२.

१, २. (क) कलस्सी मण्डलीको एकता किन खतरामा परेको थियो? (ख) कुन सल्लाहले कलस्सीका ख्रीष्टियनहरूलाई एकतामा रहिरहन मदत गऱ्‍यो?

 प्रथम शताब्दीको कलस्सी मण्डलीको एकता खतरामा परेको थियो। मोशाको व्यवस्था सबैले पालन गर्नै पर्छ भनेर केही भाइहरूले जिद्दी गरिरहेका थिए। कोहीले भने घरबार सबै त्यागेर सन्यास लिनुपर्छ भन्‍ने मानव दर्शनलाई बढावा दिइरहेका थिए। यस्ता झूटा शिक्षाहरूको खतराबारे पावलले यस्तो चेतावनी दिए, “होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा आफ्नो शिकार नबनाओस्‌, किनकि यस्ता कुराहरू मानिसहरूको परम्परा अनि संसारका आधारभूत कुराहरूमा आधारित हुन्छन्‌, ख्रीष्टको शिक्षामा होइन।”—कल. २:८.

“संसारका आधारभूत कुराहरू”-मा ध्यान दिएको भए ती अभिषिक्‍त ख्रीष्टियनहरूले परमेश्‍वरको छोरा बन्‍ने सुअवसरलाई बेवास्ता गरिरहेका हुन्थे। (कल. २:२०-२३) पावलले तिनीहरूलाई यहोवासित नजिक भइरहन मदत गरे। उनले यस्तो सल्लाह दिए, “तिमीहरू माथिका कुराहरूमा ध्यान देओ, पृथ्वीका कुराहरूमा होइन।” (कल. ३:२) ती ख्रीष्टियनहरूले स्वर्गमा सधैंभरि बाँच्ने विशेष आशालाई मनमा राख्नुपर्थ्यो।—कल. १:४, ५.

३. (क) अभिषिक्‍त ख्रीष्टियनहरूले कुन आशामा ध्यान दिन्छन्‌? (ख) यस लेखमा कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौं?

आज पनि अभिषिक्‍त ख्रीष्टियनहरूले परमेश्‍वरको राज्यमा र “ख्रीष्टका सँगी उत्तराधिकारी” हुने आशामा ध्यान दिन्छन्‌। (रोमी ८:१४-१७) तर पृथ्वीमै जीवन पाउने आशा भएकाहरूले नि? पावलले दिएका सल्लाह उनीहरूलाई पनि कसरी लागू हुन्छ? “अरू भेडा”-ले कसरी “माथिका कुराहरूमा” ध्यान दिन सक्छन्‌? (यूह. १०:१६) अब्राहाम र साराले गाह्रोसाह्रो अवस्थामा पनि माथिका कुराहरूमा ध्यान दिए। हामी कसरी तिनीहरूको अनुकरण गर्न सक्छौं?

माथिका कुराहरूमा कसरी ध्यान दिन सक्छौं?

४. अरू भेडाले कसरी माथिका कुराहरूमा ध्यान दिन सक्छन्‌?

हुन त अरू भेडासित स्वर्ग जाने आशा छैन। तैपनि तिनीहरूले माथिका कुराहरूमा ध्यान दिनुपर्छ। कसरी? यहोवा र उहाँको राज्यसम्बन्धी कामकुरालाई पहिलो स्थानमा राखेर। (लूका १०:२५-२७) हामीले येशूको पदचिन्ह पछ्याउनुपर्छ। (१ पत्रु. २:२१) प्रथम शताब्दीका ख्रीष्टियनहरू झूटा तर्कवितर्क, सांसारिक दर्शन र भौतिकवादी विचारधाराले घेरिएका थिए। आज सैतानको संसारमा पनि यस्ता कुराहरू व्याप्त छन्‌। (२ कोरिन्थी १०:५ पढ्‌नुहोस्‌) हामीले येशूको अनुकरण गर्नुपर्छ र हामीलाई यहोवाबाट टाढा पुऱ्‍याउने कुरादेखि अलग बस्नुपर्छ।

५. पैसा र भौतिक सरसामानबारे आफ्नो दृष्टिकोण बुझ्न कसरी आत्मपरीक्षण गर्न सक्छौं?

पैसा र भौतिक सरसामानबारे हाम्रो दृष्टिकोण पनि संसारका मानिसहरूको जस्तै हुन सक्छ। हामी के सोच्छौं र के गर्छौं, त्यसबाट हामी कुन कुरालाई प्रेम गर्छौं भन्‍ने देखिन्छ। येशूले भन्‍नुभयो, “जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुन्छ।” (मत्ती ६:२१) हाम्रो हृदयले हामीलाई कतातिर डोऱ्‍याउँदै छ भनेर थाह पाउन आफैलाई जाँच्नुपर्छ। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌, ‘के म पैसाबारे मात्र सोचिरहन्छु? राम्रो जागिर वा सुविधासम्पन्‍न जीवनबारे मात्र सोचिरहन्छु? अथवा आफ्नो आँखा निर्मल राख्दै यहोवासितको सम्बन्धलाई महत्त्व दिन्छु?’ (मत्ती ६:२२) “पृथ्वीमा धनसम्पत्ति थुपार्न”-मै तल्लीन हुने व्यक्‍ति यहोवादेखि तर्केर जान सक्छ भनेर येशूले बताउनुभयो।—मत्ती ६:१९, २०, २४.

६. पापी झुकावलाई जित्न हामीले के गर्नुपर्छ?

त्रुटिपूर्ण भएकोले हामीमा गलत काम गर्ने झुकाव छ। (रोमी ७:२१-२५ पढ्‌नुहोस्‌) यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइ खोजेनौं भने हामी “अन्धकारका कामहरू”-तर्फ लाग्न सक्छौं। अन्धकारका कामहरूमा “भोजको मोजमस्ती, अनियन्त्रित मद्यपान, अवैध यौनसंसर्ग, छाडा आचरण”-जस्ता कुराहरू समावेश छन्‌। (रोमी १३:१२, १३) हामी आफ्नो पापी झुकावविरुद्ध लडिरहेका छौं। यो लडाइँ जित्न माथिका कुराहरूमा ध्यान दिनुपर्छ। यसो गर्न अथक प्रयास चाहिन्छ। प्रेषित पावलले पनि यसो भने, “म आफ्नो शरीरलाई कुट्‌छु अनि पिट्‌छु र त्यसलाई दास बनाएर राख्छु।” (१ कोरि. ९:२७) जीवनको बाटोमा दौडिरहन हामीले आफूलाई अनुशासनमा राख्नुपर्छ। यहोवालाई “खुसी पार्न” विगतका दुई जना वफादार पुरुषले के गरे, अब विचार गरौं।—हिब्रू ११:६.

अब्राहामले “यहोवामा विश्‍वास गरे”

७, ८. (क) अब्राहाम र साराले कस्ता समस्या भोगे? (ख) अब्राहामले कुन कुरामा ध्यान दिए?

यहोवाले अब्राहामलाई आफ्नो परिवार लिएर कनान जान आदेश दिनुभयो। तिनले त्यो आदेश पालन गरे। तिनले यहोवामा विश्‍वास गरेकोले र उहाँको आज्ञा मानेकोले यहोवाले तिनीसित यस्तो करार बाँध्नुभयो, “म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु। म तँलाई आशिष्‌ दिनेछु।” (उत्प. १२:२) तर वर्षौंसम्म पनि अब्राहाम र साराको सन्तान भएन। अब्राहामलाई यहोवाले आफ्नो प्रतिज्ञा बिर्सनुभयो जस्तो लागेको हुनुपर्छ। त्यसको साथै, कनानमा जीवन धान्‍न सजिलो थिएन। अब्राहामले र तिनको परिवारले ऊरमा भएको घर र नातागोता सबैलाई छोडेर आएका थिए। कनान पुग्न तिनीहरूले १,६०० किलोमिटर यात्रा गरे। त्यहाँ तिनीहरू पालमा बसे; तिनीहरू अनिकालको मारमा परे र तिनीहरूलाई लुटेराहरूले सताए। (उत्प. १२:५, १०; १३:१८; १४:१०-१६) तैपनि तिनीहरू ऊरको सुखसुविधा सम्झेर पछुताएनन्‌।हिब्रू ११:८-१२, १५ पढ्‌नुहोस्‌।

“पृथ्वीका कुराहरूमा” ध्यान दिनुको साटो अब्राहामले “परमप्रभुमाथि विश्‍वास गरे।” तिनले माथिका कुराहरूमा अर्थात्‌ यहोवाको प्रतिज्ञामा ध्यान दिए। यहोवाले तिनको विश्‍वास देख्नुभयो र यसो भन्‍नुभयो, “‘आकाशतिर हेरेर तारा गन्‍न सक्छस्‌ कि सक्‍तैनस्‌, गनी हेर्‌।’ उहाँले तिनलाई भन्‍नुभयो, ‘तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्‌।’” (उत्प. १५:५, ६) ती शब्दहरूबाट तिनले कत्ति प्रोत्साहन पाए होलान्‌! तिनले चमचम चम्किरहेका ताराहरूले भरिएको आकाश हेरेपिच्छे यहोवाको प्रतिज्ञा सम्झन्थे। समय आएपछि यहोवाको प्रतिज्ञाअनुसारै साराले छोरा जन्माइन्‌।—उत्प. २१:१, २.

९. अब्राहामको देखासिकी गर्दा यहोवाको सेवामा व्यस्त रहन कसरी मदत पाउँछौं?

अब्राहामजस्तै हामी पनि यहोवाका प्रतिज्ञाहरू पूरा हुने समय पर्खिरहेका छौं। (२ पत्रु. ३:१३) माथिका कुराहरूमा ध्यान दिएनौं भने हामीलाई यहोवाका प्रतिज्ञाहरू पूरा हुन ढिलो भयो जस्तो लाग्न सक्छ र हाम्रो जोस घट्‌न सक्छ। जस्तै, अग्रगामी सेवा गर्न वा सेवाका अरू पक्षमा भाग लिन तपाईंले त्यागहरू गर्नुभएको थियो होला। तर अहिले नि? यो कुरा मनमा राख्नुहोस्‌, अब्राहामले “साँचो जग भएको . . . सहर”-मा ध्यान दिए। (हिब्रू ११:१०) तिनले “यहोवामा विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा असल ठहरिए।”—रोमी ४:३.

मोशाले “अदृश्‍य परमेश्‍वरलाई” देखे

१०. मोशा कस्तो वातावरणमा हुर्केका थिए?

१० माथिका कुराहरूमा ध्यान दिएका अर्का व्यक्‍ति मोशा थिए। युवा छँदा मोशा “मिश्रीहरूको सारा विद्यामा . . . निपुण भए।” उनले पाएको शिक्षा विशेष थियो। त्यतिबेला मिश्र सबैभन्दा शक्‍तिशाली राष्ट्र थियो। त्यसको अलावा मोशा शाही परिवारमा हुर्केका थिए। यस्तो विशेष शिक्षा पाएकोले मोशा “वचन र काम दुवैमा शक्‍तिशाली भए।” (प्रेषि. ७:२२) उनको अगाडि कत्ति धेरै सुअवसर थिए होलान्‌, सोच्नुहोस्‌ त! तैपनि उनले सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ परमेश्‍वरको इच्छा पूरा गर्नमा नै ध्यान दिए।

११, १२. मोशाको लागि कुन शिक्षा महत्त्वपूर्ण थियो? हामी किन त्यसो भन्‍न सक्छौं?

११ मोशा सानो छँदा उनकी आमा योकेबेदले पक्कै पनि उनलाई हिब्रूहरूका परमेश्‍वर यहोवाबारे सिकाइन्‌। मोशाको लागि यहोवाको ज्ञान नै सबैभन्दा महत्त्वपूर्ण थियो। मिश्रको दरबारमै बसेका भए उनले धन र मान पाउने थिए। तैपनि उनले ती कुराहरूको मोह गरेनन्‌। (हिब्रू ११:२४-२७ पढ्‌नुहोस्‌) यहोवाबाट शिक्षा पाएकोले र उहाँमा विश्‍वास गरेकोले मोशाले माथिका कुराहरूमा ध्यान दिन सके।

१२ मोशाले मिश्रमा उच्च शिक्षा हासिल गरेका थिए। तर उनले त्यो शिक्षालाई भविष्य बनाउन वा नाम-दाम कमाउन प्रयोग गरेनन्‌। बरु उनले “मिश्रका राजाकी छोरीको छोरा कहलाइन इन्कार गरे अनि पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्‍वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।” उनले यहोवाबाट पाएको शिक्षालाई उहाँको सेवा गर्न चलाए।

१३, १४. (क) यहोवाले दिनुहुने जिम्मेवारीको लागि तयार हुन मोशालाई कस्ता गुणहरूले मदत गऱ्‍यो? (ख) मोशाले जस्तै हामीले पनि के गर्नुपर्छ?

१३ यहोवा र उहाँका मानिसहरूलाई मोशा प्रेम गर्थे। चालीस वर्षका हुँदा परमेश्‍वरका जनहरूलाई दासत्वबाट छुटाउन सक्छु जस्तो उनलाई लाग्यो। (प्रेषि. ७:२३-२५) तर यहोवाबाट त्यो जिम्मेवारी पाउन मोशाले नम्रता, सहनशीलता र आत्मसंयम जस्ता गुणहरू विकास गर्नुपर्थ्यो। (हितो. १५:३३) भविष्यमा आइपर्ने सतावट र कठिनाइको लागि तयार रहन उनलाई तालिम पनि चाहिन्थ्यो। यस्ता असल गुणहरू विकास गर्न उनले केही वर्ष गोठालो काम गर्नुपऱ्‍यो।

१४ के यस्तो तालिमले मोशालाई मदत गऱ्‍यो? पक्कै पनि गऱ्‍यो। बाइबलले बताएअनुसार मोशा “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति” भए। (गन्ती १२:३) मोशा नम्र हुन सिकेकोले उनलाई विभिन्‍न मानिसहरूसित व्यवहार गर्न अनि धीरजी भएर उनीहरूको समस्या सुन्‍न मदत गऱ्‍यो। (प्रस्थ. १८:२६) त्यसैगरि हामीले पनि आफूमा केही असल गुणहरू विकास गर्नुपर्छ। त्यस्ता गुणहरूले हामीलाई “महासङ्‌कष्ट पार गरेर” नयाँ संसारसम्म पुग्न मदत गर्नेछ। (प्रका. ७:१४) के तपाईं सानो कुरामा पनि चित्त दुखाउने व्यक्‍तिहरूसित मिलेर काम गर्न सक्नुहुन्छ? प्रेषित पत्रुसले सङ्‌गी ख्रीष्टियनहरूलाई भनेका यो कुरा हामीले मनमा राख्नुपर्छ, “हरप्रकारका मानिसहरूको आदर गर, सबै भाइहरूलाई प्रेम गर।”—१ पत्रु. २:१७.

माथिका कुराहरूमा ध्यान दिनुहोस्‌

१५, १६. (क) हामीले किन असल कुराहरूमा ध्यान दिनुपर्छ? (ख) हरबखत असल चालचलन देखाउनु किन महत्त्वपूर्ण छ?

१५ हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौं। (२ तिमो. ३:१) यहोवासित नजिक भइरहन हामीले असल कुराहरूमा ध्यान दिनुपर्छ। (१ थिस्स. ५:६-९) यसो गर्न मदत गर्ने तीनवटा तरिकाबारे छलफल गरौं।

१६ हाम्रो चालचलन: पत्रुसले असल चालचलनको महत्त्वबारे बताए। तिनले भने, “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌, ताकि . . . मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्‌ र . . . उहाँको महिमा गरून्‌।” (१ पत्रु. २:१२) घरमा, काममा, स्कुलमा, प्रचारमा जाँदा वा मनोरञ्जन गर्दा हाम्रो असल चालचलनद्वारा परमेश्‍वरको महिमा गर्न हरप्रयास गर्छौं। त्रुटिपूर्ण भएकोले हामी सबैले गल्ती गर्छौं। (रोमी ३:२३) तर “विश्‍वासको उत्तम लडन्त” लड्‌न छोडेनौं भने हामी आफ्नो त्रुटिपूर्ण झुकावलाई जित्न सक्छौं।—१ तिमो. ६:१२.

१७. हामी कसरी ख्रीष्टको मनोभाव देखाउन सक्छौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१७ हाम्रो मनोभाव: असल चालचलनसित सम्बन्धित अर्को कुरा असल मनोभाव पनि हो। प्रेषित पावलले यसो भने, “ख्रीष्ट येशूमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख।” (फिलि. २:५) येशूको मनोभाव कस्तो थियो? उहाँ नम्र हुनुहुन्थ्यो। त्यसैले यहोवालाई सबैभन्दा उत्तम सेवा चढाउन उहाँ तयार हुनुभयो। परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने काममा नै उहाँले ध्यान दिनुभयो। (मर्कू. १:३८; १३:१०) येशूको लागि परमेश्‍वरको वचन नै सबैभन्दा महत्त्वपूर्ण थियो। त्यसैले परमेश्‍वरको वचनमा लेखिएका कुराहरू मात्र सिकाउनुभयो। (यूह. ७:१६; ८:२८) उहाँले धर्मशास्त्रको गहिरो अध्ययन गर्नुभयो। यसले गर्दा उहाँले धर्मशास्त्रमा लेखिएका कुराहरू उद्धृत गर्न सक्नुभयो, त्यसको पक्षमा बोल्न सक्नुभयो र व्याख्या गर्न सक्नुभयो। नम्र हुँदा, प्रचारकार्यमा जोसका साथ लाग्दा र व्यक्‍तिगत बाइबल अध्ययन गर्दा हाम्रो सोचाइ पनि ख्रीष्टको जस्तै हुन्छ।

परमेश्‍वरको राज्यको प्रचार गर्नु नै येशूको लागि सबैभन्दा महत्त्वपूर्ण काम थियो (अनुच्छेद १७ हेर्नुहोस्‌)

१८. परमेश्‍वरले दिनुभएको काम राम्ररी गर्न कस्तो प्रयास गर्न सक्छौं?

१८ हाम्रो प्रयास: ‘स्वर्ग र पृथ्वीमा भएका हरेकले येशूको नाममा घुँडा टेकून्‌’ भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। (फिलि. २:९-११) येशू नम्र हुनुभएकोले उच्च ओहदामा भए पनि परमेश्‍वरको अधीनमा बस्नुहुनेछ। हामीले पनि त्यसै गर्नुपर्छ। (१ कोरि. १५:२८) कसरी? ‘सबै जातिका मानिसहरूलाई चेला बनाऊ’ भनेर येशूले दिनुभएको आज्ञा मान्‍न हर प्रयास गरेर। (मत्ती २८:१९) साथै, हामी छिमेकी र मण्डलीका दाजुभाइ-दिदीबहिनीको “भलाइ” गर्न चाहन्छौं।—गला. ६:१०.

१९. हामी के गर्न दृढ छौं?

१९ यहोवाले हामीलाई माथिका कुराहरूमा ध्यान दिन बारम्बार सल्लाह दिनुभएको छ र यसको लागि हामी उहाँप्रति आभारी छौं। “हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर” दौडौं। (हिब्रू १२:१) स्वर्गका परमेश्‍वरले हाम्रो मेहनतको इनाम दिनुहुन्छ भन्‍ने कुरा मनमा राख्दै “तनमनले” यहोवाको सेवा गरौं।—कल. ३:२३, २४.