सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रा पवित्र जमघटप्रति आदर देखाउने

हाम्रा पवित्र जमघटप्रति आदर देखाउने

हाम्रा पवित्र जमघटप्रति आदर देखाउने

“म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित तुल्याउनेछु।”—यशैया ५६:७.

१. हाम्रा सभाहरूप्रति उचित आदर देखाउनुपर्ने कस्ता धर्मशास्त्रीय कारणहरू छन्‌?

 यहोवाले अभिषिक्‍त मसीहीहरू र अरू भेडालाई आफ्नो “पवित्र पर्वतमा” उहाँको उपासना गर्न भेला गराउनुभएको छ। उहाँले तिनीहरूलाई आफ्नो “प्रार्थनाको घर” अर्थात्‌ आध्यात्मिक मन्दिरमा आनन्दित तुल्याइरहनुभएको छ। त्यो मन्दिर “सब जातिहरूका निम्ति प्रार्थनाको घर” हो। (यशैया ५६:७; मर्कूस ११:१७) यी कुराहरूले यहोवाको उपासना पवित्र, शुद्ध र उच्च छ भनेर देखाउँछन्‌। अध्ययन र उपासनाको लागि भेला हुने सभाहरूप्रति उचित आदर देखाएर हामी पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राखेको प्रमाण दिन्छौं।

२. यहोवाले आफ्नो उपासनाको लागि छान्‍नुभएको ठाउँलाई पवित्र ठान्‍नुहुन्थ्यो भनेर कुन कुराले देखाउँछ अनि येशूले पनि त्यस्तै ठान्‍नुहुन्थ्यो भन्‍ने कुरा कसरी देखाउनुभयो?

प्राचीन इस्राएलमा, यहोवाले आफ्नो उपासनाको लागि छान्‍नुभएको ठाउँलाई पवित्र मान्‍नुपर्थ्यो। बासस्थान र त्यसका सर-सामान र भाँडाकुँडाहरूलाई अभिषेक गरेर पवित्र गर्नुपर्थ्यो। यसो गर्दा ‘ती चीजहरू महापवित्र’ हुन्थे। (प्रस्थान ३०:२६-२९) बासस्थानमा दुईवटा कोठा थिए। एउटालाई “पवित्रस्थान” र अर्कोलाई ‘महा-पवित्रस्थान’ भनिन्थ्यो। (हिब्रू ९:२, ३) पछि त्यो बासस्थानको साटो यरूशलेममा मन्दिर बनाइयो। यरूशलेम यहोवाको उपासना गर्ने मुख्य ठाउँ भएको हुनाले त्यसलाई “पवित्र शहर” भनिन्थ्यो। (नहेम्याह ११:१; मत्ती २७:५३) पृथ्वीमा सेवा गर्नुहुँदा येशूले पनि यरूशलेमको मन्दिरप्रति उचित आदर देखाउनुभयो। मानिसहरूले मन्दिर क्षेत्रलाई व्यापार गर्न र सर-सामानहरू लिएर ओहोरदोहोर गर्ने छोटो बाटोको रूपमा प्रयोग गरिरहेका थिए। यसरी मन्दिर क्षेत्रलाई अनादरपूर्ण ढंगमा प्रयोग गरिएको देखेर उहाँ अत्यन्तै रिसाउनुभयो।—मर्कूस ११:१५, १६.

३. इस्राएलका जमघटहरू पवित्र थिए भनेर कुन कुराले देखाउँछ?

इस्राएलीहरू यहोवालाई उपासना गर्न र उहाँको व्यवस्था पढेको सुन्‍न नियमित तवरमा भेला हुन्थे। तिनीहरूका चाडहरूको केही निश्‍चित दिनलाई पवित्र महा-सभाका चाडहरू भनिन्थ्यो र यसले ती चाडहरू पवित्र हुन्थे भनेर स्पष्ट देखाउँछ। (लेवी २३:२, ३, ३६, ३७) एज्रा र नहेम्याहको समयमा मानिसहरू एकसाथ भेला हुँदा लेवीहरूले ‘तिनीहरूलाई . . . व्यवस्था बुझाइदिन्थे।’ “व्यवस्थाका वचनहरू सुनेर तिनीहरू सबै” रोएकोले लेवीहरूले “यसो भनेर मानिसहरूलाई चूप लगाए, ‘चूप लाग, किनभने आजको दिन पवित्र छ।’ ” त्यसपछि इस्राएलीहरूले ‘ठूलो रमाहटको’ साथ सात दिने छाप्रोबासको चाड मनाए। त्यसको साथै, त्यहाँ “पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनहुँ परमेश्‍वरको व्यवस्थाको पुस्तक पढियो। तिनीहरूले सात दिनसम्म यो चाड मनाए। औ आठौं दिनमा विधिअनुसार आखिरी चाड” अर्थात्‌ पवित्र महा-सभा मनाए। (नहेम्याह ८:७-११, १७, १८) परमेश्‍वरको व्यवस्था पढिने ती अवसरहरू पवित्र भएकाले उपस्थित सबैले ध्यानपूर्वक सुनी आदर देखाउनुपर्थ्यो।

हाम्रा सभाहरू पवित्र जमघट हुन्‌

४, ५. हाम्रा सभाहरू पवित्र जमघट हुन्‌ भनेर ती सभाका कुन कुराहरूले देखाउँछन्‌?

हो, यहोवाको उपासना गर्न समर्पण गरिएको विशेष मन्दिरसहितको पवित्र सहर त अहिले पृथ्वीमा छैन। तैपनि, यहोवाको उपासनाको लागि हुने सभाहरू पवित्र जमघट हुन्‌ भनेर हामीले बिर्सनु हुँदैन। हामी बाइबल पढ्‌न र अध्ययन गर्न हप्ताको तीन चोटि सभामा भेला हुन्छौं। त्यहाँ, नहेम्याहको समयमा जस्तै परमेश्‍वरको वचनको ‘अर्थ बुझाइन्छ।’ (नहेम्याह ८:८) सबै सभाहरूको सुरु र अन्त प्रार्थनाद्वारा गरिन्छ अनि धेरैजसो सभामा यहोवाको प्रशंसा गर्ने गीत पनि गाइन्छ। (भजन २६:१२) हो, मण्डलीका सभाहरू उपासनाका भाग हुन्‌। त्यसैले हामीले तीप्रति भक्‍तिभाव देखाउनुपर्छ र सभा भइरहेको बेला ध्यानपूर्वक सुनी ती सभाहरूप्रति आदर देखाउनुपर्छ।

यहोवाका जनहरू उहाँलाई उपासना चढाउन, उहाँको वचन अध्ययन गर्न र न्यानो मसीही संगतिको आनन्द उठाउन एकसाथ भेला हुँदा उहाँले तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ। सभाहरूमा ‘यहोवाले . . . आशिष्‌ खन्याउनुहुन्छ’ भनेर हामी विश्‍वस्त हुन सक्छौं। (भजन १३३:१, ३, NRV) यदि ती सभाहरूमा भेला हुन्छौं र त्यहाँ हुने आध्यात्मिक कार्यक्रममा ध्यान दिन्छौं भने हामीले त्यो आशिष्‌ पाउँछौं। साथै, येशूले यसो भन्‍नुभयो: “जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्‌, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।” यस पदको प्रसंगलाई हेर्दा, यहाँ बताइएको भेलाले दुई भाइहरूबीचको गम्भीर समस्या सुल्झाउन मसीही प्राचीनहरूले गर्ने सभालाई बुझाउने भए तापनि त्यसको सिद्धान्त हाम्रा मण्डलीका सभाहरूमा पनि लागू हुन्छ। (मत्ती १८:२०) ख्रीष्टको नाउँमा मसीहीहरू एकसाथ भेला हुँदा उहाँ पवित्र आत्मामार्फत त्यहाँ उपस्थित हुनुहुन्छ भने ती जमघटहरूलाई हामीले पवित्र मान्‍नु पर्दैन र?

६. हामी भेला हुने साना-ठूला दुवै प्रकारका ठाउँहरूबारे के भन्‍न सकिन्छ?

यो कुरा साँचो हो, मानिसले बनाएको मन्दिरमा यहोवा बास गर्नुहुन्‍न। तैपनि, हाम्रा राज्यभवनहरू साँचो उपासना गर्ने ठाउँ हुन्‌। (प्रेरित ७:४८; १७:२४) हामी त्यहाँ यहोवाको वचन अध्ययन गर्न, उहाँलाई प्रार्थना चढाउन र उहाँको प्रशंसा गाउन भेला हुन्छौं। त्यही उद्देश्‍यले हामी सम्मेलन भवनहरूमा पनि भेला हुन्छौं। सभागृह, प्रदर्शनी भवन वा रंगशालाहरू जस्ता ठूलो ठाउँहरू अधिवेशनहरूको लागि भाडामा लिइन्छ। त्यसरी त्यस्ता ठूला भवन तथा स्थानहरू पवित्र जमघटको लागि प्रयोग गरिंदा ती नै उपासना गर्ने ठाउँ हुन्छन्‌। उपासनाको लागि गरिने ती जमघट साना हुन्‌ या ठूला, हाम्रो आदरको योग्य हुन्छन्‌ र यो कुरा हाम्रो मनोवृत्ति र आनीबानीमा झल्किनुपर्छ।

हाम्रा जमघटहरूप्रति आदर देखाउने तरिकाहरू

७. कुन स्पष्ट तरिकामा हामी हाम्रा जमघटहरूप्रति आदर देखाउन सक्छौं?

हाम्रा जमघटहरूप्रति आदर देखाउन सक्ने स्पष्ट तरिकाहरू छन्‌। एउटा तरिका हो, राज्य गीत सुरु हुनुभन्दा अगाडि नै राज्यभवनमा पुग्नु। धेरैजसो यी गीतहरू प्रार्थनाको रूपमा छन्‌। तसर्थ, गीत गाउँदा श्रद्धाभावसहित गाउनुपर्छ। भजन २२ उद्धृत गर्दै प्रेरित पावलले येशूबारे यस्तो लेखे: “मेरा भाइहरूलाई तपाईंको नाउँ म बयान गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गाउनेछु।” (हिब्रू २:१२) त्यसैले, सभामा गीत सुरु हुनुअघि नै हामी आ-आफ्नो सीटमा बसिसकेको हुनुपर्छ र गीत गाउँदा शब्दको भावमा ध्यान दिनुपर्छ। यसो गर्ने बानी नै बसाल्नुपर्छ। गीत गाउँदा भजन रचयिताको जस्तै मनोभाव झल्काऔं, जसले यस्तो लेखे: “मेरो पूरा हृदयले सोझा मानिसहरूका सभा र समुदायमा, म परमप्रभुमा धन्यवाद चढाउनेछु।” (भजन १११:१) हो, हामी सभामा चाँडो पुग्नु र सभाको अन्तसम्म बस्नुको एउटा मुख्य कारण गीत गाएर यहोवाको प्रशंसा गाउनु पनि हो।

८. हाम्रा सभाहरूमा गरिने प्रार्थनाप्रति आदर देखाउनुपर्छ भनेर बाइबलको कुन उदाहरणले देखाउँछ?

हाम्रा सबै सभाहरूको आध्यात्मिक महत्त्व बढाउने अर्को पक्ष हो, उपस्थित सबैको लागि गरिने हार्दिक प्रार्थना। प्रथम शताब्दीमा एक पटक, यरूशलेमका मसीहीहरू एकसाथ भेला भए र “सबैले एकै मनका भएर परमेश्‍वरसित सोर उचाली” व्यग्र प्रार्थना गरे। परिणाम? सतावटको बावजूद तिनीहरूले “निर्भयतासँग परमेश्‍वरको वचन” बोलिरहन सके। (प्रेरित ४:२४-३१) प्रार्थना भइरहेको बेला तिनीहरूले आफ्नो मन अन्त कतै डुलाएको तपाईं कल्पना गर्न सक्नुहुन्छ? पक्कै सक्नुहुन्‍न। उपस्थित सबैले “एकै मनका भएर” प्रार्थना गरे। हाम्रा सभाहरूमा गरिने प्रार्थनाले उपस्थित सबैको भावनालाई झल्काउँछ। सभामा हुने ती प्रार्थनाहरूलाई हामीले ध्यानपूर्वक सुनी आदर देखाउनुपर्छ।

९. हामी आफ्नो पहिरन र आनीबानीद्वारा पवित्र जमघटहरूप्रति कसरी आदर देखाउन सक्छौं?

त्यसबाहेक, हाम्रा पवित्र जमघटहरूलाई हामी गहिरो आदर गर्छौं भनेर आफ्नो पहिरनबाट देखाउन सक्छौं। हाम्रो पहिरन र कपालको स्टाइलले सभाहरूलाई मर्यादित बनाउनुमा थप योगदान पुऱ्‍याउन सक्छ। प्रेरित पावलले यस्तो सल्लाह दिए: “सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विना क्रोध र विवादसाथ प्रार्थना गरून्‌ भन्‍ने म चाहन्छु। त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌। कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन।” (१ तिमोथी २:८-१०) रंगशालाहरूमा आयोजना गरिएका ठूला अधिवेशनहरू धाउँदा मौसमअनुसारको पहिरन लगाउन सक्छौं तर त्यो पहिरन पनि मर्यादित हुनुपर्छ। यसबाहेक, यस्ता जमघटहरूप्रतिको हाम्रो आदरले गर्दा हामी कार्यक्रम चलिरहेको बेला खानेकुरा खाँदैनौं वा चुइङगम चपाउँदैनौं। भद्र पहिरन लगाएर र असल आनीबानी देखाएर हामीले यहोवा परमेश्‍वर, उहाँको उपासना र सँगी उपासकहरूप्रति आदर देखाइरहेका हुन्छौं।

परमेश्‍वरको घरानालाई सुहाउने आचरण

१०. हाम्रा मसीही सभाहरूमा आचरण उच्च स्तरको हुनुपर्छ भनेर प्रेरित पावलले कसरी देखाए?

१० मसीही सभाहरू कसरी सञ्चालन गर्नुपर्छ भन्‍ने सन्दर्भमा प्रेरित पावलको बुद्धिमानी सल्लाह पहिलो कोरिन्थी अध्याय १४ मा पाउँछौं। त्यस अध्यायको अन्तिम पदमा तिनले यस्तो लेखे: “सबै काम शिष्ट रूपले र नियमपूर्वक गर्नू।” (१ कोरिन्थी १४:४०) हाम्रा सभाहरू मसीही मण्डलीले गर्ने गतिविधिको महत्त्वपूर्ण भाग हुन्‌ र यी सभाहरूमा परमेश्‍वरको घरानालाई सुहाउने आचरण देखाउनुपर्छ।

११, १२. (क) सभाहरू धाउने केटाकेटीको मनमा कुन कुराको छाप पर्नुपर्छ? (ख) केटाकेटीले सभाहरूमा आफ्नो विश्‍वास कसरी उचित तरिकामा व्यक्‍त गर्न सक्छन्‌?

११ विशेषगरि, केटाकेटीलाई हाम्रा सभाहरूमा कस्तो आनीबानी देखाउनुपर्छ भनेर सिकाउनु आवश्‍यक छ। राज्यभवन र पुस्तक अध्ययन हुने ठाउँहरू खेल्ने ठाउँ होइनन्‌ भनी मसीही आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउनुपर्छ। ती ठाउँहरू यहोवालाई उपासना चढाउने र उहाँको वचन अध्ययन गर्ने ठाउँ हुन्‌। बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “परमेश्‍वरको भवनमा जाँदा होसियारसित जाओ। सुन्‍नको लागि नजिक आओ।” (उपदेशक ५:१, NW) वयस्क, “बालक” सबैलाई एकसाथ भेला होऊ भनी मोशाले इस्राएलीहरूलाई सिकाए। तिनले यसो भने: ‘सबैलाई भेला गर र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूको परमेश्‍वरका भय मान्‍न सिकून्‌ र यस व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गरून्‌। तिमीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु परमेश्‍वरको भय मान्‍न सिकून्‌।’—व्यवस्था ३१:१२, १३.

१२ त्यसैगरि आज पनि स-साना केटाकेटी मुख्यतः सुन्‍नसिक्न भनेरै आफ्ना आमाबाबुसित सभामा आउँछन्‌। तिनीहरूले सभामा भनिएको कुरा सुनेर, कम-से-कम बाइबलका आधारभूत सच्चाइ बुझ्न सक्ने भएपछि छोटो टिप्पणीहरू दिएर आफ्नो विश्‍वासको “जन घोषणा” गर्न सक्छन्‌। (रोमी १०:१०, NW) स-साना केटाकेटीले आफूले बुझेको प्रश्‍नको जवाफ एक-दुई शब्दमा भन्‍ने प्रयास गरेर टिप्पणी दिन सुरु गर्न सक्छन्‌। सुरु-सुरुमा त तिनीहरूले पढेर टिप्पणी दिनुपर्ने होला तर समय बित्दै गएपछि आफ्नै शब्दमा भन्‍ने प्रयास गर्नेछन्‌। यसो गर्न तिनीहरूलाई रमाइलो लाग्नेछ र लाभदायी पनि हुन्छ। यसरी स-साना केटाकेटीले आफ्नै शब्दमा आफ्नो विश्‍वास व्यक्‍त गरेको सुन्दा सभामा उपस्थित वयस्कहरू आनन्दित हुन्छन्‌। साथै आमाबाबु आफैले पनि टिप्पणी दिएर छोराछोरीको लागि उदाहरण बसाल्छन्‌। सम्भव छ भने, छोराछोरीलाई बाइबल, गीतको किताब र अध्ययन गरिने प्रकाशनको प्रति दिनु बेस हो। तिनीहरूले यस्ता प्रकाशनहरूप्रति उचित आदर देखाउन सिक्नुपर्छ। यी कुराहरू गर्दा हाम्रा सभाहरू पवित्र जमघट हुन्‌ भनेर छोराछोरीको मनमा छाप पर्नेछ।

१३. सभामा पहिलो चोटि आउनेहरूले के भनेको हामी चाहन्छौं?

१३ निस्सन्देह, हाम्रा सभाहरू चर्चहरूमा हुने कार्यक्रमजस्तो भएको हामी चाहँदैनौं। ती चर्चहरूमा हुने कार्यक्रमहरू आत्मीयता नभएको या अति नै धर्मी वा पवित्र देखाउन खोज्ने वा कानै खाने होहल्ला भएको रक कन्सर्टजस्ता हुन्छन्‌। हाम्रा राज्यभवनमा हुने सभाहरू न्यानो, मायालु र मित्रैलो भएको चाहन्छौं। तर त्यसको मतलब, आराम र मनोरञ्जनको लागि भेला हुने क्लबजस्तो हुनुपर्छ भन्‍ने पनि होइन। हामी सभाहरूमा यहोवाको उपासना गर्न भेला हुन्छौं। त्यसैले ती सभाहरू सधैं मर्यादित हुनुपर्छ। नयाँ जिज्ञासुहरू हाम्रा सभाहरूमा पहिलो चोटि आउँदा त्यहाँ हुने कार्यक्रम सुनेर अनि हाम्रो र हाम्रा छोराछोरीको आनीबानी देखेर तिनीहरूले यसो भनेको हामी चाहन्छौं: “साँच्चिनै परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ।”—१ कोरिन्थी १४:२५.

हाम्रो उपासनाको स्थायी पक्ष

१४, १५. (क) हामी कसरी ‘परमेश्‍वरका भवनको अवहेलना गर्नबाट’ जोगिन सक्छौं? (ख) यशैया ६६:२३ कसरी पूरा भइरहेको छ?

१४ यस लेखको सुरुमा बताइएझैं यहोवाले आफ्ना जनहरूलाई उहाँको “प्रार्थनाको घरमा” अर्थात्‌ आध्यात्मिक मन्दिरमा भेला गराउनुका साथै आनन्दित तुल्याइरहनुभएको छ। (यशैया ५६:७) भौतिक सहयोग गरेर मन्दिरप्रति उचित आदर देखाउनुपर्छ भनेर विश्‍वासी नहेम्याहले सँगी यहूदीहरूलाई सम्झना दिलाए। तिनले यसो भने: “हामी परमेश्‍वरका भवनको अवहेलना गर्नेछैनौं।” (नहेम्याह १०:३९, NRV) त्यसबाहेक, यहोवाले हामीलाई उहाँको “प्रार्थनाको घरमा” उपासना गर्न दिनुभएको निमन्त्रणालाई हामीले अवहेलना गर्नु हुँदैन।

१५ उपासनाको लागि नियमित रूपमा एकसाथ भेला हुनुपर्छ भनेर जोड दिंदै यशैयाले यस्तो भविष्यवाणी गरे: “औंसी र विश्राम दिनैपिच्छे, सबै मानिसहरू मलाई सेवा गर्न आउनेछन्‌, परमप्रभु भन्‍नुहुन्छ।” (यशैया ६६:२३) यो कुरा आज पूरा हुँदैछ। हरेक हप्ता समर्पित मसीहीहरू यहोवाको उपासना गर्न एकसाथ भेला हुन्छन्‌। कुन कुन तरिकामा? अन्य गतिविधिका साथै मसीही सभाहरूमा उपस्थित भएर अनि जन सेवकाईमा भाग लिएर। यसरी ‘यहोवालाई सेवा गर्न आउनेहरूमध्ये’ के तपाईं पनि हुनुहुन्छ?

१६. सभामा नियमित भेला हुनुलाई हामीले अहिलेदेखि नै आफ्नो जीवनको स्थायी पक्ष किन बनाउनुपर्छ?

१६ यशैया ६६:२३ यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा पूर्णतया पूरा हुनेछ। त्यतिबेला, “सबै मानिसहरू” शाब्दिक अर्थमै महिनैपिच्छे र हप्तैपिच्छे यहोवालाई सदासर्वदा “सेवा गर्न” अर्थात्‌ उपासना गर्न आउनेछन्‌। नयाँ रीतिरिवाजमा यहोवाको उपासना गर्नको लागि एकसाथ भेला हुनु हाम्रो आध्यात्मिक जीवनको स्थायी पक्ष हुनेछ। त्यसैले, हाम्रा पवित्र जमघटहरूमा नियमित भेला हुनुलाई हामीले अहिलेदेखि नै आफ्नो जीवनको स्थायी पक्ष बनाउनु पर्दैन र?

१७. प्रभुको “दिन नजिक आइरहेको [हामीले] देखेका” हुनाले “झन्‌” बढ्‌ता गरी सभामा धाउनु किन खाँचो छ?

१७ अन्त झन्‌-झनै नजिक भएकोले उपासनाको लागि मसीही सभाहरूमा नियमित उपस्थित हुन पहिलाभन्दा अझ दृढ अठोट गर्नुपर्छ। हाम्रा पवित्र सभाहरूको हामी आदर गर्छौं। त्यसैले जागिर, कामधन्धा, स्कूलको होमवर्क वा रात्री स्कूलले गर्दा सँगी विश्‍वासीहरूसित नियमित तवरमा भेला हुन पाउने अवसरहरू गुमाउँने छैनौं अर्थात्‌ सभाहरू छुटाउने छैनौं। मसीही भाइहरूसितको संगतिबाट पाइने बल हामीलाई चाहिन्छ। सभाहरूमा हामी एकअर्कालाई चिन्‍ने, प्रोत्साहन आदानप्रदान गर्ने अनि ‘प्रेम र असल कामको निम्ति’ उत्साहित गर्ने अवसर पाउँछौं। प्रभुको “दिन नजिक आइरहेको [हामीले] देखेका” हुनाले “झन्‌” बढ्‌ता गरी सभामा धाउनु खाँचो छ। (हिब्रू १०:२४, २५) तसर्थ, सभामा नियमित उपस्थित भएर, भद्र पहिरन लगाएर र असल आनीबानी देखाएर पवित्र जमघटहरूप्रति हामी सधैं उचित आदर देखाऔं। यसो गर्दा हामीले पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्छौं भनी देखाइरहेका हुन्छौं। (w 06 11/01)

पुनरावलोकन गर्दा

• यहोवाका जनहरूको जमघटलाई पवित्र मान्‍नुपर्छ भनेर कुन कुराले देखाउँछ?

• हाम्रा सभाका कस्ता पक्षहरूले ती पवित्र जमघट हुन्‌ भनी प्रमाणित गर्छन्‌?

• हाम्रा पवित्र सभाहरूलाई केटाकेटीले आदर गर्छन्‌ भनी कसरी देखाउन सक्छन्‌?

• नियमित सभा धाउनुलाई हामीले किन आफ्नो जीवनको स्थायी पक्ष बनाउनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ३०-मा भएका चित्रहरू]

यहोवाको उपासनाका लागि हुने सभाहरू जहाँ भए पनि ती पवित्र जमघट हुन्‌