उपदेशक ५:१-२०

  • परमेश्‍वरसामु जाँदा उहाँको डर मान (१-७)

  • तल्लो दर्जाका अफिसरहरूको निगरानी माथिल्लो दर्जाकाहरूले गर्छन्‌ (८, ९)

  • धनसम्पत्तिको लोभ गर्नु व्यर्थ हो (१०-२०)

    • रुपैयाँ-पैसाको लोभ गर्नेलाई कहिल्यै पुग्दैन (१०)

    • मेहनत गर्नेलाई मीठो निद्रा लाग्छ (१२)

 साँचो परमेश्‍वरको भवनमा जाँदा होस गर।+ किनकि मूर्खहरू त्यहाँ बलिदान चढाउन त जान्छन्‌ तर आफूले गरिरहेको काम खराब छ भनी तिनीहरूलाई यादै हुँदैन। त्यसैले त्यहाँ जाँदा मूर्खले जस्तो बलिदान चढाउनुभन्दा+ परमेश्‍वरको कुरा सुन्‍नु बेस हो।+ २  बोल्नलाई हतार नगर। साँचो परमेश्‍वरको अगाडि सोचविचार गरी बोल+ किनकि साँचो परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र तिमीचाहिँ तल पृथ्वीमा छौ। त्यसैले तिमीले थोरै बोल्नु नै उचित हुन्छ।+ ३  ज्यादै चिन्ता-फिक्री गर्नेले सपना देख्छ+ अनि धेरै बोल्नेले मूर्ख कुरा गर्छ।+ ४  तिमीले परमेश्‍वरलाई कुनै भाकल गऱ्‍यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्‍न हुनुहुन्‍न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+ ५  भाकल गरेर पूरा नगर्नुभन्दा त भाकलै नगर्नु बेस हो।+ ६  तिम्रो जिब्रोले तिमीलाई पाप गर्न नलगाओस्‌।+ अनि स्वर्गदूतसामु* यसो नभन्‍नू, ‘मैले गलत बोलेछु।’+ आफ्नो बोलीले किन परमेश्‍वरलाई रिस उठाउँछौ? तिम्रो हातको काम नष्ट गर्न किन उहाँलाई बाध्य पार्छौ?+ ७  किनकि ज्यादै चिन्ता-फिक्री गर्दा सपना देखेझैँ+ धेरै बोल्दा व्यर्थ कुरा बोल्न पुगिन्छ। तर तिमी भने साँचो परमेश्‍वरको डर मान।+ ८  यदि कुनै ठाउँमा एक जना अफिसरले गरिबमाथि थिचोमिचो गरेको वा अन्याय-अत्याचार गरेको तिमीले देख्यौ भने नआत्तिऊ।+ किनकि ऊभन्दा माथिल्लो दर्जाको अफिसरले उसको निगरानी गरिरहेको हुन्छ। त्यसैगरि त्यस अफिसरमाथि पनि अझै अरू अफिसर खटाइएका हुन्छन्‌। ९  साथै जमिनको उब्जनी तिनीहरू सबैले पाउँछन्‌। राजाले समेत त्यही उब्जनी खान्छन्‌।+ १०  रुपैयाँ-पैसाको लोभ गर्ने मानिसलाई जति भए पनि पुग्दैन। धनसम्पत्तिको लोभ गर्ने मानिस कहिल्यै सन्तुष्ट हुँदैन।+ यो पनि व्यर्थ हो।+ ११  धनसम्पत्ति बढेपछि त्यसको उपभोग गर्नेहरू पनि बढ्‌छन्‌।+ धनी मानिसले आफ्नो धनसम्पत्तिलाई टुलुटुलु हेरेर बस्नुबाहेक अरू के नै गर्न सक्छ र?+ १२  अरूको सेवा गर्नेले चाहे आधापेट खाएको होस्‌ या पेटभरि, उसलाई मीठो निद्रा लाग्छ। तर धनी मानिसको प्रशस्त धनसम्पत्तिले गर्दा उसलाई निद्रै लाग्दैन। १३  संसारमा* मैले एउटा साह्रै दुःखलाग्दो कुरा देखेँ: धनी मानिसले बटुलेको धनसम्पत्तिले उसकै हानि गर्छ। १४  उसको लगानी डुब्छ र उसले सबै सम्पत्ति गुमाउँछ। अनि जब उसको छोरा जन्मन्छ, तब छोरालाई दिन ऊसँग केही बाँकी हुँदैन।+ १५  मानिस आफ्नी आमाको गर्भबाट नाङ्‌गै आउँछ र जाँदा पनि नाङ्‌गै जान्छ।+ आफूले परिश्रम गरेबापत उसले आफूसँग केही पनि लिएर जान सक्दैन।+ १६  यो पनि साह्रै दुःखलाग्दो कुरा हो: मानिस नाङ्‌गै आउँछ अनि नाङ्‌गै जान्छ। जीवनभर मेहनत गर्ने मानिसलाई आखिर के नै फाइदा हुन्छ र? यो पनि बतासलाई खेदेको जस्तो मात्र हो।+ १७  त्यस्तो मानिसले कहिल्यै सुखको गाँस निल्न पाउँदैन किनकि उसको जीवन दिक्दारी, रोगबिमार र रिसरागले भरिएको हुन्छ।+ १८  साँचो परमेश्‍वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्‍वरले दिनुहुने वरदान* हो।+ १९  यदि साँचो परमेश्‍वरले कुनै मानिसलाई प्रशस्त धनसम्पत्ति दिनुका साथै त्यसबाट आनन्दित हुने क्षमता पनि दिनुभएको छ+ भने उसले त्यो वरदान* स्विकारोस्‌ र आफ्नो परिश्रममा रमाओस्‌। त्यो नै परमेश्‍वरको उपहार हो।+ २०  साँचो परमेश्‍वरले उसको हृदय आनन्दले भरिदिनुभएकोले उसलाई आफ्ना दिनहरू* बितेको पत्तै हुँदैन।+

फुटनोटहरू

वा “सन्देशवाहकसामु।”
शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”
वा “भाग।”
वा “भाग।”
वा “आफ्नो आयु।”