मर्कुसका अनुसार ११:१-३३

  • येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१-११)

  • अन्जिरको रूखलाई सराप (१२-१४)

  • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१५-१८)

  • सुकेको अन्जिरको रूखबाट पाठ (१९-२६)

  • येसुको अख्तियारमाथि प्रश्‍न उठाइन्छ (२७-३३)

११  उहाँहरू यरुसलेमनजिकै जैतुन डाँडाको बेथफागे र बेथानि पुग्नै लाग्दा+ येसुले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो:+ २  “तिमीहरूले देखिरहेको त्यस गाउँमा जाओ र त्यहाँ पस्नेबित्तिकै तिमीहरूले गधाको एउटा बछेडोलाई बाँधेर राखेको भेट्टाउनेछौ, जसमा अहिलेसम्म कोही चढेको छैन। त्यसलाई फुकाएर ल्याओ। ३  यदि कसैले ‘तिमीहरू किन यसो गर्दै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यो चाहिएको छ र उहाँले यसलाई तुरुन्तै फिर्ता गर्नुहुनेछ।’” ४  त्यसैले तिनीहरू गए अनि सडकछेउको एउटा घरको ढोकामा बछेडोलाई बाँधिराखेको भेट्टाए र तिनीहरूले त्यसलाई फुकाए।+ ५  तर त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे: “तिमीहरू किन यस बछेडोलाई फुकाउँदै छौ?” ६  अनि तिनीहरूले येसुले सिकाउनुभएबमोजिम जवाफ दिए र उनीहरूले तिनीहरूलाई जान दिए। ७  तिनीहरूले बछेडोलाई+ येसुकहाँ ल्याए र त्यसमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ ८  साथै धेरैले आ-आफ्नो लुगा बाटोमा बिछ्याए अनि अरू कतिले चाहिँ छेउछाउका रूखहरूबाट स्याउला काटेर बिछ्याए।+ ९  उहाँको अघिअघि गइरहेका र पछिपछि आइरहेकाहरूले यसो भन्दै जयजयकार गर्न थाले: “हे परमेश्‍वर, उहाँको रक्षा गर्नुहोस्‌!+ यहोवाको* नाममा आउने धन्यका हुन्‌!+ १०  हाम्रा बुबा दाउदको आउँदै गरेको राज्य धन्यको होस्‌!+ हे स्वर्गमा बस्नुहुने परमेश्‍वर, बिन्ती! उहाँको रक्षा गर्नुहोस्‌!” ११  अनि उहाँ यरुसलेमभित्र पस्नुभयो र मन्दिरमा जानुभयो। उहाँले चारैतिर हेर्नुभयो तर साँझ परेकोले त्यहाँबाट निस्केर उहाँ ती १२ जनासित बेथानि जानुभयो।+ १२  भोलिपल्ट उहाँहरू बेथानिबाट निस्कँदै गर्दा उहाँ भोकाउनुभयो।+ १३  उहाँले टाढैबाट पातले भरिएको अन्जिरको एउटा रूख देख्नुभयो। त्यसैले फल लागेको छ कि भनी हेर्न उहाँ त्यसको नजिकै जानुभयो। तर उहाँले त्यसमा पातबाहेक केही पाउनुभएन किनकि त्यतिखेर अन्जिर फल्ने मौसम भएको थिएन। १४  त्यसैले उहाँले त्यसलाई यसो भन्‍नुभयो: “तेरो फल अबदेखि कसैले कहिल्यै खान नपाओस्‌।”+ यो कुरा उहाँका चेलाहरूले सुनिरहेका थिए। १५  अनि उहाँहरू यरुसलेम पुग्नुभयो। उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरूलाई बाहिर लघार्न थाल्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १६  उहाँले कसैलाई पनि भाँडाकुँडा बोकेर मन्दिरबाट हिँड्‌न दिनुभएन। १७  उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: “‘मेरो घर सबै जातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी के धर्मशास्त्रमा लेखिएको छैन?+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+ १८  यो कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने अनि तिनीहरूले कसरी उहाँलाई मार्ने भनी सोच्न थाले।+ तर तिनीहरू उहाँसित डराउँथे किनभने उहाँको शिक्षा सुनेर भीड छक्क पर्ने गर्थ्यो।+ १९  साँझ परेपछि उहाँहरू सहरबाहिर जानुभयो। २०  भोलिपल्ट बिहान सबेरै बाटोमा जाँदै गर्दा उहाँहरूले अन्जिरको त्यो रूख जरैदेखि सुकिसकेको देख्नुभयो।+ २१  त्यसैले येसुले त्यस रूखलाई भन्‍नुभएको कुरा सम्झँदै पत्रुसले उहाँलाई भने: “रब्बी, हेर्नुहोस्‌! तपाईँले सराप दिनुभएको अन्जिरको रूख त सुकेछ।”+ २२  अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “परमेश्‍वरमाथि विश्‍वास गर। २३  म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि कसैले यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्‌’ भन्छ अनि आफ्नो हृदयमा शङ्‌का गर्दैन र आफूले भनेको कुरा पूरा हुनेछ भनेर विश्‍वास गर्छ भने उसले भनेझैँ हुनेछ।+ २४  यसैले म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाइसकेझैँ गरी विश्‍वास गर अनि तिमीहरूले ती साँच्चै पाउनेछौ।+ २५  अनि तिमीहरू प्रार्थना गर्न उभिँदा तिमीहरूको हृदयमा अरूको विरुद्धमा जे-जति कुरा छन्‌, ती सबै क्षमा गर। तब स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछ।”+ २६  * २७  उहाँहरू फेरि यरुसलेम पुग्नुभयो। उहाँ मन्दिरमा हिँडिरहनुभएको बेला मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरू आए २८  र उहाँलाई सोधे: “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई यसो गर्ने अख्तियार कसले दियो?”+ २९  येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ देओ र म कुन अख्तियारले यी सब गर्दै छु, म पनि तिमीहरूलाई भनौँला। ३०  युहन्‍नाले बप्तिस्मा गराउने अख्तियार+ परमेश्‍वरबाट* पाए कि मानिसहरूबाट? मलाई जवाफ देओ।”+ ३१  तब तिनीहरू आपसमा यसो भन्दै तर्क गर्न थाले: “‘परमेश्‍वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्‍वास गरेनौ त’ भनेर उसले सोध्नेछ। ३२  तर ‘मानिसहरूबाट’ भन्‍ने आँट कसरी गरौँ?” तिनीहरू भीडसित डराउँथे किनकि युहन्‍ना वास्तवमै भविष्यवक्‍ता थिए भनी सबै मानिसले मान्थे।+ ३३  त्यसैले तिनीहरूले येसुलाई यस्तो जवाफ दिए: “हामीलाई थाह छैन।” तब उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।”

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।
शा., “स्वर्गबाट।”