सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल—जीवन यापन गर्न उपयोगी पाठ्यपुस्तक

बाइबल—जीवन यापन गर्न उपयोगी पाठ्यपुस्तक

बाइबल—जीवन यापन गर्न उपयोगी पाठ्यपुस्तक

“परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, . . . र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) परमेश्‍वरको वचनले के गर्नसक्छ भन्‍नेबारे दिइएको यो विवरणले बाइबल एउटा साधारण पुस्तक मात्र होइन भनेर देखाउँछ।

“यसमा भएको सन्देश हाम्रो जीवनको लागि निरन्तर सास फेर्नु जत्तिकै आवश्‍यक छ” भनी एक धार्मिक लेखकले बताए। तिनले अझै यसो भने: “तपाईंले आफ्ना वर्तमान समस्याहरूको समाधान पाउने दृष्टिकोणले बाइबल पढ्‌नुभयो भने अचम्मलाग्दा परिणामहरू पाउनुहुनेछ।” देदीप्यमान बत्तीले जस्तै बाइबलले आधुनिक समयका थुप्रै जटिल प्रश्‍नहरू अनि समस्याहरूमा ज्योति दिन्छ।—भजन ११९:१०५.

साँच्चै, बाइबलमा पाइने बुद्धिमा हाम्रो सोचाइलाई आकार दिने, समस्या समाधान गर्न मदत गर्ने, जीवनस्तर उकास्ने र हामीले बदल्न नसक्ने परिस्थितिहरूको सामना गर्न आवश्‍यक सीपद्वारा सुसज्जित पार्ने शक्‍ति छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, बाइबलले हामीलाई परमेश्‍वरलाई चिन्‍न र उहाँको प्रेम थाह पाउन मदत गर्छ।

जीवन अर्थपूर्ण बनाउने पुस्तक

बाइबलको लेखक यहोवा परमेश्‍वर ‘हाम्रा हरेक क्रियाकलाप जान्‍नुहुन्छ।’ हाम्रो शारीरिक, मानसिक तथा आध्यात्मिक आवश्‍यकताहरू हामीले भन्दा उहाँले राम्ररी बुझ्नुहुन्छ। (भजन १३९:१-३) त्यसैले, मानिसहरूसित गर्नुपर्ने व्यवहारबारे उहाँले सुस्पष्ट निर्देशनहरू दिनुभएको छ। (मीका ६:८) त्यस्ता सीमानाहरू तथा निर्देशनहरू बुझ्ने प्रयास गर्नु र त्यसैअनुरूप जीवन यापन गर्न सिक्नु बुद्धिमानी कुरा हो। भजनरचयिता यसो भन्छन्‌, “त्यो मानिस धन्य हो जो . . . परमप्रभुको व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ . . . त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (भजन १:१-३) त्यस्तो आशाले निश्‍चय पनि हाम्रो जाँचलाई अर्थपूर्ण बनाउँछ।

अवकाशप्राप्त स्कूल शिक्षक मोरीस पहिलेदेखि नै बाइबल राम्रो साहित्य हो र यसमा केही अर्थपूर्ण इतिहास पनि हुनुपर्छ भनेर विश्‍वास गर्थे। तथापि, यो ईश्‍वरीय प्रेरणाद्वारा लेखिएको हो भन्‍ने कुरामा चाहिं तिनलाई शंका थियो। परमेश्‍वरले आफ्नो लिखित वचन मानवजातिलाई दिनुको कारण सुनेपछि मोरीसले बाइबलका विभिन्‍न अगमवाणीहरूलाई जाँचे। जवान छँदा तिनले इतिहास, साहित्य, विज्ञान र भूगोल अध्ययन गरेका थिए। तिनले तुरुन्तै इतिहासका थुप्रै विवरणहरूले बाइबलको सत्यतालाई प्रमाणित गर्दोरहेछ भनेर बुझिहाले र यसो भने, “म त मोजमज्जा, धन सम्पत्ति र सुखसयल प्राप्त गर्ने धुनमा अन्धाधुन्ध दौडिरहेको रहेछु। दुर्भाग्यवश, म अहिलेसम्म लेखिएका पुस्तकहरूमध्ये सबैभन्दा मनोहर अनि सत्य पुस्तकदेखि आजसम्म अनभिज्ञ रहेछु।”

अहिले ७० वर्षको उमेरमा मोरीस, प्रेरित थोमाकहाँ येशू देखापर्नुभएको घटनालाई संकेत गर्दै यसो भन्छन्‌: “मेरो हात येशूको ‘रक्‍ताम्मे घाउमा’ राखेझैं भएको छ जसले बाइबलबारे मेरो मनमा भएको जस्तोसुकै शंका उपशंकालाई सधैंभरिको लागि हटाइदिनेछ।” (यूहन्‍ना २०:२४-२९) बाइबलले हृदयको भावना प्रकट गरेर जीवनै अर्थपूर्ण बनाइदिन्छ भनी प्रेरित पावलले ठिकै भनेका थिए। बाइबल अवश्‍य जीवन यापन गर्न उपयोगी पाठ्यपुस्तक भएको छ।

संकटग्रस्त जीवनलाई स्थिर पार्ने

बाइबलले मानिसजातिलाई खराब चालचलन त्याग्न मदतकारी सल्लाह पनि दिन्छ। डान्यल धूम्रपान गर्ने अशुद्ध बानीलगायत अनियन्त्रित भोज र मद्यपान त्याग्न सफल भए। (रोमी १३:१३; २ कोरिन्थी ७:१; गलाती ५:१९-२१) वास्तविकतालाई हेर्ने हो भने, त्यस्तो कुलत त्यागेर “नयाँ मानिस” धारण गर्न कटिबद्ध भई प्रयास गर्नुपर्छ। (एफिसी ४:२२-२४) डान्यल यसो भन्छन्‌, “हामी साह्रै असिद्ध भएको हुनाले यसो गर्नु चुनौती नै थियो।” तैपनि, तिनी सफल भए। अहिले डान्यल हरेक दिन परमेश्‍वरको वचन पढ्‌छन्‌ र यसले तिनलाई यहोवासित घनिष्ठ तुल्याउँछ।

हुर्कंदै गर्दा बाइबल कहिल्यै नपढेको भए तापनि डान्यलको हृदयमा यसप्रति गहिरो आदर थियो र तिनी हरेक रात परमेश्‍वरलाई प्रार्थना गर्थे। तर तिनी अझै शून्य महसुस गर्थे। तिनले आनन्द अनुभव गर्न पाएका थिएनन्‌। जब तिनले परमेश्‍वरको नाउँ बाइबलमा पहिलोपल्ट देखे तब तिनको जीवनमा ठूलो परिवर्तन आयो। (प्रस्थान ६:३; भजन ८३:१८) त्यसपछि, तिनले प्रार्थना गर्दा यहोवा नाउँ प्रयोग गर्न थाले र तिनको प्रार्थना झनै आत्मीय भयो। “म यहोवासित घनिष्ठ भएँ र उहाँ अहिले पनि मेरो घनिष्ठ मित्र हुनुहुन्छ।”

बाइबलबारे सिक्नुअघि भविष्यबारे डान्यलको दृष्टिकोण अन्धकारमय थियो। तिनी भन्छन्‌, “यो संसार विनाशतर्फ लम्किरहेको छ भनेर सबैलाई थाह छ। मलाई भविष्य अन्धकार छ भन्‍ने कुरा सोच्दै डर लाग्थ्यो र त्यो कुरा बिर्सन म व्यस्त रहन थालें।” त्यसपछि, तिनले परमेश्‍वरको राज्यले पृथ्वीलाई सफा पार्नेछ र त्यहाँ आज्ञाकारी मानिसहरूले असीम शान्ति, आनन्द अनि न्याय अनुभव गर्नेछन्‌ भन्‍नेकुरा सिके। (भजन ३७:१०, ११; दानियल २:४४; प्रकाश २१:३, ४) अहिले दानियलसित भरपर्दो आशा छ। बाइबलको यस्तो अमेट छापले तिनलाई जीवनमा सकारात्मक दृष्टिकोण कायम राख्न सक्षम बनायो।

भावनात्मक समस्याहरूमाथि विजयी हुन मदत

जर्ज आफ्नो आमाको मृत्यु हुँदा सात वर्षका मात्र थिए। तिनी अर्को दिन देख्न पाउने हो की होइन भन्‍ने त्रासले सुत्नै डराउँथे। त्यसपछि, येशूले मृत्यु र पुनरुत्थानबारे भन्‍नुभएका कुराहरू तिनले पढे: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्‍नेछन्‌।” तिनी येशूका यी शब्दहरूबाट पनि साह्रै प्रभावित भए: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्‍वास गर्ने मऱ्‍यो भने पनि बाँच्नेछ।” (यूहन्‍ना ५:२८, २९; ११:२५) त्यस्तो विचार तर्कसंगत, युक्‍तिसंगत र सान्त्वनादायी देखिन्थ्यो। तिनी भन्छन्‌, “यो सत्य दिमाग छुने मात्र होइन तर हृदय छुने खालको पनि छ।”

सुरुमा उल्लेख गरिएको डान्यल पनि साह्रै डराउँथे। तिनकी आमा तिनलाई पाल्न नसक्ने अवस्थामा भएकीले एकपछि अर्को गर्दै धेरै घरमा अरूको धर्मपुत्र बनेर बस्नुपऱ्‍यो। तिनी सधैं आफूलाई एक्लो महसुस गर्थे र कुनै मायालु परिवारको सदस्य हुने चाह गर्थे। अन्ततः बाइबल अध्ययनबाट तिनले आफूले खोजिरहेको कुरा भेट्टाए। डान्यल यहोवाका साक्षीहरूको मसीही मण्डलीसित संगत गर्न थाले र आध्यात्मिक परिवारको सदस्य भए। त्यहाँ तिनले अरूबाट स्नेह अनि प्रेम पाएको महसुस गरे। साँच्चै, बाइबलले व्यावहारिक अनि मानसिक तवरमा सन्तुष्टि दिन्छ।

यहोवाले हाम्रो हृदय हेर्नुहुन्छ र हाम्रो आवश्‍यकता बुझ्नुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। परमेश्‍वरले “मनको . . . जाँच” गरिरहनुहुन्छ र “हरेक मानिसलाई त्यसको चालअनुसार[को]” फल दिनुहुन्छ।—हितोपदेश २१:२; यर्मिया १७:१०.

पारिवारिक जीवनको लागि व्यावहारिक सल्लाह

मानवीय सम्बन्धहरूबारे पनि बाइबलले व्यावहारिक सल्लाह दिन्छ। जर्ज यसो भन्छन्‌: “जीवनमा व्यक्‍तित्व बाझिनु अथवा गलत अर्थको सिकार हुनु सबैभन्दा दुःखलाग्दो कुरा हो।” तिनी कसरी यसको सामना गर्छन्‌? “कसैले मसित द्वेष भाव राखेको छ भने म मत्ती ५:२३, २४ पदमा दिइएको ‘आफ्नो भाइसित मिलाप गर’ भन्‍ने सोझो सल्लाह पालन गर्छु। मैले द्वेषलाई त्यसरी सुल्झाउँदा त्यसको फल पनि पाउँछु। म बाइबलले बताएको परमेश्‍वरको शान्ति अनुभव गर्नसक्छु। बाइबलको सल्लाह प्रभावकारी छ। यो धेरै नै व्यावहारिक छ।”—फिलिप्पी ४:६, ७.

पतिपत्नीबीच कुनै कुरामा ठाकठुक पर्दा दुवै “सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा” हुनु आवश्‍यक हुन्छ। (याकूब १:१९) त्यस्तो सल्लाहले कुराकानीलाई अर्थपूर्ण बनाउँछ। जर्ज अझ यसो भन्छन्‌: “मैले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गरेर व्यवहार गर्नुपर्छ भन्‍ने सल्लाह पालन गर्दा त्यसको फल तुरुन्तै पाउँछु। मलाई आदर गर्न उनलाई पनि सजिलो हुन्छ।” (एफिसी ५:२८-३३) हो, बाइबलले हामीलाई आफू असिद्ध छु भन्‍ने स्वीकारेर त्यसको सामना गर्न अनि अरूलाई पनि यस्तै समस्याहरूको सफलतासाथ सामना गर्ने तरिका सिकाउँछ।

चिरकालीन सल्लाह

बुद्धिमान्‌ राजा सुलेमानले यसो भने: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) यी शब्दहरू कत्ति सरल तर गहकिला छन्‌!

बाइबलमा असल व्यक्‍ति बनाउने शक्‍ति छ। यसले परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई आफ्नो जीवन यहोवाको इच्छाअनुरूप बिताउन र ‘उहाँको व्यवस्थामा हिंडेर’ आनन्द प्राप्त गर्न मदत गर्छ। (भजन ११९:१) हाम्रो परिस्थिति जस्तोसुकै होस्‌ हामीलाई चाहिने निर्देशन र सल्लाह बाइबलमा पाइन्छ। (यशैया ४८:१७, १८) यसलाई दिनहुँ पढ्‌नुहोस्‌, पढेका कुराहरू मनन गर्नुहोस्‌ र जीवनमा उतार्नुहोस्‌। यसले तपाईंको मनलाई स्वच्छ राख्नेछ र शुद्ध अनि लाभदायी कुराहरूमा लगाउनेछ। (फिलिप्पी ४:८, ९) यसले तपाईंलाई कसरी जीविका चलाउने र जीवनको आनन्द उठाउने भन्‍नेसम्बन्धमा मात्र होइन तर जीवनको सृष्टिकर्तालाई प्रेम गर्ने तरिकाबारे पनि सिकाउँछ।

यस्तो मार्गमा हिंडेर अरू लाखौंलाई जस्तै तपाईंलाई पनि बाइबल आफ्नो लाग्नेछ र यो राम्रो किताब मात्र नभई गहकिलो पनि लाग्नेछ। यो पक्कै पनि जीवन यापन गर्न उपयोगी पाठ्यपुस्तक साबित हुनेछ!

[पृष्ठ ६-मा भएको चित्र]

बाइबलले हानिकारक बानीहरू छोड्‌ने तपाईंको अठोटलाई मजबुत पार्नसक्छ

[पृष्ठ ७-मा भएको चित्र]

बाइबलले परमेश्‍वरको नजिक हुने तरिका सिकाउँछ