सीधै सामग्रीमा जाने

उपवास बस्नेबारे बाइबल के भन्छ?

उपवास बस्नेबारे बाइबल के भन्छ?

बाइबलको जवाफ

 बाइबलकालीन समयमा कसैले उचित मनसाय राखेर उपवास बस्दा परमेश्‍वरले त्यो स्विकार्नुहुन्थ्यो। तर गलत उद्देश्‍यले उपवास बस्दा भने परमेश्‍वरको अनुमोदन पाउन सकिँदैनथ्यो। तर आज बाइबलले उपवास बस्ने वा नबस्ने विषयमा कुनै पनि आज्ञा दिएको छैन।

बाइबलकालीन समयका केही मानिसहरू के-कस्तो अवस्थामा उपवास बस्ने गर्थे?

  •   परमेश्‍वरसित मदत र डोऱ्‍याइ मग्न। यरुसलेममा जान यात्रा गरिरहेका मानिसहरूले परमेश्‍वरमा भर पर्दै साँच्चै मदत मागेको कुरा देखाउन उपवास बसे। (एज्रा ८:२१-२३) पावल र बर्णाबासले मण्डलीमा एल्डरहरू नियुक्‍त गर्नुअघि कहिलेकाहीँ उपवास बस्ने निर्णय गरे।—प्रेषित १४:२३.

  •   परमेश्‍वरको उद्देश्‍यमा ध्यान केन्द्रित गर्न। येशूले आफ्नो बप्तिस्मापछि सुरु हुने प्रचारकार्यको समयभरि परमेश्‍वरको इच्छा गर्न आफूलाई तयार पार्नको लागि ४० दिन उपवास बस्नुभयो।—लुका ४:१, २.

  •   विगतमा गरेको गल्तीको पश्‍चात्ताप गर्न। परमेश्‍वरले भविष्यवक्‍ता योएलमार्फत अवफादार इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ। तिमीहरू उपवास बस्दै र रोइकराइ गर्दै मकहाँ फर्क।”—योएल २:१२-१५.

  •   प्रायश्‍चितको दिनको नियम पालन गर्न। परमेश्‍वरले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा प्रत्येक वर्ष प्रायश्‍चितको दिन उपवास बस्नुपर्ने आज्ञा पनि समावेश थियो। a (लेवी १६:२९-३१) प्रायश्‍चितको दिनमा उपवास बस्नु उपयुक्‍त थियो किनकि यसले इस्राएलीहरूलाई आफू त्रुटिपूर्ण भएको अनि परमेश्‍वरबाट क्षमा चाहिएको कुरा सम्झना दिलाउँथ्यो।

कस्तो उद्देश्‍यले उपवास बस्नु गलत हो?

  •   अरूलाई देखाउन। उपवास बस्नु भनेको उपवास बस्ने व्यक्‍ति र परमेश्‍वरबीचको नितान्त व्यक्‍तिगत कुरा हो भनेर येसुले सिकाउनुभयो।—मत्ति ६:१६-१८.

  •   आफूलाई धर्मी साबित गर्न। उपवास बस्दैमा कोही नैतिक वा आध्यात्मिक तवरमा अरूभन्दा श्रेष्ठ हुँदैन।—लुका १८:९-१४.

  •   जानाजानी गरिएको पापको सट्टाभर्ना तिर्न। (यसैया ५८:३, ४) कुनै पनि प्रकारको पाप गर्ने व्यक्‍तिले परमेश्‍वरप्रति आज्ञाकारी हुँदै अनि मनैदेखि पश्‍चात्ताप गर्दै उपवास बसेको खण्डमा मात्र परमेश्‍वरले त्यो स्विकार्नुहुन्थ्यो।

  •   धार्मिक विधि पूरा गर्न। (यसैया ५८:५-७) जसरी आमाबुबालाई आफ्नो छोराछोरीले मनैदेखि होइन तर कर्तव्य पूरा गर्न मात्र माया देखाउँदा दुःख लाग्छ, त्यसैगरि परमेश्‍वरलाई पनि मानिसहरूले धार्मिक विधि मात्र पूरा गर्न उपवास बसेको देख्दा दुःख लाग्छ।

के ख्रीष्टियनहरूले उपवास बस्नै पर्छ?

 पर्दैन। परमेश्‍वरले इस्राएलीहरूलाई प्रायश्‍चितको दिन उपवास बस्ने नियम दिनुभएको थियो तर येसुले पश्‍चात्तापी मानिसहरूको पापको लागि आफ्नो जीवन सधैँलाई बलिदान दिइसक्नुभएपछि भने परमेश्‍वरले त्यो नियम खारेज गर्नुभयो। (हिब्रू ९:२४-२६; १ पत्रुस ३:१८) ख्रीष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छैनन्‌ अनि प्रायश्‍चितको दिन मान्‍ने आज्ञा पनि मोसाको व्यवस्थाकै भाग हो। (रोमी १०:४; कलस्सी २:१३, १४) त्यसैले उपवास बस्ने कि नबस्ने भन्‍ने कुरा प्रत्येक ख्रीष्टियनको व्यक्‍तिगत निर्णय हो।—रोमी १४:१-४.

 उपवास बस्नु भनेको उपासनाको अभिन्‍न भाग होइन भनेर ख्रीष्टियनहरूले बुझेका छन्‌। खुसी हुन उपवास बस्नुपर्छ भनेर बाइबलमा कतै पनि बताइएको छैन। बरु साँचो ख्रीष्टियन उपासनाको मुख्य चिनारी आनन्द हो, जसले “आनन्दित परमेश्‍वर” यहोवाको व्यक्‍तित्वलाई झल्काउँछ।—१ तिमोथि १:११; उपदेशक ३:१२, १३; गलाती ५:२२.

उपवाससम्बन्धी बाइबलको शिक्षाबारे गलत धारणाहरू

 गलत धारणा: प्रेषित पावलले विवाहित ख्रीष्टियन दम्पतीहरूलाई उपवास बस्ने सल्लाह दिए। —१ कोरिन्थी ७:५, ट्रिनिटेरियन बाइबल सोसाइटी।

 तथ्य: सबैभन्दा पुराना पाण्डुलिपिहरूमा १ कोरिन्थी ७:५ मा उपवास बस्नेबारे बताइएको छैन। b बाइबलको नकल उतार्नेहरूले यस पदमा मात्र होइन, मत्ति १७:२१, मर्कुस ९:२९प्रेषित १०:३० मा पनि उपवास बस्ने कुरा थपेका हुन्‌ जस्तो देखिन्छ। त्यसैले धेरैजसो आधुनिक बाइबल अनुवादका यी पदहरूमा यो शङ्‌कास्पद अभिव्यक्‍ति समावेश गरिएको छैन।

 गलत धारणा: येसुले बप्तिस्मापछि उजाडस्थानमा ४० दिन उपवास बस्नुभएको कुराको सम्झना गर्न ख्रीष्टियनहरूले उपवास बस्नुपर्छ।

 तथ्य: येसुले त्यसरी उपवास बस्ने आज्ञा कहिल्यै दिनुभएन। सुरु-सुरुका ख्रीष्टियनहरूले त्यसरी उपवास बसेको कुनै छनक हामी बाइबलमा पाउँदैनौँ। c

 गलत धारणा: येसुको मृत्युको सम्झना गर्दा ख्रीष्टियनहरूले उपवास बस्नुपर्छ।

 तथ्य: येसुले आफ्ना चेलाहरूलाई उहाँको मृत्युको सम्झना गर्दा उपवास बस्ने आज्ञा दिनुभएन। (लुका २२:१४-१८) येसुले उहाँको मृत्युपछि चेलाहरूले उपवास बस्नेछन्‌ भनेर बताउनुहुँदा उहाँले कुनै आज्ञा दिइरहनुभएको थिएन बरु आफ्नो मृत्युपछि के हुनेछ भनेर बताइरहनुभएको मात्र थियो। (मत्ति ९:१५) येसुको मृत्युको सम्झना गर्दा भोकाएका ख्रीष्टियनहरूलाई घरैमा खाएर आउन बाइबलमा निर्देशन दिइएको थियो।—१ कोरिन्थी ११:३३, ३४.

a परमेश्‍वरले इस्राएलीहरूलाई प्रायश्‍चितको दिनमा “तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू” भन्‍नुभयो। (लेवी १६:२९, ३१) यस अभिव्यक्‍तिले साधारणतया उपवास बस्नुलाई बुझाउँछ। (यसैया ५८:३) त्यसैले पढ्‌न सजिलो संस्करण-मा यस अभिव्यक्‍तिलाई आफूले गरेको पापको लागि दुःख मनाउन “तिमीहरूले भोजन लिनु हुँदैन” भनेर अनुवाद गरिएको छ।

b ब्रुस एम. मेट्‌ज्गरद्वारा लिखित ग्रीक नयाँ नियमको शाब्दिक टिप्पणी-को (अङ्‌ग्रेजी) तेस्रो संस्करण, पृष्ठ ५५४ हेर्नुहोस्‌।

c लेन्ट अर्थात्‌ इस्टर पर्वअघि उपवास बसिने ४० दिने चलनको इतिहासबारे नयाँ क्याथोलिक विश्‍वकोश (अङ्‌ग्रेजी) यसो भन्छ: “सुरुका तीन शताब्दीहरूमा पास्कलको [अर्थात्‌ इस्टरको] तयारी गर्दा बढीमा एक हप्तासम्म उपवास बस्ने गरिन्थ्यो; धेरैजसो एक वा दुई दिन मात्र उपवास बस्ने गरिन्थ्यो। . . . ४० दिन उपवास बस्ने कुरा पहिलो पटक नाइसिया परिषद्‌को (३२५) पाँचौँ धार्मिक सिद्धान्तमा उल्लेख गरिएको पाइन्छ। तर यहाँ लेन्टकै सन्दर्भमा यो कुरा उल्लेख गरिएको हो भनेर केही शास्त्रविद्‌हरू सहमत छैनन्‌।”—दोस्रो संस्करण, खण्ड ८, पृष्ठ ४६८.