लुकाका अनुसार ४:१-४४

  • दियाबल येसुको परीक्षा गर्छ (१-१३)

  • येसु गालीलमा प्रचार गर्न थाल्नुहुन्छ (१४, १५)

  • येसुलाई नासरतमा स्वीकार गरिँदैन (१६-३०)

  • कफर्नहुमको सभाघरमा (३१-३७)

  • सिमोनकी सासूलाई र अरूलाई निको पारिन्छ (३८-४१)

  • भीडले येसुलाई एकान्त ठाउँमा भेट्टाउँछ (४२-४४)

 तब येसु पवित्र शक्‍तिले भरिएर यर्दन नदीबाट जानुभयो र पवित्र शक्‍तिले उहाँलाई निर्जनभूमितर्फ डोऱ्‍यायो,+ २  जहाँ उहाँले ४० दिन बिताउनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन। त्यसैले ती दिनहरू बितेपछि उहाँ भोकाउनुभयो। तब दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्‍यो।+ ३  दियाबलले उहाँलाई यसो भन्यो: “यदि तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यो ढुङ्‌गा रोटी भइजाओस्‌ भन्‍नुहोस्‌।” ४  तर येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन।’”+ ५  त्यसपछि दियाबलले उहाँलाई अग्लो ठाउँमा लग्यो र छिनभरमै संसारका सबै राज्य देखायो।+ ६  अनि त्यसले उहाँलाई भन्यो: “म यी सबै राज्यको अख्तियार अनि त्यसको महिमा तपाईँलाई दिनेछु। किनकि ती मलाई दिइएका छन्‌+ र जसलाई इच्छा लाग्छ, म उसैलाई दिन्छु। ७  तपाईँले मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक तपाईँकै हुनेछ।” ८  येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+ ९  त्यसपछि त्यसले उहाँलाई यरुसलेममा लग्यो र मन्दिरको पर्खालको बुर्जामा* राख्यो र उहाँलाई भन्यो: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्‌+ १०  किनभने यस्तो लेखिएको छ, ‘तिमीलाई जोगाउन उहाँले आफ्ना स्वर्गदूतहरूलाई हुकुम गर्नुहुनेछ’ ११  र ‘उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्‌ ताकि तिम्रो खुट्टा ढुङ्‌गामा नबजारियोस्‌।’”+ १२  येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो भनिएको छ, ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू।’”+ १३  यसरी सबै परीक्षा लिइसकेपछि अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि दियाबलले उहाँलाई छोडेर गयो।+ १४  तब येसु पवित्र शक्‍तिले भरिएर गालिल फर्कनुभयो+ अनि वरपरका सबै ठाउँमा उहाँको कीर्ति फैलियो। १५  साथै उहाँले सभाघरहरूमा* सिकाउन थाल्नुभयो र सबैले उहाँको आदर गर्थे। १६  अनि उहाँ आफू हुर्केको सहर नासरत जानुभयो+ र त्यहाँ आफ्नो बानीअनुसार विश्रामदिनमा* सभाघरभित्र पस्नुभयो+ र धर्मशास्त्र पढ्‌नलाई उभिनुभयो। १७  उहाँलाई भविष्यवक्‍ता यसैयाको मुठा दिइयो र उहाँले त्यो खोल्नुभयो अनि यस्तो लेखिएको ठाउँ फेला पार्नुभयो: १८  “यहोवा* परमेश्‍वरको पवित्र शक्‍ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+ १९  अनि यहोवा* परमेश्‍वरको निगाह पाउने समयबारे प्रचार गरूँ।”+ २०  त्यसपछि उहाँले मुठा बेरेर सेवकलाई फिर्ता दिनुभयो र बस्नुभयो। सभाघरमा हुनेजति सबैले एकटक लगाएर उहाँलाई हेरिरहेका थिए। २१  उहाँले तिनीहरूलाई भन्‍न थाल्नुभयो: “तिमीहरूले भर्खरै सुनेको धर्मशास्त्रको यो अंश आज पूरा भयो।”+ २२  तिनीहरू सबैले उहाँको तारिफ गरे र उहाँले बोल्नुभएका मनमोहक वचन+ सुनेर तिनीहरू छक्क परे अनि यसो भन्‍न थाले: “के यिनी युसुफका छोरा होइनन्‌ र?”+ २३  तब उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले पक्कै यो उक्‍ति सुनाउनेछौ, ‘ए वैद्य,* पहिले आफैलाई निको पार’ अनि ममाथि त्यो उक्‍ति लागू गर्दै यसो भन्‍नेछौ, ‘तिमीले कफर्नहुममा+ गरेका कामहरूबारे हामीले जे सुन्यौँ, ती यहाँ आफ्नो गृहनगरमा पनि गर।’” २४  अनि उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कुनै पनि भविष्यवक्‍तालाई उसको आफ्नै इलाकामा स्वीकार गरिँदैन।+ २५  उदाहरणको लागि, एलियाको पालामा साढे तीन वर्षसम्म पानी नपरेर सारा देशभरि ठूलो अनिकाल परेको थियो। त्यसबेला+ इस्राएलमा थुप्रै विधवा थिए। २६  तर परमेश्‍वरले एलियालाई ती स्त्रीहरूमध्ये कसैकहाँ नपठाएर सिदोनको सारपतमा बस्ने विधवाकहाँ पठाउनुभयो।+ २७  साथै भविष्यवक्‍ता एलिसाको पालामा इस्राएलमा थुप्रै कुष्ठरोगी थिए तैपनि सिरियाको नामानबाहेक अरू कसैलाई शुद्ध पारिएन।”*+ २८  सभाघरमा बसेर यी कुरा सुनिरहेका सबै जना रिसले चूर भए।+ २९  तिनीहरूले हतारहतार उहाँलाई सहरबाहिर पुऱ्‍याए अनि उहाँलाई उँधोमुन्टो पारेर भीरबाट खसाल्न आफ्नो सहर बसालिएको डाँडाको टुप्पोतिर लगे। ३०  तर भीडलाई छिचोल्दै उहाँ आफ्नो बाटो लाग्नुभयो।+ ३१  त्यसपछि उहाँ गालिलको कफर्नहुम सहरतिर ओर्लनुभयो। अनि विश्रामदिनमा तिनीहरूलाई सिकाउन थाल्नुभयो।+ ३२  उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे+ किनकि उहाँ अख्तियारका साथ बोलिरहनुभएको थियो। ३३  प्रेतले* सताएको एक जना मानिस पनि त्यही सभाघरमा थियो र ऊ यसो भन्दै चिच्याउन थाल्यो:+ ३४  “हे नासरी येसु,+ तपाईँको हामीसित के सरोकार?* के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ।”+ ३५  तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज।” तब त्यस प्रेतले उसलाई सबैको अगाडि पछाऱ्‍यो र उसलाई कुनै चोट नपुऱ्‍याई बाहिर निस्क्यो। ३६  यो देखेर सबै जना तीनछक परे अनि यसो भन्दै आपसमा कुरा गर्न लागे: “हेर त, उहाँको वचनमा कत्ति शक्‍ति रहेछ! किनकि उहाँ प्रेतहरूलाई अख्तियार अनि शक्‍तिका साथ हुकुम गर्नुहुन्छ र तिनीहरू बाहिर निस्कन्छन्‌।” ३७  यसरी वरपरका सबै ठाउँको कुनाकाप्चासम्म उहाँको विषयमा चर्चा चल्न थाल्यो। ३८  सभाघरबाट निस्केपछि उहाँ सिमोनको घरमा पस्नुभयो। त्यतिखेर सिमोनकी सासूलाई निस्लोट ज्वरो आएको थियो। त्यसैले तिनीहरूले उहाँलाई तिनको निम्ति केही गरिदिन बिन्ती गरे।+ ३९  तब तिनको नजिकै उभिएर उहाँले ज्वरोलाई हट्‌ने आदेश दिनुभयो र ज्वरोले तिनलाई छोड्‌यो। तिनी जुरुक्क उठेर उहाँहरूको लागि खाना तयार गर्न थालिन्‌। ४०  तब घाम अस्ताउँदै गर्दा मानिसहरूले विभिन्‍न किसिमका रोगले ग्रस्त बिरामीहरूलाई उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नुभयो।+ ४१  अनि प्रेतहरू पनि यसो भनेर चिच्याउँदै थुप्रै मानिसबाट निस्के: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ।”+ तर उहाँ तिनीहरूलाई हप्काउनुहुन्थ्यो र बोल्न दिनुहुन्‍नथ्यो+ किनभने उहाँ ख्रिष्ट हुनुहुन्छ भनी तिनीहरूलाई थाह थियो।+ ४२  उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँतिर जानुभयो।+ तर भीडले उहाँलाई धुइँधुइँती खोज्न थाल्यो र तिनीहरू उहाँ भएको ठाउँमा पुगे। उहाँ तिनीहरूलाई छोडेर कतै नजाऊन्‌ भनी तिनीहरूले उहाँलाई रोक्न खोजे। ४३  तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले अरू सहरमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”+ ४४  त्यसैले उहाँ गएर यहुदियाका सभाघरहरूमा प्रचार गर्न थाल्नुभयो।

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “टुप्पोमा।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “चिकित्सक।”
वा “निको पारिएन।”
वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
प्राचीन समयमा यो उक्‍ति प्रयोग गरेर प्रश्‍न सोध्ने गरिन्थ्यो। तर हेपेर वा अहङ्‌कार गरेर बोल्न नभई कसैले भनेको कुरा, दिएको सुझाव वा व्यक्‍त गरेको शङ्‌कामा आपत्ति जनाउन चलाइन्थ्यो।