सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

धूम्रपान र भेपिङबारे मैले के थाह पाउनुपर्छ?

धूम्रपान र भेपिङबारे मैले के थाह पाउनुपर्छ?

 “म बस्ने ठाउँमा २५ वर्षमुनिका चुरोट नखाएका वा भेपिङ नगरेका मानिसहरू भेट्‌नै गाह्रो छ।”—जुलिया।

यस लेखमा

 तपाईँले के बुझ्नुपर्छ?

  •   धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ। निकोटिन चुरोटमा प्रयोग गरिने एउटा प्रमुख पदार्थ हो। यो निकै हानिकारक हुन्छ र यसको लत पनि छिट्टै बस्छ। नेपालको स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालयअनुसार ‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सुर्तीजन्य पदार्थ सेवनको कारणले गर्दा लाग्ने नसर्ने रोग र मृत्युदर अन्य कारण भन्दा उच्च रहेको पाइन्छ। नेपालमा हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगको कारणले गर्दा लागेको रोगबाट भएको पाइन्छ।’

     “मेरो काम अल्ट्रासाउन्ड गर्ने हो। चुरोट खाने बिरामीहरूको अल्ट्रासाउन्ड गर्दा चुरोटले कुन हदसम्म असर गर्छ भनेर मैले देखेको छु। चुरोट खाने मानिसहरूको धमनीमा यत्ति बाक्लो पत्र जमेको हुन्छ कि त्यो कल्पना गर्नै गाह्रो हुन्छ। म आफ्नो शरीरलाई धेरै माया गर्छु र चुरोट खाने कुरा त म सोच्नै सक्दिनँ।”—थेरेसा।

     के तपाईँलाई थाह थियो? चुरोटमा झन्डै ७,००० केमिकलहरू हुन्छन्‌, जसमध्ये थुप्रै विषाक्‍त हुन्छन्‌। प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगहरूले गर्दा लाखौँ मानिसले ज्यान गुमाउँछन्‌।

  •   भेपिङ गर्नेहरूले विषाक्‍त केमिकलहरू तानिरहेका हुन्छन्‌। भेपिङ वा इ-सिगरेटले फोक्सोलाई धेरै हानि पुऱ्‍याउँछ र यसले मानिसको ज्यानसमेत लिन सक्छ। साथै चुरोटहरूमा जस्तै धेरैजसो इ-सिगरेटमा पनि निकोटिन हुन्छ। यसको लत एकदमै छिटो लाग्ने भएकोले जवानहरू अन्य लागूपदार्थको दुर्व्यसनमा फस्ने खतरा पनि उत्तिकै हुन्छ भनी एउटा स्रोतले बताउँछ।

     “कतिपय इ-सिगरेटमा अक्सर कटन क्यान्डी र चेरीजस्ता फ्लेभरहरू मिसाइएका हुन्छन्‌। त्यसले गर्दा केटाकेटी र किशोरकिशोरीलाई त्यो खाऊँ-खाऊँ लाग्छ अनि त्यस्ता फ्लेभरहरूले गर्दा तिनीहरूलाई ती हानिकारकजस्तो पनि लाग्दैन।”—मिरान्डा।

     के तपाईँलाई थाह थियो? इ-सिगरेटबाट तानिने बाफ केवल पानीको बाफ मात्र होइन। यसमा हानिकारक तत्त्वहरू हुन्छन्‌ र यसले सीधै फोक्सोलाई हानि पुऱ्‍याउँछ।

 चुरोट र भेपिङबाट हुने खतराहरू

  1.  (१) किशोरकिशोरीमा सोच्ने र ध्यान दिने क्षमता कम हुन सक्छ र मुडमा पनि समस्या हुन सक्छ

  2.  (२) गिजा सुन्‍निने, दाँत किराले खाने

  3.  (३) फोक्सो सुन्‍निने र मुटुसम्बन्धी रोग

     दम बढ्‌ने

     पेट दुख्ने, वाकवाकी लाग्ने

 तपाईँ के गर्न सक्नुहुन्छ?

  •   तथ्यहरू थाह पाउनुहोस्‌। मानिसहरू भेपिङ हानिकारक छैन र यसले तनाव कम गर्न मदत गर्छ भन्‍ने गर्छन्‌। तर सुनेको सबै कुरा नपत्याउनुहोस्‌। आफै अनुसन्धान गर्नुहोस्‌ अनि बुद्धिमानी निर्णय गर्नुहोस्‌।

     बाइबलको सिद्धान्त: “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.

     “सेलिब्रेटी वा तपाईँका साथीहरूले चुरोट वा भेपिङ प्रयोग गरेको देख्दा रहरलाग्दो लाग्न सक्छ तर यसका नकारात्मक असरहरूबारे तपाईँ आफैले विचार गर्नुभयो भने त्यस्तो होइन रहेछ भनेर बुझ्नुहुनेछ।”—इभान।

     यसबारे सोच्नुहोस्‌: चुरोट पिउने वा भेपिङ गर्ने जवानहरू के साँच्चै खुसी छन्‌? अहिले वा भविष्यमा आइपर्ने समस्याहरूको सामना गर्न के तिनीहरू तयार छन्‌? अथवा के तिनीहरू अझै समस्यामा पो फसिरहेका छन्‌ कि?

  •   चिन्ता-फिक्रीसित जुझ्न हानि नपुऱ्‍याउने तरिकाहरू खोज्नुहोस्‌। चिन्ता-फिक्री कम गर्ने थुप्रै राम्रा तरिकाहरू छन्‌। जस्तै: एक्सरसाइज गर्ने, पढ्‌ने वा तपाईँलाई हौसला दिने साथीहरूसित समय बिताउने। यसरी तपाईँले असल कुराहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुभयो भने तपाईँलाई चुरोटको सहारा चाहिने छैन।

     बाइबलको सिद्धान्त: “चिन्ताले मन भारी बनाउँछ तर मीठो बोलीले मन हल्का बनाउँछ।”—हितोपदेश १२:२५.

     “मानिसहरू चुरोट अनि भेपिङले तनाव कम गर्छ भनेर सोच्ने गर्छन्‌। केही समय त यसले तनाव कम गरेको जस्तो पनि लाग्ला तर यसले पुऱ्‍याउने हानि जिन्दगीभर रहन्छ। तनावको सामना गर्ने अझै राम्रा तरिकाहरू छन्‌।—एन्जेला।

     यसबारे सोच्नुहोस्‌: तपाईँले तनावको सामना गर्न सक्ने केही प्रभावकारी तरिकाहरू के-के हुन्‌? यी कुराहरू बुझ्न “युवाहरू सोध्छन्‌”-मा भएको “म कसरी चिन्ताको सामना गर्न सक्छु?” (अङ्‌ग्रेजी) भन्‍ने लेख हेर्नुहोस्‌।

चिन्ता-फिक्रीबाट छुटकारा पाउन लत लाग्ने पदार्थहरूको सहारा लिनु भनेको वर्षाबाट जोगिन समुद्रमा हाम्फाल्नुजस्तै हो; यसले केवल समस्याहरू बढाउँछ!

  •   साथीहरूबाट आउने दबाबको सामना गर्न तयार हुनुहोस्‌। तपाईँलाई स्कुलका साथीहरूबाट दबाब आउन सक्छ। यसबाहेक तपाईँले हेर्नुहुने मनोरञ्जनले गर्दा पनि तपाईँलाई चुरोट पिऊँ वा भेपिङ गरूँ जस्तो लाग्न सक्छ। किनभने मुभि, टिभी कार्यक्रम र सामाजिक सञ्जालमा चुरोट पिउनु र भेपिङ गर्नुलाई ‘कुल’ जस्तो देखाइन्छ।

     बाइबलको सिद्धान्त: ‘परिपक्व मानिसहरूले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।’—हिब्रू ५:१४.

     “स्कुलमा छँदा म चुरोट पिउँदिनँ वा भेपिङ गर्दिनँ भन्‍ने कुरा थाह पाएपछि थुप्रै साथीहरूले मेरो तारिफ गरे। यसरी मैले यी कुराहरू खान्‍नँ भनेर पहिल्यै बताएकाले तिनीहरू मेरो पक्षमा समेत बोलिदिन्थे। त्यसैले आफ्नो कुरा पहिल्यै स्पष्ट पार्नुभयो भने त्यसले तपाईँलाई जोगाउनेछ।—आना।

     यसबारे सोच्नुहोस्‌: के तपाईँ साथीहरूको दबाबको प्रतिरोध गर्न सक्नुहुन्छ? तपाईँले साथीहरूको दबाबको प्रतिरोध गरेको कुनै घटना सम्झन सक्नुहुन्छ कि? यस क्षेत्रमा तपाईँलाई मदत चाहिएको छ भने युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड २, (अङ्‌ग्रेजी) अध्याय १५ मा भएको “साथीहरूको दबाबको कसरी सामना गर्न सकिन्छ?” भन्‍ने प्लानर हेर्नुहोस्‌।

  •   विचार पुऱ्‍याएर साथीहरू छान्‍नुहोस्‌। तपाईँले चुरोट नपिउने वा भेपिङ नगर्ने साथीहरू रोज्नुभएको छ भने तपाईँलाई पनि ती कुराहरू गरूँ-गरूँ जस्तो लाग्ने सम्भावना कम हुन्छ।

     बाइबलको सिद्धान्त: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।”—हितोपदेश १३:२०.

     आत्मसंयम र सत्यनिष्ठाजस्ता गुणहरू भएका साथीहरू छन्‌ भने तपाईँलाई साँच्चै धेरै फाइदा हुन्छ। तिनीहरूको जीवन राम्रो भएको देख्दा तपाईँलाई पनि तिनीहरूजस्तै होऊँ लाग्न सक्छ।—क्याल्भिन।

     यसबारे सोच्नुहोस्‌: तपाईँका साथीहरूले तपाईँलाई स्वस्थ अनि स्वच्छ जीवन बिताउन मदत गर्छन्‌ कि त्यस्तो जीवन बिताउन झनै गाह्रो बनाउँछन्‌?

 गाँजाबारे के भन्‍न सकिन्छ?

 थुप्रै मानिसले गाँजा हानिकारक छैन भन्छन्‌। तर त्यो झूट हो!

  •   गाँजा तान्‍ने युवायुवतीहरू यसको कुलतमा फस्ने खतरा धेरै हुन्छ। अध्ययनहरूले देखाएअनुसार गाँजाले मानिसको दिमागलाई नराम्ररी असर गर्छ; जस्तै: बौद्धिक क्षमतालाई कमजोर बनाइदिन्छ।

  •   अमेरिकाको पदार्थ दुरुपयोग र मानसिक स्वास्थ्य सेवा प्रशासनको रिपोर्टमा यसो भनिएको छ: “अनुसन्धानहरूले देखाएअनुसार गाँजा तान्‍ने मानिसहरूको अक्सर पारिवारिक समस्या हुन्छ, स्कुलमा वा काममा पनि राम्रो गर्न सक्दैनन्‌ अनि जीवनमा पनि उनीहरू सन्तुष्ट हुँदैनन्‌।”

     “मलाई गाँजा तानुँ कि जस्तो लागेको थियो। किनभने म आफ्नो चिन्ता-फिक्रीबाट छुटकारा पाउन चाहन्थेँ तर यसको कुलतमा फस्ने खतरा, खर्च र शरीरमा पुऱ्‍याउने हानिबारे सोच्दा यसले उल्टै मेरो चिन्ता-फिक्रीलाई बढाउँछ भनेर मैले महसुस गरेँ।”—जुडा।