सीधै सामग्रीमा जाने

के धूम्रपान गर्नु पाप हो?

के धूम्रपान गर्नु पाप हो?

बाइबलको जवाफ

 बाइबलमा धूम्रपान a वा सुर्तीजन्य पदार्थको सेवनबारे उल्लेख गरिएको छैन। तर अस्वस्थकर र अशुद्ध बानी परमेश्‍वरलाई स्वीकार्य छैन भनेर देखाउने सिद्धान्तहरू बाइबलमा छन्‌। त्यसैले धूम्रपान गर्नु परमेश्‍वरको नजरमा पाप हो।

  •   जीवनप्रतिको आदर। ‘परमेश्‍वरले सबै मानिसहरूलाई जीवन र सास दिनुहुन्छ।’ (प्रेषित १७:२४, २५) जीवन परमेश्‍वरले दिनुभएको उपहार हो। त्यसैले हाम्रो आयु घटाउने कुराहरू हामीले गर्नुहुँदैन। त्यसमा धूम्रपान पनि पर्छ। विश्‍वभरि मानिसहरूको अकालमै मृत्यु हुनुको एउटा मुख्य कारण धूम्रपान हो।

  •   छिमेकीप्रतिको प्रेम। “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) मानिसहरूको सामु धूम्रपान गर्ने व्यक्‍तिले अरूलाई प्रेम देखाइरहेको हुँदैन। धूम्रपान नगर्नेहरूले पनि दिनहुँजसो चुरोटको धुवाँ भएको ठाउँमा बस्नुपर्दा धूम्रपान गर्नेहरूलाई लाग्ने केही रोगहरू उनीहरूलाई पनि लाग्ने सम्भावना धेरै हुन्छ।

  •   पवित्र रहनुपर्ने आवश्‍यकता। “तिमीहरूले आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर।” (रोमी १२:१) “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध पारौं र परमेश्‍वरको डर राख्दै पूर्णतया पवित्र होऔं।” (२ कोरिन्थी ७:१) धूम्रपान एक किसिमको दुर्व्यसन हो र यसले हामीलाई अपवित्र पार्छ। मतलब, यसले हामीलाई सफा र स्वच्छ रहन मदत गर्दैन। किनभने धूम्रपान गर्नेहरूले जानाजानी आफ्नो शरीरलाई हानि गर्ने विषाक्‍त तत्त्व लिइरहेका हुन्छन्‌।

गाँजा अथवा अरू लागू पदार्थको दुर्व्यसनबारे बाइबलले के भन्छ?

 बाइबलमा गाँजा अथवा त्यस्तै अरू लागू पदार्थबारे उल्लेख गरिएको छैन। तर त्यस्तो नसालु पदार्थको दुर्व्यसन गलत हो भनेर देखाउने सिद्धान्तहरू भने दिइएको छ। माथि उल्लेख गरिएका सिद्धान्तहरूबाहेक केही थप सिद्धान्तहरू यसप्रकार छन्‌:

  •   दिमागलाई नियन्त्रणमा राख्नुपर्ने आवश्‍यकता। “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ती २२:३७, ३८) “पूर्णतया सचेत रहो।” (१ पत्रुस १:१३) लागू पदार्थको सेवन गर्ने मानिसले आफ्नो दिमागलाई पूर्णतया नियन्त्रणमा राख्न सक्दैन। अनि थुप्रै मानिसहरू लागू पदार्थको कुलतमा पनि फस्छन्‌। तिनीहरूको सोचाइ उत्थानदायी कुराहरूमा नभई कसरी लागू पदार्थ पाऊँ र खाऊँ भन्‍ने कुरामा केन्द्रित हुन्छ।—फिलिप्पी ४:८.

  •   सरकारले बनाएको नियम-कानुनप्रति आज्ञाकारिता। ‘सरकार र अख्तियारवालाहरूप्रति आज्ञाकारी होऊ।’ (तीतस ३:१) थुप्रै मुलुकमा लागू पदार्थ नियन्त्रण गर्न कडा नियमहरू बनाइएका छन्‌। परमेश्‍वरलाई खुसी बनाउन चाहन्छौँ भने हामी अख्तियारवालाहरूको अधीनमा बस्नै पर्छ।—रोमी १३:१.

a धूम्रपान गर्नु भनेको आफ्नै इच्छाले चुरोट, बिंडी, सिगार, पाइप, हुक्काजस्ता सुर्तीजन्य पदार्थको धुवाँ तान्‍नु हो। तर यस लेखमा छलफल गरिएका बाइबल सिद्धान्तहरू सुर्ती, खैनी, निकोटिन भएको इलेक्ट्रोनिक चुरोट र अन्य पदार्थ सेवन गर्ने वा सुर्तीजन्य पदार्थ सुँघ्ने सन्दर्भमा पनि लागू हुन्छ।