सीधै सामग्रीमा जाने

पाप के हो?

पाप के हो?

बाइबलको जवाफ

पाप भनेको परमेश्‍वरको स्तरविपरीतको जुनसुकै काम, भावना वा विचार हो। परमेश्‍वरको नजरमा गलत काम गरेर उहाँका नियमहरू तोड्‌नु पनि पाप हो। (१ यूहन्‍ना ३:४; ५:१७) सही गर्नदेखि चुकेमा पनि पाप गरेको ठहरिन्छ भनी बाइबल बताउँछ।—याकूब ४:१७.

मूल भाषामा बाइबलमा प्रयोग गरिएको पाप भन्‍ने शब्दले “कुनै काम गर्नदेखि चुक्नु” वा निसाना चुक्नु भन्‍ने अर्थ दिन्छ। उदाहरणको लागि, पुरातन इस्राएलका सिपाहीहरू घुँयेत्रोले ढुङ्‌गा हान्‍न यति सिपालु थिए कि उनीहरू “कुनै निसाना पनि चुकाउँदैन थिए।” यस अभिव्यक्‍तिलाई शाब्दिक रूपमा अनुवाद गर्दा “कुनै पाप गर्दैन थिए” भन्‍ने हुन्छ। (न्यायकर्ता २०:१६) त्यसैले पाप गर्नु भनेको परमेश्‍वरको स्तर पूर्णरूपमा पालन गर्नदेखि चुक्नु हो।

परमेश्‍वर सृष्टिकर्ता हुनुभएकोले उहाँसित मानिसजातिको लागि सही स्तर तोक्ने अधिकार छ। (प्रकाश ४:११) हामीले गरेका कामहरूको लागि उहाँलाई लेखा दिनुपर्छ।—रोमी १४:१२.

के पाप गर्नदेखि पूर्णतया अलग रहन सकिन्छ?

सकिँदैन। बाइबल भन्छ “सबैले पाप गरेका छन्‌ अनि परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌।” (रोमी ३:२३; १ राजा ८:४६; उपदेशक ७:२०; १ यूहन्‍ना १:८) त्यस्तो किन भएको?

पहिलो मानिस, आदम र हव्वा सुरुमा पापरहित थिए। किनभने उनीहरूलाई परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको थियो। उनीहरू त्रुटिरहित थिए। (उत्पत्ति १:२७) तर परमेश्‍वरको आज्ञा पालन नगरेर त्रुटिरहित अवस्था गुमाए। (उत्पत्ति ३:५, ६, १७-१९) उनीहरूको त्रुटिपूर्ण अवस्था र पाप उनीहरूले जन्माएका सन्तानमा पनि सऱ्‍यो। (रोमी ५:१२) त्यसैले इस्राएलको राजा दाऊदले पनि यसो भनेका थिए, “म जन्मँदा नै पापी थिएँ।”—भजन ५१:५, NRV.

के गम्भीर खालका पापहरू पनि हुन्छन्‌?

हुन्छन्‌। उदाहरणको लागि, पुरातन समयको सदोमका मानिसहरू “दुष्ट थिए” र “साह्रै पाप” गर्थे। उनीहरूको पाप “साह्रै ज्यादा” भएको थियो। (उत्पत्ति १३:१३; १८:२०) पाप कत्तिको गम्भीर हो भनेर पत्ता लगाउने तीन वटा क्षेत्र विचार गरौँ।

  1. १. पाप कत्तिको गम्भीर छ? बाइबलले हामीलाई गम्भीर पापहरूदेखि अलग बस्न चेतावनी दिएको छ। जस्तै: अवैध यौनसम्बन्ध राख्ने, मूर्तिपूजा गर्ने, चोर्ने, पियक्कड हुने, लुट्‌ने, हत्या गर्ने र तन्त्रमन्त्र गर्ने। (१ कोरिन्थी ६:९-११; प्रकाश २१:८) बाइबलले यस्ता पापहरू र सोचविचारै नगरी, अनजानमै गरिने पापहरू फरक छन्‌ भनेर बताउँछ। जस्तै: आफ्नो बोली वा कामद्वारा अरूको चित्त दुखाउनु। (हितोपदेश १२:१८; एफिसी ४:३१, ३२) तर बाइबलले आफ्ना पापहरूलाई हल्कासित नलिन प्रोत्साहन दिन्छ किनभने यसले पछि परमेश्‍वरको नियम उल्लङ्‌घन गर्ने अझ गम्भीर पापतर्फ धकेल्न सक्छ।—मत्ती ५:२७, २८.

  2. २. कस्तो मनसायले गरेको हो? कहिलेकाहीँ परमेश्‍वरले माग गर्नुभएको कुरा पूरा गर्न हेलचेक्र्‌याइँ गरेकोले पनि पाप गर्न पुग्छौँ। (प्रेषित १७:३०; १ तिमोथी १:१३) हामीलाई यस्ता पापहरू गर्न छुट दिइएको छैन। बाइबलले यस्ता पाप र परमेश्‍वरको नियम उल्लङ्‌घन गरेर जानाजानी गर्ने पापबीचको फरकबारे बताउँछ। (गन्ती १५:३०, ३१) जानाजानी गरिने पाप “दुष्ट हृदय”-बाट आउँछ।—यर्मिया १६:१२.

  3. ३. कतिपल्ट गरिएको हो? एक पल्ट मात्र पाप गर्नु र पाप गरिरहने बानी नै बस्नुबीच भिन्‍नता छ भनेर पनि बाइबलले बताउँछ। (१ यूहन्‍ना ३:४-८) सही काम कसरी गर्ने भनेर सिकिसकेकाहरूले ‘जानाजानी पाप गरिरहन्छन्‌’ भने तिनीहरूले परमेश्‍वरबाट कडा दण्ड पाउनेछन्‌।—हिब्रू १०:२६, २७.

गम्भीर पाप गरेकाहरूलाई आफूले गरेको गल्तीले गर्दा असाध्यै दोषी महसुस हुन सक्छ। उदाहरणको लागि, राजा दाऊदले यस्तो लेखे: “मेरा अधर्महरू मेरो शिरसम्म पुगेका छन्‌, गह्रौँ भारीझैँ ती मेरो निम्ति अति गह्रौँ छन्‌।” (भजन ३८:४) तर बाइबलले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस्‌ र परमप्रभुतिर फर्कोस्‌, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्‍वरतर्फ त्यो फर्कोस्‌, औ उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।”—यशैया ५५:७.