सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

मैले अनलाइन फोटो सेयरिङबारे के थाह पाउनुपर्छ?

मैले अनलाइन फोटो सेयरिङबारे के थाह पाउनुपर्छ?

 तपाईँ छुट्टी मनाउँदै हुनुहुन्छ र आफ्ना साथीभाइलाई आफूले गरिरहेको रमाइलोबारे बताउन चाहनुहुन्छ। तपाईँ कसरी त्यसो गर्नुहुन्छ?

  1.  (क) प्रत्येकलाई चिठी लेख्नुहुन्छ

  2.  (ख) सबै साथीलाई इमेल पठाउनुहुन्छ

  3.  (ग) इन्टरनेटमा फोटो पोस्ट गर्नुहुन्छ

 तपाईँका आमाबुबा तपाईँको उमेरको हुँदा (क) रोज्नुबाहेक अरू कुनै विकल्प थिएन होला।

 केही वर्षअघि तपाईँले सायद (ख) रोज्नुहुन्थ्यो।

 तर आज इन्टरनेट चलाउन अनुमति पाएका धेरैजसो युवाहरू (ग) रोज्न रुचाउँछन्‌। तपाईँ नि? तपाईँ पनि यही छनौट गर्नुहुन्छ भने यस लेखबाट जोगिनुपर्ने केही खतराहरूबारे थाह पाउनुहुनेछ।

 कस्ता फाइदाहरू छन्‌?

 तुरुन्तै सेयर गर्न सकिन्छ। “रमाइलो यात्रामा गइरहेको बेला अथवा साथीहरूसित रमाइलो गरिरहेकै बेला फोटो सेयर गर्न सक्छु।”—मेलानी

 सजिलो छ। “साथीहरू के गर्दैछन्‌ भनेर इमेलबाट भन्दा तिनीहरूले अनलाइन पोस्ट गरेका नयाँ फोटोहरूबाट सजिलै थाह पाउन सकिन्छ।”—जोर्डन

 अरूसित सम्पर्कमा रहन मदत गर्छ। “मेरो परिवार र केही साथीहरू टाढा बस्छन्‌। तिनीहरूले बेला-बेला पोस्ट गरेको फोटोहरू हेर्दा हरेक दिन तिनीहरूसित भेटेजस्तै लाग्छ।”—कारेन

 कस्ता खतराहरू छन्‌?

 तपाईँ खतरामा पर्न सक्नुहुन्छ। तपाईँको क्यामरामा जियोट्यागिङ छ भने तपाईँले पोस्ट गरेको फोटोले तपाईँले चाहेभन्दा धेरै जानकारी दिइरहेको हुन सक्छ। डिजिटल ट्रेन्ड्‌स वेबसाइटको रिपोर्टअनुसार “इन्टरनेटमा सटीक जियोलोकेसनसहित फोटो र भिडियोजस्ता कुराहरू पोस्ट गर्दा गलत मनसाय भएका मानिसहरूले ट्र्याक गर्न सक्ने सफ्टवेयर प्रयोग गरेर तपाईँ कहाँ हुनुहुन्छ भनेर सजिलै पत्ता लगाउन सक्छन्‌।”

 केही अपराधीहरू तपाईँ कहाँ हुनुहुन्‍न भनेर धेरै चासो राख्छन्‌। डिजिटल ट्रेन्ड्‌सले एउटा मामिलाबारे गरेको रिपोर्टअनुसार तीन जना चोरले १८ वटा घर फोर्दा त्यहाँ कोही पनि थिएन। ती चोरहरूले घरमा कोही पनि छैन भनेर कसरी थाह पाए? तिनीहरूले साइबरकेसिङ भनिने तरिका अपनाएर घरका मानिसहरू कहिले कहाँ जान्छन्‌ भनेर पत्ता लगाउन उनीहरूमाथि नजर राखेका थिए। ती चोरहरूले १ लाख अमेरिकी डलरभन्दा धेरै मूल्यको सामान चोरे।

 अनुचित कुराहरू देखा पर्न सक्छ। केही मानिसहरू कुनै अप्ठेरो नमानी इन्टरनेटमा जे पनि पोस्ट गर्छन्‌। सारा नाम गरेकी किशोरी भन्छिन्‌: “सामाजिक सञ्जालमा अपरिचित मानिसहरूको खाता हेर्दा समस्या आइपर्छ। यसो गर्नु भनेको नक्साविना नयाँ सहरमा हिँड्‌नुजस्तै हो। तपाईँ पक्कै पनि खतरा भएको ठाउँमा पुग्ने हुनुहुनेछ।”

 समय गएको पत्तै नहुन सक्छ। योलान्डा नाम गरेकी किशोरी भन्छिन्‌: “नयाँ पोस्टहरू हेर्ने अनि सबैको कमेन्टहरू पढ्‌ने लत लाग्न सक्छ। नयाँ पोस्टहरू चेक गर्न छिनछिनमै फोन हेर्ने बानी बस्न सक्छ।”

तपाईँको फोटो सेयर गर्ने खाता छ भने आत्मसंयम आवश्‍यक पर्छ

 समान्था नाम गरेकी किशोरी पनि यो कुरामा सहमति जनाउँछिन्‌: “यी साइटहरू कति समय चलाउने भनेर तय गर्छु। तपाईँको फोटो सेयर गर्ने खाता बनाउँदै हुनुहुन्छ भने आत्मसंयम झनै आवश्‍यक पर्छ।”

 तपाईँ के गर्न सक्नुहुन्छ?

  •   आपत्तिजनक कुराहरू नहेर्ने सङ्‌कल्प गर्नुहोस्‌। बाइबल यसो भन्छ: “म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।”—भजन १०१:३.

     “मैले फलो गरेका मानिसहरूको पोस्ट बेला-बेला चेक गर्ने गर्छु। यदि तिनीहरूको पोस्ट अनुचित जस्तो लाग्यो भने तिनीहरूलाई तुरुन्तै फलो गर्न छोड्‌छु।”—स्टिभन

  •   तपाईँको जस्तै मूल्यमान्यता नभएका मानिसहरूलाई साथी नबनाउनुहोस्‌ किनभने तिनीहरूले नैतिक तवरमा स्वच्छ रहने तपाईँको सङ्‌कल्प कमजोर बनाइदिन्छन्‌। बाइबल यसो भन्छ: “नबहकिओ। नराम्रो सङ्‌गतले नैतिकतालाई भ्रष्ट पार्छ।”—१ कोरिन्थी १५:३३, फुटनोट।

     “सामाजिक सञ्जालमा लोकप्रिय फोटोहरू हेर्नै पर्छ भनी नसोच्नुहोस्‌। अक्सर यस्तै पोस्टहरूमा अपशब्द, आपत्तिजनक दृश्‍य अनि यस्तै अनुचित कुराहरू पाइन्छ।”—जेसिका

  •   कति समय इन्टरनेट चलाउने अनि कहिले-कहिले फोटो पोस्ट गर्ने भनेर तय गर्नुहोस्‌। बाइबल यसो भन्छ: “कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, समयको पूर्ण सदुपयोग गर।”—एफिसी ५:१५, १६.

     “मैले सधैँ केही न केही पोस्ट गरिरहने साथीहरूलाई फलो गर्न छोडिदिएको छु। जस्तै, कोही समुद्री किनार जान्छ अनि एउटै कौडीको २० वटा फोटो पोस्ट गर्छ। अति नै! ती सबै फोटो हेर्न समय त लागिहाल्छ नि!”—रिबेका

  •   तपाईँले पोस्ट गर्ने फोटोहरूले तपाईँ मात्र महत्त्वपूर्ण हुनुहुन्छ भन्‍ने भान नपारोस्‌। बाइबलको एक लेखक पावल यसो भन्छन्‌: “म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान।” (रोमी १२:३) तपाईँका साथीहरू तपाईँ र तपाईँले गर्ने कुराहरू मात्र हेर्छन्‌ भनेर नसोच्नुहोस्‌।

     “कसै-कसैले सेल्फी मात्र पोस्ट गरिरहन्छन्‌। मेरो साथी कस्तो देखिन्छ, मलाई थाह छ। बारम्बार सम्झाइरहनु पर्दैन!”—एलिसन