सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंसित यहोवालाई “चिन्ने हृदय” छ?

के तपाईंसित यहोवालाई “चिन्ने हृदय” छ?

“म नै परमप्रभु हुँ भनी चिन्ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌।”यर्मि. २४:७, NRV.

१, २. कोही-कोहीलाई अन्जीर किन मन पर्छ?

के तपाईंले कहिल्यै अन्जीर खानुभएको छ? बाइबलकालीन समयका इस्राएलीहरू यो फल असाध्यै मन पराउँथे। (नहू. ३:१२, NRV; लूका १३:६-९) अन्जीरमा रेसा, भिटामिन र खनिजजस्ता पौष्टिक तत्त्व हुने भएकोले कसै-कसैले यो फल मुटुको लागि राम्रो हुन्छ भन्छन्‌।

यहोवाले मानिसलाई अन्जीरसित तुलना गर्नुभयो। अन्जीरले स्वास्थ्यलाई कसरी राम्रो बनाउँछ भनेर परमेश्वरले बताउन खोजिरहनुभएको थिएन। बरु उहाँले अन्जीरलाई लाक्षणिक रूपमा प्रयोग गरिरहनुभएको थियो। उहाँले भविष्यवक्ता यर्मियामार्फत भन्नुभएका कुराहरू तपाईं र तपाईंले माया गर्नेहरूका लागि अर्थपूर्ण छन्‌। उहाँले भन्नुभएका कुराबाट ख्रीष्टियनहरूले सिक्न सक्ने पाठ विचार गर्नुहोस्।

३. यर्मिया अध्याय २४ मा वर्णन गरिएको दुई प्रकारको अन्जीरले कसलाई बुझाउँथ्यो?

सर्वप्रथम परमेश्वरले अन्जीरबारे यर्मियाको दिनमा भन्नुभएको कुरा विचार गरौं। ईसापूर्व ६१७ मा यहूदाका मानिसहरूको आध्यात्मिक अवस्था दयनीय थियो। परमेश्वरले यर्मियालाई भविष्यबारे एउटा दर्शन दिनुभयो। उहाँले दुई प्रकारका अन्जीरबारे बताउनुभयो। एउटा “खूब असल” अन्जीर र अर्को साह्रै “नराम्रा” अन्जीर। (यर्मिया २४:१-३, NRV पढ्नुहोस्) राजा नबूकदनेसर र उनका सेनाको आक्रमण खप्नुपरेको राजा सिदकियाहलगायत तिनीजस्तै अरू खराब मानिसलाई नराम्रा अन्जीरले चित्रण गर्थ्यो। तर पहिल्यै बेबिलोन लगिएका इजकिएल, दानियल र तिनका तीन जना साथी अनि त्यहाँ लगिने केही यहूदीबारे के भन्न सकिन्छ? तिनीहरू असल अन्जीरजस्तै थिए। तिनीहरूमध्ये केही यरूशलेम र यसको मन्दिर पुनर्निर्माण गर्न यरूशलेम फर्कने थिए।—यर्मि. २४:८-१०, NRV; २५:११, १२; २९:१०.

४. असल अन्जीरबारे परमेश्वरले भन्नुभएको कुराबाट हामी कस्तो प्रोत्साहन पाउँछौं?

 असल अन्जीरले चित्रण गर्ने मानिसहरूबारे यहोवाले यसो भन्नुभयो: “म नै परमप्रभु हुँ भनी चिन्ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌।” (यर्मि. २४:७, NRV) यो यस लेखको डोऱ्याउने शास्त्रपद हो। यी शब्दहरू असाध्यै प्रोत्साहनदायी छन्‌! परमेश्वर प्रत्येक व्यक्तिलाई उहाँलाई “चिन्ने हृदय” दिन चाहनुहुन्छ। यहाँ उल्लिखित “हृदय” शब्दले मानिसको मनोभावलाई बुझाउँछ। तपाईं निश्चय नै यस्तो हृदय पाउन र परमेश्वरको सेवक हुन चाहनुहुन्छ। यसको लागि बाइबल अध्ययन गर्नुपर्छ र सिकेका कुराहरू लागू गर्नुपर्छ; पश्‍चात्ताप गरेर खराब आनीबानी त्याग्नुपर्छ; जीवन परमेश्वरमा समर्पण गर्नुपर्छ अनि बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गर्नुपर्छ। (मत्ती २८:१९, २०; प्रेषि. ३:१९) सायद तपाईंले यी कदमहरू चालिसक्नुभयो होला। अथवा यहोवाका साक्षीहरूको सभामा नियमित रूपमा उपस्थित भएर यी कदम चाल्ने प्रयास गर्दै हुनुहुन्छ होला।

५. यर्मियाले मुख्यतया कसको बारेमा लेखे?

चाहे हामीले यी सबै कदम चालिसकेका होऔं वा केही मात्र, हामी आफ्नो मनोवृत्ति र आचरणबारे सधैं होसियार हुनुपर्छ। किन? यर्मियाले हृदयबारे भनेका थप कुराले यसको जवाफ दिन्छ। यर्मियाको पुस्तकका केही अध्यायमा यहूदा वरपरका राष्ट्रहरूबारे बताइएको छ। तर यस पुस्तकमा मुख्यतया पाँच विभिन्न राजाले शासन गर्दाको यहूदालाई जोड दिइएको छ। (यर्मि. १:१५, १६) यर्मियाको सन्देश मुख्यतया यहोवाप्रति समर्पित पुरुष, स्त्री तथा केटाकेटीका लागि थियो। तिनीहरूका पुर्खाले राजीखुसीले यहोवाको विशेष प्रजा हुने छनौट गरेका थिए। (प्रस्थ. १९:३-८) अनि यर्मियाको समयमा पनि मानिसहरूले यसो भने: “हामी तपाईंकहाँ फर्केर आउँछौं, किनकि तपाईं परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।” (यर्मि. ३:२२) तर तिनीहरूको हृदयको अवस्था कस्तो थियो?

हृदयको शल्यक्रिया गर्नु अत्यावश्यक

६. हृदयबारे परमेश्वरले भन्नुभएको कुरामा हामीले किन विशेष चासो राख्नुपर्छ?

डाक्टरहरू अत्याधुनिक प्रविधि प्रयोग गरेर हृदयको अवस्था कस्तो छ र यसले कसरी काम गरिरहेको छ भनेर जाँच्छन्‌। तर यर्मियाको समयमा जस्तै यहोवा हाम्रो लाक्षणिक हृदयसमेत जाँच्न सक्नुहुन्छ। बाइबल यसो भन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्नसक्छ र? हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसको कर्मको फलअनुसार दिनलाई म परमप्रभु मानिसको मन तलाश गर्छु।” (यर्मि. १७:९, १०) “मन तलाश” गर्नु भनेको ७०/८० वर्षको दौडान लगभग ३ अरब चोटि धड्कने मुटुको परीक्षण गर्नु होइन। यहोवाले लाक्षणिक हृदयबारे कुरा गर्दै हुनुहुन्थ्यो। “हृदय” शब्दले मानिसको भित्री व्यक्तित्वलाई बुझाउँछ। यसमा मानिसको चाहना, सोचविचार, मनोभाव, मनोवृत्ति र लक्ष्य समावेश छ। परमेश्वर तपाईंको हृदय जाँच्न सक्नुहुन्छ। अनि केही हदसम्म तपाईं आफैले पनि जाँच्न सक्नुहुन्छ।

७. आफ्नो समयका अधिकांश यहूदीको हृदयबारे यर्मियाले के भने?

हृदय जाँच्न हामीले आफैलाई यसरी सोध्नुपर्छ, ‘यर्मियाको समयमा अधिकांश यहूदीको हृदयको अवस्था कस्तो थियो?’ यर्मियाको जवाफ विचार गर्नुहोस्: “इस्राएलका सारा घरानाको चाहिं हृदयमा खतना भएको छैन।” तिनले यहूदी पुरुषहरूले गर्ने खतनाबारे कुरा गरिरहेका थिएनन्‌। किनकि तिनले यसो भने: “परमप्रभु भन्नुहुन्छ, ‘हेर, समय आउँदैछ, जब म खतना भएका भनाउँदाहरू, तर यथार्थमा बिखतनेहरू सबैलाई दण्ड दिनेछु।’” खतना भएका यहूदी पुरुषहरूको समेत ‘हृदयमा खतना भएको थिएन।’ (यर्मि. ९:२५, २६) यसको अर्थ के थियो?

८, ९. अधिकांश यहूदीले हृदयलाई के गर्नुपर्थ्यो?

परमेश्वरले यहूदीहरूलाई भन्नुभएको कुराबाट ‘हृदयमा खतना नहुनुको’ अर्थ बुझ्न सक्छौं। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “हे यहूदाका  मानिसहरू र यरूशलेमका बासिन्दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्टताले गर्दा मेरो क्रोध आगोझैं दन्केर निस्कनेछ।” तर दुष्ट काम गर्ने विचार तिनीहरूमा कहाँबाट आयो? भित्रबाट अर्थात्‌ तिनीहरूको हृदयबाट। (मर्कूस ७:२०-२३ पढ्नुहोस्) यहूदीहरूले दुष्ट काम गर्नुको कारण परमेश्वरले यर्मियामार्फत बताउनुभयो। तिनीहरूको हृदय हठी अनि बागी थियो। तिनीहरूको मनसाय र सोचविचार परमेश्वरलाई अप्रसन्न पार्ने खालका थिए। (यर्मिया ५:२३, २४; ७:२४-२६ पढ्नुहोस्) परमेश्वरले तिनीहरूलाई यसो भन्नुभयो: “परमप्रभुमा आफूलाई खतना गर। . . . तिमीहरूका हृदयको खतना गर।”—यर्मि. ४:४, NRV; १८:११, १२.

त्यसैले यर्मियाको समयका यहूदीहरूले आफ्नो लाक्षणिक हृदयको शल्यक्रिया गर्नुपर्थ्यो। मोशाको समयका मानिसहरूले जस्तै तिनीहरूले “हृदयको खतना” गर्नुपर्थ्यो। (व्यव. १०:१६, NRV; ३०:६, NRV) ती यहूदीहरूले “हृदयको खतना” कसरी गर्न सक्थे? तिनीहरूले यहोवाको आज्ञासित मेल नखाने सोचविचार, चाहना वा मनसाय त्याग्नुपर्थ्यो।—प्रेषि. ७:५१.

यहोवालाई “चिन्ने हृदय”

१०. दाऊदको उदाहरणले देखाएझैं हामीले के गर्नुपर्छ?

१० लाक्षणिक हृदय जाँच्न मदत गर्नुभएकोमा हामी यहोवाप्रति धेरै कृतज्ञ छौं। तर कसै-कसैलाई लाग्न सक्छ, ‘यहोवाको साक्षी भइसकेपछि पनि हृदय जाँचिरहनुपर्छ र?’ हामी प्राचीन समयका यहूदीहरूजस्तै दुष्ट मार्गमा हिंडेकोले वा “नराम्रा अञ्जीर” भएकोले आफ्नो हृदय जाँच्नुपरेको होइन। आज परमेश्वरका सेवकहरू वफादार र स्वच्छ छन्‌। तैपनि दाऊदले यहोवालाई गरेको बिन्तीबारे सोच्नुहोस्: “हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदय बुझ्नुहोस्, मलाई खार्नुहोस्, र मेरा विचारहरू जान्नुहोस्। र हेर्नुहोस्, ममा दुराचरण केही रहेछ कि रहेनछ।”—भज. १७:३; १३९:२३, २४.

११, १२. (क) हामी प्रत्येकले आफ्नो हृदय जाँच्नु किन आवश्यक छ? (ख) परमेश्वरले के गर्नुहुन्न?

११ यहोवा हामी प्रत्येकले उहाँलाई चिनेको र उहाँले स्वीकार्ने तरिकामा चलेको चाहनुहुन्छ। धर्मी अर्थात्‌ परमेश्वरको स्तरबमोजिम चल्नेहरूको सन्दर्भमा यर्मियाले यसो भने: “हे सेनाहरूका परमप्रभु, जसले धर्मीहरूको जाँच गर्नुहुन्छ, जसले हृदय र मन देख्नुहुन्छ।” (यर्मि. २०:१२) सर्वशक्तिमान्‌ परमेश्वरले धर्मीहरूको हृदयसमेत जाँच्नुहुने भएकोले के हामीले आफैलाई जाँच्नुपर्दैन र? (भजन ११:५ पढ्नुहोस्) यसरी जाँच्दा आफूमा भएको गलत मनोवृत्ति, लक्ष्य वा सोचाइ पहिल्याउन सक्छौं। यहोवाको आज्ञा मान्न हामीले आलेटाले गरिरहेका छौं होला। हृदयबाट त्यस्तो कुरा हटाउन हामीले आफ्नो हृदयको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ। हाम्रो हृदयमा के-कस्ता गलत मनोवृत्ति वा सोचाइ हुन सक्छन्‌? अनि हामी कसरी आवश्यक छाँटकाँट गर्न सक्छौं?—यर्मि. ४:४.

१२ एउटा कुरा भने पक्का छ: यहोवा हामीलाई छाँटकाँट गर्न जबरजस्ती गर्नुहुन्न। ‘चिन्ने हृदय दिनेछु’ भनेर यहोवाले “असल अञ्जीरहरू”-लाई बताउनुभयो। तर उहाँले तिनीहरूलाई हृदय परिवर्तन गर्न जबरजस्तीचाहिं गर्नुभएन। तिनीहरू आफैमा परमेश्वरलाई चिन्ने इच्छा हुनुपर्थ्यो। हामीमा पनि त्यस्तै इच्छा हुनुपर्दैन र?

हृदय जाँचेर कुइच्छाहरू हटाउँदा आशिष्‌ पाउनेछौं

१३, १४. कुनै व्यक्तिको मनमा भएको कुरा कसरी उसको लागि खतरनाक हुन सक्छ?

१३ येशूले भन्नुभयो: “दुष्ट विचार, हत्या, हर  किसिमका यौन दुराचार, चोरी, झूटा साक्षी अनि ईश्वरनिन्दा मनबाटै निस्कन्छ।” (मत्ती १५:१९) कुनै भाइको मनमा कुइच्छा छ भने तिनले अवैध यौनसम्बन्ध राख्न सक्छन्‌। अवैध यौनसम्बन्ध राखेर पश्‍चात्ताप नगरी बसेमा तिनले सदाको लागि परमेश्वरको अनुमोदन गुमाउनेछन्‌। अर्कोतर्फ यस्तो गलत काम नगर्ने व्यक्तिले समेत आफ्नो मनमा कुइच्छा पालिरहेको हुन सक्छ। (मत्ती ५:२७, २८ पढ्नुहोस्) कतै हामीले पनि आफ्नो मनमा यस्तो कुइच्छा पालिरहेका छौं कि भनेर आफैलाई जाँच्नुपर्छ। आफ्नो हृदयलाई राम्ररी जाँच्दा के तपाईंले आफूमा विपरीत लिङ्गका व्यक्तिप्रति अनुचित भावना पाउनुहुन्छ? के तपाईं छाँटकाँट गर्नुपर्ने महसुस गर्नुहुन्छ?

१४ त्यसैगरि “हत्या” नगरे तापनि आफ्नो मनमा रिस पालेकोले कुनै भाइले सँगी ख्रीष्टियनसित दुस्मनी राख्न सक्छन्‌। (लेवी १९:१७) यस्तो भावना हटाउन तिनले अथक प्रयास गर्नुपर्छ।—मत्ती ५:२१, २२.

१५, १६. (क) कुनै ख्रीष्टियन कसरी ‘हृदयमा खतना नभएको’ मानिस हुन सक्छ, एउटा उदाहरण दिनुहोस्। (ख) ‘खतना नभएको हृदय’ यहोवालाई किन मन पर्दैन?

१५ खुसीको कुरा, धेरैजसो ख्रीष्टियनमा ‘हृदयको समस्या’ छैन। तर येशूले “दुष्ट विचार”-बारे पनि चर्चा गर्नुभयो। यस्तो विचारले जीवनका थुप्रै क्षेत्रलाई असर गर्न सक्छ। उदाहरणको लागि, कुनै व्यक्तिले आफ्नो आफन्तप्रति वफादार हुनुलाई बढी नै महत्त्व दिन सक्छ। ख्रीष्टियनहरू “अन्तको दिन”-का मानिसहरूजस्तो नभई आफ्नो आफन्तलाई “स्वाभाविक स्नेह” देखाउन चाहन्छन्‌। (२ तिमो. ३:१, ३) तर कहिलेकाहीं त्यस्तो स्नेह चाहिनेभन्दा बढी हुन सक्छ। थुप्रैले “रगतको नाता गाढा हुन्छ” भन्छन्‌। त्यसकारण जेसुकै भए पनि तिनीहरू आफ्नो आफन्तको पक्ष लिन्छन्‌। आफन्तलाई चोट पुग्दा आफैलाई चोट पुगेको महसुस गर्छन्‌। यस्तो भावनाले गर्दा दीनाका दाइहरूले के गरे, विचार गर्नुहोस् त। (उत्प. ३४:१३, २५-३०) अनि अब्शालोमको हृदयमा भएको कुराले तिनलाई आफ्नो सौतेनी दाइ अम्नोनको हत्या गर्ने हदसम्म कसरी पुऱ्यायो, त्यसबारे पनि सोच्नुहोस्। (२ शमू. १३:१-३०) के “दुष्ट विचार”-ले गर्दा नै ती घटनाहरू घटेका होइनन्‌ र?

१६ हुन त साँचो ख्रीष्टियनहरूले कसैको हत्या नगर्लान्‌। तर आफ्नो आफन्तलाई कुनै भाइ वा बहिनीले नराम्रो व्यवहार गर्दा अथवा नराम्रो व्यवहार गरिएको जस्तो लाग्दा तिनीहरूलाई सहिनसक्नु हुन सक्छ। यस्तो अवस्थामा तिनीहरूले उक्त भाइ वा बहिनीप्रति कस्तो व्यवहार गर्नेछन्‌? उक्त भाइ वा बहिनीले अतिथि-सत्कार गर्दा सायद तिनीहरूले अस्वीकार गर्लान्‌ वा तिनीहरूले पनि उनलाई कहिल्यै अतिथि-सत्कार नगर्लान्‌। (हिब्रू १३:१, २) तर आफ्नो भाइबहिनीलाई प्रेम  गर्ने ख्रीष्टियनले त्यस्तो व्यवहार गर्दैन। त्यस्तो व्यवहार गर्ने मानिसलाई परमेश्वरले ‘हृदयमा खतना नभएको’ मानिसको रूपमा हेर्नुहुन्छ। (यर्मि. ९:२५, २६) यहोवाले भन्नुभएको यो कुरा सम्झनुहोस्: “तिमीहरूका हृदयको खतना गर।”—यर्मि. ४:४, NRV.

परमेश्वरलाई “चिन्ने हृदय” प्राप्त गर्नुहोस् र त्यसलाई कायम राख्नुहोस्

१७. यहोवाप्रतिको भयले हामीलाई आवश्यक छाँटकाँट तुरुन्तै गर्न कसरी मदत गर्न सक्छ?

१७ आफ्नो हृदय जाँच्दा यहोवाका निर्देशनहरू तुरुन्तै लागू नगरेको र केही हदसम्म हृदयको ‘खतना नभएको’ महसुस गर्नुहोला। सायद तपाईंको मनमा मानिसको डर होला, नाम वा दाम कमाउने इच्छा होला अथवा तपाईंमा आफूखुसी गर्ने वा अटेरी झुकाव होला। तर यस्तो महसुस गर्ने तपाईं मात्र हुनुहुन्न। (यर्मि. ७:२४; ११:८) यर्मियाले आफ्नो समयका केही यहूदीमा “हठी र बागी हृदय” भएको कुरा बताए। ती यहूदीहरूले आफ्नो हृदयमा यसो भनेनन्‌: “हामी परमप्रभु आफ्ना परमेश्वरको भय मानौं, किनभने उहाँले हामीलाई ऋतुमा वर्षा दिनुहुन्छ।” (यर्मि. ५:२३, २४) के यसले “हृदयको खतना” गर्न यहोवाप्रतिको भय र आदर विकास गर्नुपर्छ भनेर देखाउँदैन र? यस्तो भयले हामीलाई यहोवाले चाहनुभएअनुसार गर्न र आवश्यक छाँटकाँट तुरुन्तै गर्न मदत गर्छ।

१८. नयाँ करारका सहभागीहरूलाई यहोवाले कस्तो प्रतिज्ञा गर्नुभयो?

१८ हामीले आफ्नोतर्फबाट कोसिस गऱ्यौं भने यहोवाले हामीलाई उहाँलाई “चिन्ने हृदय” दिनुहुन्छ। नयाँ करारमा बाँधिएका अभिषिक्त ख्रीष्टियनहरूलाई उहाँले यस्तो हृदय दिने प्रतिज्ञा गर्नुभयो। उहाँले यसो भन्नुभयो: “म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु, तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु। औ म तिनीहरूका परमेश्वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्‌।” उहाँले अझ यसो भन्नुभयो: “कसैले आफ्नो छिमेकीलाई वा दाजुभाइलाई फेरि यसो भनेर सिकाउनु पर्नेछैन, ‘परमप्रभुलाई चिन,’ किनभने सानादेखि ठूलासम्म सबैले मलाई चिन्नेछन्‌, किनकि म तिनीहरूका अपराध क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ।”—यर्मि. ३१:३१-३४. *

१९. साँचो ख्रीष्टियनहरूसित कस्तो आशा छ?

१९ नयाँ करारबाट लाभ उठाउनेहरूको आशा चाहे स्वर्गमा जीवन बिताउने होस् या पृथ्वीमा, तिनीहरू यहोवालाई चिन्न र उहाँका मानिसहरूमध्ये हुन इच्छुक हुनुपर्छ। यस्तो लाभ उठाउन तपाईंले फिरौतीको बलिदानको आधारमा पापको क्षमा पाएको हुनुपर्छ। तपाईंले क्षमा पाउन सक्नुहुन्छ भन्ने तथ्यले अरूलाई क्षमा दिन तपाईंलाई उत्प्रेरित गर्नुपर्छ, चाहे यसो गर्न जतिसुकै गाह्रो किन नहोस्। आफ्नो मनमा भएको रिस तथा घृणालाई हटाउन कडा परिश्रम गर्नुपर्छ। यसले तपाईं यहोवाको सेवा गर्न चाहनुहुन्छ र उहाँलाई अझ राम्ररी चिन्ने प्रयास गर्दै हुनुहुन्छ भनेर देखाउँछ। तपाईं ती मानिसहरूजस्तै हुन सक्नुहुन्छ, जसलाई यहोवाले यसो भन्नुभयो: “जब तिमीहरूले आफ्नो हृदयले मलाई खोज्नेछौ, तब . . . तिमीहरूले मलाई भेट्टाउनेछौ।”—यर्मि. २९:१३, १४.

^ अनु. 18 नयाँ करारबारे जनवरी १५, २०१२ को प्रहरीधरहरा, पृष्ठ २६-३० मा छलफल गरिएको छ।