दोस्रो समुएल १३:१-३९
१३ दाउदका छोरा अब्सालोमको तामार नाम गरेकी एउटी बहिनी थिइन्।+ उनी राम्री थिइन्। अनि दाउदका अर्का छोरा अम्नोनले उनलाई असाध्यै मन पराउँथे।+
२ आफ्नी बहिनी तामारको कारण अम्नोन असाध्यै बेचैन र व्याकुल भए। किनकि तामार कुमारी थिइन् र अम्नोनले उनलाई केही गर्न सम्भव थिएन।
३ अम्नोनको यहोनादाब नाम गरेको साथी थियो।+ तिनी दाउदका दाइ सिमेहका छोरा थिए।+ तिनी असाध्यै चतुर थिए।
४ तिनले अम्नोनलाई भने: “हे राजकुमार! तपाईँ किन सधैँ झोक्राएर बस्नुहुन्छ? के भयो, मलाई भन्नुहोस्।” अम्नोनले जवाफ दिए: “म मेरो भाइ अब्सालोमकी बहिनी तामारलाई असाध्यै मन पराउँछु।”+
५ यहोनादाबले तिनलाई भने: “तपाईँ यसो गर्नुहोस्: बिरामी भएको बहाना बनाएर ओछ्यानमै सुतिरहनुहोस्। तपाईँको बुबा तपाईँलाई भेट्न आउँदा उहाँलाई यसो भन्नुहोस्: ‘बिन्ती छ, मेरी बहिनी तामारलाई मकहाँ पठाइदिनुहोस् र उसले मलाई केही खानेकुरा देओस्। उसले मेरै अगाडि खाना* बनाओस् र म उसकै हातबाट खानेछु।’”
६ त्यसैले अम्नोन बिरामी भएको बहाना बनाएर सुतिरहे अनि राजा तिनलाई हेर्न आए। अम्नोनले राजालाई भने: “बिन्ती छ, मेरी बहिनी तामारलाई मकहाँ पठाइदिनुहोस्। उसले मेरै अगाडि दुई वटा रोटी* बनाओस् अनि म उसकै हातबाट त्यो रोटी खानेछु।”
७ तब दाउदले महलमा तामारकहाँ यस्तो खबर पठाए: “तिम्रा दाइ अम्नोनको घरमा गएर उसको लागि खाना बनाइदेऊ।”
८ त्यसैले तामार आफ्ना दाइ अम्नोनको घरमा गइन्, जहाँ तिनी ढल्किरहेका थिए। उनले पीठो लिइन् र त्यसलाई मुछेर अम्नोनकै अगाडि रोटी बनाइन्।
९ त्यसपछि उनले तावाबाट रोटी निकालेर अम्नोनलाई टक्य्राइन्। तर अम्नोनले रोटी खान मानेनन्। तिनले सबैलाई त्यहाँबाट जाने आदेश दिए। त्यसैले सबै जना त्यहाँबाट गए।
१० त्यसपछि अम्नोनले तामारलाई भने: “यो रोटी मेरो सुत्ने कोठामा लिएर आऊ र म तिम्रै हातबाट खानेछु।” त्यसैले आफूले बनाएको रोटी लिएर तामार आफ्ना दाइ अम्नोनको सुत्ने कोठामा गइन्।
११ तामार रोटी लिएर आएपछि अम्नोनले उनलाई च्याप्प समाते र भने: “आऊ, मेरी बहिनी। मसित सुत!”
१२ तर तामारले तिनलाई भनिन्: “होइन दाइ! मसित यस्तो नीच काम नगर्नुहोस्! इस्राएलमा यस्तो घिनलाग्दो काम गर्नु उचित होइन।+ यस्तो लाजमर्दो काम नगर्नुहोस्।+
१३ तपाईँले यसो गर्नुभयो भने मैले मानिसहरूको अगाडि कुन मुख देखाउनु? अनि इस्राएलमा तपाईँको पनि बेइज्जत हुनेछ। बरु बिन्ती छ, राजासित कुरा गर्नुहोस्। उहाँले मलाई तपाईँको हातमा दिन इन्कार गर्नुहुनेछैन।”
१४ तर अम्नोनले उनको कुरा सुन्नै चाहेनन्। तिनले तामारलाई जबरजस्ती गरे अनि उनलाई बलात्कार गरेर उनको अपमान गरे।
१५ त्यसपछि अम्नोनले उनलाई असाध्यै घृणा गर्न थाले। तिनले तामारलाई पहिला जति माया गर्थे, त्योभन्दा धेरै उनलाई घृणा गर्न थाले। अनि अम्नोनले तामारलाई भने: “उठ्, यहाँबाट गइहाल्!”
१६ तब उनले अम्नोनलाई भनिन्: “होइन दाइ, यसो नगर्नुहोस्! तपाईँले मलाई यसरी निकाल्नुभयो भने तपाईँले मसित जे गर्नुभयो, त्योभन्दा पनि खराब काम गरिरहनुभएको हुनेछ।” तर अम्नोनले उनको कुरा सुन्नै चाहेनन्।
१७ अनि तिनले आफ्नो जवान सेवकलाई बोलाएर यस्तो हुकुम गरे: “यसलाई मेरो कोठाबाट निकाल र ढोका बन्द गरिदेऊ!”
१८ त्यसैले अम्नोनको सेवकले उनलाई बाहिर निकाले र ढोका बन्द गरिदिए। (त्यतिबेला तामारले राजाका अविवाहित* छोरीहरूले लगाउने विशेष पोसाक लगाएकी थिइन्।)
१९ त्यसपछि तामारले आफ्नो टाउकोमा खरानी छरिन्+ र आफूले लगाएको विशेष पोसाक च्यातिन्। उनी टाउकोमा हात राखेर त्यहाँबाट रुँदै गइन्।
२० यो देखेपछि उनका दाइ अब्सालोमले+ उनलाई सोधे: “तिम्रो यस्तो हालत बनाउने तिम्रो दाइ अम्नोन हो? अब यो कुरा कसैलाई पनि नभन। आखिर ऊ तिम्रो दाइ हो।+ अनि यसबारे मात्र सोचेर नबस।” त्यसपछि तामार अरू मानिसहरूबाट अलग्गै आफ्ना दाइ अब्सालोमको घरमा गएर बस्न थालिन्।
२१ यी सबै कुरा थाह पाएपछि राजा दाउद असाध्यै रिसाए।+ तर तिनले अम्नोनको चित्त दुखाउन चाहेनन् किनकि अम्नोन आफ्नो पहिलो सन्तान भएकोले तिनी अम्नोनलाई माया गर्थे।
२२ अनि अब्सालोमले अम्नोनलाई केही भनेनन्। अम्नोनले आफ्नी बहिनी तामारको इज्जत लुटेकोले अब्सालोम तिनलाई घृणा गर्थे।+
२३ यसको दुई वर्षपछि अब्सालोमका सेवकहरू एप्रैमनजिकै+ बाआल-हाजोरमा भेडाहरूको ऊन कत्रँदै थिए। त्यही मौकामा अब्सालोमले सबै राजकुमारलाई निम्तो दिए।+
२४ तिनले राजाकहाँ आएर भने: “हजुरको यस सेवकले आफ्ना भेडाहरूको ऊन कत्रँदै छ। त्यसैले बिन्ती छ, राजा र राजाका सेवकहरू मसँगै आउनुहोस्।”
२५ तर राजाले अब्सालोमलाई भने: “होइन छोरा, हामी सबै आयौँ भने तिमीलाई बेकारमा बोझ मात्र हुन्छ।” अब्सालोमले राजालाई कर गरिरहे तर राजा जान मानेनन्। बरु राजाले तिनलाई आशीर्वाद दिए।
२६ तब अब्सालोमले राजालाई भने: “यदि हजुर जान सक्नुहुन्न भने कृपया मेरा दाइ अम्नोनलाई मसित जान दिनुहोस्।”+ राजाले भने: “ऊ किन तिमीसित जानुपऱ्यो?”
२७ तर अब्सालोमले राजालाई कर गरिरहे। त्यसैले राजाले अम्नोन र सबै राजकुमारलाई अब्सालोमसित पठाइदिए।
२८ त्यसपछि अब्सालोमले आफ्ना सेवकहरूलाई यस्तो हुकुम गरे: “तिमीहरू चनाखो रहनू! जब अम्नोन रक्सी पिएर मस्त हुन्छन्, तब म तिमीहरूलाई यसो भन्नेछु, ‘अम्नोनलाई मार!’ त्यसपछि तिमीहरूले उसलाई मार्नू। तिमीहरू नडराओ! किनकि यो मेरो हुकुम हो। साहसी र बलिया होओ!”
२९ अब्सालोमका सेवकहरूले तिनको हुकुमअनुसारै अम्नोनलाई मारे। तब अरू सबै राजकुमार उठे अनि आ-आफ्ना खच्चरमा चढेर त्यहाँबाट भागे।
३० तिनीहरू बाटोमै छँदा दाउदकहाँ यस्तो खबर पुग्यो: “अब्सालोमले सबै राजकुमारलाई मारे। कोही पनि बचेनन्।”
३१ तब राजा उठे। तिनले आफूले लगाएको लुगा च्याते अनि भुईँमा पस्रिए। राजाका सबै सेवक पनि आ-आफ्नो लुगा च्यातेर तिनको छेउमै उभिरहे।
३२ तर दाउदका दाइ सिमेहका+ छोरा यहोनादाबले+ भने: “हे मेरा प्रभु! तिनीहरूले सबै राजकुमारलाई मारे भन्ने नठान्नुहोस्। किनकि अम्नोन मात्र मारिएका हुन्।+ अनि अम्नोनलाई मार्न हुकुम दिने अब्सालोम नै हुन्।+ अम्नोनले आफ्नी बहिनी+ तामारको इज्जत लुटेको दिनदेखि नै अब्सालोमले अम्नोनलाई मार्ने निर्णय गरिसकेका थिए।+
३३ त्यसैले हे मेरा प्रभु! ‘सबै राजकुमार मरे’ भन्ने खबरलाई वास्ता नगर्नुहोस्। किनकि अम्नोन मात्र मारिएका हुन्।”
३४ त्यसैबीच अब्सालोम भागेर गए।+ पछि सहरको पहरेदारले आफ्नो आँखा उठाएर हेर्दा पहाडछेउको बाटोबाट थुप्रै मानिस आइरहेको देखे।
३५ तब यहोनादाबले+ राजालाई भने: “हेर्नुहोस्! राजकुमारहरू फर्केर आए। हजुरको यस सेवकले भनेझैँ भयो।”
३६ जसै तिनले आफ्नो कुरा सिद्ध्याए, राजकुमारहरू पनि त्यहीँ आइपुगे। तिनीहरू डाँको छोडेर रोइरहेका थिए। अनि राजा र राजाका सेवकहरू पनि धुरुधुरु रोए।
३७ अब्सालोम भागेर अम्मिहुदका छोरा, गेसुरका राजा तल्मैकहाँ गए।+ आफ्नो छोराको मृत्यु भएकोमा दाउदले धेरै दिनसम्म शोक मनाए।
३८ गेसुरमा भागेर गएपछि अब्सालोम तीन वर्षसम्म त्यहीँ बसे।+
३९ यति लामो समय बितिसकेपछि दाउद अब्सालोमलाई भेट्न आतुर भए किनकि तिनलाई अम्नोनको मृत्युको पीडाले पिरोल्न छोडिसकेको थियो।*
फुटनोटहरू
^ अर्थात्, बिरामीलाई दिइने खाना।
^ शा., “पान आकारको रोटी।”
^ शा., “कुमारी।”
^ वा “तिनले सान्त्वना पाएका थिए।”