सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू

हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू

ईसापूर्व ५२० को कुरा हो। बेबिलोनको निर्वासनबाट फर्केका यहूदीहरूले यरूशलेमको मन्दिरको जग हालेको १६ वर्ष बितिसकेको छ। तैपनि मन्दिरको निर्माणकार्य पूरा भएको छैन साथै यस काममा प्रतिबन्ध लगाइएको छ। यहोवाले आफ्नो वचन बोल्न हाग्गै र त्यसको दुई महिनापछि जकरियालाई अगमवक्‍ताको रूपमा नियुक्‍त गर्नुहुन्छ।

हाग्गै र जकरियाको एउटै उद्देश्‍य छ: मानिसहरूलाई मन्दिरको पुनर्निर्माणको काम फेरि सुरु गर्न जुरमुऱ्‍याउने। यी अगमवक्‍ताहरूको प्रयास खेर जाँदैन र मन्दिरको निर्माणकार्य पाँच वर्षपछि पूरा हुन्छ। हाग्गै र जकरियाले घोषणा गरेका सन्देशहरू तिनीहरूकै नाउँ बोकेका बाइबल पुस्तकहरूमा लिपिबद्ध छन्‌। हाग्गै र जकरियाका पुस्तकहरू क्रमशः ईसापूर्व ५२० र ईसापूर्व ५१८ मा लेख्न सिध्याइएको थियो। यी अगमवक्‍ताहरूलाई जस्तै हामीलाई पनि परमेश्‍वरले एउटा काम सुम्पनुभएको छ जुन यस रीतिरिवाजको अन्तअघि पूरा गरिनुपर्छ। त्यो हो, परमेश्‍वरको राज्यको प्रचार गर्ने र चेला बनाउने काम। हाग्गै र जकरियाको पुस्तकबाट हामी कस्ता प्रोत्साहन पाउन सक्छौं, आउनुहोस्‌ हेरौं।

“तिमीहरूका आफ्ना आफ्ना चालको विचार गर”

(हाग्गै १:१–२:२३)

हाग्गैले ११२ दिनभित्र जुरमुऱ्‍याउने खालका चारवटा सन्देश सुनाउँछन्‌। पहिलो हो: “तिमीहरूका आफ्ना आफ्ना चालको विचार गर। डाँडा डाँडा हुँदो उक्लेर काठपात ल्याऊ र मेरो भवन बनाऊ। त म त्यसमा खुशी हुनेछु र मेरो महिमा हुनेछ, परमप्रभु भन्‍नुहुन्छ।” (हाग्गै १:७, ८) मानिसहरू सकारात्मक प्रतिक्रिया देखाउँछन्‌। दोस्रो सन्देशमा एउटा प्रतिज्ञा छ: “म [यहोवा] यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।”—हाग्गै २:७.

तेस्रो सन्देशअनुसार मन्दिरको पुनर्निर्माणमा तिनीहरूले देखाइरहेको लापरबाहीको कारण ‘प्रजाहरू र यिनीहरूका हातको हरेक काम’ परमेश्‍वरको नजरमा अशुद्ध थियो। तर पुनर्निर्माणको काम सुरु भएको दिनदेखि यहोवाले ‘आशिष्‌ दिनुहुने’ थियो। चौथो सन्देशमा भनिएझैं यहोवाले “राज्य राज्यहरूको र जाति जातिहरूको शक्‍तिलाई . . . नाश” पार्नुका साथै बडा हाकिम यरूबाबेललाई “छापऔंठी” जस्तै तुल्याउनुहुने थियो।—हाग्गै २:१४, १९, २२, २३.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:६, ७, २१, २२—कसले हल्लाउने काम गरिरहेको छ र यसले कस्तो असर पारिरहेको छ? यहोवाले राज्यको सन्देश संसारभरि प्रचार गर्न लगाएर “सबै जातिहरूलाई हल्लाउने” काम गरिरहनुभएको छ। प्रचारकार्यले “सबै जाति जातिका धन-सम्पत्तिहरू” यहोवाको भवनमा जम्मा गर्न पनि मदत गरिरहेको छ जसले गर्दा उहाँको भवन महिमाले परिपूर्ण भइरहेको छ। समयमा “सेनाहरूका परमप्रभु[ले]” “आकाश, पृथ्वी, समुद्र र जमीन सबैलाई” हल्लाउनुहुनेछ र यस वर्तमान दुष्ट रीतिरिवाजको नामोनिसान नै रहनेछैन।—हिब्रू १२:२६, २७.

२:९—कसरी “यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढता” हुन सक्थ्यो? यो कम्तीमा पनि तीन तरिकामा हुने थियो: मन्दिर अस्तित्वमा रहेको वर्षहरूको आधारमा, त्यहाँ सिकाउने व्यक्‍तिको आधारमा र त्यहाँ यहोवाको उपासना गर्न ओइरिएका मानिसहरूको आधारमा। सुलेमानले बनाएका महिमित मन्दिर ४२० वर्षसम्म अर्थात्‌ ईसापूर्व १०२७ देखि ईसापूर्व ६०७ सम्म रह्‍यो। तर ‘पछिको भवन’ ५८० वर्षभन्दा धेरै वर्षसम्म अर्थात्‌ ईसापूर्व ५१५ मा यसको निर्माणकार्य पूरा भएदेखि इस्वी संवत्‌ ७० मा यसको विनाश नभएसम्म रह्‍यो। यसबाहेक येशू मसीहले ‘पछिको भवनमा’ सिकाउनुभयो र परमेश्‍वरको उपासना गर्न ‘अघिकोमा भन्दा’ पछिकोमा धेरै मानिसहरू ओइरिए।—प्रेरित २:१-११.

हाम्रो लागि पाठ:

१:२-४. प्रचारकार्यमा विरोध आयो भन्दैमा ‘पहिले उहाँको राज्य खोजी’ गर्नुको सट्टा आफ्नो इच्छालाई प्राथमिकता दिनु हुँदैन।—मत्ती ६:३३.

१:५, . हामीले ‘आफ्ना आफ्ना चालको विचार’ गर्नु र जीवनमा गरिरहेका कामकुराले यहोवा परमेश्‍वरसितको हाम्रो सम्बन्धमा कस्तो असर पारिरहेको छ भनी सोच्नु बेस हो।

१:६, ९-११; २:१४-१७. हाग्गैको दिनमा यहूदीहरू व्यक्‍तिगत कामकुराको लागि खूब मेहनत गर्दैथिए तर आफ्नो मेहनतको फलको आनन्दचाहिं उठाउन सकिरहेका थिएनन्‌। तिनीहरूले परमेश्‍वरको मन्दिरलाई बेवास्ता गरिरहेका कारण परमेश्‍वरको आशिष्‌ पाइरहेका थिएनन्‌। हामीसित भौतिक कुरा धेरै होस्‌ वा थोरै, “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ” भनेर सम्झँदै हामीले आध्यात्मिक कामकुरालाई प्राथमिकता दिनुपर्छ र यहोवालाई तनमनको सेवा चढाउनुपर्छ।—हितोपदेश १०:२२.

२:१५, १८. यहोवाले यहूदीहरूलाई अबउसो आफ्ना हेलचेक्रयाइँका दिनहरू बिर्सेर पुनर्निर्माणको काममा ध्यान दिन भन्‍नुभयो। यहोवाको उपासना गर्दा हामीले पनि पछि आउने दिनहरूलाई हेर्ने कोसिस गर्नुपर्छ।

‘शक्‍तिले होइन, तर मेरो आत्माले’

(जकरिया १:१–१४:२१)

यहूदीहरूलाई ‘यहोवातिर फर्कन’ आह्वान गर्दै जकरियाले अगमवक्‍ताको रूपमा काम सुरु गर्छन्‌। (जकरिया १:३) त्यसपछि देखिएका आठ वटा दर्शनबाट मन्दिरको पुनर्निर्माण काममा परमेश्‍वरको साथ छ भन्‍ने पुष्टि हुन्छ। (“जकरियाले देखेका आठ लाक्षणिक दर्शनहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।) निर्माण काम “नता बलले, न शक्‍तिले, तर [यहोवाको] आत्माले” पूरा हुनेछ। (जकरिया ४:६) हाँगा नाउँ गरेका मानिसले “परमप्रभुको मन्दिर बनाउनेछ” र “त्यो सिंहासनमा एउटा पूजाहारी हुनेछ।”—जकरिया ६:१२, १३, NRV.

बेतलबासीहरूले यरूशलेमको विनाशको सम्झनामा उपवास बस्ने सन्दर्भमा सोध्न पूजाहारीहरूकहाँ मानिसहरू पठाउँछन्‌। यरूशलेममाथि आइपरेको विपत्तिको सम्झनामा चारवटा उपवासको दौडान मनाइएको शोक “रमाहट, खुशी र आनन्दका चाडहरू[मा]” परिणत हुनेछ भनी यहोवा जकरियालाई बताउनुहुन्छ। (जकरिया ७:२; ८:१९) त्यसपछिको दुइटा ईश्‍वरवाणीमा राष्ट्र र झूटा अगमवक्‍ता विरुद्ध न्यायदण्ड, मसीहसम्बन्धी भविष्यवाणीहरू र परमेश्‍वरका जनहरूको पुनस्थार्पनाको सन्देश समावेश छ।—जकरिया ९:१; १२:१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१—एउटा मानिसले किन फिताले यरूशलेम नाप्दै थिए? यसले सम्भवतः सहरको सुरक्षाको लागि निर्माण गरिने पर्खाललाई संकेत गर्थ्यो। यरूशलेमको विस्तार हुनेछ र त्यसले यहोवाको सुरक्षा पाउनेछ भनी स्वर्गदूत त्यस मानिसलाई खबर दिन्छन्‌।—जकरिया २:३-५.

६:११-१३प्रधान पूजाहारी यहोशूलाई मुकुट लगाइदिएपछि के तिनी राजा र पूजाहारी बने? अहँ, बनेनन्‌ किनभने तिनी दाऊदको राजकिय वंशका थिएनन्‌। तर तिनलाई मुकुट लगाइदिनुको अर्थ मसीहको पूर्वचित्रण गर्ने एउटा तरिका थियो। (हिब्रू ६:२०) “हाँगा” सम्बन्धी भविष्यवाणी स्वर्गीय राजा तथा पूजाहारी येशू ख्रीष्टमा पूरा हुन्छ। (यर्मिया २३:५) पुनर्निर्माण भएको मन्दिरमा यहोशूले निर्वासनबाट फर्केका यहूदीहरूका लागि प्रधान पूजाहारीको रूपमा सेवा गरे। त्यसै गरी यहोवाको आध्यात्मिक मन्दिरमा साँचो उपासनाको लागि येशूले प्रधान पूजाहारीको रूपमा सेवा गर्नुहुन्छ।

८:१-२३—यी पदहरूमा उल्लेख गरिएका दसवटा ईश्‍वरवाणी कहिले पूरा हुन्छन्‌? प्रत्येक वाणी, “सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ” भनेपछि सुरु हुन्छ र ती प्रत्येक वाणी परमेश्‍वरले आफ्ना जनहरूलाई दिने शान्तिको प्रतिज्ञा हो। ती वाणीहरूमध्ये केही ईसापूर्व छैटौं शताब्दीमा पूरा भए भने बाँकी सबै या त इस्वी संवत्‌ १९१९ देखि पूरा हुन थाल्यो वा अहिले पूरा भइरहेका छन्‌। a

८:३—यरूशलेमलाई किन “सत्यको शहर” भनिएको? ईसापूर्व ६०७ मा यरूशलेमको विनाश हुनुअघि यो “अत्याचारी शहर” थियो। त्यहाँ भ्रष्ट अगमवक्‍ता, पूजाहारी र अविश्‍वासी मानिसहरू थिए। (सपन्याह ३:१; यर्मिया ६:१३; ७:२९-३४) तर अब मन्दिरको पुनर्निर्माण पूरा भइसकेको थियो र मानिसहरू पनि यहोवाको उपासनाप्रति समर्पित भएकाले शुद्ध उपासनाका सत्य कुराहरू बोलिने थियो र यरूशलेमलाई “सत्यको शहर” भनिने थियो।

११:७-१४—जकरियाले “अनुग्रह” र “एकता” नाउँका लौरो भाँच्नुले के अर्थ राख्छ? “मारिनलाई राखिएका भेडाहरूको बगाल” अर्थात्‌ नेताहरूको शोषणमा परेका भेडाझैं सोझो मानिसहरूलाई “रखवाली” गर्न पठाइएको व्यक्‍तिको रूपमा जकरियालाई चित्रण गरिएको छ। गोठालोको भूमिकामा जकरियाले येशू ख्रीष्टको पूर्वचित्रण गरे जसलाई परमेश्‍वरले करार बाँधेको जनहरूकहाँ पठाउनुभयो तर तिनीहरूले उहाँलाई तिरस्कार गरे। ‘अनुग्रहलाई’ भाँच्नुको अर्थ हो, यहोवाले यहूदीहरूसित बाँधेको करार तोड्‌नुहुनेछ र तिनीहरूलाई अनुग्रह देखाउन छोड्‌नुहुनेछ। ‘एकतालाई’ भाँच्नुको अर्थ चाहिं यहूदा र इस्राएलबीचको ईश्‍वरतान्त्रिक भाइचारा तोडिनु हो।

१२:११—‘मगिद्दोनको बेंसीमा हद्रिम्मोनको ठूलो रुवाबासी’ भनेको के हो? “मगिद्दोनको बेंसी[मा]” मिश्रका राजा फिरऊन नेकोसितको लडाइँमा यहूदाका राजा योशियाहको मृत्यु भएको थियो र वर्षौंसम्म “विलापी-गीत” गाउँदै तिनको मृत्युको शोक मनाइयो। (२ इतिहास ३५:२५) त्यसैले ‘हद्रिम्मोनको ठूलो रुवाबासीले’ योशियाहको मृत्युमा मनाइएको शोकलाई चित्रण गरेको हुन सक्छ।

हाम्रो लागि पाठ:

१:२-६; ७:११-१४. पश्‍चात्ताप गरेर सुधारलाई स्वीकार्दै र तनमनले यहोवाको सेवा गर्दै उहाँतिर फर्किने व्यक्‍तिहरूसित उहाँ प्रसन्‍न हुनुहुन्छ र उहाँ तिनीहरूतिर फर्कनुहुन्छ। अर्कोतर्फ, उहाँको सन्देश ‘सुन्‍नलाई अस्वीकार गर्ने, हठी छाती देखाउने र नसुन्‍नलाई आफ्नो कान थुन्‍नेहरूले’ मदतको लागि पुकार्दा उहाँले सुन्‍नु हुन्‍न।

४:६, ७. मन्दिरको पुनर्निर्माण सफलता साथ पूरा गर्न यहोवाको आत्माको लागि कुनै पनि अवरोध पार गर्नै नसकिने साबित भएन। हामीले यहोवाको सेवा गर्दा जस्तोसुकै अवरोधको सामना गर्नुपरे तापनि उहाँमा भरोसा राखेर त्यसलाई पार गर्न सक्छौं।—मत्ती १७:२०.

४:१०. यहोवाको निगरानीमा यरूबाबेल र तिनका मानिसहरूले परमेश्‍वरको उच्च स्तरबमोजिम मन्दिरको निर्माण काम पूरा गरे। यहोवाले चाहनु भएअनुसार गर्नु असिद्ध मानिसहरूका लागि अति गाह्रो कुरा होइन।

७:८-१०; ८:१६, १७. यहोवाको अनुग्रह पाउन हामी न्यायी र कोमल हुनै पर्छ साथै कृपा देखाउनै पर्छ र आपसमा साँचो बोल्नै पर्छ।

८:९-१३. यहोवाले अह्राएको काम पूरा गर्न आफ्ना ‘हातहरू बलिया’ बनाउँदा उहाँले हामीलाई आशिष्‌ दिनुहुन्छ। यी आशिष्‌हरूमा शान्ति, सुरक्षा र आध्यात्मिक प्रगति समावेश छन्‌।

१२:६. यहोवाका जनहरूमाझ निरीक्षण गर्ने जिम्मेवारी पाएकाहरू “बल्दो राँकोजस्तै” हुनुपर्छ अर्थात्‌ एकदमै जोसिलो।

१३:३. साँचो परमेश्‍वर र उहाँको संगठनप्रतिको हाम्रो वफादारिताको ठाउँ कुनै मानिसले लिनु हुँदैन, चाहे हामी कोहीसित एकदमै नजिक नै किन नहोऔं।

१३:८, ९, NRV. यहोवाले इन्कार गर्नुभएका धर्मत्यागीहरूको संख्या ठूलै थियो, समस्त देशमा दुई तिहाइ। एक तिहाइ मात्र आगोमा हालेर चाँदी निखारेझैं निखारिए। हाम्रो समयमा पनि मसीही भनी दाबी गर्ने अधिकांश मानिसहरू मसीहीजगत्‌का भाग हुन्‌ र तिनीहरूलाई यहोवाले तिरस्कार गर्नुभएको छ। अभिषिक्‍त मसीहीहरूको सानो संख्याले मात्र ‘यहोवाको नाउँ पुकारेका’ छन्‌ र आफूलाई निखारिन दिएका छन्‌। अभिषिक्‍त मसीहीहरू र तिनीहरूका सँगी विश्‍वासीहरू नाउँ मात्रको यहोवाका साक्षी होइनन्‌ भनी स्पष्ट भएको छ।

जोसिलो कार्य गर्न उत्प्रेरित

हाग्गै र जकरियाले गरेका उद्‌घोषणाले आज हामीलाई कसरी असर गर्छ? तिनीहरूको सन्देशले यहूदीहरूलाई मन्दिरको पुनर्निर्माण काम पूरा गर्न जुरमुऱ्‍याएको कुरालाई विचार गर्दा के हामी राज्य प्रचारकार्य र चेला बनाउने काममा जोसिलो भई भाग लिन उत्प्रेरित हुँदैनौं र?

मसीह “गधामाथि, . . . सवार भएर” आउनेछन्‌, उहाँलाई “चाँदीका तीस टुक्रा[को]” लागि धोका दिइनेछ, हिर्काइनेछ र “भेडा तितर-बितर हुनेछ” भनेर जकरियाले भविष्यवाणी गरेका थिए। (जकरिया ९:९; ११:१२; १३:७) मसीहबारे जकरियाले गरेका यस्ता भविष्यवाणीहरू पूरा भएको तथ्यमा मनन गर्दा यसले हाम्रो विश्‍वासमा ठूलो असर पार्छ! (मत्ती २१:१-९; २६:३१, ५६; २७:३-१०) यहोवाको वचन र हाम्रो उद्धारको लागि उहाँले गर्नुभएका प्रबन्धमाथिको हाम्रो विश्‍वास अझ बलियो हुन्छ।—हिब्रू ४:१२. (w 07 12/1)

[फुटनोट]

a प्रहरीधरहरा, जनवरी १, ११९६, पृष्ठ ९-२२ हेर्नुहोस्‌।

[पृष्ठ १५-मा भएको पेटी]

जकरियाले देखेका आठ लाक्षणिक दर्शनहरू

१:८-१७: मन्दिरको काम पूरा हुने ग्यारेन्टीका साथै यरूशलेम र यहूदाका अन्य सहरहरूले आशिष्‌ पाउने कुराको बयान।

१:१८-२१: ‘यहूदालाई तितरबितर पार्ने चार सिंह’ अर्थात्‌ यहोवाको उपासनाको विरोध गर्ने सबै सरकारहरूको अन्त हुनेछ भन्‍ने प्रतिज्ञा।

२:१-१३: यरूशलेमको विस्तार हुनेछ र यहोवा यसको लागि ‘चारैतिर आगोको पर्खाल’ अर्थात्‌ सुरक्षा हुनुहुनेछ भन्‍ने संकेत।

३:१-१०: मन्दिरको निर्माण कामको विरोधमा शैतान मुछिएको र प्रधान पूजाहारी यहोशूलाई छुटाइएको र स्वच्छ पारिएको कुराको वर्णन।

४:१-१४: पहाडरूपी अवरोधलाई पार गरिनेछ र बडा हाकिम यरूबाबेलले मन्दिरको निर्माण कार्य पूरा गर्नेछन्‌ भन्‍ने आश्‍वासन।

५:१-४: सजायबाट बचेका दुष्टहरूलाई सरापका शब्दहरू।

५:५-११: दुष्टको विनाशबारे भविष्यवाणी।

६:१-८: स्वर्गदूतहरूले गर्ने सुपरिवेक्षण र सुरक्षाको प्रतिज्ञा।

[पृष्ठ १२-मा भएको चित्र]

हाग्गै र जकरियाको सन्देशको उद्देश्‍य के थियो?

[पृष्ठ १४-मा भएको चित्र]

निरीक्षण गर्ने जिम्मेवारी पाएकाहरू कसरी “बल्दो राँकोजस्तै” हुन्‌?