सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २१

के तपाईँ परमेश्‍वरले दिनुभएका उपहारहरूप्रति कृतज्ञ हुनुहुन्छ?

के तपाईँ परमेश्‍वरले दिनुभएका उपहारहरूप्रति कृतज्ञ हुनुहुन्छ?

“हे यहोवा मेरा परमेश्‍वर, तपाईँले हाम्रो लागि कत्ति धेरै आश्‍चर्यजनक कामहरू गर्नुभएको छ! अनि तपाईँले हाम्रो लागि सोच्नुभएका कुराहरू कत्ति धेरै छन्‌!”—भज. ४०:५.

गीत ५ यहोवाका आश्‍चर्यजनक कामहरू

परिचय *

१-२. भजन ४०:५ अनुसार यहोवाले हामीलाई कस्ता उपहारहरू दिनुभएको छ? हामी त्यसबारे किन छलफल गर्नेछौँ?

यहोवा उदार परमेश्‍वर हुनुहुन्छ। उहाँले हामीलाई दिनुभएका केही उपहार के-के हुन्‌, सोच्नुहोस्‌ त: हाम्रो सुन्दर घर अर्थात्‌ बेजोड पृथ्वी, अचम्मलाग्दो तरिकामा बनाइएको हाम्रो मस्तिष्क र उहाँको बहुमूल्य वचन बाइबल। यहोवाले दिनुभएका यी तीन वटा उपहारले गर्दा हामीले बस्ने ठाउँ पाएका छौँ, सोच्ने र कुराकानी गर्ने क्षमता पाएका छौँ अनि हाम्रो मनमा आउने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाएका छौँ।भजन ४०:५ पढ्‌नुहोस्‌।

यस लेखमा हामी यी तीन वटा उपहारबारे छोटकरीमा छलफल गर्नेछौँ। ती उपहारहरूमा जत्ति धेरै मनन गर्छौँ, त्यसप्रति हाम्रो कृतज्ञता त्यत्ति नै बढ्‌नेछ अनि हाम्रो मायालु सृष्टिकर्ता यहोवालाई खुसी बनाउने हाम्रो चाहना उत्ति नै प्रबल हुनेछ। (प्रका. ४:११) साथै क्रमविकासको झूटो सिद्धान्तले बहकिएकाहरूलाई मदत गर्न हामी अझ सक्षम हुनेछौँ।

हाम्रो बेजोड पृथ्वी

३. पृथ्वी किन बेजोड छ?

यहोवाले हाम्रो घर अर्थात्‌ पृथ्वी बनाउनुभएको तरिकाबाट उहाँको बुद्धि छर्लङ्‌गै देखिन्छ। (रोमी १:२०; हिब्रू ३:४) सूर्यको परिक्रमा गर्ने ग्रह पृथ्वी मात्रै होइन तर मानव जीवन धान्‍न चाहिने उचित अवस्था पृथ्वीमा मात्र छ। त्यसैले यो बेजोड छ।

४. मानिसले बनाएको कुनै पनि डुङ्‌गाभन्दा पृथ्वी किन उत्कृष्ट छ?

ब्रह्‍माण्डमा रहेको पृथ्वीलाई विशाल समुद्रमा तैरिरहेको डुङ्‌गासित तुलना गर्न सकिन्छ। तर मानिसले बनाएको डुङ्‌गा र पृथ्वीबीच उल्लेखनीय भिन्‍नताहरू छन्‌। उदाहरणको लागि, डुङ्‌गामा यात्रा गरिरहेकाहरूले अक्सिजन, खानेकुरा र पानी आफैले उत्पादन गर्नुपऱ्‍यो अनि तिनीहरूले कुनै पनि फोहोर पानीमा फ्याँक्न सकेनन्‌ भने तिनीहरू कतिन्जेल बाँच्न सक्लान्‌? धेरै दिन बाँच्न सक्नेछैनन्‌। तर पृथ्वीको कुरा गर्ने हो भने अरबौँ जीवजीवात पृथ्वीमा बाँचिरहेका छन्‌। पृथ्वीले हामीलाई चाहिने अक्सिजन, खानेकुरा र पानी प्रशस्त मात्रामा उत्पादन गर्छ र हामीलाई यी अत्यावश्‍यक कुराहरू कहिल्यै अपुग हुँदैन। पृथ्वीबाट निस्कने फोहोर अन्तरिक्षमा फ्याँकिदैन। तैपनि पृथ्वी सुन्दर र जीवजीवात बस्न योग्य भइरहन्छ। त्यो कसरी सम्भव छ? यहोवाले पृथ्वीलाई यहाँ उपलब्ध स्रोतसाधन विभिन्‍न प्रक्रियाद्वारा प्रशोधन गर्न सकिने चक्रहरूसहित बनाउनुभएको छ। अचम्मलाग्दो तरिकाले बनाइएका ती चक्रहरूमध्ये दुइटा चक्रबारे हामी छोटकरीमा विचार गर्नेछौँ: अक्सिजन-चक्र र जल-चक्र।

५. अक्सिजन-चक्र भनेको के हो? यसले कुन कुरा प्रमाणित गर्छ?

अक्सिजन भनेको हामीलगायत केही जीवजीवातको जीवन धान्‍न नभई नहुने ग्याँस हो। जीवजीवातले वर्षेनी एक खरब टन अक्सिजन लिन्छन्‌ भनेर अनुमान गरिएको छ। अनि यी जीवजीवातले कार्बन डाइअक्साइड भनिने फोहोर ग्याँस बाहिर फ्याँक्छन्‌। तैपनि अक्सिजन कहिल्यै सिद्धिँदैन। अनि वायुमण्डल “फोहोर” ग्याँस कार्बन डाइअक्साइडले कहिल्यै भरिभराउ पनि हुँदैन। किन? किनभने कार्बन डाइअक्साइड लिन र अक्सिजन फ्याँक्न यहोवाले विभिन्‍न किसिमका वनस्पति बनाउनुभएको छ। जस्तै, ठूलठूला रूखहरूदेखि स-साना लेउसम्म। अक्सिजन-चक्रले प्रेषित १७:२४, २५ मा लेखिएका यी शब्दहरूलाई शाब्दिक अर्थमै प्रमाणित गर्छ: “उहाँले नै सबै मानिसलाई जीवन, सास . . . दिनुहुन्छ।”

६. जल-चक्र भनेको के हो र यसले के प्रमाणित गर्छ? (“ जल-चक्र—यहोवाले दिनुभएको उपहार” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

पानी पृथ्वीमा उपलब्ध छ किनभने पृथ्वी सूर्यबाट ठिक्कको दूरीमा अवस्थित छ। पृथ्वी अहिलेभन्दा अलिकता मात्र सूर्यको नजिक भएको भए सबै पानी उम्लिएर सिद्धिनेथियो अनि पृथ्वी असाध्यै तातो चट्टानजस्तो हुनेथियो, जहाँ जीवन सम्भव हुनेथिएन। अर्कोतर्फ, सूर्यबाट अलिकता मात्र टाढा भएको भए सबै पानी जम्नेथियो र पृथ्वी बरफको विशाल ढिक्का बन्‍नेथियो। यहोवाले पृथ्वीलाई ठिक्कको दूरीमा राख्नुभएको छ। त्यसैले जल-चक्रले गर्दा पृथ्वीमा जीवन सम्भव भएको छ। सूर्यले समुद्रको पानी र पृथ्वीको सतहमा भएको पानीलाई तताउँछ र पानी तातेपछि बाफको रूपमा उडेर बादल बन्छ। वर्षेनी सूर्यले पृथ्वीका सबै तालमा भएको पानीभन्दा धेरै पानीलाई बाफ बनाउँछ। यसरी बाफ बनेको पानी लगभग दस दिनसम्म वायुमण्डलमा रहन्छ अनि त्यसपछि पानी वा हिउँको रूपमा पृथ्वीमा झर्छ। यो पानी समुद्रमा वा अन्य जलकुण्डमा जम्मा हुन्छ र जल-चक्र निरन्तर चलिरहन्छ। जीवन धान्‍न नभई नहुने यो प्रभावकारी जल-चक्रले यहोवा बुद्धिमान्‌ र शक्‍तिशाली हुनुहुन्छ भनेर प्रमाणित गर्छ।—अय्यु. ३६:२७, २८; उप. १:७.

७. भजन ११५:१६ मा बताइएको उपहारप्रति हामी आफ्नो कृतज्ञता कसरी देखाउन सक्छौँ?

हाम्रो अद्‌भुत पृथ्वी र यसले दिने सबै स्रोतसाधनप्रति आफ्नो कृतज्ञता कसरी बढाउन सक्छौँ? (भजन ११५:१६ पढ्‌नुहोस्‌) एउटा तरिका भनेको यहोवाले बनाउनुभएका कुराहरूमा मनन गरेर हो। यसो गर्दा यहोवाले हामीलाई दिनुभएका असल कुराहरूको लागि हरेक दिन उहाँलाई धन्यवाद दिन जुरमुरिनेछौँ। अनि पृथ्वीको लागि कृतज्ञ छौँ भने आफू बस्ने ठाउँवरपर सकेसम्म सफा राख्न प्रयास गर्नेछौँ।

हाम्रो अतुलनीय मस्तिष्क

८. मानव मस्तिष्क अचम्मलाग्दो तरिकाले बनाइएको छ भनेर किन भन्‍न सकिन्छ?

मानव मस्तिष्क अचम्मलाग्दो तरिकाले बनाइएको छ। आमाको गर्भमा छँदा तपाईँको मस्तिष्क सुव्यवस्थित तरिकामा विकास हुँदै गयो र प्रति मिनेट हजारौँ नयाँ कोषहरू बनिँदै गए! अनुसन्धानकर्ताहरूले अनुमान गरेअनुसार एक वयस्कको मस्तिष्कमा १०० अरबजति विशेष किसिमका कोषहरू हुन्छन्‌, जसलाई न्युरोन भनिन्छ। यी कोषहरू मिलेर हाम्रो मस्तिष्क बन्छ, जसको वजन साढे एक किलोजति हुन्छ। आउनुहोस्‌, मस्तिष्कका केही अद्‌भुत क्षमताबारे विचार गरौँ।

९. हाम्रो बोल्ने क्षमता परमेश्‍वरले दिनुभएको उपहार हो भनेर केले प्रमाणित गर्छ?

हाम्रो बोल्ने क्षमता एउटा चमत्कार हो। हामीले बोल्दा के-कस्ता प्रक्रियाहरू हुन्छन्‌, एकछिन विचार गर्नुहोस्‌। तपाईँले हरेक शब्द उच्चारण गर्दा तपाईँको मस्तिष्कले जिब्रो, घाँटी, ओठ, बङ्‌गारा र छातीमा भएका लगभग १०० वटा मांसपेशीसित तालमेल मिलाउनुपर्छ। ती सबै मांसपेशी सही क्रममा चलेको खण्डमा मात्र हामीले उच्चारण गरेको शब्द अरूले बुझ्न सक्छन्‌। हाम्रो बोल्ने क्षमताबारे सन्‌ २०१९ मा प्रकाशित एउटा अध्ययनअनुसार नवजात शिशुले पनि आफूले सुनेको शब्दको अर्थ बुझ्न र त्यसैअनुसार प्रतिक्रिया देखाउन सक्छ। यस अध्ययनले थुप्रै अनुसन्धानकर्ताको धारणालाई समर्थन गर्छ। त्यो हो, हामीले आफूले सुनेको शब्दको अर्थ बुझ्ने र भाषा सिक्ने क्षमता जन्मजात पाएका हुन्छौँ। हाम्रो बोल्ने क्षमता परमेश्‍वरले दिनुभएको उपहार हो भन्‍ने कुरामा कुनै शङ्‌का छैन!—प्रस्थ. ४:११.

१०. बोल्ने क्षमताप्रति कृतज्ञ छौँ भनेर हामी कसरी देखाउन सक्छौँ?

१० परमेश्‍वरबाट उपहारस्वरूप पाएको बोल्ने क्षमताप्रति कृतज्ञ छौँ भनेर देखाउने एउटा तरिका हामी किन क्रमविकासमा विश्‍वास गर्दैनौँ भनेर सोध्नेहरूलाई हामीले परमेश्‍वरमा विश्‍वास गर्नुको कारण बताएर हो। (भज. ९:१; १ पत्रु. ३:१५) क्रमविकासको सिद्धान्तलाई अघि सार्नेहरूले पृथ्वी र यहाँ भएको जीवन कसैले सृष्टि गरेको होइन, संयोगवश आएको हो भन्छन्‌। तर स्वर्ग र पृथ्वी बनाउनुहुने यहोवा नै हुनुहुन्छ भनेर हामीले विश्‍वास गर्नुको कारण जान्‍न इच्छुक व्यक्‍तिहरूलाई हामी बाइबल र यस लेखमा प्रयोग गरिएका केही बुँदा चलाएर बुझाउन सक्छौँ। यसरी हामी स्वर्गमा हुनुहुने बुबाको पक्षमा खडा हुन सक्छौँ।—भज. १०२:२५; यसै. ४०:२५, २६.

११. हाम्रो मस्तिष्क अद्‌भुत हुनुको एउटा कारण के हो?

११ हाम्रो सम्झने क्षमता अद्‌भुत छ। दुई करोड ठूलठूला किताबमा अटाउनेजति जानकारी मानव मस्तिष्कले सम्झन सक्छ भनेर एक जना लेखकले अनुमान लगाएका थिए। तर हाम्रो सम्झने क्षमता त्योभन्दा धेरै छ भनेर अहिले भन्‍ने गरिन्छ। सम्झने क्षमता भएकोले हामीसित अर्को कस्तो अद्‌भुत क्षमता छ?

१२. नैतिक पाठ सिक्ने क्षमताले गर्दा हामी कसरी जनावरहरूभन्दा भिन्‍न छौँ?

१२ आफूले विगतमा भोगेका घटना सम्झँदै ती केलाएर नैतिक पाठ सिक्ने क्षमता पृथ्वीमा भएका सबै जीवजीवातमध्ये मानिससित मात्र छ। यसकारण हामी उत्कृष्ट मूल्यमान्यता सिक्न सक्छौँ अनि आफ्नो सोच्ने तरिका र जीवनशैली परिवर्तन गर्न सक्छौँ। (१ कोरि. ६:९-११; कल. ३:९, १०) वास्तवमा हामी सही र गलत छुट्ट्याउन आफ्नो अन्तस्करणलाई तालिम दिन सक्छौँ। (हिब्रू ५:१४) हामी प्रेम, दया र कृपा देखाउन सिक्न सक्छौँ। अनि हामी यहोवाले जस्तै निष्पक्ष न्याय देखाउन पनि सिक्न सक्छौँ।

१३. भजन ७७:११, १२ अनुसार हाम्रो सम्झने क्षमतालाई कसरी प्रयोग गर्नुपर्छ?

१३ उपहारस्वरूप पाएको सम्झने क्षमताप्रति कृतज्ञ छौँ भनेर देखाउने एउटा तरिका विगतमा यहोवाले हामीलाई मदत गर्नुभएको र सान्त्वना दिनुभएको प्रत्येक घटना सम्झेर हो। यसो गऱ्‍यौँ भने यहोवाले हामीलाई भविष्यमा पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा हाम्रो भरोसा बढ्‌नेछ। (भजन ७७:११, १२ पढ्‌नुहोस्‌; भज. ७८:४, ७) अर्को तरिका, अरूले हाम्रो लागि गरेका असल कुराहरू सम्झेर अनि त्यसको लागि कृतज्ञ भएर हो। अरूप्रति कृतज्ञ मानिसहरू खुसी हुने सम्भावना धेरै हुन्छ भनेर अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌। हामीले यहोवाको अनुकरण गर्दै कुनै-कुनै कुरा बिर्सने छनौट गर्नु पनि बेस हो। उदाहरणको लागि, यहोवा एक-एक कुरा सम्झन सक्नुहुन्छ तर हामीले पश्‍चात्ताप गऱ्‍यौँ भने उहाँले हाम्रा गल्तीलाई क्षमा दिने र त्यसलाई बिर्सने छनौट गर्नुहुन्छ। (भज. २५:७; १३०:३, ४) अरूले गल्ती गरेर हाम्रो चित्त दुखाएका छन्‌ तर ती व्यक्‍ति पछुताउँछन्‌ भने हामीले पनि यहोवाको अनुकरण गर्दै तिनलाई क्षमा दिएको र तिनको गल्तीलाई बिर्सेको उहाँ चाहनुहुन्छ।—मत्ति ६:१४; लुका १७:३, ४.

उपहारस्वरूप पाएको हाम्रो मस्तिष्कप्रति कृतज्ञ भएको देखाउन हामीले यसलाई यहोवाको आदर हुने तरिकामा प्रयोग गर्नुपर्छ। (अनुच्छेद १४ हेर्नुहोस्‌) *

१४. उपहारस्वरूप पाएको हाम्रो मस्तिष्कप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

१४ उपहारस्वरूप पाएको हाम्रो मस्तिष्कप्रति कृतज्ञ छौँ भने हामीले यसलाई यो उपहार दिनुहुनेको आदर हुने तरिकामा प्रयोग गर्नुपर्छ। कसै-कसैले आफ्नै स्वार्थी इच्छा पूरा गर्न मस्तिष्कको प्रयोग गर्छन्‌ अर्थात्‌ सही र गलतको स्तर आफैले तोक्छन्‌। यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले हामीले तोक्ने कुनै पनि स्तरभन्दा उहाँले हाम्रो लागि तोकिदिनुभएको स्तर कता हो कता उत्कृष्ट छ भनेर आशा गर्नु मनासिब हो। (रोमी १२:१, २) उहाँको स्तरअनुरूप चल्दा हाम्रो जीवनमा शान्ति छाउँछ। (यसै. ४८:१७, १८) अनि हामीले आफ्नो जीवनको उद्देश्‍य के हो भनेर स्पष्टसित बुझ्न सक्छौँ। त्यो उद्देश्‍य हो, स्वर्गमा बस्नुहुने बुबा, जो हाम्रो सृष्टिकर्ता हुनुहुन्छ उहाँको आदर गर्नु अनि उहाँलाई खुसी बनाउनु।—हितो. २७:११.

बाइबल—बहुमूल्य उपहार

१५. बाइबल मानिसहरूप्रति यहोवाको प्रेमको प्रमाण हो भनेर किन भन्‍न सक्छौँ?

१५ बाइबल, यहोवाले हामीलाई दिनुभएको मायालु उपहार हो। स्वर्गमा बस्नुहुने बुबाले मानिसहरूलाई बाइबल लेख्न प्रेरणा दिनुभयो किनभने उहाँ पृथ्वीमा बस्ने आफ्ना छोराछोरीलाई असाध्यै माया गर्नुहुन्छ। हामीले सोध्ने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ यहोवा हामीलाई बाइबलमार्फत दिनुहुन्छ। जस्तै: हामी कहाँबाट आयौँ? जीवनको उद्देश्‍य के हो? भविष्य कस्तो हुनेछ? आफ्ना सबै छोराछोरीले यी प्रश्‍नहरूको जवाफ पाएको यहोवा चाहनुहुन्छ। त्यसैले शताब्दीयौँदेखि उहाँले थुप्रै भाषामा बाइबल अनुवाद गर्न मानिसहरूलाई उत्प्रेरित गर्नुभएको छ। आज बाइबल पूरा वा आंशिक गरी तीन हजारभन्दा धेरै भाषामा उपलब्ध छ! इतिहास केलाउने हो भने सबैभन्दा धेरै अनुवाद र वितरण भएको किताब बाइबल हो। मानिसहरू जुनसुकै ठाउँमा बसून्‌ वा जुनसुकै भाषा बोलून्‌, अधिकांशले आफ्नै मातृभाषामा बाइबलको सन्देश सुन्‍ने मौका पाएका छन्‌।—“ अफ्रिकी भाषाहरूमा बाइबल उपलब्ध गराउने प्रयास” भन्‍ने पेटी हेर्नुहोस्‌।

१६. मत्ति २८:१९, २० अनुसार बाइबलप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

१६ बाइबलप्रति कृतज्ञ भएको देखाउन हामीले यो दिनहुँ पढ्‌नुपर्छ, यसले सिकाउने कुरामा मनन गर्नुपर्छ अनि आफूले सिकेको कुरा लागू गर्न सक्दो प्रयास गर्नुपर्छ। साथै परमेश्‍वरप्रति कृतज्ञ भएको देखाउन हामीले बाइबलको सन्देश सकेसम्म धेरै मानिसलाई सुनाउन सक्दो प्रयास गर्नुपर्छ।—भज. १:१-३; मत्ति २४:१४; मत्ति २८:१९, २० पढ्‌नुहोस्‌।

१७. यस लेखमा हामीले कस्ता उपहारहरूबारे छलफल गऱ्‍यौँ? अर्को लेखमा के छलफल गर्नेछौँ?

१७ यस लेखमा हामीले परमेश्‍वरले दिनुभएका यी उपहारहरूबारे छलफल गऱ्‍यौँ: हाम्रो सुन्दर घर अर्थात्‌ पृथ्वी, अचम्मलाग्दो तरिकामा बनाइएको हाम्रो मस्तिष्क र परमेश्‍वरको प्रेरित वचन बाइबल। तर यहोवाले हामीलाई अरू उपहार पनि दिनुभएको छ, जुन हामी देख्न सक्दैनौँ। ती अदृश्‍य उपहारहरूबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।

गीत १२ महान्‌ परमेश्‍वर यहोवा

^ अनु. 5 यस लेखले यहोवाप्रति र उहाँले दिनुभएका तीन वटा उपहारप्रति हाम्रो कृतज्ञता बढाउन मदत गर्नेछ। साथै परमेश्‍वरको अस्तित्वमाथि शङ्‌का गर्नेहरूसित तर्क गर्न हामीलाई मदत गर्नेछ।

^ अनु. 64 चित्रको व्याख्या: परमेश्‍वरको वचनको सत्य आप्रवासीहरूलाई सिकाउन एउटी बहिनी विदेशी भाषा सिक्दै छिन्‌।