लुकाका अनुसार १७:१-३७

  • ठेस पुऱ्‍याउने, क्षमा दिने र विश्‍वास गर्ने (१-६)

  • निकम्मा दास (७-१०)

  • १० जना कुष्ठरोगी निको पारिन्छन्‌ (११-१९)

  • परमेश्‍वरको राज्य आउने (२०-३७)

    • परमेश्‍वरको राज्य “तिमीहरूकै माझमा छ” (२१)

    • “लुतकी पत्नीलाई सम्झ!” (३२)

१७  तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “ठेस पुऱ्‍याउने कारणहरू अवश्‍य आउनेछन्‌। तर त्यस मानिसलाई धिक्कार छ, जसद्वारा ती आउँछन्‌! २  त्यस्ताले गर्दा यी सानाहरूमध्ये एक जनालाई ठेस पुग्न दिनुभन्दा त त्यसको घाँटीमा जाँतो झुन्ड्‌याएर समुद्रमा फालिदिनु नै बेस हुनेछ।+ ३  आफ्नो विषयमा ध्यान देओ। तिम्रो भाइले पाप गऱ्‍यो भने उसलाई हप्काऊ+ र उसले पश्‍चात्ताप गऱ्‍यो भने उसलाई क्षमा देऊ।+ ४  यदि उसले तिम्रो विरुद्धमा दिनको सात चोटि पाप गऱ्‍यो र सातै चोटि आएर ‘मलाई पछुतो लाग्यो’ भन्छ भने तिमीले उसलाई क्षमा दिनै पर्छ।”+ ५  तब प्रेषितहरूले प्रभुलाई भने: “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌।”+ ६  अनि प्रभुले भन्‍नुभयो: “तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिमीहरूको कुरा मान्‍नेछ।+ ७  “तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले आफ्नो दास हलो जोतेर वा भेडाबाख्रा चराएर खेतबाट फर्केपछि उसलाई यसो भन्छ: ‘तुरुन्तै यहाँ आएर खान बस’? ८  बरु के उसले यसो भन्दैन र: ‘मेरो लागि बेलुकीको खाना तयार पार अनि मैले खानपिन नगरुन्जेल पटुका कसेर मेरो सेवा गर। त्यसपछि मात्र तिमीले खानपिन गर्नू’? ९  दासले आफूलाई अह्राइएको काम पूरा गर्दा के मालिकले दासप्रति कृतज्ञ महसुस गर्छ र? १०  त्यसैगरि तिमीहरू पनि जब आफूलाई अह्राइएको सबै काम पूरा गर्छौ, तब यसो भन्‍नू: ‘हामी निकम्मा दास हौँ। हामीले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेका हौँ।’”+ ११  तब उहाँ सामरिया र गालिलको बीचबाट भएर यरुसलेम जाँदै हुनुहुन्थ्यो। १२  अनि उहाँ एउटा गाउँभित्र पस्न लाग्नुहुँदा १० जना कुष्ठरोगीले उहाँलाई देखे तर तिनीहरू टाढै उभिए+ १३  र ठूलो स्वरमा यसो भने: “हे येसु, हे गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्‌!” १४  तिनीहरूलाई देखेपछि उहाँले यसो भन्‍नुभयो: “जाओ, गएर पुजारीहरूलाई देखाओ।”+ तब जाँदाजाँदै तिनीहरू शुद्ध भए।+ १५  तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को स्वरमा परमेश्‍वरको महिमा गर्दै फर्क्यो १६  र येसुको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो। ऊ सामरियाली थियो।+ १७  यो देखेर येसुले भन्‍नुभयो: “दसै जना शुद्ध भएका थिए नि, होइन र? त्यसोभए बाँकी नौ जना खै त? १८  परमेश्‍वरको महिमा गर्न फर्कनेमा यो विदेशीबाहेक अरू कोही भएन?” १९  अनि उहाँले उसलाई भन्‍नुभयो: “उठ र आफ्नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ २०  परमेश्‍वरको राज्य कहिले आउँछ+ भनी फरिसीहरूले सोध्दा उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “परमेश्‍वरको राज्य सबैले देख्नेगरि आउँदैन २१  न त मानिसहरूले ‘हेर, यहाँ छ!’ वा ‘त्यहाँ छ!’ भन्‍नेछन्‌। किनकि हेर! परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ।”+ २२  त्यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो: “यस्तो समय आउनेछ, जब तिमीहरूले मानिसको छोराका दिनहरूमध्ये एक दिन हेर्न इच्छा गर्नेछौ तर हेर्न पाउनेछैनौ। २३  अनि मानिसहरूले तिमीहरूलाई ‘हेर, ऊ त्यहाँ छ!’ वा ‘हेर, ऊ यहाँ छ!’ भन्‍नेछन्‌। तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूको पछिपछि नलाग।+ २४  जसरी बिजुली आकाशको एक छेउदेखि अर्को छेउसम्म चम्किन्छ, मानिसको छोरा+ पनि आफ्नो दिनमा त्यसरी नै प्रकट हुनेछ।+ २५  तर त्यसभन्दा अघि उसले धेरै दुःख भोग्नुका साथै यस पुस्ताबाट तिरस्कृत हुनु आवश्‍यक छ।+ २६  यसबाहेक नुहको दिनमा जस्तो भएको थियो,+ मानिसको छोराको दिनमा पनि त्यस्तै हुनेछ:+ २७  जुन दिनसम्म नुह जहाजभित्र पसेनन्‌,+ त्यस दिनसम्म तिनीहरू खाँदै थिए, पिउँदै थिए अनि विवाहवारी गर्दै थिए, तब जलप्रलय आएर तिनीहरू सबैलाई नाश गऱ्‍यो।+ २८  त्यसैगरि लुतको दिनमा जस्तो भएको थियो,+ त्यतिखेर पनि त्यस्तै हुनेछ: तिनीहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, बेच्दै थिए, रोप्दै थिए र घर बनाउँदै थिए। २९  तर जुन दिन लुत सदोमबाट निस्के, त्यही दिन आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नाश गऱ्‍यो।+ ३०  मानिसको छोरा प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ।+ ३१  “त्यो दिन कुनै मानिस कौसीमा छ र उसको मालसामान घरभित्र छ भने त्यो लिन ऊ तल नओर्लोस्‌। त्यसैगरि खेतमा भएको मानिस आफ्नो मालसामान लिन घर नफर्कोस्‌। ३२  लुतकी पत्नीलाई सम्झ!+ ३३  जसले आफ्नो ज्यान बचाउन खोज्छ, उसले त्यो गुमाउनेछ तर जसले गुमाउँछ, उसले त्यो जोगाउनेछ।+ ३४  म तिमीहरूलाई भन्छु, त्यस रात दुई जना मानिस एउटै खाटमा हुनेछन्‌; एक जनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।+ ३५  दुइटी स्त्री एउटै जाँतो घुमाइरहेका हुनेछन्‌; एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” ३६  * ३७  यो सुनेर तिनीहरूले उहाँलाई सोधे: “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जहाँ लास हुन्छ, त्यहाँ चीलहरू पनि जम्मा हुन्छन्‌।”+

फुटनोटहरू

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।