सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुहुन्छ

यहोवा हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुहुन्छ

‘सबै सान्त्वनाका परमेश्वरले हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुहुन्छ।’—२ कोरि. १:३, ४.

गीत: ३८, ५६

१, २. हाम्रा सङ्‌कष्टहरूमा यहोवा कसरी सान्त्वना दिनुहुन्छ र उहाँले आफ्नो वचनमा कस्तो प्रतिज्ञा गर्नुभएको छ?

एक अविवाहित भाइ १ कोरिन्थी ७:२८ बारे सोच्दै थिए, जहाँ यस्तो लेखिएको छ: “जसले विवाह गर्छ, उसले शारीरिक दुःखकष्ट झेल्नेछ।” तिनले एक जना परिपक्व विवाहित एल्डरलाई यस्तो प्रश्न सोधे: “यहाँ कस्तो प्रकारको ‘दुःखकष्टबारे’ बताइएको हो अनि मैले विवाह गरें भने कसरी यसको सामना गर्न सक्छु?” यस प्रश्नको जवाफ दिनुअघि ती एल्डरले पावलले भनेको यो कुरा विचार गर्न भने: ‘सबै सान्त्वनाका परमेश्वरले हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुहुन्छ।’—२ कोरि. १:३, ४.

हाम्रो बुबा यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ अनि सान्त्वना दिनुहुन्छ। यहोवाले थुप्रै पटक सँभाल्नुभएको अनि डोऱ्याउनुभएको तपाईंलाई याद छ होला। तपाईंले धेरैजसो मदत उहाँको वचनबाट पाउनुभएको थियो कि? हामी यस कुरामा ढुक्क हुन सक्छौं: उहाँले विगतमा आफ्ना सेवकहरूलाई जसरी मदत गर्नुभयो, आज हामीलाई पनि त्यसरी नै मदत गर्नुहुनेछ।यर्मिया २९:११, १२ पढ्‌नुहोस्।

३. यस लेखमा कस्ता प्रश्नहरूबारे छलफल गर्नेछौं?

आफूमाथि आएको समस्या वा दुःखकष्टको कारण थाह पायौं भने सहन अलि सजिलो हुन्छ। यो कुरा वैवाहिक सम्बन्ध वा पारिवारिक जीवनमा आइपर्ने दुःखकष्टमा पनि लागू हुन्छ। पावलले भनेको “शारीरिक दुःखकष्ट”-मा के-कस्ता कुराहरू समावेश छन्‌? बाइबलकालीन समय र हाम्रो समयका कस्ता उदाहरणहरूबाट हामी सान्त्वना पाउन सक्छौं? यी प्रश्नहरूको जवाफले दुःखकष्ट सहन मदत गर्नेछ।

“शारीरिक दुःखकष्ट”

४, ५. के-कस्ता कारणले पति-पत्नीलाई “शारीरिक दुःखकष्ट” हुन सक्छ?

पहिलो मानव पुरुष र स्त्रीको विवाह गराइदिनुभएपछि यहोवाले यसो भन्नुभयो: “मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” (उत्प. २:२४) हामी सबै जना त्रुटिपूर्ण छौं। त्यसैले विवाह गरेर घरजम बसाल्दा पारिवारिक जीवनमा विभिन्न समस्या देखापर्न सक्छन्‌। (रोमी ३:२३) आमाबाबुको अधीनमा बसिरहेका छोरीहरू विवाहपछि पतिको अधीनमा बस्नुपर्ने हुन्छ। यहोवाले पतिलाई पत्नीको शिरको रूपमा नियुक्त गर्नुभएको छ। (१ कोरि. ११:३) विवाहको सुरु-सुरुमा पति-पत्नीलाई शिरत्वको सिद्धान्तअनुसार चल्न गाह्रो हुन सक्छ। बाइबलमा बताइएअनुसार विवाह गरेपछि पत्नीले आफ्नो आमाबाबुको भन्दा पतिले भनेको मान्नुपर्छ। साथै नवविवाहित दम्पतीलाई आफ्नो सासू-ससुरासित राम्रो सम्बन्ध बनाइराख्न गाह्रो हुन सक्छ। यस्ता कारणहरूले गर्दा वैवाहिक जीवनमा दुःखकष्ट आउन सक्छ।

बच्चा हुन लागेको कुरा थाह पाउँदा पति-पत्नीलाई कस्तो लाग्छ होला, कल्पना गर्नुहोस्। सुरुमा त निकै खुसी लाग्छ होला तर खुसी सँगसँगै अरू चिन्ताहरू पनि थपिन्छन्‌। जस्तै: गर्भवती भएको बेला र बच्चा जन्मेपछि स्वास्थ्य समस्याहरू आउला कि भनेर चिन्ता लाग्न सक्छ। अहिले र भविष्यमा हुने खर्चबारे पनि विचार गर्नुपर्ने हुन्छ। बच्चा जन्मेपछि आमाबाबुले अरू थुप्रै छाँटकाँट गर्नुपर्ने हुन्छ। आमाले आफ्नो पूरै समय र ध्यान बच्चालाई दिनुपर्ने हुन्छ। यसरी बच्चाको स्याहार-सुसार गर्न पत्नीले धेरै समय दिंदा पतिलाई ‘उसलाई मेरो केही वास्तै छैन’ भन्ने लाग्न सक्छ। अर्कोतर्फ, परिवारमा नयाँ सदस्य थपिएकोले बुबाको काँधमा थप जिम्मेवारी आइपर्छ। बुबाले उसको ख्याल राख्नुपर्ने र आवश्यकता पूरा गर्नुपर्ने हुन्छ।

६-८. सन्तान पाउने इच्छा पूरा नहुँदा किन तनाव हुन सक्छ?

केही दम्पतीले भने भिन्नै प्रकारको दुःखकष्ट झेल्छन्‌। हुन त विवाह गर्दा अनि बच्चा जन्माउँदा विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। तर बच्चा जन्माउने रहर पूरा नहुँदा पनि पति-पत्नीलाई “शारीरिक दुःखकष्ट” हुन सक्छ। (हितो. १३:१२) आफ्नो गर्भ नरहँदा पत्नीलाई भावनात्मक रूपमा धेरै तनाव हुन सक्छ। बाइबलकालीन समयमा बाँझी आइमाईलाई अक्सर हेला गरिन्थ्यो। याकूबकी पत्नी राहेलले आफ्नी दिदीको बच्चा भएको तर आफ्नो नभएकोले पतिलाई दुःख पोखाइन्‌। (उत्प. ३०:१, २) कुनै-कुनै देशमा धेरै छोराछोरी जन्माउने चलन छ। त्यस्ता देशमा सेवा गर्ने मिसनरीहरूलाई मानिसहरूले ‘बच्चा छैन’ भनेर अक्सर सोध्छन्‌। ती मिसनरीहरूले जति नै राम्ररी बुझाउन खोजे पनि तिनीहरूले यसो भन्न सक्छन्‌, “चिन्ता नगर्नुस्, हामी तपाईंहरूको सन्तान होस् भनेर कामना गर्छौं!”

इङ्‌गल्यान्डकी एउटी बहिनीको उदाहरण विचार गर्नुहोस्। तिनलाई आमा बन्ने ठूलो इच्छा थियो तर त्यो इच्छा पूरा भएको थिएन। उमेर ढल्कँदै जाँदा महिनावारी पनि बन्द भएपछि तिनी असाध्यै निराश भइन्‌। यो संसारमा सन्तान जन्माउने इच्छा पूरा नहुने पक्का भएपछि तिनी र तिनको पतिले धर्मपुत्र वा धर्मपुत्री लिने निर्णय गरे। तैपनि तिनी यसो भन्छिन्‌: “त्यस्तो निर्णय गरे पनि मेरो मनको घाउ निको भएन। किनभने धर्मपुत्रको रूपमा लिएको बच्चा आफैले जन्माएको जस्तो हुँदैन।”

बाइबलमा पत्नीहरूबारे यस्तो लेखिएको छ: “छोराछोरी जन्माउनु नै तिनीहरूको निम्ति सुरक्षा हो।” (१ तिमो. २:१५) तर यसको मतलब सन्तान जन्माउँदैमा अनन्त जीवन पाइन्छ भन्ने होइन। बरु आमा बनेपछि तिनी छोराछोरीको स्याहार-सुसार गर्न अनि घरको कामधन्दा गर्नमा व्यस्त हुने भएकोले तिनले कुरा ओसार्ने अनि अरूको कुरामा हात हाल्ने मौका पाउँदिनन्‌। (१ तिमो. ५:१३) तर तिनले वैवाहिक र पारिवारिक जीवनसित सम्बन्धित दुःखकष्ट भने झेल्नुपर्ने हुन सक्छ।

जीवनसाथीको मृत्यु हुँदा कसरी सहने बल पाउन सक्छौं? (अनुच्छेद ९, १२ हेर्नुहोस्)

९. विवाहित व्यक्तिहरूले झेल्ने एउटा दुःखकष्ट के हो?

वैवाहिक जीवनसित सम्बन्धित दुःखकष्ट के-के हुन्‌ भनेर सोच्दा एउटा कुरा दिमागमा झट्टै आउँदैन होला। त्यो हो—जीवनसाथीको मृत्यु। विवाहित व्यक्तिहरूले झेल्ने एउटा दुःखकष्ट भनेको आफ्नो जीवनसाथीको मृत्यु हो। थुप्रै पति-पत्नीले नयाँ संसारमा सँगै प्रवेश गर्ने आशा गर्छन्‌। त्यसैले आफ्नो जीवनसाथी गुमाउनुपर्ला भनेर सोचेका हुँदैनन्‌। ख्रीष्टियनहरू येशूले गर्नुभएको पुनर्जीवनको प्रतिज्ञामा पक्का विश्वास गर्छन्‌। (यूह. ५:२८, २९) पुनर्जीवनको आशाले जीवनसाथी गुमाएका पति वा पत्नीलाई धेरै हदसम्म सान्त्वना दिन्छ। मायालु बुबा यहोवाले दुःखकष्ट झेलिरहेकाहरूलाई मदत र सान्त्वना दिन आफ्नो वचनमा थुप्रै प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरका केही सेवकले कसरी सान्त्वना पाए र त्यस्तो सान्त्वनाले तिनीहरूलाई कसरी सँभाल्यो, आउनुहोस् हेरौं।

दुःखकष्ट झेल्दा सान्त्वना

१०. हन्नाले कसरी सान्त्वना पाइन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

१० एल्कानाकी पत्नी हन्नाले एउटा छुट्टै प्रकारको दुःखकष्ट झेल्नुपरेको थियो। तिनी बाँझी थिइन्‌ तर तिनकी सौता पनिन्नाको भने छोराछोरी थिए। (१ शमूएल १:४-७ पढ्‌नुहोस्) पनिन्नाले “सालसालै” हन्नालाई दुःख दिने अनि खसालेर कुरा गर्ने गर्थिन्‌। त्यसैले हन्ना साह्रै दुःखी अनि निराश थिइन्‌। तिनले यहोवालाई आफ्नो दुःख पोखाइन्‌ र सान्त्वना पाइन्‌। बाइबल भन्छ: ‘तिनले धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना गरिरहिन्‌।’ यहोवाले प्रार्थनाको जवाफ दिनुहुनेछ भनेर के तिनले आशा गरेकी थिइन्‌? तिनले त्यस्तो आशा गरेकी हुनुपर्छ। जेहोस्, प्रार्थना गरेपछि “तिनी फेरि उदास भइनन्‌।” (१ शमू. १:१२, १७, १८) यहोवाले तिनलाई सन्तान दिनुहुनेछ अथवा अरू कुनै तरिकामा सान्त्वना दिनुहुनेछ भनेर तिनी विश्वस्त थिइन्‌।

११. प्रार्थना गर्दा कसरी सान्त्वना पाउन सक्छौं?

११ हामी त्रुटिपूर्ण भएकोले र यो संसार सैतानको हातमा भएकोले विभिन्न दुःखकष्ट झेलिरहनुपर्ने हुन्छ। (१ यूह. ५:१९) तर खुसीको कुरा, “सबै सान्त्वनाका परमेश्वर” यहोवा हाम्रो साथमा हुनुहुन्छ। दुःखकष्टको सामना गर्ने एउटा तरिका प्रार्थना गरेर यहोवाको मदत माग्नु हो। हन्नाले आफ्नो मनको बह यहोवालाई पोखाइन्‌। सङ्‌कष्टमा परेको बेला हामीले पनि आफूलाई कस्तो महसुस भइरहेको छ भनेर यहोवालाई बताउनु मात्र पर्याप्त छैन। हामीले उहाँलाई उत्कट बिन्ती चढाउनुपर्छ। हो, हामीले मनैदेखि आफ्ना भावनाहरू यहोवालाई पोखाउनुपर्छ।—फिलि. ४:६, ७.

१२. विधवा हन्नालाई आनन्दित हुन केले मदत गऱ्यो?

१२ सन्तान नभएकोले अथवा जीवनसाथीको मृत्युले गर्दा जीवनै खोक्रो लाग्न सक्छ। तर यस्तो बेला पनि हामी सान्त्वना पाउन सक्छौं। येशूको समयमा हन्ना नाम गरेकी एक जना भविष्यवक्ता थिइन्‌। विवाह गरेको सात वर्ष मात्र पुग्दा तिनको पतिको मृत्यु भयो। तिनको सन्तान थियो कि थिएन भन्नेबारे बाइबलमा केही उल्लेख गरिएको छैन। चौरासी वर्ष पुगिसकेकी हन्ना मन्दिरमा के गर्दै थिइन्‌? लूका २:३७ यसो भन्छ: “तिनी कहिल्यै मन्दिर छोड्‌दैनथिन्‌ अनि उपवास बसेर र उत्कट बिन्ती चढाएर रात-दिन पवित्र सेवा गर्थिन्‌।” हो, यहोवाको उपासना गर्दा हन्नाले सान्त्वना र आनन्द पाइन्‌।

१३. नजिकको नातेदारबाट सान्त्वना नपाए पनि साँचो साथीबाट कसरी सान्त्वना पाउन सक्छौं? एउटा अनुभव बताउनुहोस्।

१३ मण्डलीका दाजुभाइ दिदीबहिनीसित सरसङ्‌गत गर्दा हामी साँचो साथीहरू पाउन सक्छौं। (हितो. १८:२४) यस्ता साथीहरूबाट पनि हामी सान्त्वना पाउन सक्छौं। पला पाँच वर्षको छँदा तिनकी आमाले सङ्‌गठन छोडेर गइन्‌। तिनलाई त्यसको पीडा सहन निकै गाह्रो भयो। तर एउटी अग्रगामी बहिनी आनको मदतले गर्दा तिनले ठूलो सान्त्वना पाइन्‌। आनले तिनलाई यहोवासितको सम्बन्ध बलियो बनाउन निकै मदत गरिन्‌। पला भन्छिन्‌: “हुन त आन मेरो कुनै नाता पर्नुहुन्न तर उहाँको मायालु चासोले गर्दा मैले धेरै मदत पाएँ। उहाँको मदतले गर्दा यहोवाको सेवामा लागिरहन सकें।” अहिले पला वफादार भई यहोवाको सेवा गर्दै छिन्‌। अनि आफ्नी आमा पनि फेरि मण्डलीमा फर्केकोले तिनी असाध्यै खुसी छिन्‌। यो देखेर आन पनि खुसी छिन्‌ किनभने उनी पलाको लागि आध्यात्मिक आमा हुन सकिन्‌।

१४. अरूलाई सान्त्वना दिंदा कस्ता आशिष्‌ पाउँछौं?

१४ अरूको लागि असल काम गर्न व्यस्त हुँदा हामी आफ्ना समस्याहरू भुल्न मदत पाउँछौं। विवाहित होऊन्‌ या अविवाहित, थुप्रै बहिनीले यहोवाको सहकर्मीको रूपमा सुसमाचार सुनाउने काममा भाग लिंदा आनन्दित भएको अनुभव गरेका छन्‌। किनभने यसरी प्रचारकार्यमा भाग लिंदा तिनीहरू परमेश्वरको इच्छाबमोजिम चलिरहेका हुन्छन्‌ र उहाँको आदर गरिरहेका हुन्छन्‌। कोही-कोही बहिनीलाई त प्रचारकार्यमा भाग लिनु भनेको दुःख बिर्सने औषधीजस्तो लाग्छ। इलाकाका मानिसहरूलाई अनि मण्डलीका दाजुभाइ दिदीबहिनीलाई मायालु चासो देखाउँदा हामीले मण्डलीको एकतालाई अझै मजबुत बनाउन योगदान दिइरहेका हुन्छौं। (फिलि. २:४) यस सन्दर्भमा प्रेषित पावल राम्रो उदाहरण हुन्‌। तिनी थिस्सलोनिकी मण्डलीका भाइबहिनीको लागि ‘नवजात शिशुलाई दूध खुवाउने अनि स्याहार गर्ने आमाजस्तै’ भए। साथै “बुबाले” जस्तै तिनीहरूको ख्याल पनि राखे।१ थिस्सलोनिकी २:७, ११, १२ पढ्‌नुहोस्।

परिवारलाई सान्त्वना

१५. छोराछोरीलाई बाइबलको कुरा सिकाउने मुख्य जिम्मेवारी कसको हो?

१५ हामी मण्डलीका परिवारहरूलाई पनि सान्त्वना र मदत दिन सक्छौं। कहिलेकाहीं नयाँ प्रकाशकले आफ्नो छोराछोरीलाई बाइबलको कुरा सिकाइदिन अथवा बाइबल अध्ययन गराइदिन परिपक्व प्रकाशकहरूसित मदत माग्न सक्छन्‌। तर छोराछोरीलाई सिकाउने र प्रशिक्षण दिने मुख्य जिम्मेवारी आमाबाबुको हो भनेर बाइबल बताउँछ। (हितो. २३:२२; एफि. ६:१-४) कुनै-कुनै अवस्थामा, छोराछोरीलाई सिकाउन अरूको मदत लिनुपर्ने हुन सक्छ। तर त्यसो भन्दैमा आमाबाबु आफ्नो जिम्मेवारीदेखि पन्छिन खोज्नु हुँदैन। तिनीहरूले छोराछोरीसित नियमित रूपमा कुराकानी गर्नु महत्त्वपूर्ण छ।

१६. अरूको छोराछोरीलाई सिकाउँदा कस्तो कुरामा ध्यान दिनुपर्छ?

१६ कसै-कसैले छोराछोरीलाई अध्ययन गराउने जिम्मेवारी अरूलाई दिने निर्णय गर्न सक्छन्‌। त्यसरी अध्ययन गराउने भाइबहिनीले आमाबाबुको ठाउँ आफूले लिन खोज्नु हुँदैन। कहिलेकाहीं भने बाइबलमा चासो नभएका आमाबाबुको छोराछोरीलाई अध्ययन गराउनुपर्ने हुन सक्छ। तर बिर्सन नहुने कुरा, आध्यात्मिक मदत दिंदैमा हामी ती छोराछोरीको आमाबाबु हुँदैनौं। तिनीहरूलाई तिनीहरूकै घरमा आमाबाबु वा कुनै परिपक्व भाइबहिनी भएको बेला अध्ययन गराउनु बेस हुन्छ। अथवा अरू मानिसले देख्न सक्ने ठाउँमा अध्ययन गराउनुपर्छ। यसो गर्दा कसैले पनि शङ्‌काको दृष्टिले हेर्ने मौका पाउनेछैनन्‌। हुन सक्छ, पछि गएर ती आमाबाबुले नै छोराछोरीलाई यहोवाको विषयमा सिकाउनेछन्‌।

१७. छोराछोरी कसरी प्रोत्साहनका स्रोत हुन सक्छन्‌?

१७ साँचो परमेश्वरलाई प्रेम गर्न र उहाँको सल्लाह पालन गर्न सिकिरहेका छोराछोरी परिवारको लागि प्रोत्साहन र सान्त्वनाका स्रोत हुन सक्छन्‌। कसरी? आमाबाबुलाई आदर गरेर अनि उनीहरूलाई विभिन्न कामकुरामा मदत गरेर। साथै यहोवाप्रति वफादार रहँदा पूरै परिवारले प्रोत्साहन पाउन सक्छन्‌। जलप्रलयअघि लेमेक (शेत वंशका) यहोवाको उपासना गर्थे। लेमेकले आफ्नो छोरा नूहको विषयमा यसो भने: “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रमबाट यसले हामीलाई शान्ति दिनेछ।” यहोवाले भूमिलाई दिनुभएको श्राप हटेपछि यो भविष्यवाणी पूरा भयो। (उत्प. ५:२९; ८:२१) आज पनि यहोवाप्रति वफादार रहने छोराछोरी देख्दा विभिन्न सङ्‌कष्ट सहन र पछि जलप्रलयभन्दा ठूलो सङ्‌कष्ट पार गर्न परिवारका सदस्यहरूले बल पाउन सक्छन्‌। यसरी तिनीहरू परिवारको लागि सान्त्वना र प्रोत्साहनको स्रोत हुन सक्छन्‌।

१८. जस्तोसुकै सङ्‌कष्ट आए पनि साहसी भई त्यसको सामना गर्न केले मदत गर्छ?

१८ आज लाखौं भाइबहिनीले प्रार्थना गरेर, बाइबलमा पाइने उदाहरणहरूमा मनन गरेर अनि यहोवाका जनहरूसित सरसङ्‌गत गरेर सान्त्वना पाइरहेका छन्‌। (भजन १४५:१८, १९ पढ्‌नुहोस्) यहोवा सान्त्वनाका स्रोत हुनुहुन्छ भनेर थाह पाउँदा हामी अहिले अनि भविष्यमा जस्तोसुकै सङ्‌कष्ट आए पनि साहसी भई त्यसको सामना गर्ने बल पाउँछौं।