सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक धनमा मन लगाउनुहोस्

आध्यात्मिक धनमा मन लगाउनुहोस्

“जहाँ तिमीहरूको धन हुन्छ, त्यहीं तिमीहरूको मन पनि हुन्छ।”—लूका १२:३४.

गीत: १५३, १०४

१, २. (क) यहोवाले हामीलाई दिनुभएको तीन वटा आध्यात्मिक धन के-के हुन्‌? (ख) यस लेखमा के छलफल गर्नेछौं?

यहोवा ब्रह्माण्डकै सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ। (१ इति. २९:११, १२) उहाँ उदार बुबा हुनुभएकोले आफ्नो धन सबैसित बाँड्‌नुहुन्छ। यस्तो आध्यात्मिक धन पाएकोमा हामी यहोवाप्रति कृतज्ञ छौं। तीमध्ये केही धन हुन्‌: (१) परमेश्वरको राज्य, (२) जीवनदायी प्रचारकार्य र (३) बाइबलमा पाइने अनमोल सत्यहरू। यदि होसियार भएनौं भने ती धन कत्ति अनमोल छन्‌ भनेर बिर्सन सक्छौं। त्यसैले ती धनलाई जोगाइराख्न त्यसप्रतिको प्रेमलाई बढाउँदै लैजानुपर्छ र ती कत्ति अनमोल छन्‌ भनेर आफैलाई सम्झाइराख्नुपर्छ। येशूले यसो भन्नुभयो: “जहाँ तिमीहरूको धन हुन्छ, त्यहीं तिमीहरूको मन पनि हुन्छ।”—लूका १२:३४.

हामी कसरी परमेश्वरको राज्य, प्रचारकार्य र सत्यप्रतिको प्रेम अनि कृतज्ञतालाई बढाउन र त्यसलाई कायम राख्न सक्छौं, विचार गरौं। साथै व्यक्तिगत रूपमा ती आध्यात्मिक धनप्रतिको प्रेमलाई कसरी बढाउन सक्छौं, मनन गरौं।

परमेश्वरको राज्य—अनमोल मोती

३. उच्चकोटिको मोती किन्न एक जना व्यापारी के गर्न इच्छुक भयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

मत्ती १३:४५, ४६ पढ्‌नुहोस्। येशूले मोती खोज्दै हिंड्‌ने व्यापारीको एउटा दृष्टान्त बताउनुभयो। त्यस व्यापारीले वर्षौंदेखि सयौं मोती किनबेच गर्दै आएको हुन सक्छ। एक दिन उसले उच्चकोटिको एउटा मोती फेला पाऱ्यो। त्यो देखेपछि ऊ असाध्यै खुसी भयो। त्यो किन्न ऊ आफूसित भएको सबै थोक बेच्न इच्छुक भयो। त्यो मोती उसको लागि कत्ति अनमोल थियो, के तपाईं कल्पना गर्न सक्नुहुन्छ?

४. परमेश्वरको राज्यलाई प्रेम गर्छौं भने हामी के गर्न इच्छुक हुनेछौं?

यस दृष्टान्तबाट कस्तो पाठ सिक्न सक्छौं? परमेश्वरको राज्यको सत्य कुरा त्यो अनमोल मोतीजस्तै हो। त्यस व्यापारीको लागि त्यो बहुमूल्य मोती असाध्यै प्यारो थियो। हामी पनि परमेश्वरको राज्यलाई त्यसरी नै प्रेम गर्छौं भने त्यस राज्यको प्रजा हुन र भइरहन जस्तोसुकै त्याग गर्न पनि इच्छुक हुनेछौं। (मर्कूस १०:२८-३० पढ्‌नुहोस्) आउनुहोस्, यस्तै इच्छुक मनोवृत्ति देखाएका दुई जना व्यक्तिको उदाहरण विचार गरौं।

५. परमेश्वरको राज्यको महत्त्व बुझेपछि जक्कै के गर्न इच्छुक भए?

जक्कै कर उठाउने मानिसहरूका हाकिम थिए। तिनी झूटो आरोप लगाएर मानिसहरूबाट पैसा असुल्थे। (लूका १९:१-९) तर एक दिन तिनले येशूबाट परमेश्वरको राज्यबारे सुने। आफूले सुनेको कुराको महत्त्व बुझेपछि तिनी तुरुन्तै कदम चाल्न इच्छुक भए। तिनले यसो भने: “हेर्नुहोस् प्रभु, म अब आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्‌छु अनि झूटो आरोप लगाएर मैले जे-जति लुटें, म त्यसको चार गुणा तिर्छु।” तिनले अरूलाई ठगेर कमाएको धन खुसीसाथ गरिबहरूलाई बाँडे र भौतिक कुराहरूको पछि लाग्न छोडे।

६. परमेश्वरको राज्यको प्रजा हुन एउटी महिलाले कस्तो परिवर्तन गरिन्‌? तिनले किन त्यसो गरिन्‌?

केही वर्षअघि एउटी महिलाले राज्यको सुसमाचार सुनिन्‌। तिनी समलिङ्‌गी यौनसम्बन्ध राख्ने गर्थिन्‌। तिनी समलिङ्‌गीहरूको अधिकारको लागि लड्‌ने सङ्‌गठनकी अध्यक्ष थिइन्‌। बाइबल अध्ययन गर्न थालेपछि तिनले परमेश्वरको राज्यबारे सिकिरहेको सत्य कुराको महत्त्व बुझिन्‌। अनि जीवनमा ठूलो परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरिन्‌। (१ कोरि. ६:९, १०) तिनले अध्यक्ष पद त्यागिन्‌ र समलिङ्‌गी सम्बन्ध राख्न पनि छोडिन्‌। तिनले सन्‌ २००९ मा बप्तिस्मा गरिन्‌ अनि अर्को वर्ष नियमित अग्रगामी सेवा सुरु गरिन्‌। तिनी शारीरिक इच्छाहरूलाई भन्दा यहोवा र उहाँको राज्यलाई धेरै प्रेम गर्थिन्‌।—मर्कू. १२:२९, ३०.

७. हामी कसरी परमेश्वरको राज्यप्रतिको प्रेमलाई बलियो बनाइराख्न सक्छौं?

हुन त हामीमध्ये धेरैले परमेश्वरको राज्यको प्रजा हुन जीवनमा ठूलठूला परिवर्तनहरू गऱ्यौं। (रोमी १२:२) तर परिवर्तन गर्ने काम अहिले पनि सिद्धिएको छैन। परमेश्वरको राज्यप्रतिको प्रेमलाई कमजोर बनाउने कुराहरूदेखि हामी टाढै बस्नुपर्छ। जस्तै: भौतिक कुराहरूप्रतिको प्रेम र अनैतिक यौन चाहना। (हितो. ४:२३; मत्ती ५:२७-२९) परमेश्वरको राज्यप्रतिको प्रेमलाई बलियो बनाइराख्न यहोवाले हामीलाई अर्को अनमोल धन दिनुभएको छ।

जीवनदायी प्रचारकार्य

८. (क) पावलले प्रचारकार्यलाई किन ‘माटाका भाँडाहरूमा भएको धनसित’ तुलना गरे? (ख) पावलले प्रचारकार्यलाई प्रेम गरेको कसरी देखाए?

येशूले हामीलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने र सिकाउने जिम्मेवारी सुम्पनुभएको छ। (मत्ती २८:१९, २०) प्रेषित पावलले प्रचार गर्नुको महत्त्व राम्ररी बुझेका थिए। तिनले नयाँ करारसित सम्बन्धित सेवाको कामलाई ‘माटाका भाँडाहरूमा भएको धनसित’ तुलना गरे। (२ कोरि. ४:७; १ तिमो. १:१२) त्रुटिपूर्ण भएकोले हामी माटाका भाँडाजस्तै छौं। तर हामीले सुनाउने सन्देश अनमोल धनजस्तै छ, जसले मानिसहरू र हामीलाई अनन्त जीवन दिन सक्छ। त्यसैले पावलले यसो भने: “अरूलाई सुसमाचार बाँड्‌न सकूँ भनेर यसको खातिर म सब थोक गर्छु।” (१ कोरि. ९:२३) प्रचारकार्यप्रतिको प्रेमले पावललाई चेला बनाउने काममा कडा मेहनत गर्न उत्प्रेरित गऱ्यो। (रोमी १:१४, १५; २ तिमोथी ४:२ पढ्‌नुहोस्) साथै घोर विरोधको सामना गर्न पनि मदत गऱ्यो। (१ थिस्स. २:२) हामी पनि कसरी त्यस्तो प्रेम देखाउन सक्छौं?

९. प्रचारकार्यलाई प्रेम गरेको देखाउने केही तरिका के-के हुन्‌?

अरूलाई प्रचार गर्ने हरेक मौकाको सदुपयोग गरेर पावलले प्रचारकार्यलाई प्रेम गरेको देखाए। पावल र सुरु-सुरुका ख्रीष्टियनहरूजस्तै हामी पनि घरघरमा, अनौपचारिक रूपमा अनि सार्वजनिक ठाउँमा प्रचार गर्छौं। (प्रेषि. ५:४२; २०:२०) हामी आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू खोज्छौं। जस्तै: सकिन्छ भने सहायक अग्रगामी अथवा नियमित अग्रगामी गर्न सक्छौं। नयाँ भाषा सिक्न सक्छौं; आफ्नै देश वा विदेशको आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सर्न सक्छौं।—प्रेषि. १६:९, १०.

१०. सुसमाचार सुनाउन कडा मेहनत गर्दा आइरिनले कस्तो आशिष्‌ पाइन्‌?

१० अमेरिकाकी एक अविवाहित बहिनी आइरिनको उदाहरण विचार गर्नुहोस्। रूसी भाषा बोल्ने आप्रवासीहरूलाई प्रचार गर्ने तिनको ठूलो इच्छा थियो। सन्‌ १९९३ मा तिनले ती आप्रवासीहरूलाई प्रचार गर्न थाल्दा न्यु योर्क सहरमा रूसी भाषा बोल्ने प्रकाशकहरू जम्मा २० जना मात्र थिए। आइरिनले लगभग २० वर्षसम्म ती आप्रवासीहरूलाई प्रचार गर्न कडा मेहनत गरिन्‌। तिनी भन्छिन्‌: “म अहिलेसम्म पनि रूसी भाषा फरर्र बोल्न सक्दिनँ।” तर तिनी र तिनको जस्तै जोस देखाउने भाइबहिनीको मेहनतमा यहोवाले आशिष्‌ दिनुभएको छ। आज न्यु योर्क सहरमा रूसी भाषाका छ वटा मण्डली छन्‌। आइरिनसँग अध्ययन गर्नेहरूमध्ये १५ जनाले बप्तिस्मा गरे। तीमध्ये कोही बेथेल सेवक, अग्रगामी र एल्डरको रूपमा सेवा गर्दै छन्‌। तिनी भन्छिन्‌: “हुन त म अरू लक्ष्यको पछि पनि लाग्न सक्थें तर यत्तिको आनन्द अरू कुनै पनि कुराले दिने थिएन।” हो, तिनी प्रचारकार्यलाई असाध्यै माया गर्छिन्‌!

के तपाईं प्रचारकार्यलाई आध्यात्मिक धनको रूपमा हेर्नुहुन्छ अनि प्रचारको लागि समय निकाल्नुहुन्छ? (अनुच्छेद ११, १२ हेर्नुहोस्)

११. खेदोको बाबजुद प्रचारकार्यमा लागिरहँदा कस्ता नतिजा हासिल भएका छन्‌?

११ हामी प्रचारकार्यलाई प्रेम गर्छौं भने प्रेषित पावलले जस्तै खेदोको बाबजुद प्रचार गरिरहनेछौं। (प्रेषि. १४:१९-२२) सन्‌ १९३० र १९४० को दशकमा अमेरिकाका भाइबहिनीले घोर विरोधको सामना गर्नुपऱ्यो। तर तिनीहरू पावलजस्तै दृढ भई खडा भइरहे र प्रचारकार्यमा लागिरहे। प्रचार गर्न पाउने अधिकार सुरक्षित गर्न भाइहरूले थुप्रै कानुनी मुद्दा लडे। सन्‌ १९४३ मा अमेरिकी सर्वोच्च अदालतमा पाएको एउटा विजयबारे भाइ नेथन एच. नोरले यसो भन्नुभयो: “तपाईंहरूकै कारणले मुद्दा जितेका हौं। यदि प्रकाशकहरू प्रचारकार्यमा निरन्तर नलागेका भए सर्वोच्च अदालतमा कुनै मुद्दा नै चल्ने थिएन।” साथै त्यस्ता मुद्दाहरू जितेकोले नै संसारभरका दाजुभाइ दिदीबहिनी स्वतन्त्र भएर प्रचारकार्यमा लाग्न सकेका हुन्‌ भनेर पनि उहाँले बताउनुभयो। अरू देशका भाइबहिनीले पनि यस्तै प्रकारका मुद्दा जितेका छन्‌। हो, जस्तोसुकै खेदो आए पनि प्रचारकार्यप्रतिको प्रेमले हामीलाई अघि बढिरहन मदत गर्नेछ।

१२. तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१२ प्रचारकार्यलाई यहोवाले दिनुभएको अनमोल धनको रूपमा हेर्छौं भने केवल रिपोर्ट बुझाउनको लागि मात्र प्रचार गर्नेछैनौं। बरु “सुसमाचारको विस्तृत साक्षी दिन” सकेजति गर्नेछौं। (प्रेषि. २०:२४; २ तिमो. ४:५) तर हामीले अरूलाई सिकाउने कुरा के हो? परमेश्वरले दिनुभएको अर्को धन विचार गरौं।

सत्यको भण्डार

१३, १४. येशूले बताउनुभएको “भण्डार” के हो र कसरी यसलाई बढाउँदै लैजान सक्छौं?

१३ तेस्रो आध्यात्मिक धन हामीले पाएको सत्यको भण्डार हो। यहोवा सत्यका परमेश्वर हुनुहुन्छ। (२ शमू. ७:२८; भज. ३१:५) उहाँ उदार बुबा हुनुभएकोले उहाँको भय मान्नेहरूलाई सत्य कुरा प्रकट गर्नुहुन्छ। बाइबलको सत्य सुनेको दिनदेखि हामीले यहोवाको वचन बाइबल, प्रकाशन, सभा, सम्मेलन र अधिवेशनबाट सत्य कुराहरू आफ्नो भण्डारमा जम्मा गर्ने मौका पाएका छौं। समयको दौडान एकपछि अर्को गर्दै सत्य कुराहरू जम्मा गर्दै जाँदा येशूले बताउनुभएको नयाँ र पुराना थोकहरूको हाम्रो “भण्डार” ठूलो हुन्छ। (मत्ती १३:५२ पढ्‌नुहोस्) यदि यस्ता सत्य कुराहरू गाडधनझैं खोज्छौं भने यहोवाले हाम्रो “भण्डार”-मा नयाँ-नयाँ अनमोल सत्यहरू जम्मा गर्न मदत गर्नुहुनेछ। (हितोपदेश २:४-७ पढ्‌नुहोस्) हामी कसरी यसो गर्न सक्छौं?

१४ हामीले व्यक्तिगत अध्ययन गर्ने अनि बाइबल तथा हाम्रा प्रकाशनहरू होसियारीसाथ अध्ययन गर्ने राम्रो बानी बसाल्नुपर्छ। यस्तो बानीले “नयाँ” अर्थात्‌ पहिला थाह नभएका सत्यहरू पत्ता लगाउन मदत गर्नेछ। (यहो. १:८, ९; भज. १:२, ३) सन्‌ १८७९ जुलाईमा प्रकाशित यस पत्रिकाको पहिलो अङ्‌कमा यसो भनिएको थियो: “सत्य भनेको जङ्‌गलका काँडा अनि झारपातको बीचमा फुलेको सानो फूलजस्तै हो। वरपरको काँडा अनि झारपातले त्यो फूललाई निसासिने गरी ढाकेझैं झूटा कुराहरूले सत्यलाई लगभग पूरै ढाकेको हुन्छ। सत्य फेला पार्न तपाईं सधैं चनाखो रहनुपर्छ। . . . सत्य प्राप्त गर्न चाहनुहुन्छ भने नम्र हुनुहोस्। सत्यको एउटा फूल पाएपछि त्यसैमा चित्त बुझाएर नबस्नुहोस्। . . . जम्मा गरिरहनुहोस्, खोजिरहनुहोस्।” हो, सत्यको भण्डार बढाउँदै लैजान हामी उत्सुक हुनुपर्छ।

१५. केही सत्यलाई किन “पुराना” धन भन्न सकिन्छ? तपाईंलाई विशेषगरि बाइबलका कस्ता सत्यहरू धेरै मन पर्छ?

१५ परमेश्वरका जनहरूसित सङ्‌गत गर्न थाल्दा हामीले बाइबलका केही अनमोल सत्य थाह पायौं। हामीले ती कुराहरू ख्रीष्टियन जीवनको सुरु-सुरुतिर थाह पायौं र त्यसको कदर गऱ्यौं। त्यसैले ती सत्यलाई “पुराना” धन भन्न सकिन्छ। हामीले के-कस्ता अनमोल सत्य सिक्यौं? यहोवा हाम्रो सृष्टिकर्ता अनि जीवनदाता हुनुहुन्छ र उहाँले मानिसजातिलाई उद्देश्यसहित सृष्टि गर्नुभयो। हामीलाई पाप र मृत्युबाट छुटकारा दिन परमेश्वरले फिरौतीको बलिदानको प्रबन्ध गर्नुभयो। परमेश्वरको राज्यले सबै दुःखकष्ट अन्त गर्नेछ भनेर थाह पायौं। अनि पृथ्वीमा सधैंभरि हाँसीखुसी जीवन बिताउन पाउनेछौं भन्ने आशा पनि पायौं।—यूह. ३:१६; प्रका. ४:११; २१:३, ४.

१६. पुरानो बुझाइमा छाँटकाँट हुँदा हामीले के गर्नुपर्छ?

१६ कहिलेकाहीं बाइबलका कुनै-कुनै शास्त्रपद अनि भविष्यवाणीहरूको बुझाइमा छाँटकाँट हुन सक्छ। यस्ता नयाँ बुझाइ आउँदा हामीले समय लगाएर अनि होसियारीसाथ त्यसको अध्ययन र मनन गर्नुपर्छ। (प्रेषि. १७:११; १ तिमो. ४:१५) पुरानो बुझाइ र नयाँ बुझाइबीच कस्ता ठूला भिन्नता छन्‌ भन्नेबारे मात्र होइन, तर स-सानो भिन्नताबारे पनि राम्ररी बुझ्ने प्रयास गर्नुपर्छ। यसो गर्दा हामीले आफ्नो भण्डारमा नयाँ-नयाँ सत्य भरिरहेका हुन्छौं। यस्तो प्रयास गर्दा कस्तो फाइदा हुन्छ?

१७, १८. पवित्र शक्तिले हामीलाई कसरी मदत गर्छ?

१७ हामीले पहिल्यै सिकेका सत्यहरू पछि पवित्र शक्तिले स्मरण गराउनेछ भनेर येशूले भन्नुभयो। (यूह. १४:२५, २६) यसले हामी सुसमाचारका शिक्षकहरूलाई कसरी मदत गर्न सक्छ? पिटरको अनुभव विचार गर्नुहोस्। सन्‌ १९७० मा १९ वर्षको छँदा तिनले बेलायतको बेथेलमा सेवा गर्न थालेका थिए। घरघरको प्रचारमा तिनले दाह्री पालेका एक जना अधबैंसे मान्छे भेटे। पिटरले उनलाई बाइबलको कुरा बुझ्न चाहनुहुन्छ कि भनेर सोधे। उनले अचम्म माने किनभने उनी एक जना यहूदी धर्मगुरु थिए। ती धर्मगुरुले पिटरको जाँच गर्न यस्तो प्रश्न सोधे: “ल भन त भाइ, दानियलको किताब कुन भाषामा लेखिएको थियो?” पिटरले भने: “त्यसको केही भाग अरामी भाषामा लेखिएको थियो।” पिटर अझै भन्छन्‌: “मैले सही जवाफ दिएको देखेर उहाँ छक्क पर्नुभयो। तर उहाँभन्दा त मैं छक्क परें। मलाई कसरी सही जवाफ थाह भयो? घर फर्केर केही महिनाअघिका प्रहरीधरहरा ब्यूँझनुहोस्! पत्रिकाहरू हेरें। अनि दानियलको किताब अरामी भाषामा लेखिएको थियो भनेर बताइएको लेख भेट्टाएँ।” * हो, हामीले पहिले पढेका र आफ्नो भण्डारमा जम्मा गरेर राखेका सत्यहरू पवित्र शक्तिले पछि स्मरण गराउन सक्छ।—लूका १२:११, १२; २१:१३-१५.

१८ यहोवाबाट सिकेका कुराहरूको मोल गर्छौं र त्यसको कदर गर्छौं भने हामी आफ्नो भण्डारमा नयाँ र पुराना सत्यहरू भर्दै जान उत्प्रेरित हुनेछौं। यसरी आफ्नो भण्डारमा जति धेरै अनमोल सत्य भर्दै जान्छौं, अरूलाई सिकाउन हामी त्यति नै सिपालु हुन्छौं।

आफूले पाएको धन सुरक्षित राख्नुहोस्

१९. आफूले पाएको आध्यात्मिक धनलाई किन सुरक्षित राख्नुपर्छ?

१९ आध्यात्मिक धनप्रतिको हाम्रो प्रेमलाई कमजोर बनाउन सैतान र त्यसको संसार लागिपरेको छ। सैतान र त्यसको संसारले हामीलाई फसाउन सक्छ। होसियार भएनौं भने धेरै पैसा आउने जागिरको प्रलोभन, विलासी जीवन बिताउने सपना अथवा भौतिक धनसम्पत्तिको रवाफ देखाउने रहरले सजिलै पासोमा पार्न सक्छ। संसार र त्यसको अभिलाषा बितेर जाँदै छ भनेर प्रेषित यूहन्नाले हामीलाई सम्झाएका छन्‌। (१ यूह. २:१५-१७) त्यसैले आफूले पाएको धनप्रति कृतज्ञ भइरहनुपर्छ अनि त्यसलाई सुरक्षित राख्न कडा मेहनत गर्नुपर्छ।

२०. आफूले पाएको धनलाई सुरक्षित राख्न तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

२० परमेश्वरको राज्यप्रतिको प्रेमलाई कमजोर बनाउन सक्ने जस्तोसुकै कुरा त्याग्न तयार हुनुहोस्। जीवनदायी प्रचारकार्यमा जोसिलो भएर लागिरहनुहोस्। प्रचारकार्यप्रतिको प्रेमलाई कहिल्यै सेलाउन नदिनुहोस्। बाइबलका अनमोल सत्यहरू खोजिरहनुहोस्। यसो गर्नुभयो भने तपाईंले ‘स्वर्गमा धनसम्पत्ति थुपारिरहनुभएको हुनेछ, जसको छेउछाउमा चोर पुग्दैन अनि जहाँ कीराले पनि खाँदैन। किनकि जहाँ तपाईंको धन हुन्छ, त्यहीं तपाईंको मन पनि हुन्छ।’—लूका १२:३३, ३४.

^ अनु. 17 दानियल २:४ख देखि ७:२८ सम्मको भाग अरामी भाषामा लेखिएको थियो।