पहिलो समुएल १:१-२८

  • एल्काना र तिनका पत्नीहरू (१-८)

  • निस्सन्तान हन्‍ना एउटा छोरा पाउन सकूँ भनेर प्रार्थना गर्छिन्‌ (९-१८)

  • समुएल जन्मन्छन्‌ र यहोवालाई अर्पण गरिन्छन्‌ (१९-२८)

 एप्रैमको पहाडी इलाकाको रामाथैम-जोफिममा*+ एल्काना+ नाम गरेका एक जना मानिस बस्थे। तिनी एप्रैमका बासिन्दा थिए।+ तिनी यरोहामका छोरा, एलिहुका नाति, तोहुका पनाति र जुपका खनाति थिए। २  तिनका दुई जना पत्नी थिए; एउटीको नाम हन्‍ना र अर्कीको नाम पनिन्‍नाह थियो। पनिन्‍नाहका छोराछोरी थिए तर हन्‍नाका भने थिएनन्‌। ३  एल्काना सेनाहरूका यहोवाको उपासना गर्न अनि उहाँको निम्ति बलि चढाउन हरेक वर्ष आफ्नो सहरदेखि सिलोसम्म जान्थे।+ सिलोमा एलिका दुई जना छोरा होप्नि र पिनहास+ पुजारीको रूपमा यहोवा परमेश्‍वरको सेवा गर्थे।+ ४  एकदिन एल्कानाले बलि चढाइसकेपछि त्यस बलिको केही भाग आफ्नी पत्नी पनिन्‍नाह र उनका सबै छोराछोरीलाई दिए।+ ५  अनि तिनले हन्‍नालाई चाहिँ विशेष भाग दिए किनभने तिनी हन्‍नालाई असाध्यै माया गर्थे। तर यहोवा परमेश्‍वरले हन्‍नालाई सन्तान भने दिनुभएको थिएन।* ६  त्यति मात्र होइन, हन्‍नाकी सौताले उनको दिनरात खिल्ली उडाएर उनलाई दुःख दिइरहन्थिन्‌ किनभने यहोवा परमेश्‍वरले हन्‍नालाई सन्तान दिनुभएको थिएन। ७  हरेक वर्ष हन्‍ना यहोवा परमेश्‍वरको मन्दिरमा* जाँदा पनिन्‍नाहले हन्‍नालाई यसरी नै दुःख दिइरहन्थिन्‌।+ पनिन्‍नाहले हन्‍नाको असाध्यै खिल्ली उडाउने भएकीले उनी केही नखाई रोएर बसिरहन्थिन्‌। ८  तब उनका पति एल्कानाले भने: “हन्‍ना, तिमी किन रोइरहन्छ्यौ? किन केही खाँदिनौ? निराश नहोऊ, म छँदै छु नि। म तिम्रो लागि १० जना छोराभन्दा उत्तम छैनँ र?” ९  अनि तिनीहरूले सिलोमा खानपिन गरिसकेपछि हन्‍ना उठिन्‌। त्यतिबेला पुजारी एलि यहोवा परमेश्‍वरको मन्दिरको ढोका+ छेउमा कुर्सीमा बसिरहेका थिए। १०  हन्‍ना अत्यन्तै लाचार भएकी थिइन्‌; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न थालिन्‌।+ ११  अनि उनले यस्तो भाकल गरिन्‌: “हे सेनाहरूका यहोवा, यदि तपाईँले आफ्नी दासीको पीडा बुझेर मतर्फ ध्यान दिनुभयो र मेरो बिन्ती सुनेर मलाई एउटा छोरा दिनुभयो भने+ हे यहोवा, म मेरो छोरा तपाईँलाई अर्पण गर्नेछु र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ। अनि उसको कपाल कहिल्यै काटिनेछैन।”+ १२  हन्‍नाले निकै लामो समयसम्म यहोवा परमेश्‍वरलाई प्रार्थना गरिरहँदा एलिले उनलाई हेरिरहेका थिए। १३  हन्‍नाले मनमनै प्रार्थना गरिरहेकी थिइन्‌। त्यसैले उनको मुखबाट कुनै आवाज निस्किएको थिएन; उनको ओठ मात्र चलिरहेको थियो। यो देखेर एलिले उनी रक्सीले मात्तिएछिन्‌ भन्ठाने। १४  एलिले उनलाई भने: “तिमी कतिन्जेल रक्सीको नशामा डुबिरहन्छ्यौ? अहिले जाऊ, नशाले छोडेपछि आऊ।” १५  तब हन्‍नाले जवाफ दिइन्‌: “होइन प्रभु, मैले कुनै रक्सी वा मद्य पिएकी छैनँ। म साह्रै निराश भएकी छु। त्यसैले यहोवा परमेश्‍वरसामु आफ्नो मनको बह पोखाउँदै छु।+ १६  तपाईँकी दासीलाई निकम्मा आइमाई नठान्‍नुहोस्‌। किनभने मेरो मन पीडाले छटपटाइरहेको छ; पीडा सहनै नसकेर म यहाँ प्रार्थना गर्दै छु।” १७  अनि एलिले जवाफ दिए: “ढुक्क भएर जाऊ! इस्राएलका परमेश्‍वरले तिम्रो मनोकामना पूरा गरिदेऊन्‌।”+ १८  यो सुनेपछि हन्‍नाले भनिन्‌: “तपाईँकी यस दासीले तपाईँको नजरमा निगाह पाइरहन सकोस्‌।” उनी त्यहाँबाट गइन्‌ र केही खाइन्‌। त्यसपछि उनी फेरि उदास भइनन्‌। १९  अनि बिहान सबेरै उठेर तिनीहरूले यहोवा परमेश्‍वरको उपासना गरे। त्यसपछि तिनीहरू आफ्नो सहर रामा फर्के।+ पछि एल्कानाले आफ्नी पत्नी हन्‍नासित यौनसम्बन्ध राखे। अनि यहोवा परमेश्‍वरले हन्‍नातर्फ आफ्नो ध्यान लगाउनुभयो।*+ २०  त्यसको एक वर्षभित्रै* हन्‍ना गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌। उनले छोराको नाम+ समुएल* राखिन्‌ किनभने उनले भनिन्‌, “मैले उसलाई यहोवा परमेश्‍वरसित मागेकी हुँ।” २१  केही समयपछि एल्काना आफ्नो सबै परिवारलाई लिएर यहोवा परमेश्‍वरलाई हरेक वर्ष चढाइने बलि+ र आफ्नो भाकलभेटी* चढाउन गए। २२  तर हन्‍ना भने गइनन्‌+ बरु उनले आफ्नो पतिलाई भनिन्‌: “बच्चालाई दूध छुटाउनेबित्तिकै म उसलाई लिएर जानेछु र यहोवा परमेश्‍वरलाई अर्पण गर्नेछु। अनि ऊ सधैँभरि त्यहीँ बस्नेछ।”+ २३  उनका पति एल्कानाले भने: “ठीकै छ, तिमीलाई जे सही लाग्छ, त्यही गर। उसलाई दूध नछुटाउन्जेल घरमै बस। तिमीले बोलेको कुरा पूरा गर्न यहोवा परमेश्‍वरले तिमीलाई मदत गरून्‌।” त्यसैले उनी घरमै बसिन्‌ र बच्चालाई दूध नछुटाउन्जेल उसको स्याहारसुसार गरिन्‌। २४  दूध छुटाउनेबित्तिकै उनी आफ्नो छोरालाई लिएर सिलो गइन्‌। अनि उनले तीन वर्ष पुगेको बहर, एक एपा* पीठो र एक घ्याम्पो दाखमद्य* पनि लगिन्‌।+ उनी आफ्नो सानो छोरालाई लिएर सिलोमा+ यहोवा परमेश्‍वरको वासस्थानमा गइन्‌। २५  त्यसपछि तिनीहरूले बहर काटे र आफ्नो सानो छोरालाई एलिकहाँ लगे। २६  अनि हन्‍नाले एलिलाई भनिन्‌: “प्रभु, म तपाईँको नाममा कसम खाएर भन्छु, म त्यही स्त्री हुँ, जसले यही ठाउँमा तपाईँको छेउमा उभिएर यहोवा परमेश्‍वरलाई प्रार्थना गरेकी थिई।+ २७  मैले यही छोराको लागि प्रार्थना गरेकी थिएँ र यहोवा परमेश्‍वरले मेरो मनोकामना पूरा गरिदिनुभयो।+ २८  त्यसैले अब म मेरो छोरा यहोवा परमेश्‍वरलाई अर्पण गर्दै छु।* बाँचुन्जेल ऊ यहोवाकै हुनेछ।” अनि तिनले* यहोवा परमेश्‍वरलाई दण्डवत्‌ गरे।

फुटनोटहरू

वा “रामा भन्‍ने सहरका, जुपका सन्तान।”
शा., “हन्‍नाको कोख बन्द गरिदिनुभएको थियो।”
अर्थात्‌, वासस्थानमा।
शा., “हन्‍नालाई सम्झनुभयो।”
वा सम्भवतः “समय भएपछि।”
यसको अर्थ हो, “परमेश्‍वरको नाम।”
शब्दावली हेर्नुहोस्‌।
एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अङ्‌गुरबाट बनेको रक्सी।
शा., “सापटी दिँदै छु।”
यसले एल्कानालाई जनाएको हुनुपर्छ।