लुकाका अनुसार २:१-५२

  • येसुको जन्म (१-७)

  • स्वर्गदूतहरू गोठालाहरूसामु देखा पर्छन्‌ (८-२०)

  • खतना र चोख्याउने काम (२१-२४)

  • सिमियोन ख्रिष्टलाई देख्छन्‌ (२५-३५)

  • हन्‍ना बालकबारे बताउँछिन्‌ (३६-३८)

  • नासरत फर्कन्छन्‌ (३९, ४०)

  • १२ वर्षका येसु मन्दिरमा (४१-५२)

 ती दिनमा सिजर* अगस्तसले सबैले आ-आफ्नो नाम दर्ता गर्नू भनी आफ्नो साम्राज्यभरि* उर्दी जारी गरे। २  (यो पहिलो दर्ता सिरियाको राज्यपाल क्युरिनियसको पालामा भएको थियो।) ३  त्यसैले नाम दर्ता गराउन सबै मानिस आ-आफ्नो सहर गए। ४  युसुफ+ दाउदकै घराना अनि वंशका थिए। त्यसैले तिनी पनि गालिलको नासरत सहरबाट निस्केर यहुदियामा पर्ने बेतलेहेम+ भनिने दाउदको सहरमा गए। ५  तिनी मरियमसित नाम दर्ता गराउन गए। त्यतिखेर तिनीहरूको विवाह भइसकेको थियो+ र मरियम सुत्केरी हुने बेला नजिकै आइसकेको थियो।+ ६  तिनीहरू त्यहीँ छँदा उनको बच्चा जन्मिने बेला भयो। ७  अनि उनले एउटा छोरो, आफ्नो पहिलो सन्तानलाई जन्म दिइन्‌।+ उनले उसलाई कपडाले बेरेर डुँडमा राखिन्‌+ किनकि तिनीहरूले पौवामा बास पाउन सकेनन्‌। ८  त्यतिखेर त्यही इलाकामा गोठालाहरू बाहिर चौरमा बसेर राती आफ्नो बगालको हेरचाह गरिरहेका थिए। ९  तब अचानक यहोवा* परमेश्‍वरका स्वर्गदूत तिनीहरूकहाँ देखा परे अनि तिनीहरूको चारैतिर यहोवा* परमेश्‍वरको महिमा चम्कियो। यो देखेर तिनीहरू असाध्यै डराए। १०  तर स्वर्गदूतले तिनीहरूलाई यसो भने: “नडराओ किनकि हेर म सबै मानिसलाई असाध्यै आनन्दित बनाउने सुसमाचार तिमीहरूलाई सुनाउँदै छु। ११  किनकि दाउदको सहरमा+ आज तिमीहरूका उद्धारक,+ ख्रिष्ट प्रभुको+ जन्म भएको छ। १२  अनि तिमीहरूले उहाँलाई यसरी चिन्‍नेछौ: तिमीहरूले एउटा शिशुलाई कपडाले बेरेर डुँडमा राखिएको भेट्टाउनेछौ।” १३  तब स्वर्गबाट आएको एउटा ठूलो पल्टन+ ती स्वर्गदूतसँगै अचानक देखा पऱ्‍यो अनि उनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गर्न थाले: १४  “स्वर्गमा परमेश्‍वरको महिमा होस्‌ अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।” १५  स्वर्गदूतहरू तिनीहरूलाई छोडेर स्वर्गतिर गइसकेपछि ती गोठालाहरूले आपसमा यसो भन्‍न थाले: “आओ, हामी तुरुन्तै बेतलेहेम जाऔँ अनि यहोवा* परमेश्‍वरले हामीलाई भन्‍नुभएबमोजिम त्यहाँ के-के भएछ, गएर हेरौँ।” १६  तिनीहरू हतारिँदै गए र मरियमका साथै युसुफलाई भेट्टाए अनि शिशुचाहिँ डुँडमा सुतिरहनुभएको पाए। १७  शिशुलाई देखेपछि तिनीहरूले उहाँबारे स्वर्गदूतले भनेका सबै कुरा बताइदिए। १८  अनि गोठालाहरूको कुरा सुन्‍नेजति सबै छक्क परे। १९  तर मरियमले भने यी सब कुरा हृदयमा राखिन्‌ र त्यसको अर्थ के होला भनेर मनमनै गुन्‍न थालिन्‌।+ २०  तब ती गोठालाहरू फर्के अनि परमेश्‍वरको महिमा र प्रशंसा गर्न थाले। किनकि तिनीहरूलाई जे बताइएको थियो, तिनीहरूले त्यही सुने अनि देखे। २१  उहाँ जन्मनुभएको आठ दिनपछि तिनीहरूले उहाँको खतना गरे+ अनि उहाँको नाम येसु राखे। यो त्यही नाम थियो, जुन मरियम गर्भवती हुनुअघि नै स्वर्गदूतले दिएका थिए।+ २२  जब मोसाको व्यवस्थाअनुसार तिनीहरूलाई चोख्याउने दिन आयो,+ तब तिनीहरूले यहोवा* परमेश्‍वरसामु अर्पण गर्न बालकलाई यरुसलेम लगे। २३  किनकि यहोवा* परमेश्‍वरको व्यवस्थामा यस्तो लेखिएको छ: “हरेक पहिलो सन्तान यहोवा* परमेश्‍वरको निम्ति पवित्र ठहराइएको हुनुपर्छ।”+ २४  अनि तिनीहरूले यहोवा* परमेश्‍वरको व्यवस्थामा भनिएअनुसार यस्तो बलिदान चढाए: “एक जोडी ढुकुर वा परेवाका दुई वटा बचेरा।”+ २५  अनि हेर, त्यतिखेर यरुसलेममा सिमियोन नाम गरेका एक जना मानिस थिए। तिनी धर्मी अनि भक्‍त थिए। तिनी इस्राएलले पाउने सान्त्वनाको+ पर्खाइमा थिए र तिनले पवित्र शक्‍ति पाएका थिए। २६  यसबाहेक यहोवा* परमेश्‍वरले पठाउनुभएको ख्रिष्टलाई नदेखेसम्म तिनी मर्नेछैनन्‌ भनेर परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिमार्फत तिनलाई प्रकट गर्नुभएको थियो। २७  तब पवित्र शक्‍तिको निर्देशन पाएर तिनी मन्दिरमा आए अनि व्यवस्थाको रीति पूरा गर्न+ सानो बालक येसुका आमाबुबाले उहाँलाई ल्याउँदै गर्दा २८  तिनले उहाँलाई आफ्नो हातमा लिए अनि यसो भन्दै परमेश्‍वरको प्रशंसा गरे: २९  “अब हे सार्वभौमसत्ताधारी प्रभु, आफूले भनेबमोजिमै तपाईँ आफ्नो दासलाई शान्तिपूर्वक जान दिँदै हुनुहुन्छ।+ ३०  किनकि मेरो आँखाले उद्धार दिने तपाईँको माध्यम देखेको छ,+ ३१  जसलाई तपाईँले समस्त मानिसहरूको नजरसामु तयार पार्नुभएको छ+ ३२  अनि जो अन्यजातिका मानिसहरूको घुम्टो हटाउने ज्योति+ अनि तपाईँका जन इस्राएलको महिमा हो।” ३३  बालकको विषयमा बोलिएका यी कुरा सुनेर तिनका बुबा र आमा छक्क परे। ३४  सिमियोनले तिनीहरूलाई आशिष्‌ पनि दिए र बालककी आमा मरियमलाई यसो भने: “हेर, यो बालक इस्राएलमा धेरै जनाको पतन+ अनि उत्थानको कारण बन्‍नेछ+ र घृणाको पात्र हुनेछ+ ३५  (अनि जहाँसम्म तिम्रो कुरा छ, एउटा लामो तरबारले तिमीलाई वारपार हुनेगरि छेड्‌नेछ)+ ताकि धेरै जनाको हृदयको कुरा प्रकट होस्‌।” ३६  त्यहाँ हन्‍ना नाम गरेकी एक जना भविष्यवक्‍ता थिइन्‌। तिनी असेरको कुलको फनुएलकी छोरी थिइन्‌। यी स्त्री वृद्ध भइसकेकी थिइन्‌। तिनले विवाह गरेर आफ्नो पतिसित सात वर्ष मात्र बिताउन पाएकी थिइन्‌। ३७  यी विधवा अहिले ८४ वर्ष भइसकेकी थिइन्‌। तिनी कहिल्यै मन्दिर छोड्‌दिनथिन्‌ अनि उपवास बसेर र उत्कट बिन्ती चढाएर रातदिन पवित्र सेवा चढाउने गर्थिन्‌। ३८  त्यही बेला तिनी नजिक आइन्‌ र परमेश्‍वरलाई धन्यवाद चढाउन अनि यरुसलेमको छुटकाराको बाटो हेरिरहेका सबैलाई+ ती बालकको विषयमा बताउन थालिन्‌। ३९  यसप्रकार यहोवा* परमेश्‍वरको व्यवस्थाबमोजिम सबै काम गरिसकेपछि+ तिनीहरू गालिलमा आफ्नै सहर नासरत+ फर्के। ४०  अनि सानो बालक हुर्कँदै, बलियो हुँदै र बुद्धिमान्‌ बन्दै जानुभयो अनि परमेश्‍वरको अनुग्रह निरन्तर उहाँमाथि रह्‍यो।+ ४१  येसुका आमाबुबा हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जाने गर्थे।+ ४२  उहाँ १२ वर्षको भएपछि उहाँहरू चलनअनुसारै यरुसलेम जानुभयो।+ ४३  चाड सिद्धिएपछि घर फर्किने बेला ठिटो येसु भने यरुसलेममै रहनुभयो तर उहाँका आमाबुबालाई यो कुरा यादै भएन। ४४  तिनीहरूले उहाँ यात्रीहरूकै बीचमा हुनुहुन्छ होला भन्ठानेका थिए। तर एक दिनको बाटो काटिसकेपछि तिनीहरूले उहाँलाई नातागोता र चिनेजानेका मानिसहरूको बीचमा खोज्न थाले। ४५  त्यहाँ नभेट्टाएपछि तिनीहरू यरुसलेम फर्के र उहाँलाई धुइँधुइँती खोजे। ४६  तीन दिनपछि बल्ल तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बीचमा बसेर सुन्दै अनि सोध्दै गरिरहनुभएको भेट्टाए। ४७  उहाँको कुरा सुन्‍नेजति सबै उहाँको जवाफ अनि समझशक्‍ति देखेर छक्क परिरहेका थिए।+ ४८  उहाँलाई देखेर उहाँका आमाबुबा पनि चकित भए र उहाँकी आमाले यसो भनिन्‌: “बाबु, तिमीले हामीलाई किन यस्तो दुःख दिएको? हेर त, तिम्रो बुबा र म तिमीलाई खोज्दाखोज्दा कत्ति हैरान भइसक्यौँ!” ४९  तर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तपाईँहरूले मलाई किन यताउता खोज्नुपऱ्‍यो? म आफ्नो बुबाको घरमा+ हुनुपर्छ भनेर के तपाईँहरूलाई थाह थिएन?” ५०  तर उहाँले के भन्‍न खोज्नुभएको हो, तिनीहरूले बुझेनन्‌। ५१  त्यसपछि उहाँ तिनीहरूसितै नासरत ओर्लनुभयो र तिनीहरूप्रति आज्ञाकारी भइरहनुभयो।+ उहाँकी आमाले यी सबै कुरा आफ्नो हृदयमा साँचेर राखिन्‌।+ ५२  येसु झन्‌झन्‌ बुद्धिमान्‌ हुँदै अनि हुर्कँदै जानुभयो र उहाँले परमेश्‍वर अनि मानिसहरूको अनुग्रह पनि झन्‌झन्‌ पाउँदै जानुभयो।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शा., “सारा पृथ्वीभरि।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।