अध्याय २
वफादार हुनुहोस्
“जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्टाओस्।”—मर्कूस १०:९
यहोवा हामी ‘वफादार’ भएको चाहनुहुन्छ। (भजन १८:२५, NRV) वैवाहिक जीवनमा एकअर्काप्रति वफादार हुनु एकदमै महत्त्वपूर्ण छ। वफादारी छैन भने एकअर्कालाई भरोसा गर्न सकिंदैन। अनि भरोसा नै छैन भने दुईबीचको माया पनि सेलाउँदै जान्छ।
आज थुप्रै पति/पत्नी आफ्नो जीवनसाथीप्रति वफादार छैनन्। वैवाहिक सम्बन्ध जोगाउने हो भने तपाईंले दुईवटा कुरा गर्नै पर्छ।
१ अरू कुरालाई भन्दा जीवनसाथीलाई महत्त्वपूर्ण ठान्नुहोस्
बाइबल के भन्छ? “अझ महत्त्वपूर्ण कुराहरू . . . पक्का” गर्नुहोस्। (फिलिप्पी १:१०) तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति तपाईंको जीवनसाथी हो। त्यसैले अरू कुरालाई भन्दा तिनलाई महत्त्वपूर्ण ठान्नुहोस्।
तपाईंले जीवनसाथीलाई ध्यान दिएको अनि तिनीसँगै हाँसीखुसी जीवन बिताएको यहोवा चाहनुहुन्छ। (उपदेशक ९:९) तपाईंले तिनलाई बेवास्ता गर्नु हुँदैन। बरु एकअर्कालाई कसरी खुसी बनाउने भनेर सोच्नुपर्छ। (१ कोरिन्थी १०:२४) तपाईंलाई तिनको खाँचो छ अनि तपाईं तिनलाई अनमोल ठान्नुहुन्छ भनेर महसुस गराउनुहोस्।
यसो गरेर हेर्नुहोस्:
-
जीवनसाथीसित धेरै समय बिताउनुहोस्। सँगै समय बिताउँदा अरू कुरामा ध्यान नदिनुहोस्।
-
एक्लै होइन, सँगै मिलेर निर्णय गर्नुहोस्।
२ हृदय सुरक्षित राख्नुहोस्
बाइबल के भन्छ? “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।” (मत्ती ५:२८) मनमा अनैतिक कुरा खेलाउनु भनेको एक अर्थमा जीवनसाथीलाई धोका दिनु हो।
यहोवाले तपाईंलाई “आफ्नो हृदय सुरक्षित” राख्नू भन्नुभएको छ। (हितोपदेश ४:२३; यर्मिया १७:९) यसको लागि पहिला तपाईंले आफ्नो आँखा सुरक्षित राख्नुपर्छ। (मत्ती ५:२९, ३०) कसरी? परमेश्वरको वफादार सेवक अय्यूबको जस्तै सोचाइ राखेर। तिनले आफ्नी श्रीमतीबाहेक अरू स्त्रीलाई कहिल्यै कुदृष्टिले नहेर्ने वाचा बाँधे। (अय्यूब ३१:१) अश्लील कुरा हैर्दै नहेर्ने अठोट गर्नुहोस्। जीवनसाथीबाहेक अरूसित रोमान्टिक सम्बन्ध गाँस्ने कुरा सोच्दै नसोच्नुहोस्।
यसो गरेर हेर्नुहोस्:
-
तपाईं जीवनसाथीप्रति वफादार हुनुहुन्छ भन्ने कुरा अरूलाई थाह दिनुहोस्।
-
तपाईं अरूसित नजिक भएको तपाईंको जीवनसाथीलाई मन पर्दैन भने तुरुन्तै त्यस्तो सम्बन्ध तोड्नुहोस्।