सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी रूपैयाँपैसाप्रति सन्तुलित दृष्टिकोण राख्न सक्नुहुन्छ?

तपाईं कसरी रूपैयाँपैसाप्रति सन्तुलित दृष्टिकोण राख्न सक्नुहुन्छ?

तपाईं कसरी रूपैयाँपैसाप्रति सन्तुलित दृष्टिकोण राख्न सक्नुहुन्छ?

रूपैयाँपैसा र सरसम्पत्तिको मोह कुनै नौलो कुरा होइन न त बाइबल नै यस विषयमा मौन रहेको छ। किनकि यो मोह हालै देखा पर्न थालेको होइन। यो त धेरै पहिलेदेखि थियो। मोशालाई दिइएको व्यवस्थामा परमेश्‍वरले इस्राएलीहरूलाई यस्तो निर्देशन दिनुभयो: “तैंले आफ्नो छिमेकीको घरको लालच नगर्नू। . . . त्यसको कुनै पनि थोकको लालच नगर्नू।”—प्रस्थान २०:१७.

रूपैयाँपैसा र सरसम्पत्तिको मोह येशूको जमानामा पनि व्याप्त थियो। येशू र एक जना “असाध्य धनी” युवकबीच भएको वार्तालापको यो विवरणलाई विचार गर्नुहोस्‌। “येशूले तिनलाई भन्‍नुभयो, ‘तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएको जति सबै बेचेर गरीबहरूलाई बाँडिदेऊ, तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ, मेरोपछि लाग।’ तर यी कुरा सुनेर तिनी अति उदास भए, किनभने तिनी असाध्य धनी थिए।”—लूका १८:१८-२३.

रूपैयाँपैसाप्रति उचित दृष्टिकोण

तथापि, बाइबलले रूपैयाँपैसा अथवा त्यसका आधारभूत उपयोगको भर्त्सना गर्छ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। रूपैयाँपैसा गरिबी र गरिबीका कारण हुने समस्याहरूबाट जोगिने व्यावहारिक सुरक्षा हो र यसले मानिसहरूको आधारभूत आवश्‍यकता पूरा गर्न मदत गर्छ भनी बाइबलले देखाउँछ। राजा सुलेमानले लेखे: “जसरी रूपैयाँपैसा एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एउटा आश्रय हो।” अनि “भोजनले आनन्द दिन्छ, औ दाखमद्यले जीवन प्रसन्‍न तुल्याउँछ, तर यी सबै गराउने रूपियाँ-पैसानै हो।”—उपदेशक ७:१२, नयाँ संशोधित संस्करण; १०:१९.

रूपैयाँपैसाको उचित प्रयोगलाई परमेश्‍वरले पनि स्वीकृति दिनुहुन्छ। उदाहरणका लागि, येशूले भन्‍नुभयो: “अधर्मको धनले मित्रहरू बनाओ।” (लूका १६:९) यसमा परमेश्‍वरको साँचो उपासनालाई बढाउन चन्दा दिनु समावेश छ किनकि परमेश्‍वर हाम्रो मित्र भएको चाहन्छौं। सुलेमानले पनि आफ्नो बुबा दाऊदको अनुकरण गर्दै यहोवाको मन्दिर निर्माण गर्न थुप्रै रूपैयाँपैसा र बहुमूल्य थोकहरू दिए। खाँचोमा परेकाहरूलाई भौतिक मदत दिनु मसीहीहरूले गर्नुपर्ने कामहरूमध्ये एक हो। प्रेरित पावलले यसो भने, “पवित्र जनहरूका अभावहरूमा सहायता देओ।” तिनले अझै यसो पनि भने, “अतिथि-सत्कार कायम राख।” (रोमी १२:१३) यसका लागि अक्सर रूपैयाँपैसा खर्च गर्नुपर्छ। तथापि, रूपैयाँपैसाको प्रेमबारे के भन्‍न सकिन्छ?

“चाँदीको मोह”

पावलले आफ्नो जवान सँगी मसीही तिमोथीलाई चिठी लेख्दा, “रूपैयाँ-पैसाको प्रेम[बारे]” अर्थात्‌ शाब्दिक अर्थमा भनौं भने, “चाँदीको मोहबारे” विस्तृत तवरमा छलफल गरे। पावलको सल्लाह १ तिमोथी ६:६-१९ मा पाइन्छ। भौतिक सरसम्पत्तिबारे आफूले गर्न लागेको विस्तृत छलफलमा तिनले “रूपैयाँ-पैसाको प्रेम” उल्लेख गरे। आजको समाजले रूपैयाँपैसामा दिने महत्त्वलाई विचार गर्दा पावलका प्रेरित टिप्पणीहरू होसियारीसाथ पढ्‌नुमा हाम्रै लाभ छ। यस्तो छानबिन गर्नु पक्कै पनि लाभप्रद छ किनकि यसले कसरी ‘साँच्चैको जीवन पक्रिराख्ने’ भनेर बताउँछ।

पावल यस्तो चेताउनी दिन्छन्‌: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्‌।” (१ तिमोथी ६:१०) न यो पदले, न त अन्य कुनै शास्त्रपदले नै रूपैयाँपैसा खराब हो भन्छ। यसबाहेक, प्रेरित पावलले रूपैयाँपैसा “सबै किसिमका खराबीको” जरा हो अथवा हरेक समस्याको मूल नै रूपैयाँपैसा हो भनेका छैनन्‌। बरु, रूपैयाँपैसाको प्रेम हर प्रकारका “खराबीको” जरा हुनसक्छ।

लोभदेखि होसियार हुनुहोस्‌

धर्मशास्त्रमा रूपैयाँपैसाको भर्त्सना गरिएको छैन भन्दैमा पावलको चेताउनीलाई हलका ठान्‍नु हुँदैन। रूपैयाँपैसालाई प्रेम गर्न थाल्ने मसीहीहरू हर प्रकारका समस्यामा पर्न सक्छन्‌ र यीमध्ये सबैभन्दा खतरनाक त विश्‍वासबाटै तर्केर जानु हो। प्रेरित पावलले कलस्सीका मसीहीहरूलाई भनेको कुराबाट यो तथ्य अझै पुष्टि हुन्छ: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार, . . . खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।” (कलस्सी ३:५) लोभ, लालच वा “रूपैयाँ-पैसाको प्रेम” कसरी मूर्तिपूजा बराबर छ? के यसको अर्थ ठूलो घर, नयाँ गाडी अथवा राम्रो आयस्रोत हुने जागिर चाहनु गलत हो? होइन, यी थोकहरू आफैमा कुनै खराबी छैन। तर प्रश्‍न उठ्‌छ: यी कुराहरू प्राप्त गर्न चाहनुको पछाडि कस्तो मनसाय लुकेको छ र के यी कुराहरू साँच्चै आवश्‍यक छन्‌?

स्वाभाविक इच्छा र लोभबीचको भिन्‍नतालाई खाना पकाउने सानो चुलोको आगो र वनजंगल सखाप पार्ने डढेलोसित तुलना गर्न सकिन्छ। स्वास्थ्यकर अनि उचित इच्छा लाभकारी हुनसक्छ। यसले हामीलाई काम गर्न र उत्पादनशील हुन उत्प्रेरित गर्छ। हितोपदेश १६:२६ यसो भन्छ: “परिश्रमीको पेटलेनै त्यसलाई परिश्रमी काम गर्नलाउँछ, त्यसको भोकले त्यसलाई उत्तेजित पार्छ।” तर लोभ खतरनाक अनि विनाशकारी हुन्छ। लोभ, अनियन्त्रित इच्छा हो।

रूपैयाँपैसाको मोहलाई नियन्त्रणमा राख्न नसक्नु नै मुख्य समस्या हो। रूपैयापैसा वा भौतिक सरसम्पत्ति हाम्रो अधीनमा छ कि हामी रूपैयाँपैसाको अधीनमा छौं? त्यसैकारण पावलले “लोभी मानिस . . . मूर्तिपूजक हो” भने। (एफिसी ५:५) कुनै कुराको लोभ गर्नुको अर्थ वास्तवमा हामी त्यसको इशारामा नाच्नु अर्थात्‌ त्यसलाई आफ्नो मालिक, आफ्नो ईश्‍वर मान्‍नु वा त्यसको सेवा गर्नु हो। अर्कोतिर, परमेश्‍वर यस्तो चाहनुहुन्छ: “मेरो सामने तैंले अरू कुनै देवता—देवीहरू नमान्‍नू।”—प्रस्थान २०:३.

लोभी हुनु भनेको हाम्रा आवश्‍यकताहरू परमेश्‍वरले पूरा गर्नुहुनेछ भन्‍ने उहाँको प्रतिज्ञामा भरोसा नगर्नु पनि हो। (मत्ती ६:३३) यसप्रकार, लोभले गर्दा परमेश्‍वरबाट टाढिन सक्छ। यस अर्थमा पनि लोभ “मूर्तिपूजा” हो। त्यसैले पो पावलले यसबारे सुस्पष्ट चेताउनी दिएका रहेछन्‌!

येशूले पनि लोभबाट टाढै बस्नु भनेर सुस्पष्ट चेताउनी दिनुभयो। उहाँले हामीलाई आफूसित नभएको कुराको लालसा नगर्नू भन्दै यसो भन्‍नुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ, किनकि मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) यो परिच्छेद र त्यसपछि येशूले दिनुभएको दृष्टान्तअनुसार लोभ, व्यक्‍तिविशेषसित जे जति छ, त्यो नै जीवनमा महत्त्वपूर्ण छ भन्‍ने मूर्खतापूर्ण विश्‍वासमा आधारित छ। त्यो रूपैयाँपैसा, मानपदवी, शक्‍ति वा यस्तै अन्य कुरा हुनसक्छ। प्राप्त गर्नसकिने जुनसुकै कुराको निम्ति लोभ गर्नु सम्भव छ। त्यो चीज पाएपछि त म सन्तुष्ट भइहाल्छु नि जस्तो हामीलाई लाग्ला। तर बाइबल र मानव अनुभवअनुसार परमेश्‍वरले मात्र हाम्रा साँचो आवश्‍यकताहरू पूरा गर्न सक्नुहुन्छ र गर्नुहुनेछ। अनि यही तर्क येशूले आफ्ना चेलाहरूसित गर्नुभयो।—लूका १२:२२-३१.

किनबेचमै व्यस्त वर्तमान समाजले लोभ जगाउँछ। चालै नपाई लोभको प्रभावमा परिरहेका थुप्रै मानिस आफूसित भएका थोकहरूसित विस्तारै असन्तुष्ट हुन थाल्छन्‌। तिनीहरू झन्‌ धेरै, झन्‌ ठूलो र झनै राम्रा कुरा चाहन्छन्‌। हामीले संसारलाई बदल्न नसके तापनि हामी कसरी यस्तो परिपाटीको विरोध गर्न सक्छौं?

लोभ अनि सन्तुष्टि, दुई विपरीत कुरा

पावल लोभको ठीक विपरीत कुरा बताउँछन्‌। त्यो हो सन्तुष्टि। तिनी भन्छन्‌: “तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” (१ तिमोथी ६:८) हामीलाई अत्यावश्‍यक कुराहरू अर्थात्‌ ‘खान र लाउन भए पुग्छ’ भन्‍ने सुझाउ एकदमै सरल लाग्ला। थुप्रै मानिस ख्यातिप्राप्त व्यक्‍तिहरूको भव्य घरहरू देखाइने टेलिभिजन कार्यक्रम हेर्छन्‌। तर यो सन्तुष्टि प्राप्त गर्ने तरिका पक्कै होइन।

परमेश्‍वरका सेवकहरूले दरिद्र जीवन बिताउनुपर्छ भनेर अवश्‍य भन्‍न खोजिएको होइन। (हितोपदेश ३०:८, ९) तथापि, पावल हामीलाई गरिबी के हो त्यो स्मरण गराउँछन्‌: बाँच्नको लागि नभई नहुने गाँस, बास अनि कपासको अभाव। अर्कोतिर, हामीसित यी साधन छन्‌ भने हामीसित सन्तुष्ट हुने आधार छ।

के पावलले साँच्चै यसरी सन्तुष्टि पाउन सकिन्छ भनेका हुन्‌? खान, लाउन अनि बस्न पाउँदैमा के साँच्चै सन्तुष्ट हुन सकिन्छ? यसको जवाफ त पावललाई नै थाह हुनुपर्ने हो। किनकि तिनी आफैले धनसम्पत्ति, यहूदी समाजमा पाएको उच्च ओहदा र रोमी नागरिक हुनुका विशेष फाइदाहरू अनुभव गरिसकेका थिए। (प्रेरित २२:२८; २३:६; फिलिप्पी ३:५) तिनले मिसनरी कार्यको दौडान अत्यन्तै कठिन अवस्थाहरू पनि भोगिसकेका थिए। (२ कोरिन्थी ११:२३-२८) यी सबबाट तिनले सन्तुष्ट हुने रहस्य पत्ता लगाए। अनि त्यो के थियो?

“गुप्त कुरो मैले सिकेको छु”

पावल एउटा पत्रमा उल्लेख गर्छन्‌: “म घट्‌न पनि जान्दछु, बढ्‌न पनि जान्दछु। हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु।” (फिलिप्पी ४:१२) पावल अत्यन्तै विश्‍वस्त अनि आशावादी देखिन्छन्‌! यी शब्दहरू लेख्दा तिनको जीवन अत्यन्तै आरामदायी थियो होला भन्‍ने हामीलाई लाग्नसक्छ तर त्यस्तो थिएन। तिनी रोमको झ्यालखानामा थिए!—फिलिप्पी १:१२-१४.

यसलाई विचार गर्दा यो परिच्छेदले सन्तुष्ट भौतिक सरसम्पत्तिसित मात्र होइन तर आफ्नो परिस्थितिसित पनि हुन सकिन्छ भन्‍ने सशक्‍त सन्देश दिन्छ। प्रशस्त धनसम्पत्ति अथवा अत्यन्तै कठिन अवस्थाले हाम्रो प्राथमिकतालाई परीक्षामा पार्न सक्छ। भौतिक अवस्था जस्तोसुकै भए तापनि आफूलाई सन्तुष्ट हुन मदत गर्ने आध्यात्मिक स्रोतबारे पावलले यसरी बताए: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) सरसम्पत्ति थोरै होस्‌ वा धेरै, परिस्थिति राम्रो होस्‌ वा नराम्रो, यी कुराहरूमा भर पर्नुको साटो परमेश्‍वरले तिनका आवश्‍यकताहरू पूरा गर्नुहुनेछ भन्‍ने कुरामा पावलले भरोसा गरे। यसकारण तिनी सन्तुष्ट हुन सके।

पावलको उदाहरण विशेष गरी तिमोथीको निम्ति महत्त्वपूर्ण थियो। प्रेरित पावलले जवान तिमोथीलाई धनसम्पत्ति होइन तर ईश्‍वरीय भक्‍तिलाई प्राथमिकता दिने जीवनशैली अँगाल्न र परमेश्‍वरसित घनिष्ठ सम्बन्ध कायम राख्न आग्रह गरे। पावलले यसो भने: “तर तिमी, हे परमेश्‍वरका मानिस, यी कुराहरूबाट दूर बस, र धार्मिकता, भक्‍ति, विश्‍वास, प्रेम, धीरज, नम्रताको पछि लाग।” (१ तिमोथी ६:११) हुन त यी शब्दहरू तिमोथीलाई भनिएका हुन्‌ तर परमेश्‍वरलाई आदर, सम्मान दिन र साँच्चै आनन्दित जीवन बिताउन चाहने जोसुकैलाई उक्‍त शब्दहरू लागू हुन्छन्‌।

अन्य मसीहीजस्तै तिमोथी पनि लोभदेखि होसियार हुनुपर्थ्यो। स्पष्टतः पावलले तिमोथीलाई पत्र पठाएको ठाउँ, एफिसीका मण्डलीमा सम्पन्‍न विश्‍वासीहरू पनि थिए। (१ तिमोथी १:३) यस सुसम्पन्‍न व्यापारिक शहरमा पावलले ख्रीष्टको सुसमाचार सुनाएका थिए र थुप्रैले उक्‍त समाचार ग्रहण गरेका थिए। निस्सन्देह, यिनीहरूमध्ये थुप्रै धनी थिए र आज मसीही मण्डलीमा पनि थुप्रै धनी व्यक्‍तिहरू छन्‌।

त्यसो भए, १ तिमोथी ६:६-१० को शिक्षालाई विचार गर्दा यो प्रश्‍न खडा हुन्छ: प्रशस्त धनसम्पत्ति हुनेहरूले परमेश्‍वरको आदर गर्न चाहन्छन्‌ भने के गर्नुपर्छ? तिनीहरूले आफ्नो मनोवृत्तिलाई जाँच्नुपर्छ भनी पावल बताउँछन्‌। रूपैयाँपैसाले गर्दा घमण्ड बढ्‌न सक्छ। पावल भन्छन्‌: “यस वर्तमान संसारका धनीहरूलाई कड़ा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्‌, र अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथिनै आशा राखून्‌।” (१ तिमोथी ६:१७) धनीहरूले रूपैयाँपैसामा मात्र होइन सबै सम्पत्तिको प्रमुख स्रोत परमेश्‍वरमाथि भर पर्न सिक्नुपर्छ र त्यसो गर्नु आवश्‍यक छ।

तर मनोवृत्ति राम्रो भएर मात्र पुग्दैन। ढिलो होस्‌ वा चाँडो, धनी मसीहीहरूले आफ्नो सरसम्पत्ति बुद्धिमानीसाथ खर्च गर्न सिक्नैपर्छ। पावल यस्तो सल्लाह दिन्छन्‌: “तिनीहरूले असल गरून्‌, तिनीहरू असल काममा उदारचित्त भएर धनवान होऊन्‌, बाँड़चुड़ गर्नामा तत्पर होऊन्‌।”—१ तिमोथी ६:१८.

“साँच्चै जीवन”

पावलको सल्लाहको मूल आशय हो, हामीले भौतिक सम्पत्तिको सापेक्षिक महत्त्व बुझ्नुपर्छ। परमेश्‍वरको वचन यसो भन्छ: “धनी मानिसको धन-सम्पत्तिनै त्यसको बलियो शहरजस्तै हो, उसले धनलाईनै उच्च पर्खाल सम्झन्छ।” (हितोपदेश १८:११) आखिर, धनसम्पत्तिबाट सुरक्षा खोज्नु वास्तवमा भ्रम मात्र हो। परमेश्‍वरको अनुमोदन खोज्नुको साटो धनमा हाम्रो जीवन केन्द्रित गर्नु गलत कुरा हो।

भौतिक सरसम्पत्तिको अनिश्‍चितताले नै त्यसमाथि राखेको भरोसा कति कमजोर छ भनेर प्रस्ट पार्छ। कुनै ठोस, अर्थपूर्ण अनि चिरकालीन कुरामाथि हाम्रो भरोसा राख्नुपर्छ। मसीही आशा हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वर र अनन्त जीवनबारे उहाँले गर्नुभएको प्रतिज्ञामाथि अडिएको छ। हो, रूपैयाँपैसाले आनन्द किन्‍न सक्दैन र त्योभन्दा ठूलो कुरा पैसाले मुक्‍ति पनि किन्‍न सक्दैन। परमेश्‍वरमाथिको हाम्रो भरोसाले मात्र त्यस्तो आशा दिनसक्छ।

त्यसकारण, हामी धनी होऔं वा गरिब, “परमेश्‍वरतर्फ धनी” बनाउने जीवनशैली अँगालौं। (लूका १२:२१) सृष्टिकर्ताको अनुमोदन पाउनुभन्दा बढ्‌ता महत्त्वपूर्ण कुरा अरू केही छैन। सृष्टिकर्ताको अनुमोदनलाई कायम राख्ने हाम्रो सम्पूर्ण प्रयासले हामीलाई ‘पछि आउने समयको ख्याल गरेर आफ्नै निम्ति असल जग बनाएर त्यो जीवन, जो साँच्चै जीवन हो, त्यो पक्री राख्न’ मदत गर्छ।—१ तिमोथी ६:१९.

[पृष्ठ ७-मा भएको चित्र]

पावलले सन्तुष्ट हुने गुप्त कुरा सिके

[पृष्ठ ८-मा भएका चित्रहरू]

आफूसित भएका कुराहरूमै हामी आनन्दित र सन्तुष्ट हुनसक्छौं