लुकाका अनुसार १६:१-३१

  • बेइमान भण्डारेको उदाहरण (१-१३)

    • ‘सानो कुरामा विश्‍वासयोग्य मानिस धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ’ (१०)

  • व्यवस्था र परमेश्‍वरको राज्य (१४-१८)

  • धनी मानिस र लाजरसको उदाहरण (१९-३१)

१६  त्यसपछि उहाँले चेलाहरूलाई यसो पनि भन्‍नुभयो: “कुनै धनी मानिसको एक जना भण्डारे थियो र उसले सम्पत्ति हिनामिना गर्दै छ भन्‍ने खबर तिनको कानमा पऱ्‍यो। २  त्यसैले तिनले उसलाई बोलाएर भने: ‘म यो के सुन्दै छु? लौ, मलाई एक-एक हिसाब बुझाऊ। अबउसो तिमीले मेरो कारोबार सम्हाल्नेछैनौ।’ ३  तब त्यस भण्डारेले मनमनै भन्‍न थाल्यो: ‘मेरो मालिकले मलाई भण्डारेको कामबाट निकाल्ने भए, अब म के गरूँ? म खनजोत गर्न सक्दिनँ अनि भीख माग्न मलाई लाज लाग्छ। ४  अँ, मैले के गरेँ भने भण्डारेको कामबाट निकालिएपछि पनि मानिसहरूले मलाई उनीहरूको घरमा स्वागत गर्नेछन्‌, त्यो मलाई थाह छ!’ ५  उसले आफ्नो मालिकका ऋणीहरूलाई पालैसित आफूकहाँ बोलायो र पहिलोचाहिँलाई सोध्यो: ‘तिमीले मेरो मालिकलाई कति ऋण तिर्नु छ?’ ६  उसले जवाफ दियो: ‘१०० भाँडो* जैतुनको तेल।’ त्यस भण्डारेले उसलाई भन्यो: ‘तिम्रो तमसुक लैजाऊ र बसेर तुरुन्तै त्यसलाई ५० बनाऊ।’ ७  त्यसपछि भण्डारेले अर्कोलाई भन्यो: ‘तिम्रो चाहिँ कति ऋण छ नि?’ उसले भन्यो: ‘१०० भाँडो* गहुँ।’ तब भण्डारेले उसलाई भन्यो: ‘तिम्रो तमसुक लैजाऊ र त्यसलाई ८० बनाऊ।’ ८  त्यो भण्डारे बेइमान भए तापनि मालिकले उसको तारिफ गरे किनकि उसले चतुऱ्‍याइँ देखायो। म यसो भन्दै छु किनकि आफ्नो पुस्ताका मानिसहरूसित व्यवहार गर्नमा ज्योतिका सन्तानभन्दा+ यस युगका* मानिसहरू अझ चतुर छन्‌। ९  “साथै म तिमीहरूलाई भन्छु, बेइमान धनले आफ्नो निम्ति मित्रहरू बनाओ+ किनभने त्यस्तो धन सिद्धिएपछि तिनीहरूले सायद अनन्त निवासमा तिमीहरूलाई आश्रय दिनेछन्‌।+ १०  जो मानिस सानो कुरामा विश्‍वासयोग्य छ, ऊ धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ अनि जो सानो कुरामा बेइमान छ, ऊ धेरै कुरामा पनि बेइमान हुन्छ। ११  त्यसैले बेइमान धन चलाउँदा तिमीहरू आफूलाई विश्‍वासयोग्य साबित गर्दैनौ भने कसले तिमीहरूलाई साँचो धन सुम्पेला र? १२  जे कुरा अरूको हो, त्यसमा त तिमीहरू आफूलाई विश्‍वासयोग्य साबित गर्दैनौ भने कसले तिमीहरूको लागि केही देला र?+ १३  कुनै पनि नोकर दुई मालिकको दास बन्‍न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ। तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।”+ १४  पैसाको प्रेमी फरिसीहरूले* यी सबै कुरा सुनिरहेका थिए र तिनीहरूले नाक चेप्य्राउँदै उहाँको खिल्ली उडाउन थाले।+ १५  त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू मानिसहरूसामु धर्मी भई टोपल्छौ+ तर तिमीहरूको हृदयमा के छ, परमेश्‍वरलाई थाह छ।+ किनकि मानिसहरू जुन कुरालाई महत्त्वपूर्ण ठान्छन्‌, परमेश्‍वरको नजरमा त्यो घिनलाग्दो हुन्छ।+ १६  “व्यवस्था र भविष्यवक्‍ताका वाणीहरू युहन्‍नाको समयसम्म घोषणा गरिए। त्यसदेखि यता परमेश्‍वरको राज्यको सुसमाचार घोषणा हुँदै छ र हरप्रकारका मानिसहरू त्यसभित्र पस्न भरमग्दुर प्रयास गर्दै छन्‌।+ १७  वास्तवमा व्यवस्थाको सबैभन्दा सानो अक्षर वा त्यसको एउटा बिन्दु पूरा नभई मेटिनुभन्दा त आकाश र पृथ्वी बितेर जानु सजिलो हुन्छ।+ १८  “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेको ठहरिन्छ। अनि जसले पतिसित सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।+ १९  “एक जना धनी मानिस थियो। ऊ बैजनी रङ्‌गको मलमलको लुगा लगाउँथ्यो र दिनदिनै मोजमस्ती गर्थ्यो। २०  उसको ढोकाबाहिर भने जीउभरि घावैघाउ भएको लाजरस नाम गरेको माग्नेलाई मानिसहरूले ल्याएर राखिदिन्थे। २१  अनि ऊ त्यस धनी मानिसको टेबुलबाट झरेको टुक्राटाक्री खाएर आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। यहाँसम्म कि कुकुरहरू पनि आएर उसको घाउ चाट्‌थे। २२  केही समयपछि त्यो माग्ने मऱ्‍यो अनि स्वर्गदूतहरूले उसलाई बोकेर अब्राहामसँगै* राखिदिए। “त्यो धनी मानिस पनि मऱ्‍यो र उसलाई गाडियो। २३  अनि चिहानमा* सास्ती भोगिरहेको बेला नजर उठाएर हेर्दा उसले धेरै पर अब्राहामलाई अनि तिनीसँगै* लाजरसलाई पनि देख्यो। २४  त्यसैले उसले यसो भनेर पुकाऱ्‍यो: ‘हे बुबा अब्राहाम, ममाथि कृपा गर्नुहोस्‌ र आफ्नो औँलाको टुप्पो पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पार्न लाजरसलाई मकहाँ पठाइदिनुहोस्‌। किनकि दनदनी बलिरहेको यो आगोमा म तड्‌पिरहेको छु।’ २५  तर अब्राहामले उसलाई यस्तो जवाफ दिए: ‘बाबु, नबिर्स, तिमीले आफ्नो जीवनभर असल-असल थोक सबै पायौ तर लाजरसले भने पीडाबाहेक केही पाएन। त्यसैले अहिले ऊ यहाँ आरामसित बसिरहेको छ तर तिमी भने तड्‌पिरहेका छौ। २६  यी सब कुराबाहेक तिमीहरू र हामीबीच ठूलो खाडलको अन्तर छ। त्यसैले न तिमीहरूकहाँ जान चाहनेहरू यहाँबाट जान सक्छन्‌ न त हामीकहाँ आउन चाहनेहरू नै त्यहाँबाट आउन सक्छन्‌।’ २७  यो सुनेर उसले भन्यो: ‘त्यसो हो भने हे बुबा, उसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्‌। २८  किनकि मेरा पाँच भाइ छन्‌ र उसले तिनीहरूलाई राम्ररी सम्झाइबुझाइ गरिदेओस्‌ ताकि तिनीहरू पनि सास्ती पाउने यस ठाउँमा आउन नपरोस्‌।’ २९  तर अब्राहामले जवाफ दिए: ‘तिनीहरूसित मोसा अनि भविष्यवक्‍ताहरू छन्‌, तिनीहरूले उनीहरूकै कुरा सुनून्‌।’+ ३०  अनि उसले भन्यो: ‘होइन, बुबा अब्राहाम, यदि मरेकाहरूमध्येबाट कोही एक जना तिनीहरूकहाँ गयो भने तिनीहरूले पश्‍चात्ताप गर्नेछन्‌।’ ३१  तर अब्राहामले उसलाई जवाफ दिए: ‘यदि तिनीहरू मोसा र भविष्यवक्‍ताहरूको कुरा सुन्दैनन्‌ भने+ मरेकाहरूमध्येबाट ब्युँतेको व्यक्‍तिको कुरा पनि तिनीहरूले मान्‍नेछैनन्‌।’”

फुटनोटहरू

शा., “१०० बाथ।” एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “१०० कोर।” एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शा., “अब्राहामको काखमा।”
ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।
शा., “तिनको काखमा।”