हितोपदेश ३०:१-३३

  • अगुरका उपदेश (१-३३)

    • म गरिब हुन नपरोस्‌ अनि मलाई धनी पनि नबनाउनुहोस्‌ ()

    • कहिल्यै नअघाउने कुराहरू (१५, १६)

    • बुझ्नै नसकिने कुराहरू (१८, १९)

    • परपुरुषसित लाग्ने स्त्री (२०)

    • जन्मजातै बुद्धिमान्‌ जनावरहरू (२४)

३०  याकेका छोरा अगुरका महत्त्वपूर्ण उपदेश। यो उपदेश अगुरले इथिएल र उकाललाई सुनाए।  २  मजस्तो अबुझ अरू कोही छैन+ अनि मानिससित हुनुपर्ने समझ पनि मसित छैन।  ३  मैले बुद्धि प्राप्त गरेको छैनँ अनि महापवित्र परमेश्‍वरसित भएको ज्ञान मसित छैन।  ४  स्वर्ग उक्लेर फेरि पृथ्वीमा को ओर्लेको छ?+ बतासलाई आफ्नो दुवै मुठीमा कसले राख्न सकेको छ? समुद्रलाई आफ्नो पोल्टामा कसले हाल्न सकेको छ?+ पृथ्वीको साँध-सिमाना कसले तोक्यो?+ तिनी र तिनको छोराको नाम के हो, तिमीलाई थाह छ?  ५  परमेश्‍वरका एक-एक वचन शुद्ध* छन्‌।+ उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ।+  ६  उहाँले भन्‍नुभएको कुरामा एक शब्द नथप+ नत्र उहाँले हप्काउनुहुनेछ र तिमी फटाहा ठहरिनेछौ।  ७  हे परमेश्‍वर, म तपाईँसित दुई वटा कुरा माग्छु। म मर्नुअघि नै मलाई ती दिनुहोस्‌।  ८  झूट र असत्य मबाट टाढै रहोस्‌।+ म गरिब हुन नपरोस्‌ अनि मलाई धनी पनि नबनाउनुहोस्‌। मलाई चाहिनेजति भोजन मात्र दिनुहोस्‌।+  ९  नत्र त आफूसित कुनै अभाव नभएकोले म तपाईँलाई इन्कार गरूँला र यसो भनूँला, “यहोवा को हो र?”+ वा गरिब भएकोले चोर्न थालूँला र मेरा परमेश्‍वरको बदनाम गरूँला। १०  मालिकसित उसको नोकरको कुरा नकाट* नत्र त नोकरले तिमीलाई सराप्नेछ र तिमी दोषी हुनेछौ।+ ११  यस्ता मानिसहरू पनि छन्‌, जसले आफ्नो बुबालाई सराप्छन्‌ अनि आफ्नी आमाको आदर गर्दैनन्‌।+ १२  यस्ता मानिसहरू पनि छन्‌, जो आफूलाई चोखो ठान्छन्‌+ तर तिनीहरूले आफ्नै मैलासमेत* सफा गरेका छैनन्‌। १३  यस्ता मानिसहरू पनि छन्‌, जसका आँखा घमन्डले भरिएका छन्‌ अनि जसको हेराइमा अहङ्‌कार झल्किन्छ!+ १४  यस्ता मानिसहरू पनि छन्‌, जसका दाँत तरबारजस्तै छन्‌ र जसका बङ्‌गारा चुपीजस्तै छन्‌; तिनीहरूले पृथ्वीका दीनदुःखीलाई र गरिबलाई निल्छन्‌।+ १५  जुकाका दुई छोरी छन्‌। एउटीले भन्छे, “देऊ!” अनि अर्कीले पनि भन्छे, “देऊ!” तीन वटा कुरा छन्‌, जो कहिल्यै अघाउँदैनन्‌; वास्तवमा चार वटा छन्‌, जसले कहिल्यै “भो! पुग्यो” भन्दैनन्‌। १६  चिहान,*+ बाँझी स्त्री, पानी नपाएर पटपट फुटेको जमिन र दनदनी बलिरहेको आगो, जसले कहिल्यै “भो! पुग्यो” भन्दैन। १७  आफ्नो बुबाको खिसी गर्ने र आफ्नी आमाको आज्ञालाई तुच्छ ठान्‍ने मानिसको आँखा+ बेँसीका* कागहरूले ठुँगेर निकाल्नेछन्‌ र त्यसलाई चीलका बचेराहरूले खानेछन्‌।+ १८  मैले बुझ्नै नसकेका* तीन वटा कुरा छन्‌; वास्तवमा चार वटा छन्‌, जुन मैले बुझ्नै सकेको छैनँ: १९  आकाशमा चीलको चाल, पहरामा सर्पको चाल, समुद्रमा जहाजको चाल अनि तरुनी केटीसित हुँदा पुरुषको चाल। २०  परपुरुषसित लाग्ने स्त्रीको चाल यस्तो हुन्छ: उसले खान्छे र आफ्नो मुख पुछेपछि यसो भन्छे, “मैले केही गल्ती गरेकी छैनँ।”+ २१  धर्तीलाई हल्लाउने तीन वटा कुरा छन्‌; वास्तवमा चार वटा छन्‌, जुन धर्तीले सहनै सक्दैन: २२  दास राजा भएको,+ मूर्खको अगाडि खानाको छेलोखेलो भएको, २३  सबैको घृणापात्र भएकी स्त्री कसैकी पत्नी बनेको अनि दासीले आफ्नी मालिक्नीको ठाउँ लिएको।+ २४  पृथ्वीमा चार वटा जीव छन्‌, जुन अत्यन्तै साना छन्‌ तर तिनीहरूमा सहज ज्ञान हुन्छ:*+ २५  कमिला, जो बलिया छैनन्‌ तैपनि ग्रीष्म ऋतुमा खानेकुरा जम्मा गर्छन्‌।+ २६  भीरखरायो,+ जो बलवान्‌ जीव होइनन्‌ तैपनि तिनीहरूले पहरामा घर बनाउँछन्‌।+ २७  सलह,+ जसको राजा हुँदैन तैपनि तिनीहरू दल-दल बनाएर अघि बढ्‌छन्‌।+ २८  माउसुली,+ जो भित्तामा पनि हिँड्‌न सक्छन्‌ अनि जसलाई राजाको दरबारमा जान समेत कसैले रोक्न सक्दैन। २९  तीन वटा जीव छन्‌, जसको हिँडाइ रबाफिलो छ; वास्तवमा चार वटा छन्‌, जो फुर्तीसाथ हिँड्‌छन्‌: ३०  जनावरमा सबैभन्दा शक्‍तिशाली सिंह, जो कसैसित डराएर पछि हट्‌दैन;+ ३१  सिकारी कुकुर र बोका अनि सेनाको अघि-अघि हिँडेको राजा। ३२  यदि तिमीले आफैलाई उच्च पार्ने मूर्खता गरेका छौ+ वा त्यसो गर्ने योजना बनाइसकेका छौ भने चुपचाप बस।*+ ३३  दूध मथ्दा* घिउ निस्कन्छ, नाक निचोर्दा रगत निस्कन्छ अनि रिस उठाउँदा झगडा सुरु हुन्छ।+

फुटनोटहरू

वा “आगोले खारिएका।”
वा “निन्दा नगर।”
शा., “दिसासमेत।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा “वादीका।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।
वा “मलाई साह्रै अचम्म लागेका।”
वा “तिनीहरू अत्यन्तै बुद्धिमान्‌ हुन्छन्‌।”
शा., “हातले मुख छोप।”
वा “फिट्‌दा।”