सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले दिनुहुने बलबाट सान्त्वना पाउनुहोस्‌

यहोवाले दिनुहुने बलबाट सान्त्वना पाउनुहोस्‌

यहोवाले दिनुहुने बलबाट सान्त्वना पाउनुहोस्‌

“जब मेरो मनमा ज्यादा फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो।”–भजन ९४:१९.

दिलासा चाहने सबैका लागि बाइबल सान्त्वनादायी शब्दहरूले भरिएको छ। अतः द वर्ल्ड बूक इन्साइक्लोपीडिया-ले “अनगिन्ती मानिसहरूले समस्या अनि अन्योलमा परेको बेला सान्त्वना, आशा अनि निर्देशनका लागि बाइबल पल्टाएका छन्‌” भन्‍नु स्वाभाविकै हो। तर किन?

किनभने बाइबल “हामीलाई सबै दुःखमा सान्त्वना दिनु[हुने]” “सबै सान्त्वनाका परमेश्‍वर” हाम्रो मायालु सृष्टिकर्ताबाट प्रेरित भएको पुस्तक हो। (२ कोरिन्थी १:३, ४) उहाँ “उत्साहका परमेश्‍वर” हुनुहुन्छ। (रोमी १५:५, नयाँ संशोधित संस्करण) यहोवाले हामी सबैलाई राहत प्रदान गर्ने प्रबन्ध मिलाउनुभएर उदाहरण बसाल्नुभएको छ। हामीलाई आशा अनि आश्‍वासन दिन उहाँले आफ्नो एक मात्र पुत्र ख्रीष्ट येशूलाई यस पृथ्वीमा पठाउनुभयो। येशूले यस्तो शिक्षा दिनुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) यहोवा “हाम्रो बोझ दिनहुँ उठाउनुहुने . . . हामीलाई उद्धा[र] गर्नुहुने परमेश्‍वर” हुनुहुन्छ भनेर बाइबल वर्णन गर्छ। (भजन ६८:१९) ईश्‍वरभीरु मानवहरू निर्धक्क भई यसो भन्‍नसक्छन्‌: “मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु। किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ।”—भजन १६:८.

बाइबलका यस्ता अनुच्छेदहरूले हामी मानवजातिप्रति यहोवा परमेश्‍वरको गहिरो प्रेम प्रकट गर्छन्‌। हामी व्याकुल भइरहेको बेला हामीलाई प्रशस्त मात्रामा सान्त्वना दिने अनि हाम्रो पीडा कम गर्ने हार्दिक इच्छा उहाँसित हुनुका साथै क्षमता पनि छ भनेर यसबाट स्पष्ट हुन्छ। “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढ़ाइदिनुहुन्छ।” (यशैया ४०:२९) त्यसोभए, यहोवाले दिनुहुने बलबाट हामी कसरी सान्त्वना पाउनसक्छौं त?

यहोवाको मलमसरि हेरचाह

भजनरचयिताले लेखे: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजन ५५:२२) हो, यहोवा मानव परिवारमाथि चासो राख्नुहुन्छ। प्रेरित पत्रुसले प्रथम शताब्दीका मसीहीहरूलाई यसरी ढाडस दिए: “उहाँले [परमेश्‍वरले] तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:७) परमेश्‍वर मानिसहरूको कत्ति मोल गर्नुहुन्छ भनेर जोड दिनुहुँदै येशू ख्रीष्टले यसो भन्‍नुभयो: “के दुइ पैसामा पाँचवटा भँगेरा बिक्‍तैनन्‌? औ तीमध्ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। तर तिमीहरूको कपालको केशसमेत गनिएका छन्‌। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ़ता किम्मती छौ।” (लूका १२:६, ७) हामी परमेश्‍वरको नजरमा यत्ति मूल्यवान्‌ छौं कि उहाँ हाम्रो सानोभन्दा सानो कुरासमेत याद गर्नुहुन्छ। हामी आफैलाई आफूबारे थाह नभएका थुप्रै कुराहरू उहाँलाई थाह छ किनकि उहाँ हाम्रो चासो लिनुहुन्छ।

हामीप्रतिको यहोवाको यस्तो व्यक्‍तिगत चासो, यसअघिको लेखमा उल्लेख गरिएकी किशोरी वेश्‍या स्टेलानालाई असाध्यै सान्त्वनादायी लाग्यो। यहोवाका साक्षीहरूलाई भेट्‌दा तिनले आत्महत्या गर्नै लागेकी थिइन्‌। त्यसपछि तिनी बाइबल अध्ययन गर्न राजी भइन्‌ र यहोवा तिनको चासो लिनुहुने वास्तविक व्यक्‍ति हुनुहुँदो रहेछ भनेर चिन्‍ने मदत पाइन्‌। यसले तिनको हृदय छोयो र तिनलाई आफ्नो जीवनशैली परिवर्तन गर्नुका साथै यहोवालाई जीवन समर्पण गर्न उत्प्रेरित गऱ्‍यो। यसले स्टेलानालाई समस्याको बावजूद डटिरहन आत्मसम्मान प्रदान गऱ्‍यो भने जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मदत गऱ्‍यो। तिनी अहिले बताउँछिन्‌, “यहोवाले मलाई कहिल्यै त्याग्नु हुनेछैन भन्दै म विश्‍वस्त छु। पहिलो पत्रुस ५:७ मा लेखिएको कुरा मैले शतप्रतिशत सही पाएँ। त्यहाँ यस्तो लेखिएको छ: ‘तिमीहरूका सारा फिक्री [यहोवामाथि] राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।’ ”

बाइबलमा आधारित आशाबाट सान्त्वना

परमेश्‍वरले सान्त्वना दिनुहुने एउटा खास माध्यम उहाँको लिखित वचन हो जसमा भविष्यको अद्‌भुत आशा छ। प्रेरित पावलले लेखे: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) पावलले यस्तो लेखेर साँचो आशा र सान्त्वनाबीचको सम्बन्ध स्पष्ट पारे: “अब . . . हामीलाई प्रेम गर्नुहुने र अनुग्रहबाट अनन्त शान्ति र उत्तम आशा दिनुहुने परमेश्‍वर हाम्रा पिताले तिमीहरूका हृदयलाई सान्त्वना दिऊन्‌, र सबै उत्तम काम र वचनमा स्थिर गराऊन्‌।” (२ थिस्सलोनिकी २:१६, १७) यो “उत्तम आशा[मा]” सिद्ध, आनन्दित र यस पार्थिव प्रमोदवनमा कहिल्यै अन्त नहुने जीवन समावेश छ।—२ पत्रुस ३:१३.

यस्तो पक्का अनि उज्ज्वल आशाले अघिल्लो लेखमा उल्लेख गरिएका जँड्याहा पक्षाघाती लाइमनिसलाई प्रोत्साहित गऱ्‍यो। यहोवाका साक्षीहरूको बाइबल आधारित साहित्यहरूमा परमेश्‍वरको राज्यमा पूर्णतया स्वस्थ हुनसक्छन्‌ भन्‍ने कुरा पढ्‌न पाउँदा तिनी रमाए। तिनले बाइबलमा चमत्कारी ढंगमा निको भइने यस्तो उज्जवल प्रतिज्ञा पाए: “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्‌गड़ा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ।” (यशैया ३५:५, ६) त्यस प्रमोदवनमा जीवन बिताउन योग्यको हुन लाइमनिसले आफ्नो जीवनमा थुप्रै परिवर्तनहरू गरे। तिनले जाँडरक्सी खान छोडे। तिनमा आएको परिवर्तन तिनका छिमेकी र तिनलाई चिन्‍नेहरू सबैले देखे। तिनी अहिले थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गरेर अरूसित बाइबल आधारित आशाले दिने सान्त्वना बाँडिरहेका छन्‌।

प्रार्थनाको भूमिका

कुनै कारण यदि हाम्रो मन भाँचिएको छ भने, यहोवालाई प्रार्थना गरेर हामी सान्त्वना पाउनसक्छौं। यसो गर्दा हाम्रो बोझ धेरै हलुका हुन्छ। अन्तरबिन्ती गर्दा परमेश्‍वरको वचनमा भएका कुराहरू सम्झेर हामी सान्त्वना पाउनसक्छौं। बाइबलको सबैभन्दा लामो भजन एउटा सुन्दर प्रार्थनासरि छ। त्यसका रचयिताले यसरी गाए: “हे परमप्रभु, मैले तपाईंको उहिलेको न्याय-वचन सम्झेको छु, र सान्त्वना पाएको छु।” (भजन ११९:५२) अत्यन्त कठिन अवस्थामा पनि विशेष गरी स्वास्थ्य समस्यामा परेकाहरूलाई आफ्नो अवस्था बुझ्न गाह्रो परिरहेको हुन्छ। हाम्रो आफ्नै शक्‍तिमा भर पर्दा कसकहाँ सान्त्वना खोज्ने भनी थाह नहुनसक्छ। आफ्नो क्षमताले भ्याएसम्म गरिसकेपछि परमेश्‍वरलाई प्रार्थना गर्दा एकदमै सान्त्वना पाएको थुप्रै मानिसहरूले महसुस गरेका छन्‌ भने कहिलेकाहीं समस्याको समाधानै नदेख्दा पनि प्रार्थना गर्दा सान्त्वना पाएको महसुस गरेका छन्‌।—१ कोरिन्थी १०:१३.

अस्पतालको आकस्मिक कक्षमा हतार हतार पुऱ्‍याइएकी प्याटलाई प्रार्थनाले दिने सान्त्वना राम्ररी थाह छ। निको भइसकेपछि तिनले यसो भनिन्‌: “मैले यहोवालाई प्रार्थना गरें र उहाँको इच्छाअनुसारै होस्‌ भनेर आफ्नो जीवन उहाँको हातमा सुम्पनुपर्छ भनेर मैले राम्ररी बुझें। म हतास भइनँ; किनकि मैले फिलिप्पी ४:६, ७ मा उल्लिखित परमेश्‍वरको शान्ति महसुस गरिरहेको थिएँ।” यी पदहरू हामी सबैका लागि कत्ति सान्त्वनादायी हुनसक्छन्‌! त्यहाँ पावल हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”

सान्त्वनादाता पवित्र आत्मा

प्रेरितहरूलाई, आफ्नो मृत्युको अघिल्लो रात येशूले तिनीहरूलाई छोडेर जाँदै हुनुहुन्छ भनेर स्पष्ट पार्नुभयो। यो सुनेर तिनीहरू व्याकुल भए, शोकाकुल भए। (यूहन्‍ना १३:३३, ३६; १४:२७-३१) तिनीहरूलाई सान्त्वनाको आवश्‍यकता परिरहनेछ भन्‍ने बुझेर येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता [“सान्त्वनादाता,” NW, पादटिप्पणी] दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ।” (यूहन्‍ना १४:१६) येशू यहाँ परमेश्‍वरको पवित्र आत्मालाई संकेत गर्दै हुनुहुन्थ्यो। परमेश्‍वरको आत्माले प्रेरितहरूलाई धेरै कुराहरूमा मदत गऱ्‍यो। जस्तै: परीक्षाहरूमा तिनीहरूलाई सान्त्वना दियो र परमेश्‍वरको इच्छा गरिरहन तिनीहरूलाई सुदृढ बनायो।—प्रेरित ४:३१.

आफ्नो श्रीमान्‌ले गम्भीर दुर्घटनाका कारण झन्डै ज्यान गुमाउनु पर्दा एञ्जी सम्पूर्ण पीर मर्का र कष्टप्रद अवस्थाको सामना गर्न सफल भइन्‌। तिनलाई कुन कुराले मदत गऱ्‍यो? तिनी भन्छिन्‌: “यहोवाको पवित्र आत्माको मदतबिना हामी यस्तो अवस्थामा टिक्नसक्ने थिएनौं। निस्सन्देह, यहोवाको शक्‍ति हाम्रा कमजोरीहरू मार्फत प्रकट भएका छन्‌ र पीर मर्काको समयमा उहाँ हाम्रो बलियो गढ साबित हुनुभएको छ।”

सान्त्वनादायी भ्रातृत्व

जीवनमा जस्तोसुकै अवस्था आइपरे तापनि, जस्तोसुकै पीडादायी अवस्था भोग्नुपरे तापनि हरेकले यहोवाको मण्डलीमा व्याप्त भ्रातृत्वबाट सान्त्वना पाउनसक्छन्‌। यो भ्रातृत्वले आध्यात्मिक तवरमा समर्थन गर्नुका साथै यससित संगत गर्नेहरूलाई मदत दिन्छ। यहाँ, जो कसैले पनि चासो दिने, सान्त्वना दिने र मायालु साथीहरू पाउनसक्छन्‌, समस्यामा परेकाहरूलाई मदत र सान्त्वना दिन तयार हुनुका साथै इच्छुक छन्‌।—२ कोरिन्थी ७:५-७.

मसीही मण्डलीका सदस्यहरूलाई “सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम” गर्न सिकाइएको छ। (गलाती ६:१०) तिनीहरूले हासिल गरेको बाइबल आधारित शिक्षाले तिनीहरूलाई एकअर्काप्रति भ्रातृप्रेम र कोमल माया प्रकट गर्न उत्प्रेरित गर्छ। (रोमी १२:१०; १ पत्रुस ३:८) मण्डलीका आध्यात्मिक भाइबहिनीहरू दयालु, सान्त्वनादायी र कोमल मनको हुन उत्प्रेरित भएका छन्‌।—एफिसी ४:३२.

दुर्घटनामा आफ्नो छोरा गुमाउनु परेका जो र रिबेकाले मसीही मण्डलीका सदस्यहरूबाट यस्तो सान्त्वनादायी समर्थन पाए। तिनीहरू भन्छन्‌: “यहोवा र उहाँको मायालु मण्डलीले हामीलाई यस्तो कठिन अवस्थामा सम्हाल्यो। हामीले सयौं कार्ड, पत्रहरू पायौं, हामीलाई सयौं फोनहरू आए। यी सबले गर्दा हामीले हाम्रो भ्रातृत्व कत्तिको बहुमूल्य रहेछ भनेर मूल्यांकन गर्नसक्यौं। छोराको दुर्घटनाको कारण होस गुम भएको बेला स्थानीय मण्डलीका भाइबहिनीहरू हामीलाई सघाउन, खानाको प्रबन्ध मिलाउन र घर सफा गर्न आएका थिए।”

सान्त्वना प्राप्त गर्नुहोस्‌ !

दुःखकष्टको हावाको झोक्काले हान्दा र क्लेशको पानी र असिना क्रुरतासाथ बज्रदाँ परमेश्‍वर सान्त्वनादायी सुरक्षा प्रदान गर्न तयार हुनुहुन्छ। एउटा भजनले उहाँको सान्त्वनादायी आश्रयबारे त्यसरी नै व्याख्या गरेको छ: “उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ, र उहाँका पखेटामनि तिमीले शरण लिनेछौ, उहाँको सत्यता सानो ढाल र ठूलो ढाल हो।” (भजन ९१:४) यहाँ चीलको चित्रण गरिएको छ। र चील, खतरा चाल पाइहाल्ने र त्यसपछि आफ्ना बचेराहरूलाई जोगाउन पखेटा फिंजाउने चराको नाउँ हो। यहोवा उहाँको शरण लिनेहरूजति सबैको निम्ति त्योभन्दा महान्‌ संरक्षक हुनुहुन्छ।—भजन ७:१.

परमेश्‍वर, उहाँको व्यक्‍तित्व, उहाँका उद्देश्‍यहरू र सान्त्वना दिने उहाँको क्षमताबारे अझ धेरै थाह पाउन चाहनुहुन्छ भने उहाँको वचन अध्ययन गर्ने निम्तो तपाईंलाई पनि छ। यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न तयार छन्‌। हो, तपाईं पनि यहोवाले दिनुहुने बलबाट सान्त्वना पाउन सक्नुहुन्छ!

[पृष्ठ ७-मा भएका चित्रहरू]

बाइबल आधारित भविष्यको आशाले सान्त्वना दिनसक्छ