सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख

अपराधको सिकार हुनदेखि जोगिनुहोस्‌!

अपराधको सिकार हुनदेखि जोगिनुहोस्‌!

“अक्सर अँध्यारो भएपछि मलाई साथीहरूले घर पुऱ्‍याइदिने गर्थे। तर एक दिन मलाई असाध्यै थकाइ लागेकोले ट्याक्सीमा जाने निर्णय गरें।

“तर ट्याक्सी ड्राइभरले मलाई सुनसान खेततिर लग्यो र बलात्कार गर्न खोज्यो। म भएभरको बलले चिच्याएँ र त्यो ड्राइभर पछि हट्यो। तिनी फेरि मेरो नजिक आउन खोज्दा म चिच्याएँ र भागें।

“‘चिच्याएर पनि मदत हुन्छ र!’ जस्तो मलाई लाग्थ्यो। तर मेरो सोचाइ कत्ति गलत रहेछ भनेर अहिले राम्ररी बुझें।”—मिना। *

थुप्रै देशमा अपराध द्रुत गतिमा बढिरहेको छ। उदाहरणको लागि, एउटा देशको न्यायाधीशले यस्तो भने: “यो एउटा तीतो सत्य हो, सबै जना कुनै न कुनै समय अपराधको सिकार त भइहाल्छन्‌ नै, यो केवल सम्भावनाको कुरा होइन।” कुनै-कुनै ठाउँमा अपराधका घटना छिटपुट मात्र हुने गर्छ होला। तैपनि ढुक्क भएर बस्नु बुद्धिमानी होइन। ढुक्क भएर बस्दा हामी अपराधको सिकार बन्‍न सक्छौं।

तपाईं बस्नुहुने ठाउँमा अपराधको बिगबिगी होस्‌ वा नहोस्‌, तपाईं कसरी आफ्नो र आफ्ना प्रिय व्यक्‍तिहरूको जीवन सुरक्षित बनाउन सक्नुहुन्छ? तपाईंले चाल्न सक्ने एउटा व्यावहारिक कदम भनेको बाइबलको यो सिद्धान्त पालन गर्नु हो: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) प्रहरीहरूले पनि सुरक्षित रहने सबैभन्दा राम्रो उपाय भनेको अपराध हुने ठाउँमा पर्दै नपर्नु हो भनेर बताउँछन्‌।

अपराधको कारण मानिसहरूले शारीरिक चोट र भौतिक क्षति मात्र भोग्ने गर्दैनन्‌। तिनीहरू जिन्दगीभर मानसिक र भावनात्मक तवरमा पीडित हुन सक्छन्‌। त्यसैले सुरक्षाको लागि आफ्नोतर्फबाट सक्दो गर्नु कत्ति महत्त्वपूर्ण छ! यस कुरालाई मनमा राख्दै तपाईंले चार किसिमका अपराधबाट आफूलाई सुरक्षित राख्न के-कस्ता कदम चाल्न सक्नुहुन्छ, आउनुहोस्‌ हेरौं। ती अपराध हुन्‌, चोरी-डकैती, यौन आक्रमण, साइबर अपराध र पहिचान चोरी।

चोरी-डकैती

यो भनेको के हो? चोरी-डकैती भनेको अर्काको धनमाल जबरजस्ती वा धम्की दिएर लुट्‌नु हो।

यसले मानिसहरूलाई कसरी असर गर्छ? बेलायतमा शृङ्‌खलाबद्ध रूपमा हातहतियारसहित डकैतीका घटनाहरू भए। त्यसको सिकार भएकाहरूले कुनै शारीरिक चोट भोग्नु नपरे तापनि मानसिक पीडा भने खेप्नुपरेको एक जना अधिवक्‍ताले बताइन्‌। तिनी भन्छिन्‌, “तिनीहरूमध्ये केहीले आफूलाई चिन्ता र अनिद्राले सताएको बताए। साथै सबैजसोले त्यस घटनाले गर्दा आफ्नो दिनचर्यामा प्रतिकूल असर पारेको बताए।”

तपाईं के गर्न सक्नुहुन्छ?

  • चोरहरू मौका ढुकेर बस्छन्‌; आफू वरपरको कुराबारे चनाखो रहनुहोस्‌

    सावधान हुनुहोस्‌। चोरहरू मौका ढुकेर बस्छन्‌। तिनीहरूले होसियार नभएकाहरूलाई आफ्नो सिकार बनाउँछन्‌। त्यसैले तपाईंलाई कसैले हेरिरहेका छन्‌ कि याद गर्नुहोस्‌, आफू वरपरको कुराबारे चनाखो रहनुहोस्‌ र अचाक्ली पिएर वा लागू पदार्थ दुरुपयोग गरेर होस नगुमाउनुहोस्‌। स्वास्थ्यसम्बन्धी एउटा विश्‍वकोश यसो भन्छ: “रक्सी पिएको वा लागू पदार्थ सेवन गरेको मान्छेले राम्ररी सोचविचार गर्न र सम्भाव्य खतरा पहिल्याउन सक्दैन।”

  • आफ्नो धनमालको सुरक्षा गर्नुहोस्‌। सवारीसाधन र घरका झ्याल-ढोकाहरू राम्ररी बन्द गर्नुहोस्‌। नचिनेको मानिसलाई घरभित्र कहिल्यै नहुल्नुहोस्‌। बहुमूल्य कुराहरू अरूले देख्नेगरि नराख्नुहोस्‌। हितोपदेश ११:२ मा यसो भनिएको छ, “चातुर्यमा बुद्धि हुन्छ।” चोरहरू, चाहे तिनीहरू बच्चा नै किन नहोऊन्‌, तिनीहरूले अक्सर महँगा-महँगा गहना र इलेक्ट्रोनिक सामान लिएर हिंड्‌ने मानिसहरूलाई आफ्नो तारो बनाउँछन्‌।

  • सल्लाह लिनुहोस्‌। “मूर्ख मानिसले आफू सधैं ठीक छु भनी सम्झन्छ, तर बुद्धिमान्‌ मानिसले अरूको सल्लाहलाई सुन्छ।” (हितोपदेश १२:१५) तपाईं यात्रा गर्दै हुनुहुन्छ भने भरोसायोग्य मानिसहरू जस्तै स्थानीय अधिकारीहरूको कुरा सन्‍नुहोस्‌। तिनीहरूले तपाईंलाई कुन ठाउँमा जानु उपयुक्‍त छैन र आफू अनि आफ्नो सामानको सुरक्षा कसरी गर्ने भनेर सल्लाह दिन सक्छन्‌।

यौन आक्रमण

यो भनेको के हो? यौन आक्रमण भनेको बलात्कार मात्र होइन; यसमा डर धम्की देखाई यौन दुर्व्यवहार गर्नु पनि मुछिएको छ।

यसले मानिसहरूलाई कसरी असर गर्छ? बलात्कारको सिकार भएकी एक महिलाले यसो भनिन्‌: “दुःखलाग्दो कुरा के हो भने आफूमाथि यौन दुर्व्यवहार भइरहँदा मात्र यसले असर गर्ने होइन। जिन्दगीभर पिरोल्छ र जीवनप्रतिको सोचाइ नै बदलिदिन्छ। तपाईंलाई माया गर्ने मानिसहरूको जीवनलाई पनि असर गर्छ।” पक्कै पनि बलात्कृत व्यक्‍ति दोषी होइन; दोषी त आक्रमणकारी हो।

तपाईं के गर्न सक्नुहुन्छ?

  • आफ्नो भित्री आवाज सुन्‍नुहोस्‌। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको प्रहरी विभागले यस्तो सुझाव दियो, “तपाईंलाई कुनै ठाउँमा वा कोही व्यक्‍तिसित असजिलो वा अप्ठ्यारो महसुस भयो भने त्यहाँबाट निस्किहाल्नुहोस्‌। तपाईंको भित्री आवाजले त्यहाँ नबस्न भन्छ भने कसैले कर गरे तापनि नसुन्‍नुहोस्‌।”

  • सचेत र निर्धक्क हुनुहोस्‌। यौन आक्रमणकारीहरूले होसियार नरहनेहरूलाई र कमजोरहरूलाई आफ्नो सिकार बनाउँछन्‌। निर्धक्क भई हिंड्‌नुहोस्‌ र चनाखो रहनुहोस्‌।

  • तुरुन्तै कदम चाल्नुहोस्‌। चिच्याउनुहोस्‌। (व्यवस्था २२:२५-२७) भाग्नुहोस्‌ वा आक्रमणकारी अलमलमा पर्ने गरी प्रतिकार गर्नुहोस्‌। अनि सकिन्छ भने सुरक्षित ठाउँमा भाग्नुहोस्‌ र प्रहरीलाई खबर गर्नुहोस्‌। *

साइबर अपराध

यो भनेको के हो? साइबर अपराधले इन्टरनेटमार्फत गरिने अपराधलाई बुझाउँछ। यसमा कर छल्नु, आफूले नपाउने सरकारी सुविधाहरू लिनु, इन्टरनेटमार्फत किनेका सामानहरू नपठाउनु र क्रेडिट कार्ड ठगी समावेश छ। यसमा शङ्‌कास्पद लगानी र इन्टरनेटमार्फत लिलामी गर्ने नाममा ठगी गर्नु पनि समावेश छ।

यसले मानिसहरूलाई कसरी असर गर्छ? साइबर अपराधको कारण यसका सिकार भएकाहरूले मात्र होइन तर पूरै समाजले अरबौंको क्षति भोग्नुपर्छ। एउटा उदाहरण विचार गर्नुहोस्‌। सुनिताले एउटा ईमेल पाइन्‌। तिनले त्यो ईमेल आफ्नो बैंकले पठाएको भन्ठानिन्‌। उक्‍त ईमेलमा अनलाइन बैंकिङसम्बन्धी तिनका नवीनतम जानकारीहरू पठाउन आग्रह गरिएको थियो। जानकारीहरू पठाएको केही छिनमै तिनको खाताबाट ४,००० अमेरिकी डलर (ने.रु. ३,४६,९८८) गायब भयो। सुनिताले आफू ठगिएको चाल पाइहालिन्‌।

तपाईं के गर्न सक्नुहुन्छ?

  • सचेत रहनुहोस्‌! आकर्षक देखिने वेब साइटहरूको बहकाउमा नपर्नुहोस्‌। यो कुरा मनमा राख्नुहोस्‌, मान्यता प्राप्त वित्तीय संस्थाहरूले तपाईंको गोप्य जानकारीहरू ईमेलमा पठाउन भन्दैन। इन्टरनेटमार्फत किनमेल वा लगानी गर्नुअघि कम्पनी कत्तिको भरपर्दो छ पक्का गर्नुहोस्‌। हितोपदेश १४:१५ यसो भन्छ, “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।” विदेशमा रहेको कम्पनीसित राम्ररी सोचविचार गरेर मात्र कारोबार गर्नुहोस्‌। समस्या परेमा सुल्झाउन एकदमै गाह्रो हुन्छ।

  • कम्पनी र यसको नीतिनियम राम्ररी बुझ्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘कम्पनीको अफिस कहाँ छ? फोन नम्बर ठीक छ? सामान किन्दा मलाई थप शुल्क तिराउने हो कि? मगाएको सामान कहिले आइपुग्छ? के सामान फिर्ता गर्न मिल्छ वा पैसा फिर्ता पाइन्छ?’

  • प्रस्ताव निकै आकर्षक देखिएमा नपत्याउनुहोस्‌। अनलाइन चोरहरूले लोभीहरू अनि आफ्नो एक पैसा पनि लगानी नगरी धेरै पाउन चाहनेहरूलाई तारो बनाउँछन्‌। तिनीहरूले यस्ता पासोहरू थाप्न सक्छन्‌: थोरै काम गरेर धेरै कमाउने, ऋण वा क्रेडिट कार्ड पाउन योग्य नभए तापनि उपलब्ध गराइदिने, “कम जोखिमपूर्ण” लगानी गरेर धेरै पैसा कमाउने। अमेरिकाको सङ्‌घीय व्यापार आयोग यस्तो सल्लाह दिन्छ, “लगानीको लागि प्रस्ताव आउँदा यो वैध हो कि होइन, राम्ररी जाँच्नुहोस्‌। लगानी गरेबापत पाइने रकम जत्ति धरै हुन्छ जोखिम पनि त्यत्ति नै धेरै हुन्छ। प्रस्ताव वैध हो कि होइन राम्ररी नबुझिकन लगानी गरिहाल्ने दबाबमा नपर्नुहोस्‌।”

पहिचान चोरी

यो भनेको के हो? पहिचान चोरी भनेको गैरकानुनी रूपमा अरूको व्यक्‍तिगत जानकारीहरू प्राप्त गर्नु र ती जानकारी ठगी गर्न वा कुनै अपराध गर्न प्रयोग गर्नु हो।

यसले मानिसहरूलाई कसरी असर गर्छ? क्रेडिट कार्ड वा ऋण लिन वा नयाँ खाता खोल्न चोरहरूले तपाईंको व्यक्‍तिगत जानकारीहरू प्रयोग गर्न सक्छन्‌। अनि तिनीहरूले तपाईंको नाममा टन्‍नै ऋण लिन्छन्‌। पछि तपाईं ऋण मिनाहा गराउन सफल भए तापनि आफ्नो नाममा लागेको दाग मेटाउन वर्षौं लाग्न सक्छ। पहिचान चोरीको सिकार भएका एक जना मानिसले यसो भने, “कालोसूचीमा पर्नु जत्तिको नराम्रो कुरा अरू केही छैन। यसले सबै कुरामा असर गर्छ। पैसा चोरी हुनुभन्दा पनि नराम्रो।”

तपाईं के गर्न सक्नुहुन्छ?

  • गोप्य जानकारीहरू सुरक्षित राख्नुहोस्‌। तपाईं अनलाइन बैङ्‌किङ वा किनमेल गर्नुहुन्छ भने पासवर्ड नियमित रूपमा परिवर्तन गर्नुहोस्‌। सार्वजनिक कम्प्युटर चलाउनुहुन्छ भने त यसो गर्नु झनै जरुरी छ। अनि माथि बताइएझैं गोप्य जानकारीहरू पठाउन आग्रह गरिएका ईमेलहरू पाउनुभयो भने नपत्याउनुहोस्‌।

    पहिचान चोरहरूले कम्प्युटर मात्र प्रयोग गर्दैनन्‌। तिनीहरूले महत्त्वपूर्ण कागजपत्रहरू जस्तै बैंकको स्टेटमेन्ट, चेकबुक, क्रेडिट कार्ड र परिचय-पत्र नम्बर हासिल गर्न जुनसुकै तरिका अपनाउँछन्‌। त्यसैले यस्ता कागजपत्र सुरक्षित राख्नुहोस्‌ र फ्याँक्नुपर्दा सबै च्यातचुत पारेर फाल्नुहोस्‌। तपाईंको कुनै कागजपत्र हराएको वा चोरी भएको शङ्‌का लाग्नेबित्तिकै रिपोर्ट गरिहाल्नुहोस्‌।

  • खाताको हिसाब राखिराख्नुहोस्‌। सङ्‌घीय व्यापार आयोग यसो भन्छ, “सजगता पहिचान चोरीविरुद्धको सशक्‍त हतियार हो। पहिचान चोरीको खतराबारे पहिला नै चाल पाउँदा धेरै क्षति भोग्नदेखि जोगिन सक्छौं।” त्यसैले समय-समयमा तपाईंको खातामा कति पैसा छ र शङ्‌का लाग्ने केही कारोबार भएको छ कि हेर्नुहोस्‌। शङ्‌कास्पद कारोबार भएको याद भएलगत्तै बैंकले आफ्ना ग्राहकहरूलाई जानकारी दिन्छ। * तैपनि आफ्नो खाताको स्टेटमेन्ट र क्रेडिट कार्ड कहाँ कति चलाइयो भनेर रिपोर्ट पाउनेबित्तिकै राम्ररी हेर्नुहोस्‌।

हो, आजको संसारमा कुनै कुराको ग्यारेन्टी छैन। एकदमै सचेत व्यक्‍ति पनि अपराधको सिकार हुन सक्छ। तैपनि बाइबलमा पाइने बुद्धि र समझ प्राप्त गर्दा हामीले सधैं लाभ उठाउन सक्छौं। “त्यसलाई नत्याग्‌ र त्यसले तँलाई सुरक्षित राख्नेछ, त्यसलाई प्रेम गर्‌ र त्यसले तेरो रक्षा गर्नेछ।” (हितोपदेश ४:६) अझै खुसीको कुरा त बाइबलले अपराध नामेट हुनेछ भनेर प्रतिज्ञा गरेको छ।

चाँडै अपराधको अन्त हुनेछ

परमेश्‍वरले अपराधको नामोनिसानै नरहनेगरि हटाइदिनुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौं? तल दिइएका कुरा विचार गर्नुहोस्‌:

  • परमेश्‍वर अपराधको अन्त गर्न चाहनुहुन्छ “म, परमप्रभुचाहिं, न्यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्छ।”—यशैया ६१:८, NRV.

  • उहाँसित अपराधको अन्त गर्न सक्ने शक्‍ति छ। “परमेश्‍वर अत्यन्त शक्‍तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ।”—अय्यूब ३७:२३, पढ्‌न सजिलो संस्करण.

  • उहाँले दुष्टहरूलाई नाश गर्ने र असल मानिसहरूलाई जोगाउने प्रतिज्ञा गर्नुभएको छ। “कुकर्मीहरू नष्ट हुनेछन्‌।” “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:९, २९.

  • उहाँले आफ्ना वफादार जनहरूलाई शान्तिमय नयाँ संसारको प्रतिज्ञा गर्नुभएको छ। “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:११.

के यी शब्दहरूले तपाईंको मन छोयो? त्यसोभए मानिसजातिको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍यबारे अझ धेरै कुरा सिक्न कृपया बाइबल अध्ययन गर्न समय निकाल्नुहोस्‌। अरू कुनै किताबले यति धेरै व्यावहारिक बुद्धि दिंदैन। अनि अरू कुनै किताबले अपराध मुक्‍त संसारबारे साँचो आशा प्रदान गर्दैन। * (g13-E 05)

परमेश्‍वरले शान्तिमय नयाँ संसारको प्रतिज्ञा गर्नुभएको छ, त्यहाँ अपराध हुनेछैन

^ नामहरू परिवर्तन गरिएका छन्‌।

^ अक्सर चिनेजानेका मानिसहरूबाट नै यौन आक्रमणका घटना हुने गर्छन्‌। थप जानकारीको लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड १ (अङ्‌ग्रेजी) किताबको पृष्ठ २२८ मा “यौन आक्रमणकारीहरूबाट मैले आफूलाई कसरी जोगाउने?” शीर्षक भएको अध्याय हेर्नुहोस्‌। यो किताब www.jw.org मा पनि उपलब्ध छ।

^ कुनै-कुनै देशमा भरपर्दो संस्थाहरूले सशुल्क तपाईंको खाता जाँच गरिदिन्छ र कुनै परिवर्तन वा शङ्‌कास्पद केही कुरा देख्नेबित्तिकै तपाईंलाई खबर गर्छ।

^ महत्त्वपूर्ण बाइबल शिक्षाहरूबारे थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताब हेर्नुहोस्‌। यहोवाका साक्षीहरूबाट यस किताबको एक प्रति पाउनुहोस्‌ वा यो www.jw.org मा अनलाइन पढ्‌नुहोस्‌।