सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

विश्‍वव्यापी मूल्यवृद्धि—यसबारे बाइबल के भन्छ?

विश्‍वव्यापी मूल्यवृद्धि—यसबारे बाइबल के भन्छ?

 विश्‍व बैङ्‌क समूहका अध्यक्षले जून २०२२ को रिपोर्टमा यस्तो चेतावनी दिए: “विश्‍व अर्थतन्त्र फेरि एकपटक खतरामा छ। मूल्यवृद्धिले आकाश छोएको छ र आर्थिक समस्याले गर्दा मानिसहरूलाई घर खर्च चलाउन धौधौ परेको छ।”

 अन्तरराष्ट्रिय मुद्रा कोषका अनुसार “पेट्रोलियम पदार्थ र खानेकुराको मूल्य तीव्र गतिले बढेको छ। यसले गर्दा गरिब देशका मानिसहरू सबैभन्दा धेरै मारमा परेका छन्‌।”

 हामी किन यस्ता आर्थिक समस्याहरू भोग्दै छौँ, यसको सामना कसरी गर्न सक्छौँ र यस्ता समस्याहरूको स्थायी समाधान के हो भनेर बुझ्न बाइबलले हामीलाई मदत गर्छ।

“अन्तको दिनमा” मूल्यवृद्धि

  •    बाइबलमा हामी बाँचिरहेको समयलाई “अन्तको दिन” भनिएको छ।—२ तिमोथि ३:१.

  •    येसुले अन्तको दिनमा “भयानक दृश्‍यहरू” देखिनेछन्‌ भनेर बताउनुभयो। (लुका २१:११) यसको मतलब संसारमा डरलाग्दा घटनाहरू घट्‌ने थिए। उच्च मूल्यवृद्धिले गर्दा मानिसहरूमा डर पैदा भएको छ। तिनीहरू आफ्नो भविष्यबारे र परिवारको पालनपोषण गर्न नसकिने हो कि भनेर चिन्ता गर्छन्‌।

  •    हामी बाँचिरहेको समयमा खानेकुरा असाध्यै महँगो हुनेछ भनेर प्रकाशको किताबमा भविष्यवाणी गरिएको छ। “एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, ‘एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ।’”—प्रकाश ६:६, नयाँ संशोधित संस्करण।

 “अन्तको दिन” र प्रकाशको किताबमा बताइएको भविष्यवाणीबारे थप कुरा बुझ्न इस्वी संवत्‌ १९१४ देखि संसार परिवर्तन भएको छ भन्‍ने भिडियो हेर्नुहोस्‌ र “चार घोडसवार—तिनीहरू को हुन्‌?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

सम्पूर्ण आर्थिक समस्याको समाधान

  •    “तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌। तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन; तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।”—यसैया ६५:२१, २२.

  •    “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।”—भजन ७२:१६.

  •    “यहोवा भन्‍नुहुन्छ, ‘दीनदुःखी थिचोमिचोमा परेकोले, गरिबले सुस्केरा हालेकोले म तिनीहरूको पक्षमा खडा हुनेछु।’”—भजन १२:५. a

 ईश्‍वरले अब चाँडै एउटा देशबाट मात्र होइन, पूरै संसारबाट आर्थिक समस्याहरूको अन्त गर्नुहुनेछ। उहाँले यो कसरी गर्नुहुनेछ भनेर थाह पाउन “के आर्थिक समानता सम्भव छ?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

 तर आज पनि बाइबलले तपाईँलाई बढ्‌दो महँगीको सामना गर्न मदत गर्न सक्छ। कसरी? बाइबलमा बुद्धिमानीपूर्वक पैसाको प्रयोग गर्नेबारे व्यावहारिक सुझाव पाइन्छ। (हितोपदेश २३:४, ५; उपदेशक ७:१२) यसबारे थप कुरा जान्‍न “पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌” र “कम खर्चमा कसरी गुजारा टार्ने” भन्‍ने लेखहरू पढ्‌नुहोस्‌।

a ईश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.