सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आवरण लेख | मृत्यु सबै कुराको अन्त हो?

मृत्यु सबै कुराको अन्त होइन!

मृत्यु सबै कुराको अन्त होइन!

बेथानी भन्ने सानो गाउँ यरूशलेमबाट तीन किलोमिटर पर थियो। (यूहन्ना ११:१८) येशूको मृत्युभन्दा केही हप्ताअघि त्यहाँ एउटा दुःखद घटना भयो। येशूको मिल्ने साथी लाजरस अचानक सिकिस्त बिरामी परे र मरे।

सुरुमा यो खबर पाएपछि येशूले आफ्ना चेलाहरूलाई लाजरस सुतेका छन्‌ र म त्यहाँ तिनलाई निद्राबाट ब्यूँझाउन जाँदैछु भन्नुभयो। (यूहन्ना ११:११) तर चेलाहरूले उहाँको कुरा बुझेनन्‌। त्यसैले उहाँले तिनीहरूलाई सीधै यसो भन्नुभयो: “लाजरस मरिसकेका छन्‌।”—यूहन्ना ११:१४.

लाजरस मरेको चार दिनपछि येशू बेथानी आइपुग्नुभयो र तिनकी दिदी मार्थालाई सान्त्वना दिनुभयो। त्यतिबेला मार्थाले यसो भनिन्‌: “तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” (यूहन्ना ११:१७, २१) येशूले यस्तो जवाफ दिनुभयो: “पुनर्जीवन र जीवन मै हुँ। जसले ममाथि विश्वास गर्छ, ऊ मऱ्यो भने पनि फेरि जीवित हुनेछ।”—यूहन्ना ११:२५.

“ए लाजरस, बाहिर आऊ!”

आफूले खोक्रो वचन मात्र दिइरहेको होइन भनेर देखाउन येशू लाजरसलाई गाडेको ठाउँमा जानुभयो र ठूलो स्वरमा यसो भन्नुभयो: “ए लाजरस, बाहिर आऊ!” (यूहन्ना ११:४३) अनि त्यहाँ भएका सबै मानिस तीन छक पर्नेगरि मरिसकेका लाजरस ब्यूँतिए।

येशूले यसभन्दा अघि कम्तीमा पनि अर्को दुई जनालाई पुनर्जीवित पार्नुभएको थियो। एकचोटि उहाँले याइरसकी सानी छोरीलाई मृत्युबाट ब्यूँताउनुभएको थियो। तिनलाई ब्यूँताउनुअघि पनि येशूले ऊ निदाइरहेकी छे भन्नुभएको थियो।—लूका ८:५२.

याद गर्नुहोस्, लाजरस अनि याइरसकी छोरीको समयमा पनि येशूले मरेकाहरूलाई ‘निदाइरहेका’ छन्‌ भनेर बताउनुभयो। मृत्युको तुलना निद्रासित गर्नु एकदमै सुहाउँदो छ। किन? गहिरो निद्रामा पर्दा हामी केही चाल पाउँदैनौं। पीडा अनि दुःखकष्ट भोग्न नपर्ने अवस्थालाई बुझाउन यो तुलना उपयुक्त छ। (उपदेशक ९:५;  “मृत्यु गहिरो निद्रा जस्तै हो” भन्ने तलको पेटी हेर्नुहोस्।) येशूका सुरु-सुरुका चेलाहरूले मरिसकेकाहरूको अवस्थाबारे राम्ररी बुझेका थिए। “येशूका अनुयायीहरूको लागि मृत्यु भनेको गहिरो निद्रा थियो र विश्वासी भई मरेकाहरूका लागि चिहान  भनेको विश्रामको ठाउँ थियो” भनेर धर्म र नैतिकतासम्बन्धी विश्वकोश (अङ्ग्रेजी) बताउँछ।

मरिसकेकाहरू तड्पिरहेका छैनन्‌। बरु तिनीहरू निदाइरहेका छन्‌ भनेर थाह पाउनु सान्त्वनादायी छ। यसरी मृत्युपछि के हुन्छ भनेर थाह पाएपछि मृत्युदेखि डराउनुपर्ने कुनै कारण छैन।

“के मानिस मरेपछि ऊ फेरि जिउँछ?”

रातको आरामदायी निद्रा त हामीलाई मन पर्छ। तर कोचाहिं सधैंको लागि मृत्युको चिर निद्रामा पर्न चाहन्छ र? लाजरस र याइरसकी छोरी ब्यूँतिएर आएजस्तै मृत्युको चिर निद्रामा परेका अरू मानिसहरू पनि ब्यूँतिएर आउने छन्‌ भन्ने के कुनै आशा छ?

कुलपिता अय्यूबले पनि आफू मृत्युको मुखैमा पर्दा ठीक यस्तै प्रश्न गरेका थिए। “के मानिस मरेपछि ऊ फेरि जिउँछ?”—अय्यूब १४:१४, NRV.

सर्वशक्तिमान्‌ परमेश्वरलाई सम्बोधन गर्दै अय्यूबले आफ्नो प्रश्नको जवाफ आफैले यसरी दिए: “तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्छा गर्नुहुनेछ।” (अय्यूब १४:१५, NRV) आफ्ना विश्वासी जनहरूलाई पुनर्जीवित पार्ने दिनको यहोवा इच्छा गर्नुहुन्छ भन्ने कुरामा अय्यूब विश्वस्त थिए। के अय्यूबले कुनै असम्भव कुराको चाहना गरिरहेका थिए? अहँ! पटक्कै थिएनन्‌।

येशूले मानिसहरूलाई पुनर्जीवित पार्नुभएका घटनाहरूबाट परमेश्वरले उहाँलाई मृत्युमाथि विजयी हुन शक्ति दिनुभएको थियो भनेर प्रस्ट हुन्छ। वास्तवमा, येशूलाई ‘मृत्युका साँचाहरू’ दिइएको छ भनेर बाइबल बताउँछ। (प्रकाश १:१८) त्यसैले, जसरी येशूले लाजरसलाई गाडिराखेको ठाउँको ढुङ्गा हटाउन भन्नुभयो त्यसरी नै उहाँले चिहानका ढोकाहरू खोल्नुहुनेछ।

बाइबलमा थुप्रै चोटि पुनर्जीवनको प्रतिज्ञा गरिएको छ। एक स्वर्गदूतले अगमवक्ता दानियललाई यस्तो आश्वासन दिए: “विश्राम लेऊ। औ युगको अन्तमा तिमी आफ्नो ठहराइएको दिन हेर्नलाई खडा हुनेछौ।” (दानियल १२:१३) पुनर्जीवनको प्रतिज्ञालाई इन्कार गर्ने सदुकीहरूलाई येशूले यसो भन्नुभयो: “तिमीहरूले गलत बुझिरहेका छौ, किनकि तिमीहरूलाई न धर्मशास्त्र थाह छ न त परमेश्वरको शक्ति नै।” (मत्ती २२:२३, २९) प्रेषित पावलले यसो भने: “परमेश्वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌ भनेर . . . मैले पनि परमेश्वरमा आशा राखेको छु।”—प्रेषित २४:१५.

मरेकाहरू कहिले ब्यूँतनेछन्‌?

परमेश्वरको स्तरबमोजिम असल काम गर्ने र नगर्नेहरू दुवै कहिले पुनर्जीवित हुनेछन्‌? परमेश्वरको स्तरबमोजिम असल काम गर्ने दानियललाई स्वर्गदूतले तिनी “युगको अन्तमा” खडा हुनेछन्‌ भने। त्यसैगरि मार्थाले पनि तिनको भाइ लाजरस “अन्तको दिनमा पुनर्जीवित हुँदा ऊ ब्यूँतनेछ” भनेर विश्वास गरिन्‌।—यूहन्ना ११:२४.

बाइबलमा यस “अन्तको दिन” ख्रीष्टको राज्यसित सम्बन्धित छ भनेर बताइएको छ। पावलले यस्तो लेखे: “यसकारण परमेश्वरले सबै शत्रुलाई उहाँको पाउमुनि नराखुन्जेल उहाँले [ख्रीष्टले] राजाको रूपमा शासन गर्नै पर्छ। सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।” (१ कोरिन्थी १५:२५, २६) त्यसैले, परमेश्वरको राज्य आओस् र उहाँको इच्छा यस पृथ्वीमा पूरा होस् भनेर प्रार्थना गर्न हामी ठोस कारण पाउँछौं। *

मरेकाहरूलाई पुनर्जीवित पार्ने इच्छा परमेश्वरसित छ र यो कुरामा अय्यूब विश्वस्त थिए। त्यो दिन आउँदा मृत्यु साँच्चै नामेट हुनेछ। अनि कसैले पनि कहिल्यै यस्तो प्रश्न गर्नुपर्ने छैन: ‘मृत्यु सबै कुराको अन्त हो?’

^ अनु. 18 परमेश्वरको राज्यबारे थप कुरा बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ हेर्नुहोस्।