सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’

तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’

आकाशबाट मुसलधारे पानी दर्कंदै छ। उर्लंदो छालले जहाजलाई बेसरी हिर्काउँदै छ। पानीको आवाज मनै भरङ्‌ग बनाउने खालको छ। नूह र तिनको परिवार जहाजभित्र एकै ठाउँमा जम्मा भएर बसेका छन्‌। दियो धिपधिप बलिरहेको छ। तिनीहरूको अनुहारमा छाएको डर दियोको मधुरो उज्यालोमा पनि प्रस्ट देखिन्छ।

यस्तो अवस्थामा आफ्नो वफादार श्रीमती, तीन जना भरोसायोग्य छोरा र बुहारीहरू आफूसँगै देख्दा नूह खुसीले गद्‌गद भए होलान्‌! तिनले यस्तो मायालु परिवारको साथ पाएका थिए। वरपरको वातावरण कहालीलाग्दो भए तापनि आफूले सबैभन्दा माया गरेका व्यक्‍तिहरूसँगै हुन पाउँदा तिनले ढुक्क महसुस गरे होलान्‌। तिनीहरू सबै सकुशल थिए। त्यसैले कृतज्ञता व्यक्‍त गर्न नूहले आफ्नो सम्पूर्ण परिवारको लागि प्रार्थना गरे। जहाजबाहिरबाट चर्को आवाज आइरहेकोले सबैले सुन्‍ने गरी तिनले ठूलो स्वरमा प्रार्थना गरेको हुनुपर्छ।

नूहसित बलियो विश्‍वास थियो। नूहको विश्‍वासले गर्दा नै यहोवा परमेश्‍वरले तिनलाई र तिनको परिवारलाई जोगाउनुभयो। (हिब्रू ११:७) तर के त्यसपछि पनि तिनीहरूलाई बलियो विश्‍वासको खाँचो पऱ्‍यो? पक्कै पऱ्‍यो! पछिका दिनहरू अझै चुनौतीपूर्ण हुने थिए। अहिलेको कठिन समयमा हामीलाई पनि बलियो विश्‍वास चाहिन्छ। नूहको विश्‍वासबाट हामी के सिक्न सक्छौं, हेरौं।

“चालीस दिन र चालीस रात”

पृथ्वीमा “चालीस दिन र चालीस रात” पानी परिरह्‍यो। (उत्पत्ति ७:४, ११, १२) पृथ्वीमा पानीको सतह झन्‌-झन्‌ बढ्‌न थाल्यो। यहोवाले आफ्नो स्तरबमोजिम चल्नेहरूलाई बचाउनुभएको तर दुष्टहरूलाई भने नाश गर्नुभएको नूहले आफ्नै आँखाले देखे।

सैतानको जस्तै स्वार्थी मनोवृत्ति देखाउने थुप्रै स्वर्गदूतले स्वर्गको “उचित बासस्थान” त्यागेर पृथ्वीका स्त्रीहरूसित सहवास गरे। तिनीहरूबाट जन्मिएका ठिमाहा सन्तानलाई बाइबलमा नपील भनिएको छ। (यहूदा ६; उत्पत्ति ६:४) यहोवाको विद्रोह गर्नेहरूको जमात देखेर खुसीले सैतानको खुट्टा भुइँमा रहेन होला किनभने यहोवाले बनाउनुभएको सर्वश्रेष्ठ प्राणी अर्थात्‌ मानिस पतित भइसकेको थियो। तर जलप्रलयले गर्दा स्वर्गदूतहरूको विद्रोह ठप्प भयो।

पानीको सतह बढ्‌दै जाँदा विद्रोही स्वर्गदूतहरूले मानिसको चोला फेरे अनि अदृश्‍य संसारमा फर्के। यसपछि तिनीहरूले मानिसको चोला कहिल्यै धारण गर्न सक्ने थिएनन्‌। तिनीहरू त बचे तर तिनीहरूका पत्नी र सन्तान पृथ्वीका अरू मानिसहरूसँगै डुबेर मरे।

दुष्ट पापीहरूलाई नाश गर्नेछु भनेर यहोवाले नूहको समयभन्दा लगभग ७०० वर्षअघिदेखि चेतावनी दिइसक्नुभएको थियो। (उत्पत्ति ५:२४; यहूदा १४, १५) त्यस समयदेखि मानिसहरू झन्‌-झनै खराब हुँदै गएका थिए। तिनीहरूले पृथ्वीलाई बिगार्नुका साथै हिंसाले भरिसकेका थिए। अब भने तिनीहरू हर हालतमा मर्ने थिए। ती मानिसहरूको मृत्युमा के नूह र तिनको परिवार खुसी भए?

अहँ भएनन्‌! दयालु परमेश्‍वर यहोवा पनि खुसी हुनुभएन। (इजकिएल ३३:११) सकेसम्म धेरै जनालाई बचाउन यहोवाले कुनै कसर छोड्‌नुभएको थिएन। उहाँले मानिसहरूलाई चेतावनी दिन हनोकलाई पनि अह्राउनुभएको थियो। उहाँले नूहलाई जहाज बनाउने आज्ञा दिनुभयो। नूह र तिनको परिवारले त्यो विशाल जहाज बनाउन दशकौंसम्म पसिना बगाए। वरपरका मानिसहरूको नजरबाट यो लुकेको थिएन। त्यति मात्र होइन, यहोवाले नूहलाई “परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार” गर्न अह्राउनुभएको थियो। (२ पत्रुस २:५) हनोकले जस्तै नूहले पनि मानिसहरूलाई पृथ्वीमाथि आउँदै गरेको विनाशबारे चेतावनी दिए। मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? यी सबै घटना स्वर्गबाट हेरिरहेका येशूले नूहको समयका मानिसहरूबारे यसो भन्‍नुभयो: “जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगेसम्म तिनीहरूले यादै गरेनन्‌।”—मत्ती २४:३९.

यहोवा परमेश्‍वरले जहाजको ढोका बन्द गर्नुभएपछिको ४० दिन नूह र तिनको परिवारले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त। दिनरात मुसलधारे पानी दर्किरहेको थियो तर जहाजभित्र बसेका आठ जनाको भने आफ्नै किसिमको तालिका थियो। जस्तै: एकअर्काको हेरविचार गर्ने, सरसफाइ गर्ने अनि जनावरहरूको स्याहारसुसार गर्ने। तर एक दिन यत्रो बढेमाको जहाज एक्कासि चल्न थाल्दा तिनीहरूको सातो गयो होला। पानीको सतह बढ्‌दै जाँदा जहाज “जमीनबाट माथि जानलाग्यो।” (उत्पत्ति ७:१७) सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले कस्तो अचम्मलाग्दो तरिकामा आफ्नो शक्‍ति प्रदर्शन गर्नुभयो!

आफू र आफ्नो परिवारलाई जोगाउनुभएकोमा अनि जहाजभित्र आउन नचाहनेहरूलाई चेतावनी दिन प्रयोग गर्नुभएकोमा नूह पक्कै पनि यहोवाप्रति कृतज्ञ भएको हुनुपर्छ। तर मानिसहरूले तिनीहरूको कुरा पटक्कै सुनेनन्‌। आफूहरूले वर्षौंसम्म गरेको मेहनत त्यत्तिकै खेर गएको जस्तो तिनीहरूलाई लाग्यो होला। नूहका दाजुभाइ, दिदीबहिनी, भान्जाभान्जी अनि भदाभदै थिए होलान्‌, तर उनीहरू कसैले सुनेनन्‌। (उत्पत्ति ५:३०) आफूहरू जहाजभित्र सुरक्षित भए तापनि वरपरका मानिसहरूको हविगत सम्झँदा तिनीहरू दुःखी भए होलान्‌। तर ती मानिसहरूलाई चेतावनी दिन सक्दो कोसिस गरेको सम्झँदा तिनीहरूले सान्त्वना पाएको हुनुपर्छ।

नूहको दिनदेखि अहिलेसम्म यहोवा एउटै हुनुहुन्छ, उहाँ परिवर्तन हुनुभएको छैन। (मलाकी ३:६) येशू ख्रीष्टले हाम्रो समय “नूहको दिन जस्तो” छ भन्‍नुभयो। (मत्ती २४:३७) अहिलेजस्तो दुःखै-दुःखले भरिएको समय पहिला कहिल्यै थिएन। तर चाँडै परमेश्‍वरले यस दुष्ट युग नाश गर्नुहुनेछ। आज परमेश्‍वरका जनहरूले पनि चेतावनीमूलक सन्देश सुनाइरहेका छन्‌। के तपाईं त्यो सन्देश सुनेर कदम चाल्न तयार हुनुहुन्छ? यो जीवनदायी सन्देशलाई स्वीकारिसक्नुभएको छ भने के तपाईं अरूलाई पनि बताउन अग्रसर हुनुहुन्छ? नूह र तिनको परिवारले हामी सबैको लागि राम्रो उदाहरण बसाले।

“पानीबाट बचे”

विशाल समुद्रमा तैरिन थाल्दा ठूलठूला काठले बनेको जहाज डड्याङडुडुङ्‌ग, काइँकुइँ गरेको आवाज भित्र बसेकाहरूले पक्कै सुने होलान्‌। ठूला-ठूला छालले जहाज डुबाउने पो हो कि भनेर नूहले चिन्ता गरे? बाइबलमा शङ्‌का गर्नेहरूले त्यस्तो चिन्ता गर्थे होलान्‌ तर नूहले गरेनन्‌। बाइबल भन्छ: “विश्‍वासैले गर्दा नूहले . . . जहाज निर्माण गरे।” (हिब्रू ११:७) तिनले केमा विश्‍वास राखे? नूह र तिनको साथमा भएकाहरूलाई जलप्रलय आउँदा सुरक्षित राख्नेछु भनेर यहोवाले नूहसित करार बाँध्नुभएको थियो। (उत्पत्ति ६:१८, १९) सम्पूर्ण ब्रह्‍माण्ड र यसमा भएका सबै जीवजीवात्‌ बनाउने परमेश्‍वरले के त्यो जहाजलाई सुरक्षित राख्न सक्नुहुन्‍न र? पक्कै सक्नुहुन्छ! यहोवाले आफ्नो प्रतिज्ञा अवश्‍य पूरा गर्नुहुनेछ भनेर नूहलाई पूरा भरोसा थियो। यहोवामाथिको भरोसा बेकार गएन। तिनी र तिनको परिवार “पानीबाट बचे।”—१ पत्रुस ३:२०.

चालीस दिन ४० रातपछि पानी पर्न रोकियो। अहिलेको क्यालेन्डरअनुसार ईसापूर्व २३७०, डिसेम्बर महिनातिर पानी पर्न रोकियो। तर जहाजभित्रको बसाइ भने अझै सिद्धिएको थिएन। अल्गा-अल्गा पहाडहरूसमेत पूरै डुबेको अवस्थामा जहाज भने तैरिरहेको थियो। (उत्पत्ति ७:१९, २०) जहाजभित्रका जनावरहरूको स्याहारसुसार गर्ने, तिनीहरूलाई आहारा दिने जस्तो गाह्रो काम नूहले आफ्ना छोराहरू शेम, हाम र येपेतसित मिलेर गरे होलान्‌। जङ्‌गली जनावरहरूलाई समेत सुधो बनाएर जहाजभित्र छिराउन सक्ने परमेश्‍वरले नै ती जनावरहरूलाई जलप्रलयको दौडान शान्त अवस्थामा राख्नुभयो। *

नूहले घटनाक्रमको सही विवरण राखेका थिए। पानी कहिले पर्न थाल्यो र कहिले रोकियो भनेर त्यस विवरणमा उल्लेख गरिएको छ। पृथ्वीमा १५० दिनसम्म पानी रह्‍यो भनेर पनि बताइएको छ। त्यसपछि बल्ल पानी घट्‌न थाल्यो। एक दिन अचानक जहाज “आरारतका पहाडहरूमा अडियो।” आरारत पहाड अहिलेको टर्कीमा पर्छ। त्यो घटना ईसापूर्व २३६९, अप्रिलमा भएको हुनुपर्छ। त्यसको ७३ दिनपछि जून महिनामा पहाडका चुचुराहरू देखिन थाले। तीन महिनापछि सेप्टेम्बरमा नूहले जहाजको छत उघारे। यसरी उघार्न निकै गाह्रो भयो होला तर त्यहाँबाट उज्यालो र ताजा हावा छिर्दा कस्तो आनन्द आयो होला! छत उघार्नुअघि नूहले बाहिरको वातावरण कस्तो छ भनेर पनि बुझ्न खोजे। पहिला तिनले एउटा कागलाई बाहिर उडाए। जमीनको पानी नसुकुन्जेल त्यो काग यताउता उडिरह्‍यो; त्यसपछि नूहले ढुकुरलाई उडाए। बाहिर सुक्खा ठाउँ नपाउन्जेल त्यो ढुकुर जहाजको भित्रबाहिर गरिरह्‍यो।—उत्पत्ति ७:२४–८:१३.

अत्यन्तै कठिन समयमा समेत नूहले पारिवारिक उपासनाको नेतृत्व लिए

नूहले आफ्नो दिनचर्यामा परमेश्‍वरको उपासनासित सम्बन्धित कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठानेका थिए। तिनीहरू सपरिवार एकै ठाउँमा भेला भएर प्रार्थना गरेको अनि परमेश्‍वरले गर्नुभएको सुरक्षाबारे आपसमा कुरा गरेको दृश्‍य हामी कल्पना गर्न सक्छौं। हरेक महत्त्वपूर्ण निर्णय गर्न नूह यहोवामा भर पर्थे। जहाजमा एक वर्षभन्दा लामो समय बिताइसकेपछि नूहले ‘जमीन सुकेको’ देखे। तर तिनले न ढोका खोले न त जहाजमा भएकाहरूलाई बाहिर लगे। (उत्पत्ति ८:१४) तिनी यहोवाको आदेश पर्खेर बसे।

विश्‍वासी पुरुष नूहबाट आज परिवारका शिरहरूले महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌। तिनी व्यवस्थित, लगनशील र धीरजी थिए। तिनले आफ्नो निगरानीमा भएका सबैको राम्रो हेरचाह गरे। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनले यहोवा परमेश्‍वरको इच्छा पूरा गर्नुलाई पहिलो स्थान दिए। यी सन्दर्भमा नूहको विश्‍वास अनुकरण गऱ्‍यौं भने आफूले माया गर्ने सबैको लागि आशिष्‌को स्रोत बन्‍नेछौं।

“जहाजबाट निस्की”

बल्ल यहोवाले नूहलाई यस्तो आज्ञा दिनुभयो: “तँ, तेरी स्वास्नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्की।” परमेश्‍वरको आज्ञाबमोजिम सुरुमा नूहको परिवार निस्क्यो अनि पछि जनावरहरू। तिनीहरू तँछाडमछाड गर्दै निस्के कि? अहँ होइन! बाइबल विवरणअनुसार “सबै जीवजन्तुहरू पनि तिनीहरूका जात जातअनुसार जहाजबाट निस्केर आए।” (उत्पत्ति ८:१५-१९) बाहिर पुगेपछि ताजा हावा खाँदै आरारत पहाडको उच्च भूभागतिर आँखा डुलाउँदा नूह र तिनको परिवारले स्वच्छ पृथ्वी देखे। नपीलहरू, विद्रोही स्वर्गदूतहरू, हत्या-हिंसा र दुष्टता सबै हराइसकेको थियो! * अब भने मानिसहरूले नयाँ सुरुवात गर्न सक्थे।

सुरुमा के गर्ने भनेर नूह दोधारमा परेनन्‌। तिनले उपासनाको लागि तयारी गरे। तिनले वेदी बनाए अनि परमेश्‍वरले शुद्ध ठहराउनुभएको जनावरलाई होमबलि चढाए। तिनले त्यस्ता जनावरहरू “सातवटा” ल्याएका थिए। (उत्पत्ति ७:२, NW; ८:२०) के परमेश्‍वरले त्यो बलिदान स्वीकार्नुभयो?

परमेश्‍वरले “त्यसको मीठो बास्ना” लिनुभयो भनी बाइबल बताउँछ। पृथ्वी हिंसाले भरिंदा यहोवा दुःखी हुनुभएको थियो तर उहाँको इच्छाबमोजिम गर्न कटिबद्ध विश्‍वासी उपासकहरू देख्दा उहाँ खुसीले गद्‌गद हुनुभयो। ती मानिसहरूले कुनै गल्ती गर्नेछैनन्‌ भन्‍ने आशा यहोवाले गर्नुभएन। बाइबल यसो भन्छ: “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ।” (उत्पत्ति ८:२१) यहोवाले मानिसहरूलाई दया देखाउन छोड्‌नुभएन। उहाँले के गर्नुभयो?

परमेश्‍वरले भूमिलाई दिएको श्राप फिर्ता लिनुभयो। आदम र हव्वाले विद्रोह गर्दा परमेश्‍वरले भूमिलाई श्राप दिनुभएको थियो। यसले गर्दा खेतीपाती गर्न असाध्यै गाह्रो थियो। लेमेकले आफ्नो छोराको नाम नूह राखेका थिए। त्यसको अर्थ सम्भवतः “विश्राम” अर्थात्‌ “शान्ति” हो। यस छोराले मानिसजातिलाई शान्ति दिनेछ भनेर तिनले भविष्यवाणी गरेका थिए। अब त्यो भविष्यवाणी आफ्नै आँखा अगाडि पूरा हुनेछ अनि पृथ्वी पनि उर्वर हुनेछ भनी थाह पाउँदा नूह औधी हर्षित भएको हुनुपर्छ। त्यसैले नूहले खेतीपाती गर्न सुरु गरिहाल्नु कुनै अनौठो कुरा थिएन।—उत्पत्ति ३:१७, १८; ५:२८, २९; ९:२०.

नूह र तिनको परिवारले सफा पृथ्वीमा पाइला टेके

यहोवाले नूहका शाखासन्तानलाई सरल अनि सुस्पष्ट नियमहरू दिनुभयो। ती पालन गरेको खण्डमा तिनीहरूको जीवन राम्रो हुने थियो। उहाँले तिनीहरूलाई हत्या नगर्न र रगतको दुरुपयोग नगर्न पनि कडा आज्ञा दिनुभयो। परमेश्‍वरले अब उप्रान्त पृथ्वीलाई जलप्रलयद्वारा कहिल्यै विनाश गर्नेछैन भनेर मानिसजातिसित एउटा करार पनि बाँध्नुभयो। आफ्नो वचन भरोसायोग्य छ भन्‍ने चिह्नस्वरूप उहाँले मानिसहरूलाई आकाशमा पहिलो चोटि इन्द्रेनी देखाउनुभयो। प्रकृतिको यो सुन्दर दृश्‍य देखेपछि हामी अहिले पनि परमेश्‍वरको त्यो मायालु प्रतिज्ञा सम्झन्छौं।—उत्पत्ति ९:१-१७.

नूहको विवरण दन्त्यकथा मात्र हुँदो हो त त्यो इन्द्रेनीको कथामै सीमित हुने थियो। तर नूह वास्तविक व्यक्‍ति थिए। तिनको जीवन सजिलो थिएन। त्यतिबेला मानिसको आयु लामो हुन्थ्यो। त्यसैले विश्‍वासी नूहले थप ३५० वर्षको दौडान निकै पीडा खप्नुपऱ्‍यो। एक चोटि बेसरी रक्सी पिएर मात्तिएको बेला तिनले गम्भीर गल्ती गरे। तिनको नाति कनानले अझ गम्भीर गल्ती गर्दा गल्तीमाथि गल्ती थपियो। यसले गर्दा कनानको परिवारले दुःखदायी परिणाम भोग्नुपऱ्‍यो। धेरै वर्ष बाँचेको हुँदा नूहले निम्रोदको पालामा आफ्ना सन्तानहरू मूर्तिपूजा र हिंसामा मुछिएको पनि देख्नुपऱ्‍यो। तर राम्रो पक्षलाई विचार गर्ने हो भने तिनको छोरा शेमले बलियो विश्‍वासको उत्कृष्ट उदाहरण बसालेको पनि देख्न पाए।—उत्पत्ति ९:२१-२८; १०:८-११; ११:१-११.

नूहजस्तै हामी पनि विश्‍वासी रहिरहनुपर्छ। वरपरका मानिसहरूले साँचो परमेश्‍वरको वास्ता नगर्दा वा उहाँको सेवा गर्न छोड्‌दा समेत हामी नूहजस्तै विश्‍वासी भइरहनुपर्छ। यसरी विश्‍वासी भई सेवा गरिरहनेहरूको यहोवा निकै मोल गर्नुहुन्छ। येशू ख्रीष्टले भन्‍नुभएझैं ‘अन्तसम्म सहनेले उद्धार पाउनेछ।’—मत्ती २४:१३. (w13-E 08/01)

^ परमेश्‍वरले जनावरहरूलाई निष्क्रिय (शीत निद्राजस्तो अवस्थामा) पार्नुभएको हुन सक्छ भनी कसै-कसैले टिप्पणी गरेका छन्‌। उहाँले त्यसो गर्नुभयो कि भएन हामीलाई थाह छैन। तर जहाजमा भएका सबैलाई सुरक्षित राखेर आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो।

^ जलप्रलयमा अदनको बगैंचाको नामोनिसान मेटियो। त्यसपछि अदनको बगैंचालाई पहरा दिनु आवश्‍यक परेन। त्यसैले पहरा दिइरहेका करुबहरू स्वर्ग फर्के। तिनीहरूले १,६०० वर्षसम्म पहरा दिए।—उत्पत्ति ३:२२-२४.