सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌

भगवान्‌को पनि चित्त दुख्छ—हामी उहाँलाई कसरी खुसी पार्न सक्छौं?

भगवान्‌को पनि चित्त दुख्छ—हामी उहाँलाई कसरी खुसी पार्न सक्छौं?

रुनै आउने गरी कसैले तिम्रो चित्त दुखाएको छ? * सायद त्यस्तो अनुभव हामी सबैले गरेका छौं। कसैले हाम्रो विषयमा झूटो कुरा गर्दा हाम्रो चित्त दुख्छ नि, हैन र?— भगवान्‌को विषयमा झूटो कुरा गर्दा उहाँको पनि चित्त दुख्छ। त्यसोभए हामी उहाँलाई कसरी खुसी पार्न सक्छौं, त्यसबारे सिकौं।

भगवान्‌लाई माया गर्छु भने तापनि कसै-कसैले “उहाँलाई दुःखित तुल्याए” भनेर बाइबल बताउँछ। हो, तिनीहरूले भगवान्‌को चित्त दुखाए! भगवान्‌ले भनेको नमान्दा किन उहाँको चित्त दुख्छ, त्यसबारे बुझौं।

यहोवा परमेश्‍वरले पृथ्वीमा सुरुमा दुई जना मान्छे बनाउनुभयो। तिनीहरूले उहाँलाई एकदमै दुःखी बनाए। उहाँले तिनीहरूलाई सुन्दर बगैंचामा राख्नुभएको थियो, जसलाई “अदनको बगैंचा” भनिन्छ। ती दुई जना मान्छे को थिए?— आदम र हव्वा। तिनीहरूले यहोवाको चित्त दुखाउने कस्तो काम गरे, हेरौं।

सुन्दर बगैंचामा राखेपछि उहाँले तिनीहरूलाई त्यसको हेरविचार गर्ने काम दिनुभयो। तिनीहरूले बच्चा जन्माउन र सधैंभरि त्यहाँ रहन सक्छन्‌ भनेर पनि उहाँले भन्‍नुभयो। तर आदम र हव्वाले बच्चा जन्माउनुअघि एउटा नराम्रो काम गरे। तिनीहरूले के गरे, तिमीलाई थाह छ?— एक जना स्वर्गदूतले हव्वालाई अनि पछि आदमलाई पनि यहोवाको विरोध गर्न लगायो। के भएको थियो, हेरौं है त।

त्यो स्वर्गदूतले हव्वासित कुरा गर्न एउटा सर्प चलायो। यसकारण हव्वालाई सर्पसित कुरा गरिरहेको जस्तो लाग्यो। सर्पले हव्वालाई उनी “परमेश्‍वरजस्तै” हुनेछिन्‌ भन्यो। हव्वालाई सर्पको कुरा मन पऱ्‍यो। त्यसैले हव्वाले सर्पले भनेजस्तै गरिन्‌। तिनले के गरिन्‌, तिमीलाई थाह छ?

यहोवाले आदमलाई जुन रूखको फल नखानू भन्‍नुभएको थियो, हव्वाले त्यही रूखको फल खाइन्‌। हव्वा बनाउनुअघि यहोवाले आदमलाई यस्तो आज्ञा दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।”

हव्वालाई यो आज्ञा थाह थियो। तर तिनले त्यो रूख हेरिरहिन्‌ र त्यो “रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, . . . देखिन्‌, तब तिनले त्यस रूखको फल टिपेर खाइन्‌।” अनि आदमलाई पनि दिइन्‌ र “तिनले पनि खाए।” तिम्रो विचारमा आदमले त्यो फल किन खाए होलान्‌?— किनभने आदमले यहोवालाई भन्दा हव्वालाई धेरै माया गर्न थालेका थिए। तिनले परमेश्‍वरलाई खुसी पार्नुको साटो हव्वालाई खुसी पार्न चाहे। तर अरू कसैको भन्दा यहोवाको कुरा मान्‍नु महत्त्वपूर्ण छ!

हव्वासित कुरा गर्ने सर्प तिमीलाई याद छ? मान्छेले कठपुतलीलाई चलाएर त्यसैले बोलेको जस्तो देखाउन सक्छ। त्यस्तै गरी सर्पलाई चलाएर त्यसैले बोलेको जस्तो देखाउने पनि अरू कोही थियो। सर्पको आवाज वास्तवमा कसको थियो?— “दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्‌गर अर्थात्‌ पुरानो सर्प”-को।

तिमीले के गऱ्‍यौ भने यहोवालाई खुसी लाग्छ, थाह छ?— तिमीले सधैं उहाँको कुरा मान्‍ने कोसिस गऱ्‍यौ भने उहाँलाई खुसी लाग्छ। सैतानले सबै मान्छेलाई आफूले चाहेजस्तो गराउन सक्छु भन्छ। त्यसैले यहोवा हामीलाई यस्तो आग्रह गर्नुहुन्छ: “हे मेरो छोरो [वा छोरी], बुद्धिमान्‌ हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” सैतान यहोवाको आलोचना गर्छ, उहाँको खिल्ली उडाउँछ। त्यसले सबै मान्छेलाई यहोवाप्रति अनाज्ञाकारी बनाउन सक्छु भनेर फुर्ती गर्छ। त्यसैले यहोवाको कुरा मानेर अनि उहाँको सेवा गरेर उहाँलाई खुसी बनाऔं! के तिमी यसो गर्न कोसिस गर्नेछौ?—(w13-E 09/01)

^ केटाकेटीसँगै बसेर तपाईं यो लेख पढ्‌दै हुनुहुन्छ भने धर्सोले एकछिन रोकिन र बच्चालाई आफ्नो कुरा बताउने प्रोत्साहन दिन सम्झाउँछ।