सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वभरिका मानिसहरू एक भइरहेका छन्‌—कसरी?

विश्‍वभरिका मानिसहरू एक भइरहेका छन्‌—कसरी?

विश्‍वभरिका मानिसहरू एक भइरहेका छन्‌—कसरी?

“एकता” शब्दको परिभाषा तपाईं कसरी दिनुहुन्छ? केहीलाई यो शब्दको अर्थ केवल झगडा वा कलह नहुनु हो जस्तो लाग्छ। उदाहरणका लागि, यदि दुई वा त्योभन्दा धेरै राष्ट्रले एउटा सन्धिमा हस्ताक्षर गर्छन्‌ र शान्तिका सर्तहरू मान्‍न सहमति जनाउँछन्‌ भने ती राष्ट्रहरू एकतामा छन्‌ भन्‍न सकिन्छ। तर के यसलाई साँचो एकता भन्‍न सकिन्छ? पक्कासित भन्‍न सकिन्‍न।

विचार गर्नुहोस्‌: इतिहासमा हजारौं शान्तिसन्धि गरिए र तोडिए। किन? साधारणतया विश्‍वका नेताहरूलाई शान्ति वा एकताको भन्दा आफ्नै वर्चस्व गुम्ला भन्‍ने पीर छ। साथै केही राष्ट्रलाई सैन्य शक्‍तिमा पछि परियो भने के होला भन्‍ने डर छ।

त्यसैकारण कुनै दुई राष्ट्र एकअर्कासित युद्ध लडिरहेका छैनन्‌ भन्‍नुको अर्थ ती राष्ट्र शान्तिमा छन्‌ भन्‍ने होइन। एकअर्कातिर बन्दुक तेर्साइरहेका दुई व्यक्‍तिहरूले आ-आफ्ना बन्दुकको घोडा दबाएका छैनन्‌ भन्दैमा तिनीहरू शान्तिमा छन्‌ भन्‍न के साँच्चै मिल्ला र? साँचो शान्ति छ भन्‍नु हास्यास्पद कुरा हुनेछ। तर यथार्थमा आज थुप्रै राष्ट्रहरू त्यस्तै अवस्थामा छन्‌। बढ्‌दो अविश्‍वासलाई विचार गर्दा कुनै दिन आणविक हतियार प्रयोग गर्ने हुन्‌ कि भन्‍ने डर उत्पन्‍न भएको छ। यस्तो विपत्ति आइपर्न नदिन के गरिएको छ?

आणविक हतियारको त्रास एकताका लागि चुनौती

धेरै जना आणविक अविस्तार सन्धि-को (एन पी टी) भर पर्छन्‌। सन्‌ १९६८ मा हस्ताक्षर गरिएको यो सन्धिअनुसार आणविक हतियार नभएका मुलुकले ती निर्माण गर्न पाउँदैनन्‌ र जुन मुलुकसित ती हतियार छन्‌ तिनीहरूले ती बेलगाम विस्तार गर्न पाउँदैनन्‌। अहिलेसम्म १८० भन्दा धेरै मुलुकले हस्ताक्षर गरिसकेको एन पी टी-को लक्ष्य अन्ततः पूर्ण निश्‍शस्त्रीकरण हो।

यसको लक्ष्य जति नै प्रशंसनीय जस्तो सुनिए तापनि केही आलोचकहरूको विचारमा यो केही राष्ट्रहरूलाई “आणविक क्लबको” सदस्य हुन नदिने प्रयासबाहेक अरू केही होइन अर्थात्‌ आणविक हतियार नभएका राष्ट्रहरूलाई ती बनाउनदेखि रोक्नु। त्यसैकारण यो सन्धिमा हस्ताक्षर गर्ने केही राष्ट्रहरूले पछि आफ्नो विचार परिवर्तन गर्लान्‌ कि भन्‍ने डर छ। आफ्नो राष्ट्रको सुरक्षामा मदत पुऱ्‍याउने आणविक हतियार बनाउन निषेध गर्नु एकदमै अन्यायी कुरा हो भन्‍ने धारणा केही राष्ट्रहरू राख्छन्‌।

यो विषयलाई अझ जटिल बनाउने र सायद अझै खतरायुक्‍त बनाउने कुरा भनेको यो सन्धिले कुनै पनि राष्ट्रलाई आणविक उर्जा विकास गर्न प्रतिबन्ध लगाएको छैन। यो कारणले गर्दा आणविक उर्जा शान्तिपूर्ण उद्देश्‍यको लागि प्रयोग गरिरहेका छौं भन्‍ने राष्ट्रहरूले लुकीछिपी आणविक हतियारहरू बनाइरहेका छन्‌ कि भन्‍ने शङ्‌काले कोही-कोही त्रसित छन्‌।

आणविक हतियार भएका राष्ट्रहरूले समेत एन पी टी-को अवहेलना गर्न सक्छन्‌। आणविक हतियारको भण्डारै भएका राष्ट्रहरूले ती नाश गर्नेछन्‌ वा ती घटाउनेछन्‌ भनेर आस गर्नु मूर्खता हुनेछ भनी आलोचकहरू भन्छन्‌। एउटा स्रोतअनुसार “यसका लागि . . . अहिले एकअर्काविरुद्ध खडा भएका राष्ट्रहरूबीच गहिरो मित्रता र विश्‍वासको खाँचो पर्छ, जुन सम्भव होला भनेर [विश्‍वास गर्न गाह्रो] छ।”

एकताबद्ध हुन मानिसले गरेको प्रयास जतिसुकै निष्कपट भए तापनि ती व्यर्थ साबित भएका छन्‌। बाइबल विद्यार्थीहरूका लागि यो कुनै अचम्मलाग्दो कुरा होइन किनभने परमेश्‍वरको वचन यसो भन्छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) बाइबलले स्पष्टसित यसो पनि भन्छ: “कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्छ, तापनि अन्तमा त्यसले मृत्युमा पुऱ्‍याउँछ।” (हितोपदेश १६:२५) एकताबद्ध हुन मानव सरकारहरूले गर्ने प्रयास सीमित छ। तैपनि हामी निराश हुनु पर्दैन।

साँचो एकताको स्रोत

बाइबलमा यो विश्‍व एकताबद्ध हुनेछ भन्‍ने परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पाइन्छ तर यो मानव प्रयासद्वारा हुनेछैन। मानिसजाति विश्‍वभरि शान्तिमा रहून्‌ भन्‍ने उद्देश्‍य राख्नुभएका हाम्रा सृष्टिकर्ताले मानिसले हासिल गर्न नसक्ने कुरा गर्नुहुनेछ। केही व्यक्‍तिहरूलाई यो कुरा विश्‍वास गर्न गाह्रो हुन्छ होला। तथापि सुरुदेखि नै मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य भनेको तिनीहरू शान्ति र मेलमिलापमा रहून्‌ भन्‍ने थियो। a मानिसजाति एकताबद्ध अवस्थामा रहून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य अझै पनि परिवर्तन भएको छैन भन्‍ने प्रमाण बाइबलका थुप्रै शास्त्रपदहरूले दिन्छ। केही उदाहरणहरू विचार गर्नुहोस्‌:

• “आओ परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा कस्तो उजाड पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”—भजन ४६:८, ९.

• “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९.

• “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यसै भन्‍नुभएको छ।”—यशैया २५:८.

• “हामी परमेश्‍वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दैछौं, जसमा न्यायले बास गर्छ।”—२ पत्रुस ३:१३.

• “[परमेश्‍वरले]तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

यी प्रतिज्ञाहरू भरपर्दा छन्‌। किन? किनभने सृष्टिकर्ताको हैसियतमा यहोवा परमेश्‍वरसित मानिसजातिलाई एकताबद्ध पार्ने शक्‍ति र क्षमता छ। (लूका १८:२७) अनि त्यसो गर्ने उहाँको इच्छा पनि छ। वास्तवमा बाइबलले “उहाँले चाहनुभएको कुरा . . . स्वर्गमा भएका कुराहरू अनि पृथ्वीमा भएका कुराहरूलाई [ख्रीष्टमा] फेरि जम्मा गर्नु” हो भनी बताउँछ।—एफिसी १:८-१०.

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको “नयाँ पृथ्वी . . . जसमा न्यायले बास गर्छ,” त्यो कल्पनाको कुरा मात्र होइन। (२ पत्रुस ३:१३) आफ्नो प्रतिज्ञाबारे यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.

परमेश्‍वरको वचनद्वारा एकताबद्ध

अघिल्लो लेखमा छलफल गरिएझैं मानिसजातिलाई एकताबद्ध गर्नुको सट्टा विभाजित गर्नमा धर्मको अक्सर ठूलो हात छ। यसबारे हामीले गहिरिएर सोच्नुपर्छ किनभने यदि हामी सृष्टिकर्ता छ भन्‍ने कुरामा विश्‍वास गर्छौं भने उहाँका उपासकहरू एकअर्कासित शान्ति र एकतामा रहनेछन्‌ भन्‍ने आशा गर्नु व्यावहारिक छैन र? अवश्‍य!

धर्मले गर्दा मानिसजाति विभाजित हुनुमा यहोवा परमेश्‍वर र उहाँको वचनको कुनै हात छैन। बरु धर्मले परमेश्‍वरको उद्देश्‍यअनुसार चल्न होइन तर एकताको लागि मानिसहरूले बनाएको योजनालाई बढावा दिएकोले नै यस्तो विभाजन भएको हो। आफ्ना समयका धर्मगुरुहरूलाई येशूले “कपटीहरू” भन्‍ने संज्ञा दिंदै यसो भन्‍नुभयो: “यशैयाले तिमीहरूबारे यसो भनेर ठीकै भविष्यवाणी गरेका थिए: ‘यी मानिसहरू आफ्नो ओठले त मेरो आदर गर्छन्‌, तर तिनीहरूको मन भने मबाट धेरै टाढा छ। तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌, किनकि तिनीहरू मानिसहरूले बनाएका आज्ञाहरूलाई परमेश्‍वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’”—मत्ती १५:७-९.

यसको ठीक विपरीत साँचो उपासनाले मानिसहरूलाई एक हुन उत्प्रेरित गर्छ। अगमवक्‍ता यशैयाले यस्तो भविष्यवाणी गरे: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌। उहाँले जातिहरूको इन्साफ गर्नुहुनेछ, र उहाँलेनै जाति जातिहरूका मानिसहरूका बीचमा निर्णय गर्नुहुनेछ। तिनीहरूले आफ्ना-आफ्ना तरवार पिटेर हलोको फाली र भालाचाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अबउप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:२,.

आज २३० भन्दा धेरै मुलुकमा यहोवाका साक्षीहरूले एकताबद्ध रहने तरिकाबारे यहोवा परमेश्‍वरले दिनुभएका निर्देशनहरू पालन गरिरहेका छन्‌। तिनीहरू एकताबद्ध हुन सक्नुको आधार के हो? प्रेषित पावलले यस्तो लेखे: “प्रेम धारण गर, किनकि यो मानिसहरूलाई पूर्ण एकतामा गाँस्ने बन्धन हो।” (कलस्सी ३:१४) “बन्धन”-को लागि पावलले प्रयोग गरेका मौलिक भाषाको शब्दले मानव शरीरमा भएका अस्थिबन्धनलाई बुझाउन सक्छ। यस्ता अस्थिबन्धन डोरीजतिकै बलिया हुन्छन्‌ र तिनीहरूले दुई महत्त्वपूर्ण कार्यहरू गर्छन्‌। तिनीहरूले शरीरका अङ्‌गहरूलाई आ-आफ्नो ठाउँमा रहन र हड्डीहरूलाई आपसमा जोडिएर रहन मदत गर्छन्‌।

प्रेमले पनि यस्तै काम गर्छ। यो गुणको काम मानिसलाई एकअर्काको ज्यान लिनदेखि रोक्नु मात्र होइन। ख्रीष्टको जस्तो प्रेमको कारण हामी भिन्‍नाभिन्‍नै पृष्ठभूमिका मानिसहरूसित शान्तिमा रहन सक्छौं। उदाहरणका लागि, त्यस्तो प्रेमको कारण मानिसहरू सुनौलो नियम भनेर चिरपरिचित सिद्धान्तअनुसार जिउन सक्छन्‌। मत्ती ७:१२ मा लिपिबद्ध गरिएझैं येशू ख्रीष्टले यसो भन्‍नुभयो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।” यो सिद्धान्त पालन गर्दा थुप्रैले पूर्वाग्रह हटाउन मदत पाएका छन्‌।

“आपसमा प्रेम” गर्नुहोस्‌

येशू ख्रीष्टले भन्‍नुभएको यो कुरा पालन गरेर आफू ख्रीष्टका चेला हौं भनी प्रमाणित गर्न यहोवाका साक्षीहरू कटिबद्ध छन्‌: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूहन्‍ना १३:३५) जातीय हिंसा र राजनैतिक अस्थिरताको समयमा यस्तो प्रेम उल्लेखनीय तरिकामा देखाइएको छ। उदाहरणका लागि सन्‌ १९९४ मा रूवाण्डामा भएको जातीय संहारको बेला यहोवाका साक्षीहरूले आपसमा प्रेम प्रदर्शित गरे। हुटु मूलका यहोवाका साक्षीहरूले टुट्‌सी मूलका आफ्ना भाइहरूलाई बचाउन आफ्नै ज्यान जोखिममा हाले।

विश्‍वका राष्ट्रहरूले विश्‍वएकता ल्याउने गरी छिमेकीप्रति प्रेम विकास गर्नेछन्‌ भनेर आशा गर्नु पक्कै पनि व्यावहारिक हुनेछैन। बाइबलअनुसार विश्‍वएकता आफूले तोकेको समयमा परमेश्‍वरले मात्रै सम्भव पार्न सक्नुहुन्छ। अहिले पनि व्यक्‍तिविशेषले प्रेम धारण गर्न सक्छन्‌ र एकता हासिल गर्न सक्छन्‌।

गत वर्ष यहोवाका साक्षीहरूले बाइबलबारे र हाम्रो समयमा यसको मोलबारे मानिसहरूलाई बताउन एक अरबभन्दा पनि धेरै घण्टा बिताए। परमेश्‍वरको वचनको सही ज्ञानले लाखौंलाई एकताबद्ध हुन मदत गरेको छ, जसमध्ये कतिपयले पहिले एकअर्कालाई घृणा गर्थे। जस्तै, अरबी र यहूदीहरू, आर्मेनियाली र तुर्कीहरू, जर्मन र रूसीहरू।

परमेश्‍वरको वचन बाइबलले कसरी एकताबद्ध बनाउन सक्छ भन्‍नेबारे के तपाईं अझ धेरै जान्‍न चाहनुहुन्छ? चाहनुहुन्छ भने कृपया तपाईंको इलाकाका यहोवाका साक्षीहरूलाई सम्पर्क राख्नुहोस्‌ वा पृष्ठ ४ मा दिइएका कुनै एउटा ठेगानामा लेख्नुहोस्‌। (w07-E 12/01)

[फुटनोट]

a मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ३ हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

हजारौं शान्तिसन्धि गरिए र तोडिए

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबलका सिद्धान्तहरू लागू गर्दा मानव सरकारहरूले गर्न नसकेका कुराहरू सम्भव भएका छन्‌

[पृष्ठ ५-मा भएको चित्र]

परमेश्‍वरको वचनले साँचो एकताको स्रोतबारे बताउँछ

[पृष्ठ ७-मा भएको चित्र]

हुटु र टुट्‌सी मूलका यहोवाका साक्षीहरू सँगै मिलेर उपासनास्थल निर्माण गर्छन्‌