दुष्कर्मको अन्त निश्‍चित छ!

दुष्कर्मको अन्त निश्‍चित छ!

दुष्कर्मको अन्त निश्‍चित छ!

परमेश्‍वरले हामीलाई आफ्नो प्रेरित वचन दिनुभएको छ र यसमा मानिसहरूले खराब काम गर्नुका कारणहरू स्पष्टसित बताइएको छ। उहाँले हामीलाई स्वतन्त्र इच्छा र संयमित हुन सक्ने क्षमता पनि दिनुभएको छ। यसले गर्दा खराब काम नगर्ने छनौट गर्न सम्भव भएको छ। (व्यवस्था ३०:१५, १६, १९) यी क्षमताहरू भएकोले हामीले आफूमा हुन सक्ने जस्तोसुकै खराब झुकावहरू चिन्‍न सक्छौं र त्यसलाई सच्याउन आवश्‍यक कदम चाल्न सक्छौं। फलस्वरूप खराब काम गर्नदेखि आफूलाई रोक्दा हामी आफै पनि आनन्दित हुन सक्नेछौं र हामी वरपरका सबै आनन्दित हुन सक्नेछन्‌।—भजन १:१.

तथापि खराब काम नगर्ने व्यक्‍तिगत कोसिस हामीले जतिसुकै गरे तापनि संसार दुष्कर्म गरिरहने मानिसहरूले व्याप्त छ। बाइबल यस्तो चेतावनी दिन्छ: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ।” “डरलाग्दो” हुनुको कारणबारे बाइबल अझ यसो भन्छ: “मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमाबाबुको आज्ञा पालन नगर्ने, वैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरुचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुखविलास निको मान्‍ने, भक्‍तिको भेषचाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:१-५.

माथि उल्लिखित पदमा तपाईंले “आखिरी दिन” भन्‍ने अभिव्यक्‍ति याद गर्नुभएको हुनुपर्छ। तपाईंलाई यसको अर्थ के हो जस्तो लाग्छ? प्रायजसोको सोचाइमा “आखिरी दिन”-को अर्थ कुनै पनि कुराको अन्त हुनु हो। कुन कुराको? परमेश्‍वरले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको कुरा याद गर्नुहोस्‌।

दुष्टहरू पूर्णतया हटाइनेछन्‌।

“थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”भजन ३७:१०, ११.

“उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले जोगाउनुहुनेछ। तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।”

भजन १४५:२०.

अत्याचारको नामोनिसान हुनेछैन।

“दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दु:खीहरूलाई उसले छुटकारा दिनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ।”भजन ७२:१२, १४.

“परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”रोमी ८:२१.

मानिसहरूका भौतिक आवश्‍यकताहरू तृप्त पारिनेछन्‌।

“हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”मीका ४:४.

“तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खानेचाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्म भोग गर्नेछन्‌।”यशैया ६५:२१, २२.

न्याय सर्वत्र छाउनेछ।

“के परमेश्‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्‍न र? . . . म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ।”लूका १८:७, ८, NRV.

“परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्‍तहरूलाई त्याग्नुहुन्‍न, तिनीहरू सधैं सुरक्षित हुन्छन्‌, तर दुष्टका सन्तान भने नष्ट हुनेछन्‌।”

भजन ३७:२८.

धार्मिकता सर्वत्र छाउनेछ।

“संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्‌।”यशैया २६:९.

“उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”२ पत्रुस ३:१३.

मानिसहरू अहिले पनि परिवर्तन हुँदैछन्‌

निस्सन्देह, यस्ता प्रतिज्ञाहरूले गर्दा हामी सबै रमाउनेछौं। तर यस्ता प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कस्तो आश्‍वासन पाउँछौं? परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने प्रमाण वास्तवमा अहिले हामीसित छ! त्यो के हो? आज विश्‍वभर लाखौं मानिसले स्वार्थी, अनैतिक अनि हिंस्रक व्यक्‍तित्व त्यागेर इमानदार, शान्त अनि दयालु हुन सिके र सफल भए भन्‍ने तथ्य यसको प्रमाण हो। आज ७० लाखभन्दा धेरै यहोवाका साक्षीहरू अन्तरराष्ट्रिय भ्रातृत्वमा बाँधिएका छन्‌। यो अन्तरराष्ट्रिय भ्रातृत्वले इतिहासभर घृणा, हिंसा र रक्‍तपात मच्चाउने जातीय, साम्प्रदायिक, राष्ट्रिय, राजनैतिक अनि आर्थिक भिन्‍नतामाथि विजय हासिल गरेको छ।  a अहिले भइरहेका यस्ता परिवर्तनहरूले परमेश्‍वरका प्रतिज्ञाहरू विस्तृत तवरमा पूरा हुनेछन्‌ भन्‍ने कुरामा विश्‍वस्त हुने ठोस आधार दिन्छ।

त्यसोभए केले गर्दा यस्ता परिवर्तनहरू भए? यसको जवाफ बाइबलको अर्को प्रतिज्ञामा अगमवक्‍ता यशैयाले यसरी दिए:

“ब्वाँसोचाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्‌, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ। . . . सिंहले गोरुले झैं पराल खानेछ। दूधे-बालक साँबे-सर्पको कुरमा खेल्नेछ, र भर्खर दूध छोडेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:६-९.

यो भविष्यवाणीले पशु र मानिसबीच मेलमिलाप हुनेछ भनेर मात्र बताइरहेको हो? होइन, यसले अरू कुरा पनि बताउँछ। याद गर्नुहोस्‌, यस पदको अन्तिम भागले यस्तो परिवर्तन हुनुको कारणबारे बताउँछ: “पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” परमेश्‍वरको ज्ञानले पशुको बेहोरा परिवर्तन गर्छ? अहँ, गर्दैन। तर परमेश्‍वरको ज्ञानले मानिसलाई परिवर्तन गर्न सक्छ र गर्छ पनि। यो भविष्यवाणीले बताएअनुसार पशुको जस्तो झुकाव भएकाहरूले बाइबलले सिकाएको कुरा बुझेर अनि लागू गरेर त्यस्ता झुकावहरू त्यागेका छन्‌ र ख्रीष्टको जस्तो व्यक्‍तित्व विकास गरेका छन्‌।

उदाहरणको लागि, पेद्रोलाई लिनुहोस्‌। b आतङ्‌ककारी सङ्‌गठनमा सामेल हुँदा उनलाई आफू न्यायको पक्षमा लड्‌दैछु भन्‍ने लागेको थियो। प्रशिक्षण पाएपछि उनलाई प्रहरी ब्यारेक उडाउने आदेश दिइयो। त्यसको लागि तयारी गरिरहेको बेला उनी पक्राउ परे। अठाह्र महिनासम्म जेलमा राखिए तापनि पेद्रोले सरकारविरुद्धको गतिविधि कायमै राखे। त्यसै बखत पेद्रोकी श्रीमतीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। रिहा भएपछि पेद्रोले पनि बाइबल अध्ययन गर्न थाले। यहोवा परमेश्‍वरबारे सिकेका कुराले उनलाई आफ्नो मनोवृत्ति र जीवनप्रतिको दृष्टिकोणमा आमूल परिवर्तन गर्न उत्प्रेरित गऱ्‍यो। पेद्रो भन्छन्‌: “आतङ्‌ककारी जीवन बिताएका ती वर्षहरूमा मैले एक जनालाई पनि मार्नुपरेन र यसको लागि म यहोवाप्रति कृतज्ञ छु। अहिले म परमेश्‍वरको आत्माको तरवार बाइबल चलाउँछु र मानिसहरूलाई साँचो शान्ति र न्यायको सन्देश अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँछु।” शान्ति र हिंसारहित संसारको सन्देश सुनाउन भनेर पेद्रो आफूले ध्वस्त गर्ने योजना बनाएको ब्यारेकमा समेत गए।

परमेश्‍वरको वचनले मानिसमा पार्न सक्ने सशक्‍त प्रभावबारे विचार गर्दा सबै प्रकारका दुष्कर्मको अन्त निश्‍चित छ भन्‍ने परमेश्‍वरका प्रतिज्ञाहरूमा विश्‍वास गर्ने थप कारण पाउँछौं। हो, मानिसहरूले खराब काम कहिल्यै गर्नेछैनन्‌ बरु तिनीहरू अझ असल हुनेछन्‌। संसारको सम्पूर्ण गतिविधिमा नियन्त्रण जमाइरहेको शैतान, सारा दुष्कर्मको जन्मदाता हो र त्यसैलाई यहोवाले अब चाँडै नाश गर्दै हुनुहुन्छ। बाइबल भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) तर छिट्टै त्यस दुष्टलाई नाश गरिनेछ। साथै अटेरी भएर आफ्नो दुष्ट चाल नत्याग्नेहरूलाई पनि नाश गरिनेछ। त्यस्तो समयमा बाँच्न पाउनु कत्ति खुसीको कुरा!

त्यस्तो भविष्य सुनिश्‍चित गर्न तपाईंले के गर्नै पर्छ? नबिर्सनुहोस्‌, मानिसहरूको जीवनमा “परमप्रभुको ज्ञान”-ले परिवर्तन ल्याउन सक्छ र त्यही ज्ञानले भविष्यमा विश्‍वव्यापी तवरमा परिवर्तन ल्याउनेछ। पेद्रोले जस्तै बाइबलको सही ज्ञान लिएर अनि त्यसलाई लागू गरेर तपाईंले पनि “धार्मिकताले बास” गर्ने संसारमा जीवन बिताउने प्रत्याशा राख्न सक्नुहुन्छ। (२ पत्रुस ३:१३) त्यसकारण अझै उपलब्ध यो मौका नगुमाउनुहोस्‌: परमेश्‍वर अनि येशू ख्रीष्टको ज्ञान लिनुहोस्‌ र अनन्त जीवन पाउनुहोस्‌!—यूहन्‍ना १७:३. ( w10 -E 09/01)

[फुटनोट]

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? पुस्तिका हेर्नुहोस्‌।

b नाम परिवर्तन गरिएको छ।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

तपाईंले पनि “धार्मिकताले बास” गर्ने संसारमा जीवन बिताउने प्रत्याशा राख्न सक्नुहुन्छ।

२ पत्रुस ३:१३