सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“विश्‍वासको उत्तम लडन्त लड”

“विश्‍वासको उत्तम लडन्त लड”

“विश्‍वासको उत्तम लडन्त लड”

युद्ध चलिरहेको बेला, “जाऊ! घर फर्केर आफ्नी पत्नी र परिवारसित समय बिताऊ” भनेर कुनै सैनिकलाई निर्देशन दिइँदा तिनी खुसी नभएको के तपाईं कल्पना गर्न सक्नुहुन्छ?

इस्राएलको राजा दाऊदको समयमा एउटा सैनिकले यस्तै निर्देशन पाए। हित्ती उरियाहलाई राजा स्वयम्‌ले झिकाए र घर फर्कन प्रोत्साहन दिए। यद्यपि, उरियाह घर फर्कन मानेनन्‌। तिनको यस्तो अस्वाभाविक व्यवहारबारे सोध्दा उरियाहले, परमेश्‍वरको उपस्थितिलाई प्रतिनिधित्व गर्ने करारको सन्दूक र इस्राएली सेनाहरू रणभूमिमा भएको जवाफ दिए। उनले यसो भने, “त म कसरी खान र पिउन र मेरी स्वास्नीसित सुत्नलाई घरमा जाऊँ।” उरियाहको लागि यस्तो निर्णायक घडीमा यी कुराहरू गर्नु अकल्पनीय थियो।—२ शमूएल ११:८-११.

उरियाहको व्यवहारले महत्त्वपूर्ण प्रश्‍नहरू खडा गर्छ किनकि हामी पनि युद्धको समयमा बाँचिरहेका छौं। हाल चर्किरहेको युद्ध, आजसम्म संसारका राष्ट्रहरूले लडेका युद्धभन्दा बिलकुलै भिन्‍न छ। तुलनात्मक रूपमा भन्‍ने हो भने यो युद्धको अगाडि दुईवटा विश्‍वयुद्धहरू महत्त्वहीन देखिन्छन्‌ अनि तपाईं यस युद्धमा संलग्न हुनुहुन्छ। खतरा ठुलो छ, शत्रु भयानक छ। यस युद्धमा कुनै बन्दुक पड्‌काइँदैन, कुनै बम वर्षाइँदैन तर रणकौशलताको आवश्‍यकता भने त्यत्तिकै छ।

हतियार उठाउनुअघि यसो गर्नु के नैतिक रूपमा उचित छ अनि तपाईं केका लागि लड्‌दै हुनुहुन्छ, सो तपाईंले थाह पाउनै पर्छ। के युद्ध लड्‌नुको कुनै महत्त्व छ? प्रेरित पावलले तिमोथीलाई लेखेको पत्रमा यस अद्वितीय युद्धको उद्देश्‍यलाई स्पष्ट पारेका छन्‌: “विश्‍वासको उत्तम लड़न्त लड़।” हो, यस युद्धमा तपाईंले कुनै किल्लाको होइन तर बाइबलमा प्रकट गरिएको सम्पूर्ण मसीही सत्य अर्थात्‌ “विश्‍वासको” प्रतिरक्षा गर्नुपर्छ। स्पष्टतः यस युद्धमा लड्‌न र विजयी हुन तपाईं त्यस “विश्‍वास[प्रति]” पूर्णतया विश्‍वस्त हुनै पर्छ।—१ तिमोथी ६:१२.

चतुर योद्धाले आफ्नो शत्रुलाई चिन्‍ने कोसिस गर्छ। यस युद्धमा शत्रुसित विशाल स्रोतसाधन र हातहतियार हुनुका साथै रणकौशलतामा वर्षौंको अनुभव छ। त्यो पनि कुनै साधारण मानव होइन। त्यो दुराचारी, हिंस्रक र कुटिल छ; त्यो शैतान हो। (१ पत्रुस ५:८) त्यो प्रतिद्वन्द्वी विरुद्ध शारीरिक हातहतियार तथा मानिसको छक्कापन्जा र छल प्रयोग गर्नु बेकार हुनेछ। (२ कोरिन्थी १०:४) यो युद्धमा संलग्न हुँदा तपाईंले प्रयोग गर्नुपर्ने हतियार के हो त?

मुख्य हतियार “आत्माको तरवार” हो, “जो चाहिं परमेश्‍वरको वचन हो।” (एफिसी ६:१७) यसको प्रभावकारितालाई प्रेरित पावल यसरी देखाउँछन्‌: “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:११, १२) आन्तरिक विचार अनि व्यक्‍तिविशेषको मनोभावलाई छेड्‌न सक्ने यत्ति धारिलो, अचूक हतियार प्रयोग गर्दा कुशल अनि एकदम होसियार हुनै पर्छ।

सेनासित अत्याधुनिक हातहतियारहरू त होलान्‌ तर सैनिकहरूसित ती चलाउने दक्षता छैन भने ती सब बेकम्मा हुन्छन्‌ भन्‍ने कुरा त तपाईंलाई थाहै होला। त्यसरी नै आफ्नो तरवारलाई प्रभावकारितासाथ चलाउन तपाईंलाई पनि निर्देशन चाहिन्छ। खुसीको कुरा, एकदमै अनुभवी योद्धाहरूद्वारा दिइने प्रशिक्षण तपाईंले पाउन सक्नुहुन्छ। अरूलाई तालिम दिने यी योद्धा शिक्षकहरूलाई येशूले “विश्‍वासी र बुद्धिमान दास” भन्‍नुभयो र आफ्ना अनुयायीहरूलाई समसामयिक आध्यात्मिक भोजन अथवा निर्देशनहरू प्रदान गर्ने जिम्मेवारी तिनीहरूलाई सुम्पनुभयो। (मत्ती २४:४५) सिकाउनको लागि यसले गर्ने लगनशील प्रयास अनि शत्रुका रणनीतिहरूबारे दिने समसामयिक चेतावनीलाई हेरेर तपाईं यो सामूहिक दासवर्गलाई चिन्‍न सक्नुहुन्छ। यो सामूहिक दासवर्ग यहोवाका साक्षीहरूको मसीही मण्डलीका आत्मा-अभिषिक्‍त सदस्यहरू मिलेर बनेको कुरा प्रमाणहरूले देखाउँछ।—प्रकाश १४:१.

यो सामूहिक दास वर्गले निर्देशन दिने मात्र गरेको छैन। यसले प्रेरित पावलको मनोभाव देखाएको छ जसले थिस्सलोनिकीका मण्डलीलाई यस्तो लेखे: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं। त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्‍वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” (१ थिस्सलोनिकी २:७, ८) उपलब्ध यो मायालु प्रशिक्षणको पूर्ण सदुपयोग गर्ने जिम्मेवारी प्रत्येक मसीही सैनिकको हो।

सम्पूर्ण हातहतियार

तपाईंको सुरक्षाको लागि सम्पूर्ण लाक्षणिक हातहतियार उपलब्ध गराइएको छ। तपाईंले यी हातहतियारहरूको सूचि एफिसी ६:१३-१८ मा पाउन सक्नुहुन्छ। आफ्नो आध्यात्मिक हतियार ठाउँमा छैन अथवा मर्मत गर्नुपरेको छ भने होसियार सैनिकले जोखिम उठाउनेछैनन्‌।

एक जना मसीहीलाई सुरक्षा दिने सम्पूर्ण हातहतियार चाहिन्छ तर विशेष गरेर विश्‍वासको ठूलो ढाल अझ मूल्यवान्‌ हुन्छ। त्यसैले पावलले यस्तो लेखे: “तीबाहेक विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउनसक्ने हुनेछौ।”—एफिसी ६:१६.

सम्पूर्ण शरीरलाई ढाक्न सक्ने ठूलो ढालले विश्‍वासको गुणस्तरलाई प्रतिनिधित्व गर्छ। तपाईंसित यहोवाका निर्देशनहरूप्रति बलियो विश्‍वास हुनै पर्छ अनि तपाईंले उहाँका सम्पूर्ण प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुरालाई कुनै शङ्‌का नगरी मानिलिनै पर्छ। तपाईंलाई यस्तो लाग्नुपर्छ, मानौं यी प्रतिज्ञाहरू पूरा भइसकेका छन्‌। शैतानको सम्पूर्ण विश्‍व रीतिरिवाज छिट्टै नष्ट हुनेछ, पृथ्वी प्रमोदवनमा परिणत हुनेछ अनि परमेश्‍वरप्रति वफादार रहनेहरू फेरि सिद्धतामा फर्कनेछन्‌ भन्‍ने कुरामा रत्तीभर शङ्‌का नगर्नुहोस्‌।—यशैया ३३:२४; ३५:१, २; प्रकाश १९:१७-२१.

यद्यपि, हाल चलिरहेको यस असाधारण युद्धमा तपाईंलाई अर्को एउटा कुराको पनि आवश्‍यकता छ—त्यो हो मित्र। युद्धको समयमा सँगी योद्धाहरू मित्रताको घनिष्ठ बन्धनमा बाँधिन्छन्‌ र ती मित्रहरूले प्रोत्साहन दिनुका साथै एक-अर्कालाई सुरक्षा दिन्छन्‌ अनि कहिलेकाहीं त एक-अर्काको ज्यानसमेत बचाउँछन्‌। मित्रहरूको महत्त्व त छ तर यस युद्धबाट बच्नको लागि तपाईंलाई स्वयम्‌ यहोवाको मित्रता चाहिन्छ। त्यसैले सम्पूर्ण हातहतियारको सूचिबारे बताइसकेपछि अन्तमा पावल यसो भन्छन्‌: “सारा प्रार्थना र अन्तरबिन्तीबाट, हर समय आत्मामा प्रार्थना . . . गर।”—एफिसी ६:१८.

हामीलाई घनिष्ठ मित्रसित बस्न मन लाग्छ। हामी तिनीसित समय बिताउन खोज्छौं। प्रार्थनामा नियमित रूपमा यहोवासित कुरा गर्दा उहाँ हाम्रो लागि वास्तविक अर्थात्‌ एक भरपर्दो मित्र बन्‍नुहुन्छ। चेला याकूब हामीलाई यस्तो प्रोत्साहन दिन्छन्‌: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.

शत्रुका चालहरू

यस संसारसित युद्ध लड्‌नु भनेको कहिलेकाहीं विस्फोटक पदार्थ बिछ्याइएको जमीनमा हिंड्‌नु जत्तिकै हुन सक्छ। जुनसुकै दिशाबाट पनि आक्रमण हुन सक्छ अनि तपाईंले चालै नपाएको बेला शत्रुले आक्रमण गर्न खोज्छ। यद्यपि, ढुक्क हुनुहोस्‌, तपाईंलाई चाहिने सारा सुरक्षाहरू यहोवाले उपलब्ध गराउनुभएको छ।—१ कोरिन्थी १०:१३.

शत्रुले तपाईंको विश्‍वासको आधारभूत जग अर्थात्‌ बाइबल सत्यलाई आक्रमणको तारो बनाउन सक्छ। धर्मत्यागीहरूले तपाईंलाई पराजित गर्ने कोसिसमा चिल्ला शब्द, चापलुसी व्यवहार अनि धूर्त तर्कहरू चलाउन सक्छन्‌। तर धर्मत्यागीहरूले तपाईंको भलो चिताएका हुँदैनन्‌। हितोपदेश ११:९ यसो भन्छ: “ईश्‍वरहीन [धर्मत्यागी, NW] मानिस आफ्नो वचनले अरूहरूलाई नाश गर्न चेष्टा गर्छ, तर धर्मी मानिसले तिनीहरूका निम्ति बिन्ती गर्दा तिनीहरू बचाइन्छन्‌।”

धर्मत्यागीहरूका तर्कहरूको खण्डन गर्न तिनीहरूका कुरा सुन्‍नुपर्छ र तिनीहरूले लेखेका कुराहरू पढ्‌नुपर्छ भन्‍ने सोचाइ राख्नु गलत हुनेछ। तिनीरूका धूर्त, घातक तर्कहरूले आध्यात्मिक हानि पुऱ्‍याउन सक्छ र तपाईंको विश्‍वासलाई छिट्टै फैलिने सइनको घाउले जत्तिकै सङ्‌क्रमित गर्न सक्छ। (२ तिमोथी २:१६, १७) बरु, धर्मत्यागीहरूप्रति परमेश्‍वरले देखाउनुहुने प्रतिक्रियाको अनुकरण गर्नुहोस्‌। अय्यूबले यहोवाबारे यसो भने: “ईश्‍वरहीन [धर्मत्यागी, NW] मानिस उहाँको सामने देखा पर्नसक्‍तैन।—अय्यूब १३:१६.

शत्रुले फरक चाल पनि चाल्न सक्छ जसले केही हदसम्म सफलता पाएको छ। मार्च गरिरहेको सेनालाई उसको पङ्‌क्‍तिबाट बाहिर ल्याइ व्यभिचार, अनैतिक आचरणमा प्रलोभित गर्न सकेको खण्डमा यसले गन्जागोल उत्पन्‍न गराउन सक्छ।

अनैतिक चलचित्र तथा टेलिभिजन कार्यक्रम अनि अनियन्त्रित संगीत जस्ता सांसारिक मनोरञ्जनहरू पासोमा पार्ने प्रभावकारी चाराहरू हुन्‌। कसै-कसैले आफूलाई कुनै असर नगरीकनै अनैतिक दृश्‍य हेर्न अथवा अनैतिक साहित्य पढ्‌न सकिन्छ भनी दाबी गर्छन्‌। सुस्पष्ट यौन अनैतिकताले भरिएको चलचित्र नियमित रूपमा हर्ने एक जना व्यक्‍तिले कुनै कुरा नलुकाईकन यसरी मानिलिए: “तपाईंले ती दृश्‍यहरूलाई कहिल्यै बिर्सनुहुन्‍न, तपाईंले त्यसबारे जति सोच्नुहुन्छ, त्यति नै आफूले हेरेको दृश्‍य जस्तै गरूँ-गरूँ जस्तो लागेको पाउनुहुन्छ। . . . त्यस्ता चलचित्रहरूले तपाईंलाई, आफूले साँच्चै केही कुरा गुमाइरहेको जस्तो सोच्न लगाउँछ।” यसरी चालै नपाई घाइते हुन सक्ने जोखिम उठाउनु बेकार होइन र?

शत्रुको अस्त्र भण्डारमा रहेको अर्को हतियार भौतिकवादी प्रलोभन हो। यो खतरालाई चिन्‍न गाह्रो हुन सक्छ किनकि हामी सबैका भौतिक आवश्‍यकताहरू छन्‌। हामीलाई घर, खानेकुरा र लुगाफाटा चाहिन्छ अनि राम्रा सरसामानहरू हुनु गलत होइन। खतरा, भौतिक कुराप्रति मानिसको दृष्टिकोणमा खतरा लुकेको हुन्छ। आध्यात्मिक कुराहरूभन्दा रूपियाँ-पैसा बढी महत्त्वपूर्ण बन्‍न सक्छ। हामी रूपियाँ-पैसाको प्रेमी बन्‍न सक्छौं। धनसम्पत्तिका सीमितताहरूबारे आफूलाई सम्झाउनु राम्रो हुन्छ। यी क्षणिक हुन्छन्‌ तर आध्यात्मिक सम्पत्ति भने चिरस्थायी हुन्छ।—मत्ती ६:१९, २०.

यदि सेनाको मनोबल घट्यो भने जित्ने सम्भावना पनि कम हुन्छ। “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” (हितोपदेश २४:१०) शैतानले प्रभावकारिताका साथ चलाएको एउटा हतियार निरुत्साह हो। “मुक्‍तिको आशाको टोप” लगाउँदा तपाईंले निरुत्साह विरुद्ध लड्‌न मदत पाउनुहुनेछ। (१ थिस्सलोनिकी ५:८) तपाईंको आशालाई अब्राहामको जस्तै बलियो राख्ने कोसिस गर्नुहोस्‌। आफ्नो एक मात्र छोरा इसहाकलाई बलिदानमा चढाउने आज्ञा दिंइदा अब्राहाम हिचकिचाएनन्‌। परमेश्‍वरले उनकै सन्तानद्वारा सारा राष्ट्रलाई आशिष्‌ दिने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ र उक्‍त प्रतिज्ञा पूरा गर्न आवश्‍यक परेमा उहाँले इसाहकलाई पुनरुत्थानसमेत गर्न सक्नुहुन्छ भन्‍ने कुरामा उनले विश्‍वास गरे।—हिब्रू ११:१७-१९.

लड्‌न नछोड्‌नुहोस्‌

लामो समयससम्म साहसीपूर्वक लड्‌ने कोही-कोही थाकेका हुन सक्छन्‌ अनि त्यसैले पहिले जत्तिकै सतर्कतासाथ लडी नरहेका हुन सक्छन्‌। यस लेखको सुरुमै उल्लिखित उरियाहको उदाहरणले युद्धमा संलग्न सबैलाई सही दृष्टिकोण कायम राखिराख्न मदत गर्न सक्छ। धेरै जसो हाम्रा सँगी मसीही योद्धाहरूले आधारभूत कुराहरूबाट समेत वञ्चित हुनुपरेको छ, खतराहरूको सामना गर्नुपरेको छ वा रोग र भोक खप्नु परेको छ। उरियाह जस्तै आज हामी पनि आफूले आनन्द उठाउन सक्ने सम्पूर्ण सुखसयलहरूबारे सोच्न चाहदैनौं अथवा आरामको जिन्दगी बिताउने चाहनामा आफूलाई भुलाउन चाहदैनौं। हामी यहोवाका वफादार योद्धाहरूको विश्‍वव्यापी सेनामा रहिरहन चाहन्छौं अनि हामी, हाम्रो लागि साँचेर राखिएको त्यो अद्‌भुत आशिष्‌को आनन्द प्राप्त नगरुन्जेल लडिरहन चाहन्छौं।—हिब्रू १०:३२-३४.

अन्तिम आक्रमण त भविष्यमा कहिले हो कहिले भन्‍ने सोचाइ राख्दै आफ्नो सतर्कतालाई गुमाउनु खतरनाक हुनेछ। राजा दाऊदको उदाहरणले यस खतरालाई प्रकाश पार्छ। कुनै कारणवश उनी आफ्ना फौजहरूसित लडाइँमा थिएनन्‌। फलतः दाऊदले घोर पाप गरे जसले उनको बाँकी जीवनमा वेदना र पीडा ल्यायो।—२ शमूएल १२:१०-१४.

यस युद्धमा संलग्न हुनु, लडाइँका कठिनाइहरूको सामना गर्नु, उपहास सहनु, शङ्‌कास्पद सांसारिक आनन्दलाई त्याग्नु के सार्थक होइन र? संसारले दिने कुराहरू चमचम चम्कने सितारा जस्तै आकर्षक देखिन सक्छन्‌ तर नजिकबाट नियाल्दा यसको कुनै मूल्य हुँदैन भन्‍ने कुरामा सफलतासाथ युद्ध लडिरहेकाहरू सहमत छन्‌। (फिलिप्पी ३:८) यसको अतिरिक्‍त, त्यस्ता आनन्दहरूले अक्सर पीडा र निराशा ल्याउँछ।

यस आध्यात्मिक युद्धमा संलग्न भएका मसीहीहरूले साँचो मित्रहरूसितको घनिष्ठ मित्रता, सफा अन्तस्करण अनि अद्‌भुत भविष्यको आनन्द उठाउँछन्‌। आत्मा-अभिषिक्‍त मसीहीहरू ख्रीष्ट येशूसित अमर स्वर्गीय जीवनको आशा राख्छन्‌। (१ कोरिन्थी १५:५४) अधिकांश मसीही योद्धाहरू पार्थिव प्रमोदवनमा सिद्ध मानव जीवन बिताउने आशा राख्छन्‌। निस्सन्देह, यस्ता पुरस्कारहरू अन्य कुनै पनि त्यागहरूभन्दा मूल्यवान्‌ छन्‌। अनि अन्य सांसारिक युद्धहरूजस्तो नभई, हामी विश्‍वासी रहुन्जेल यस युद्धमा हाम्रो विजय निश्‍चित छ। (हिब्रू ११:१) यद्यपि, शैतानको नियन्त्रणमा रहेको यस रीतिरिवाजको परिणाम सर्वनाश हुनेछ।—२ पत्रुस ३:१०.

यस युद्ध लड्‌नुहुँदा येशूका यी शब्दहरूलाई नबिर्सनुहोस्‌: “ढाड़स गर, मैले संसारलाई जितेको छु।” (यूहन्‍ना १६:३३) सतर्क रहेर अनि परीक्षाको समयमा निष्ठा कायम राखेर उहाँले जित्नुभयो। हामी पनि जित्न सक्छौं।

[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]

यस युद्धमा कुनै बन्दुक पड्‌काइँदैन, कुनै बम वर्षाइँदैन तर रणकौशलताको आवश्‍यकता भने त्यत्तिकै छ

[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]

हामी विश्‍वासी रहुन्जेल यस युद्धमा हाम्रो विजय निश्‍चित छ

[पृष्ठ २६-मा भएको चित्र]

मुक्‍तिको टोपले हामीलाई निरुत्साहसित लड्‌न मदत गर्नेछ

शैतानको “अग्निबाण[ बाट]” जोगिन विश्‍वासको ठूलो ढाल प्रयोग गर्नुहोस्‌

[पृष्ठ २८-मा भएको चित्र]

“परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”

[पृष्ठ २९-मा भएको चित्र]

परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने विश्‍वास हामीसित हुनुपर्छ