सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

कुनै एक जना मसीहीले अदालतमा आफ्नो हात बाइबलमाथि राखेर सबै कुरा साँचो बोल्ने शपथ खानु के धर्मशास्त्रअनुसार उचित हो?

यस सन्दर्भमा हरेक व्यक्‍तिविशेषले व्यक्‍तिगत निर्णय गर्नुपर्छ। (गलाती ६:५) तथापि, अदालतमा सत्य बोल्नको लागि शपथ खान बाइबलले निषेध गरेको छैन।

धेरै समयअघि देखि नै शपथ खाने गरेको पाइन्छ। उदाहरणका लागि, प्राचीनकालमा युनानीहरूले स्वर्गतिर हात उठाएर वा वेदीलाई छोएर शपथ खान्थे। कुनै रोमीले शपथ खाँदा हातमा ढुंगा लिएर यसो भन्थे: “मैले जानाजानी छल गरें भने, [देवता] जुपिटरले यस शहर र यसका किल्लाहरूलाई बचाउनुहुँदा मैले यस ढुंगालाई मिल्काएझैं उहाँले पनि मेरो जीवनबाट सबै असल कुराहरू मिल्काइदेऊन्‌।”—जोन म्याक्लिन्टक तथा जेम्स स्ट्रङद्वारा लिखित साइक्लोपीडिया अफ बिब्लिकल, थियोलोजिकल एण्ड एक्लेजियास्टीकल लिटरेचर, खण्ड ७, पृष्ठ २६०.

त्यस्ता कार्यहरूले मानव गतिविधिहरूलाई नियालिरहेका कुनै दैवी शक्‍तिको अस्तित्व छ र आफूले लेखा दिनुपर्छ भनी मानिसहरूले स्वीकारिरहेको कुरा संकेत गर्छ। पुरातन समयदेखि नै यहोवाका साँचो उपासकहरूले आफूले भनेका र गरेका कुरा उहाँलाई थाह छ भनी मानिआएका छन्‌। (हितोपदेश ५:२१; १५:३) तिनीहरूले शपथ खाँदा परमेश्‍वरकै अगाडि शपथ खाएझैं वा उहाँ त्यसको साक्षी बस्नुभएझैं ठान्थे। उदाहरणका लागि, बोअज, दाऊद, सुलेमान र सिदकियाह राजाले त्यसो गरे। (रूथ ३:१३; २ शमूएल ३:३५; १ राजा २:२३, २४; यर्मिया ३८:१६) साँचो परमेश्‍वरका उपासकहरूले अरूले आग्रह गर्दा पनि शपथ खाए। यो कुरा अब्राहाम र येशू ख्रीष्टको सन्दर्भमा देख्न सकिन्छ।—उत्पत्ति २१:२२-२४; मत्ती २६:६३, ६४.

यहोवासामु शपथ खाने व्यक्‍तिले कहिलेकाहीं कुनै प्रकारको इसारा गरेको पनि हामी देख्न सक्छौं। अब्रामले (अब्राहाम) सदोमका राजालाई यसो भने: “स्वर्ग र पृथ्वी बनाउनुहुने यहोवा सर्वोच्च परमेश्‍वरसामु हात उठाएर म यस्तो किरिया हाल्छु।” (उत्पत्ति १४:२२, NW) अगमवक्‍ता दानियलसित कुरा गर्दै स्वर्गदूतले “आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उठाए, औ तिनले सर्वदा जीवित रहनुहुनेको शपथ खाए।” (दानियल १२:७) साथै, परमेश्‍वरले समेत शपथ खानुहुँदा आफ्नो हात प्रतिकात्मक रूपमा उठाउनुभएको कुरा बताइएको छ।—व्यवस्था ३२:४०; यशैया ६२:८.

शपथ नखानु भनेर धर्मशास्त्रमा कतै पनि उल्लेख गरिएको छैन। तथापि, एक जना मसीहीले आफूले भनेको हरेक कुरा सत्य हो भनेर शपथ खाइरहनु आवश्‍यक छैन। येशूले यसो भन्‍नुभयो: “तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्‌।” (मत्ती ५:३३-३७) चेला याकूबले पनि त्यस्तै कुरा व्यक्‍त गरे। तिनले “शपथ नहाल” भनेर चेतावनी दिंदा नचाहिंदो कुराहरूमा शपथ नखानु भन्दैथिए। (याकूब ५:१२) न येशूले न त याकूबले नै अदालतमा सत्य कुरा बयान दिंदा शपथ हाल्नु गलत हो भन्‍नुभयो।

कुनै मसीहीले आफूले प्रस्तुत गरेको प्रमाण साँचो हो भनेर शपथ खानुपऱ्‍यो भने नि? त्यस्तो शपथ खान सकिन्छ भनी तिनले महसुस गर्न सक्छन्‌। नभए, तिनले बताएको कुरा झूटो होइन भन्‍ने पुष्टि गर्न तिनलाई अनुमति पनि दिइन सकिन्छ।—गलाती १:२०.

अदालतमा हात उठाएर वा बाइबलमाथि हात राखेर शपथ खानुपर्दा एक जना मसीहीले त्यस आज्ञालाई मान्‍ने छनौट गर्न सक्छन्‌। तिनले कुनै इसाराद्वारा नै त्यस्तो शपथ खाएको धर्मशास्त्रीय उदाहरणहरूलाई मनमा राख्न सक्छन्‌। एक जना मसीहीको लागि शपथ खाँदा गर्ने कुनै पनि इसाराभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूले परमेश्‍वरसामु सत्य बोल्ने शपथ खाइरहेको छु भन्‍ने कुरा सम्झनु हो। त्यस्तो शपथ खानु भनेको गम्भीर विषय हो। त्यस्तो परिस्थितिमा एक जना मसीहीले आफूलाई सोधिएको प्रश्‍नको जवाफ दिन सक्छु र दिनै पर्छ भन्‍ने महसुस गर्छन्‌ भने आफूले सत्य बोल्ने शपथ खाइसकेको छु भन्‍ने कुरा तिनले मनमा राख्नुपर्छ किनभने साँच्चै भन्‍ने हो भने, मसीहीहरू हर समय सत्य बोल्न चाहन्छन्‌।