सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धर्मपुत्र हुँदाका चुनौतीहरू म कसरी सामना गर्न सक्छु?

धर्मपुत्र हुँदाका चुनौतीहरू म कसरी सामना गर्न सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

धर्मपुत्र हुँदाका चुनौतीहरू म कसरी सामना गर्न सक्छु?

“मलाई जन्म दिने आमाबाबुबारे केही थाह छैन र यसले मलाई दुःखी बनाउँछ।”—बार्बरा, उमेर १६ वर्ष।

“म कहाँ जन्मिएँ वा मेरा आमाबाबु को हुन्‌ भनेर मलाई केही पनि थाह छैन। कहिलेकाहीं राति म यसबारे सोच्ने गर्छु।”—म्याट, उमेर ९ वर्ष।

“मेरा धर्मपिता-मातासित भनाभन हुँदा सायद मेरो ‘आफ्नै’ आमाबाबुले मेरो कुरा बुझ्नुहुने थियो कि जस्तो लाग्छ। यस्तो सोच्नु एकदमै नराम्रो हो र आजसम्म मैले उहाँहरूलाई त्यसबारे केही भनेको छैन।”—किन्टाना, उमेर १६ वर्ष।

निस्सन्देह, धर्मपुत्र वा धर्मपुत्रीले सामना गर्नुपर्ने चुनौतीहरू बेग्लै प्रकारका हुन्छन्‌। थुप्रै जवानहरूले माथि व्यक्‍त गरिएकाजस्तै भावनाहरू विरुद्ध संघर्ष गर्छन्‌। धेरैले आफूलाई जन्म दिने आमाबाबु को हुन्‌ भनेर खोज्नुपर्ने हो कि वा तिनीहरूसित जीवन अझ रमाइलो पो हुन्थ्यो कि भनेर सोच्ने गर्छन्‌। अनि अरू चुनौतीहरू पनि छन्‌।

यस श्रृंखलाको अघिल्लो लेखमा हामीले केही धर्मपुत्र वा धर्मपुत्रीहरूको मनमा आउने नकारात्मक गलत अनुमानहरूबारे छलफल गऱ्‍यौं। a धर्मपुत्र वा धर्मपुत्रीको हैसियतमा जीवनमा आनन्द पाउन त्यस्ता निरुत्साहजनक सोचाइहरू विरुद्ध संघर्ष गर्नु अत्यावश्‍यक छ। तर अरू कस्ता चुनौतीहरू खडा हुन सक्छन्‌ अनि त्यसको सामना गर्न तपाईंले कस्ता व्यावहारिक कदमहरू चाल्न सक्नुहुन्छ?

के तिनीहरू मेरा “आफ्नै” आमाबाबु हुन्‌?

तेह्र वर्षीय जेकले बताएअनुसार तिनी आफूलाई जन्म दिने आमाबारे सोचिरहने गर्थे। यसले गर्दा तिनका धर्मपिता-मातासित खटपट भइरहन्थ्यो। तिनी भन्छन्‌: “मलाई रिस उठ्यो भने म यसो भन्थें, ‘तपाईं मेरो आफ्नै आमा होइन—तपाईंले मलाई त्यस्तो सजाय दिन पाउनुहुन्‍न!’ ”

यो कुराकानीले देखाएअनुसार जेकले यो अवस्था बुझेपछि एउटा गम्भीर प्रश्‍न सामना गर्नुपऱ्‍यो: तिनको “आफ्नै” आमा को हुन्‌? तपाईंलाई धर्मपुत्र वा धर्मपुत्री बनाइएको छ भने तपाईंले पनि यही प्रश्‍न सामना गरिरहनुभएको हुन सक्छ। विशेष गरी, तपाईंलाई जन्म दिने आमाबाबुले अहिलेका आमाबाबुले भन्दा राम्रो व्यवहार गर्थे कि भनेर सोचिरहनुहुँदैछ भने। तर के तपाईंलाई जन्म दिने आमाबाबु नै तपाईंका “आफ्नै” आमाबाबु हुन सक्छन्‌ र?

जेकलाई धर्मपुत्र बनाएकी आमाले त्यस्तो सोच्दिनथिन्‌। जेक भन्छन्‌: “मेरी आमाले यसो भन्‍नुहुन्थ्यो, ‘हो, म तिम्रो आफ्नै आमा हुँ। तिमीलाई जन्म दिने आमा अर्कै भए तापनि अब म तिम्रो आफ्नै आमा हुँ।” वयस्कहरूले कुनै बच्चालाई आफ्नो घरमा लगेर तिनको आवास, भोजन र लालनपालनको जिम्मेवारी वहन गर्न राजी हुँदा तिनीहरू नै “आफ्नै” आमाबाबु बन्छन्‌। (१ तिमोथी ५:८) तपाईं बस्नुहुने इलाकाका कानुनी अख्तियारवालाहरूले पनि त्यस्तै सोच्छन्‌ होला। परमेश्‍वरले कस्तो ठान्‍नुहुन्छ?

धर्मपुत्र बनाउने सन्दर्भमा मानव इतिहासको सबैभन्दा ख्यातिप्राप्त उदाहरण विचार गर्नुहोस्‌—त्यो येशू ख्रीष्टको उदाहरण हो। येशू, सिकर्मी यूसुफको साक्खै छोरा हुनुहुन्‍नथ्यो तैपनि यूसुफले येशूलाई आफ्नै छोरा माने। (मत्ती १:२४, २५) येशू हुर्कंदै गर्नुहुँदा के उहाँले यूसुफको अख्तियारको विद्रोह गर्नुभयो? यसो गर्नुको साटो आफूलाई धर्मपुत्र बनाउने बुबाको कुरा सुन्‍नु परमेश्‍वरको इच्छा हो भनेर येशूले राम्ररी बुझ्नुभएको थियो। यहोवाले इस्राएली बालबालिकाहरूलाई दिनुभएको आज्ञा येशूलाई राम्ररी थाह थियो। त्यो आज्ञा के थियो?

आफ्ना माता-पिताको आदर गर्नू

धर्मशास्त्रले साना केटाकेटीलाई यसो भन्छ: “आफ्ना माता-पिताको आदर गर्नू।” (व्यवस्था ५:१६) बाइबलमा “आदर” शब्दले अक्सर सम्मान, कदर र इज्जतको भाव बुझाउँछ। तपाईंका धर्मपिता-माताप्रति दयालु भएर, उहाँहरूको मर्यादाको सम्मान गरेर, उहाँहरूको दुष्टिकोण सुनिदिएर अनि उहाँहरूका सबै व्यावहारिक मागहरू पूरा गर्न तयार भएर आदर देखाउन सक्नुहुन्छ।

तर तपाईंको धर्मपिता वा माता कहिलेकाहीं अव्यावहारिक देखिनुहुँदा नि? हो, त्यसो हुन सक्छ। उहाँहरू साक्खै होऊन या नहोऊन्‌, सबै आमाबाबु असिद्ध छन्‌। उहाँहरूका त्रुटिहरूले गर्दा आज्ञाकारी हुनु चुनौतीपूर्ण हुन सक्छ। अनि त्यस्तो समयमा तपाईंलाई आफू धर्मपुत्र मात्र भएको हुँदा आज्ञाकारी हुनुपर्ने दायित्व केही कम पो छ कि भन्‍ने सोचाइ आउन सक्छ। तर के वास्तवमा कुरा त्यस्तो हो?

तपाईंले येशूको अवस्थाबारे विचार गरेर केही मदत पाउन सक्नुहुन्छ। नबिर्सनुहोस्‌, उहाँ सिद्ध हुनुहुन्थ्यो। (हिब्रू ४:१५; १ पत्रुस २:२२) तर उहाँका धर्मपिता सिद्ध थिएनन्‌ अनि उहाँलाई जन्म दिने आमा पनि सिद्ध थिइनन्‌। त्यसोभए, सम्भवतः येशूले कहिलेकाहीं आफ्ना आमाबाबुले गरेका गल्तीहरू याद गर्नुभयो होला। के उहाँले यूसुफको असिद्ध शिरत्व वा मरियमको त्रुटिपूर्ण मातृ डोऱ्‍याइको विद्रोह गर्नुभयो? अहँ गर्नुभएन। बाइबलले बताएअनुसार येशू हुर्कंदै जानुहुँदा आफ्ना आमाबाबुको “अधीनमा बस्नुभयो।”—लूका २:५१.

कहिलेकाहीं तपाईं र तपाईंको धर्मपिता वा आमाबीच मतभेद हुँदा गल्ती तिनीहरूकै हो भन्‍ने कुरामा तपाईं पूरा विश्‍वस्त हुनुहोला। तर तपाईंले एउटा कुरा भने मानिलिनै पर्छ, तपाईं आफू पनि असिद्ध हुनुहुन्छ। त्यसकारण तपाईंबाट पनि गल्ती हुन सक्ने सम्भावना सधैं हुन्छ। जे होस्‌, के येशूको उदाहरण पछ्याउनु बुद्धिमानी होइन र? (१ पत्रुस २:२१) त्यसो गर्दा तपाईं आज्ञाकारी हुन सक्नुहुनेछ। तर आज आफ्ना आमाबाबुको आज्ञा पालन गर्नुपर्ने अझ जोडदार कारण छ।

बाइबल यसो भन्छ: “ए बालक हो, सबै कुरामा आमाबाबुका आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुसी तुल्याउनेहुन्छ।” (कलस्सी ३:२०) हो, तपाईं आज्ञाकारी हुनुहुँदा स्वर्गमा हुनुहुने तपाईंको पिता खुसी हुनुहुनेछ। (हितोपदेश २७:११) अनि तपाईं आज्ञाकारी हुन सिकेको उहाँ चाहनुहुन्छ किनभने तपाईं खुसी होस्‌ भन्‍ने पनि उहाँ चाहनुहुन्छ। उहाँको वचनले जवानहरूलाई आज्ञाकारी हुने थप प्रोत्साहन दिंदै यसो भन्छ: “तिमीलाई भलो होस्‌, र पृथ्वीमा तिम्रो दीर्घायु होस्‌।”—एफिसी ६:३.

तपाईंको धर्मपिता-मातासितको सम्बन्ध बलियो बनाउने

तपाईंको धर्मपिता-मातासित राम्रो सम्बन्ध बनाउन आदर गर्नु र आज्ञाकारी हुनु मात्र पर्याप्त छैन। तपाईं घरमा न्यानो तथा मायालु वातावरण चाहनुहुन्छ होला। त्यस्तो वातावरण सृजना गर्ने जिम्मेवारी तपाईंका धर्मपिता-माताको हो। तर तपाईंले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ। कसरी?

सबैभन्दा पहिला, तपाईंका आमाबाबुसित नजिक हुने बाटो खोज्नुहोस्‌। उहाँहरूको पृष्ठभूमि, जीवन र चासोहरूबारे सोध्नुहोस्‌। तपाईंलाई पिरोलिरहेको समस्याबारे सुझाव खोज्न उहाँहरू निश्‍चिन्त र स्फूर्तिदायी भएको समय खोजेर कुरा गर्नुहोस्‌। (हितोपदेश २०:५) दोस्रो, घरको काम-काजमा मदत दिने बाटो खोज्नुहोस्‌, जस्तै: अरूले मदत माग्नुअघि नै घरधन्दा वा अन्य कामहरू गरिदिनुहोस्‌।

तपाईंलाई जन्म दिने आमाबाबु नि? तपाईंले उहाँहरूलाई खोज्ने वा उहाँहरूले तपाईंलाई खोज्ने निर्णय गरेको खण्डमा, के त्यसले तपाईंको धर्मपिता-मातासितको सम्बन्ध तीतो बनाउँछ भन्‍ने छ र? विगतमा, धर्मपुत्र धर्मपुत्रीसम्बन्धी निकायहरूले जन्म दिने आमाबाबुलाई आफ्नो साक्खै बच्चा वा बच्चाले आमाबाबु खोज्न सजिलो बनाइदिनको लागि जानकारी दिन मान्दैनथे। आज, थुप्रै मुलुकका नियमहरू लचिलो भएका छन्‌ अनि थुप्रै बालबालिकाले आफूलाई जन्म दिने आमाबाबु भेटेका छन्‌, जसबारे तिनीहरूलाई कुनै सम्झना छैन। निस्सन्देह, तपाईं बस्नुहुने इलाकामा धर्मपुत्र धर्मपुत्रीसम्बन्धी नियम फरक हुन सक्छ।

जे होस्‌, आफूलाई जन्म दिने आमा खोज्नु वा नखोज्नु, त्यो एउटा व्यक्‍तिगत निर्णय हो र यो सजिलो निर्णय भने होइन। यस मामिलामा धर्मपुत्र धर्मपुत्री बनाइएका युवाहरूका अनेकन्‌ भावनाहरू छन्‌। कोही-कोही आफूलाई जन्म दिने आमाबाबु खोज्न चाहन्छन्‌ भने कोही पटक्कै चाहँदैनन्‌। तथापि, धर्मपुत्र वा धर्मपुत्री बनाइएका थुप्रै जवानहरूले आफूलाई जन्म दिने आमाबाबु भेटेपछि पनि आफ्नो धर्मपिता-मातासित स्थायी सम्बन्ध कायमै राख्न सकेको थाह पाएर ढुक्क महसुस गर्न सक्नुहुन्छ।

तपाईंका धर्मपिता-माता र मसीही मण्डलीका परिपक्व साथीहरूबाट सल्लाह लिनुहोस्‌। (हितोपदेश १५:२२) तपाईंको सामु के कस्ता विकल्पहरू छन्‌, गम्भीरतापूर्वक केलाउनुहोस्‌ अनि सोचविचार गरिसकेपछि मात्र कदम चाल्नुहोस्‌। हितोपदेश १४:१५, नयाँ संशोधित संस्करण-ले ले भनेझैं, “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।”

तपाईं आफूलाई जन्म दिने आमाबाबुसित सम्बन्ध जोड्‌न चाहनुहुन्छ भने तपाईंको धर्मपिता-मातालाई पनि प्रेम र आदर गर्न छोड्‌नुहुनेछैन भन्‍ने आश्‍वासन दिनुहोस्‌। त्यसो गर्दा तपाईंले आफूलाई जन्म दिने को रहेछ अनि किन धर्मपुत्र वा धर्मपुत्री हुन दिइएको रहेछ भनेर थाह पाइसक्नुभएपछि पनि तपाईंलाई हुर्काउने अनि प्रशिक्षण दिने परिवारसित स्थायी बन्धन कायम गर्न सक्नुहुनेछ।

स्वर्गमा हुनुहुने तपाईंको पितासित बलियो सम्बन्ध गाँस्नुहोस्‌

धर्मपुत्र वा धर्मपुत्री बनाइएका थुप्रै युवाहरूलाई आफू त्यागिने हो कि भन्‍ने डर हुन्छ। आफूलाई जन्म दिने आमाबाबुजस्तै कतै आफूलाई धर्मपुत्र बनाउने परिवार पनि गुमाउनुपर्ने पो हो कि भन्‍ने चिन्ता लाग्न सक्छ। त्यस्ता डरहरूको कारण बुझ्न सक्छौं। तैपनि, यी बुद्धिमान्‌ शब्दहरू नबिर्सनुहोस्‌: “प्रेममा डर हुँदैन, तर पूर्ण प्रेमले ता डरलाई हटाउँछ।” (१ यूहन्‍ना ४:१८) आफ्नो प्रियजन गुमाउनुपर्ला भन्‍ने डरको नियन्त्रणमा नपर्नुहोस्‌। बरु, आफ्नो परिवारमा भएका सबैलगायत अरूप्रति प्रेम विकास गर्नुहोस्‌। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, स्वर्गमा हुनुहुने पिता, यहोवा परमेश्‍वरप्रतिको प्रेम बलियो बनाउनुहोस्‌। उहाँ हरहमेसा भरोसा योग्य हुनुभएको हुँदा आफ्ना विश्‍वासी छोराछोरीलाई त्याग्नुहुनेछैन। उहाँले तपाईंका डरहरू शान्त गर्न सक्नुहुन्छ।—फिलिप्पी ४:६, ७.

सानै छँदा धर्मपुत्री बनाइएकी क्याट्रिनाले परमेश्‍वरसित घनिष्ठ हुन अनि आनन्दमय, फलदायी जीवन बिताउन बाइबल पढेर निकै मदत पाएकी कुरा बताइन्‌। उनी भन्छिन्‌, यहोवासितको घनिष्ठ सम्बन्ध “एकदमै महत्त्वपूर्ण छ किनभने स्वर्गमा हुनुहुने पिताले हामी कस्तो महसुस गरिरहेका छौं भनेर बुझ्नुहुन्छ।” क्याट्रिनालाई मनपर्ने शास्त्रपद भजन २७:१० हो र त्यहाँ यसो भनिएको छ: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सह्‍माल्नुहुनेछ।” (g03 5/22)

[फुटनोट]

[पृष्ठ १६-मा भएको चित्र]

तपाईंका धर्मपिता-मातासित नजिक हुने तरिकाहरू खोज्नुहोस्‌