सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गणित सबैको लागि उपयोगी छ

गणित सबैको लागि उपयोगी छ

गणित सबैको लागि उपयोगी छ

गणित वैज्ञानिकहरूको लागि मात्र होइन। यो हामी सबैको लागि हो। बजार जाँदा, घर श्रृंगार गर्दा वा दैनिक मौसमबारे प्रतिवेदन सुन्दा तपाईंले गणितको सिद्धान्त प्रयोग गरिरहनुभएको वा त्यसबाट लाभ उठाइरहनुभएको हुनेछ।

धेरै मानिसहरूले गणित भनेको नरमाइलो र दैनिक जीवनसित कुनै सम्बन्ध नभएको विषय ठान्छन्‌। के तपाईंलाई पनि त्यस्तै लाग्छ? आउनुहोस्‌ गणित कत्तिको उपयोगी, बुझ्न सजिलो र रोमाञ्चकारी हुन सक्छ, हेरौं।

किनमेल गर्न जाँदा

कल्पना गर्नुहोस्‌, तपाईं किनमेल गर्दै हुनुहुन्छ र एउटा पसलमा भारी छुटको विज्ञापन देख्नुहुन्छ। खास मूल्य रू. १,७०० पर्ने सामानमा २५ प्रतिशत छुट दिइएको छ। त्यो त एकदमै सस्तो सुनिन्छ। तर अब नयाँ मूल्य कति हो? अंकगणितले नयाँ मूल्य पत्ता लगाउन तपाईंलाई मदत गर्नेछ। a

सर्वप्रथम, १०० प्रतिशतबाट छुट प्रतिशत घटाउनुहोस्‌ अनि तपाईंले ७५ प्रतिशत (१०० प्रतिशत - २५ प्रतिशत = ७५ प्रतिशत) पाउनुहुन्छ। यसरी घटाएर निस्केको परिणामलाई अर्थात्‌ ७५ प्रतिशतलाई (०.७५) सुरुको मूल्यले गुणन गर्नुहोस्‌। नयाँ मूल्य रू. १२७५ (१,७०० × ०.७५ = १,२७५) हुनेछ। अब तपाईंलाई यसको अब पर्ने मूल्य थाह भएपछि वास्तवमा कति सस्तो हो भनेर थाह पाउन सक्नुहुन्छ।

तपाईंले क्यालकुलेटर आफूसित लैजान बिर्सनुभयो भने नि? सायद तपाईंले आफ्नै दिमागमा हिसाब गर्न सक्नुहुन्छ। उदाहरणका लागि, मानिलिनुहोस्‌ कुनै वस्तुको खास मूल्य रू. २,००० मा १५ प्रतिशत छुट दिइएको छ। आफ्नो दिमागमा प्रतिशतको हिसाब गर्ने सजिलो तरिका यहाँ दिइएको छ। दस प्रतिशतलाई आधार मान्‍नुहोस्‌। कुनै संख्याको १० प्रतिशत निकाल्न उक्‍त संख्यालाई १० ले भाग गर्नुहोस्‌। यो हिसाब मनमनै गर्न त्यति गाह्रो छैन। अब तपाईंलाई १५ भनेको १० जोड ५ हो र ५ भनेको १० को ठ्याक्क आधा हो भनेर थाह भएको हुँदा तपाईंले जोड घटाउ गरेर छुट हुँदाको मूल्य सजिलै पत्ता लगाउन सक्नुहुन्छ। आउनुहोस्‌, हिसाब गरेर हेरौं।

अब २,००० को १० प्रतिशत २०० हुन्छ, २,००० को ५ प्रतिशत भनेको त्यसको आधा अथवा १०० हुन्छ अनि १५ प्रतिशत भनेको ती दुईको योगफल अथवा ३०० हुन्छ (२००+१००=३००)। अन्तमा, २,००० बाट ३०० घटाउँदा छुटपछिको मूल्य १,७०० (२,०००-३००=१,७००) हुन्छ। यसरी नै तपाईंले कुनै वस्तुमा लाग्ने बिक्री कर वा रेस्टुराँमा कति टिप दिने भनेर हिसाब गर्न सक्नुहुन्छ। निस्सन्देह, यी अवस्थाहरूमा रकम घटाउनुको साटो सुरुको मूल्यमा जोड्‌नुपर्छ।

तर मनमनै हिसाब गर्दा गलत निष्कर्षमा पुग्नदेखि होसियार हुनुहोस्‌। एउटा लुगा वा पाइन्ट, जसमा ४० प्रतिशत छुट दिएर त्यसमाथि थप अर्को ४० प्रतिशत छुट दिंदा ८० प्रतिशत नभई जम्मा ६४ प्रतिशत मात्र छुट दिइएको हुन्छ। यो दोस्रो छुट, सुरुको मूल्यमा नभई घटाइसकेको मूल्यमा हुन्छ। हुन त सस्तो होला तर सबै कुरा राम्ररी बुझ्नु बेस हो।

तर अंकगणितले मात्र सुल्झाउन नसकिने समस्याहरू हुन्छन्‌। खुसीको कुरा, गणितका अरू थुप्रै हाँगाबिंगाहरू छन्‌।

घरको साजसज्जा

मानिलिनुहोस्‌, तपाईंको कोठाको भूइँमा बिछ्याउने कार्पेट फेर्नुपरेको छ र तपाईंसित सीमित पैसा मात्र छ। तपाईं पसलमा किन्‍न जानुअघि के-के चाहिन्छ भनेर घरैमा बसेर हिसाबकिताब गर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो: बिछ्याउन कति कार्पेट चाहिन्छ? केही आधारभूत ज्यामितिको ज्ञानले मदत गर्न सक्छ।

भूइँमा बिछ्याउने कार्पेट अक्सर वर्ग एकाईको हिसाबमा बिक्री गरिन्छ। उदाहरणका लागि, एक वर्ग मिटरमा लम्बाइ र चौडाइ दुवै एक एक मिटर हुन्छ। बिछ्याउने कार्पेट कति चाहिन्छ भनेर पत्ता लगाउनुअघि तपाईंको घरको हरेक कोठा र कोठाहरूबीचको हिंड्‌ने बाटोमा ठाउँ कति छ भनेर पत्ता लगाउनुपर्छ। प्रायजसो भवनका भूइँहरू वर्ग र आयातको संख्या हिसाब गरेर बनाइएको हुन्छ। त्यसकारण निम्न सुत्रले तपाईंलाई मदत गर्नेछ: क्षे = ल × चौ (क्षेत्रफल भनेको लम्बाइ र चौडाइको गुणनफल हो)। यो आयात वा वर्गको क्षेत्रफल निकाल्ने ज्यामितीय सुत्र हो।

यो सुत्र कसरी प्रयोग गर्न सकिन्छ भनी बुझाउन मानिलिनुहोस्‌ तपाईं आफ्नो घरको भान्छाकोठा र बाथरूमको भूइँबाहेक सबै कोठामा नयाँ कार्पेट बिछ्याउँदै हुनुहुन्छ। तपाईं हरेक कोठाको नाप लिएर पृष्ठ २३ मा देखाइएको जस्तो योजना बनाउनुहुन्छ। यस योजनाका वर्ग तथा आयातले कोठाहरूको साइज र स्थान देखाउँछ। माथि दिइएको सुत्र प्रयोग गरेर तपाईंले भूइँमा बिछ्याउन कति कार्पेट चाहिन्छ भनेर हिसाब गर्न सक्नुहुन्छ कि हुन्‍न, हेर्नुहोस्‌। यहाँ केही सुझावहरू छन्‌: तपाईंले प्रत्येक कोठाको क्षेत्रफल निकालेर सबै कोठाको योगफल निकाल्न सक्नुहुन्छ। अथवा कूल क्षेत्रफल निकालेर भान्छाकोठा तथा बाथरूमको क्षेत्रफल घटाउनुभयो भने पनि तपाईंको केही समय बच्नेछ। b

ज्यामिति भनेको वर्ग, दूरी, आयतन तथा आकार र रेखाहरूको अध्ययन हो। दुई र तीन आयामिक आकारको लागि उपयोगी सुत्रहरू ज्यामितिमा छन्‌। हरेक दिन वैज्ञानिक, इन्जिनियर तथा गृह सज्जा गर्ने व्यक्‍तिहरूले कति सरसामान चाहिन्छ भनेर हिसाब निकाल्न यी सुत्रहरू प्रयोग गर्छन्‌। तर गणित भनेको अंकगणित र ज्यामिति मात्र होइन।

दिनहुँ हिसाबको प्रयोग गर्नुहोस्‌

गणितका अन्य शाखाहरूमा बीजगणित र क्यालकुलस पर्छन्‌। शताब्दीयौंको दौडान गणित साँच्चै एउटा विश्‍वव्यापी भाषा भएको छ र विभिन्‍न संस्कृति, धर्म वा लिंगका मानिसहरूले प्रयोग गर्छन्‌। विज्ञान, उद्योग, व्यापार र दैनिक जीवनमा गणितले एकदमै कठिन प्रश्‍नहरूको समाधान गर्न मदत गर्छ। चाहे तपाईंले ब्रह्‍माण्डको रहस्य बुझ्न लाग्नुभएको होस्‌ वा परिवारको खर्च हिसाब मिलाउन लाग्नुभएको होस्‌; गणितसम्बन्धी ज्ञान भयो भने तपाईंले सफलता हासिल गर्न सक्नुहुनेछ।

स्कूलमा छँदा गणित तपाईंको मनपर्ने विषय थिएन होला तर अहिले एक चोटि फेरि ध्यान दिनुभए कसो होला? अरू भाषाजस्तै हिसाब भनेको प्रयोग गरेपछि सिकिने कुरा हो। दिनहुँ धेरथोर गणित प्रयोग गर्ने प्रयास गर्नुहोस्‌। गणितका खेल अनि प्रश्‍नहरू सुल्झाउने कोसिस गर्नुहोस्‌। एक चोटि सफल हुनु भएपछि गणितप्रति तपाईंको धारणा बदलिन सक्छ। एउटा कुरा भने पक्का छ, यी रहस्यमय धारणाहरू सुरु गर्नुहुने महान्‌ गणितज्ञ, हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरको बुद्धिप्रति तपाईंको मूल्यांकन अवश्‍य बढ्‌नेछ। (g03 5/22)

[फुटनोटहरु]

a अंकगणितलाई गणितमध्ये सबैभन्दा पुरानो मानिन्छ। यसको सुरुआत हजारौं वर्षअघि भयो र यो पुरातन बेबिलोनी, चिनियाँ तथा मिश्रीहरूले प्रयोग गर्थे। अंकगणितले हामीलाई हाम्रो वरपर पाइने वस्तुहरू गन्‍न अनि नाप्न चाहिने आधारभूत माध्यम प्रदान गर्छ।

b जवाफ = ५४ वर्ग मिटर कार्पेट।

[पृष्ठ १९-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

⇩ |⇦ ३ मि. ⇨|⇦ ३ मि. ⇨| |

| | | |

| | | |

| | | |

३ | भान्छाकोठा | डाइनिङ रूम | बैठक |

मि. | | | कोठा |

| | | |

| | | |

| | | |

⇧⇩ ------------ ------ ------- |

|

१.५ कोठाहरूबीचको ठाउँ |

मि. |

|

⇩⇧ ----------------------- ----- |

| | | |

| | | |

| | | |

३ | | बाथ- | |

मि.| सुत्ने कोठा | रूम | |

| | | |

| | | |

| | | |

⇧ |⇦ ४.५ मि. ⇦|⇦ १.५ मि. ⇨|⇦ ३ मि. ⇦|

[पृष्ठ १९-मा भएको चित्र]

गणितले तपाईंलाई दैनिक कार्यहरू गर्न मदत दिन सक्छ