सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म्युजिक भिडिओ—म कसरी राम्रो छनौट गर्न सक्छु?

म्युजिक भिडिओ—म कसरी राम्रो छनौट गर्न सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

म्युजिक भिडिओ—म कसरी राम्रो छनौट गर्न सक्छु?

“राम्रो नाम नकमाएको समूहको नाउँ वा गीत प्रसारण गरेको देख्ने बित्तिकै म अर्को च्यानल लगाइहाल्छु।”—केजी।

म्युजिक भिडिओ—अधिकांश युवाहरूलाई यो एकदमै मनोरञ्जनात्मक लाग्छ। तर यसै श्रृंखलाको अघिल्लो लेखले देखाएझैं थुप्रै म्युजिक भिडिओहरूमा यौन अनैतिकता र हिंसाका ज्यादै नराम्रा दृश्‍यहरू देखाइन्छन्‌। a निस्सन्देह, कुनै पनि किसिमको मनोरञ्जनले परमेश्‍वरले निन्दा गर्नुहुने कुरालाई बढवा दिन थालेमा मसीहीहरू त्यसबाट टाढै बस्नुपर्छ। तथापि, सबै म्युजिक भिडिओहरू प्रत्यक्षतः अश्‍लील हुन्छन्‌ भन्‍ने छैन। कुनै-कुनै त केही हदसम्म राम्रै पनि हुन सक्छन्‌। अन्य कतिपयमा चाहिं दुष्ट कुराहरू खुल्लमखुल्ला चित्रण नगरिएजस्तो लाग्न सक्छ। यद्यपि, त्यस्ता भिडिओहरूले परमेश्‍वरको वचनसित मेल नखाने विचारधारा अप्रत्यक्ष ढंगमा प्रवाह गर्न सक्छ।

तपाईंका आमाबुबाले तपाईंलाई म्युजिक भिडिओ हेर्ने अनुमति दिए तापनि तपाईंले राम्रो छनौट र आफ्नो बाइबल प्रशिक्षित “ज्ञानेन्द्रिय” प्रयोग गर्नुपर्नेछ किनकि यसो गरेको खण्डमा तपाईंले हेर्न उचित वा अनुचित कुरा छुट्याउन सक्नुहुनेछ। (हिब्रू ५:१४) यस सन्दर्भमा कुन-कुन बाइबल सिद्धान्तहरूले तपाईंलाई मदत गर्न सक्छन्‌? निम्न बाइबल पद तथा टिप्पणीहरू तपाईंका लागि लाभदायी साबित हुन सक्छन्‌।

हितोपदेश ४:२३: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।” के तपाईंसित आफूलाई एकदमै मनपर्ने खेलकुदको सरसामान वा बाजा छ? यसलाई तपाईं सकेसम्म राम्रो अवस्था र सुरक्षित ठाउँमा राख्ने कोसिस गर्नुहुन्छ। बिग्रिएला वा चोरी होला भन्‍ने डरले गर्दा तपाईं यसलाई एकछिनको लागि समेत त्यतिकै छोड्‌नुहुन्‍न। हो, तपाईं यसलाई सुरक्षित राख्नुहुन्छ। त्यस्तै गरी, हानिकारक मनोरञ्जन हेरेर एकछिनको लागि समेत आफ्नो हृदयलाई खतरामा नपार्ने निर्णय तपाईंले गर्नै पर्छ।

एफिसी २:१, २: “जब तिमीहरू आफ्ना अपराध र पापमा मरेका थियौ, तब उहाँले तिमीहरूलाई सजीव पार्नुभयो। जसमा यस संसारको रीतिअनुसार, आकाशको शक्‍तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्माअनुसार तिमीहरू अघि एकपल्ट चल्दथियौ।” आकाश भनेको संसारको आत्मा, अभक्‍त आचरणमा लुकेको सोचाइ र मनोवृत्ति हो। यो आत्मा थुप्रै म्युजिक भिडिओहरूमा झल्किनुका साथै यसले आनन्द, शान्ति र आत्मसंयमजस्ता गुणहरू फलाउने परमेश्‍वरको आत्माको विरोध गर्छ।—गलाती ५:२२, २३.

दोस्रो तिमोथी २:२२: “जवानीका अभिलाषाहरूबाट भाग।” अनैतिक दृश्‍यहरू एकछिनको लागि नै किन नहोस्‌, ती हेर्दा यौन इच्छा प्रबल हुन सक्छ। यस्ता दृश्‍यहरू मनमा रहिरहन्छन्‌ भनी थुप्रै जवानहरू स्वीकार्छन्‌; तिनीहरू यस्ता दृश्‍य मनमा घरिघरि खेलाइरहन लालायितसमेत हुन सक्छन्‌। छाडा भिडिओ हेरेका डेभ नाउँ गरेका एक जना जवान मानिस यसरी स्वीकार्छन्‌: “त्यसपछि त त्यो गीत सुन्‍नेबित्तिकै म यो भिडिओ सम्झिहाल्थें।” यस्ता भिडिओहरू हेर्दा त्यसले अनैतिक यौन सम्बन्ध राख्ने इच्छा जगाउन सक्छ।—१ कोरिन्थी ६:१८; कलस्सी ३:५.

हितोपदेश १३:२०: “मूर्खहरूसित लागे बरालिन्छ।” आफैलाई सोध्नुहोस्‌, ‘के म हिंसा मन पराउने, तन्त्रमन्त्र खेलाउने, मतवाला वा अनैतिक मानिसहरूलाई आफ्नो घरमा बोलाउँछु?’ टेलिभिजनको माध्यमबाट यस्ता व्यक्‍तिहरूसित संगत गर्नु भनेको उनीहरूलाई आफ्नो घरमा बोलाउनुजस्तै हो। के यसो गर्दा तपाईं ‘बरालिने’ सम्भावना हुन सक्छ? किम्बर्ली यस्तो टिप्पणी गर्छिन्‌: “मैले जमघटहरूमा केटीहरूले भर्खरै भिडिओमा हेरेजस्तै पहिरन वा नाच्ने शैली नक्कल गरेको देखेकी छु।” सायद तपाईंले पनि यस्तै कुराहरू देख्नुभएको होला। ईश्‍वरीय स्तरहरूलाई आदर नगर्ने मानिसहरूको नक्कल गरेर यी युवायुवतीहरूले आफू ‘बरालिन’ थालेको छाँट देखाउँछन्‌। त्यसकारण जसरी भए पनि हर प्रकारको ‘खराब संगतदेखि’ टाढै बस्नुहोस्‌।—१ कोरिन्थी १५:३३.

भजन ११:५: “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ।” हामीले निरर्थक, हिंसाजस्तो पतित कुरालाई बढवा दिने भिडिओ हेऱ्‍यौं भने, के यसले हामी ‘हिंसा मन पराउँछौं’ भन्‍ने कुराको अलिकति भए पनि छनक दिंदैन र?

राम्रो छनौट गर्ने चुनौती

“सारा संसार त्यस दुष्टको अधीनमा परेको” कारण सांसारिक सोचाइ तथा मनोवृत्तिले असर नगरेको मनोरञ्जन भेट्टाउन झन्‌-झन्‌ गाह्रो हुँदै गएको छ। (१ यूहन्‍ना ५:१९) कुनै-कुनै म्युजिक-भिडिओ च्यानलहरूले आपत्तिजनक कुराहरू प्रशस्तै देखाउन सक्छन्‌। यसो हेर्दा कार्यक्रम अनैतिक वा हिंसाले भरिएको छैन जस्तो लाग्दासमेत अक्सर यसले संसारको आत्माको प्रवर्धन गरिरहेको हुन्छ। एक जना पेसेवर संगीतकारले एउटा लोकप्रिय म्युजिक-भिडिओ च्यानल, “म्युजिक च्यानल नभई ‘लाइफस्टाइल च्यानल’ ” भएको याद गरेछन्‌।

यसको समाधान सजिलो देखिएला—भिडिओ नराम्रो छ भने अर्को च्यानल लगाऊ। तर कुरा के हो भने, अन्य टिभी च्यानलहरू हेर्दा पनि सावधान हुनु आवश्‍यक छ। धेरै च्यानलहरूले हिंसा वा अश्‍लील कुराले लिप्त कार्यक्रमहरू अथवा नैतिक तवरमा आपत्तिजनक अवस्थामा परेका मानिसहरू देखाउँछन्‌। हुन त हो, एकातिर रमाइलो गर्न खोज्नु र अर्कोतिरचाहिं च्यानल फेर्न सधैं तयार रहनु झर्कोलाग्दो मात्र होइन दिक्कलाग्दो समेत हुन सक्छ। अनि कहिलेकाहीं तपाईंले च्यानल त फेर्नुहोला तर यसले क्षति भने पुऱ्‍याइसकेको हुन्छ। मनमा अनैतिक दृश्‍यहरू कहिल्यै नमेटिने गरी ठप्प बसिसकेको हुन्छ। तर जे होस्‌, आफ्नो हृदयलाई सुरक्षित राख्न तपाईंले गर्नुहुने निष्कपट प्रयासमा यहोवाले आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ।—२ शमूएल २२:२१.

लाभदायी साबित हुने अन्य व्यावहारिक कदमहरू पनि छन्‌। सुरुमा उल्लिखित केजीले आफूलाई लाभदायी लागेका कुरा यसरी बताए: “प्रायजसो भिडिओको सुरुमै समूहको नाउँ र गीतको बोल देखाइन्छ। ब्यान्डहरूको आ-आफ्नै किसिमको ख्याति हुने भएकोले कुन समूह तथा गीतहरू नराम्रा हुन सक्छन्‌ भन्‍ने कुरा प्रायजसो तपाईंलाई सधैं थाह हुन्छ। यसकारण राम्रो नाम नकमाएका समूहको नाउँ वा गीत प्रसारण गरेको देख्नेबित्तिकै म अर्को च्यान लगाइहाल्छु। साँच्चै भन्‍ने हो भने, सुरुमै।”

‘आफ्नो हृदयमा सत्य बोल्ने’

बाइबल सिद्धान्तहरूको ज्ञानले तपाईं जतिसुकै सुसज्जित हुनुभए तापनि सुरुमा आफूलाई आपत्तिजनक लागेका कुरा पछि ठीकै हो जस्तो लाग्न धेरै बेर लाग्दैन। कसरी? आफ्नो मनमा नानाभाँति तर्क-वितर्क गरेर। (याकूब १:२२) बाइबलले बताएअनुसार यहोवाको मित्र त्यही हो जसको “हृदयले सत्य बोल्छ।” (भजन १५:२) त्यसैले आफैसँग इमानदार हुनुहोस्‌। आफैलाई धोका नदिनुहोस्‌। कुनै शंकास्पद कुरा हेरिरहेको बेला सफाइ दिने कोसिस गरिरहनुभएको पाउनुभयो भने, आफैलाई सोध्नुहोस्‌, ‘मैले हेरिरहेको कुरा के यहोवालाई साँच्चै स्वीकार्य होला?’ नबिर्सनुहोस्‌, चुनौती भनेको के सही वा के गलत भन्‍ने कुरा थाह पाउनु मात्र होइन तर जे सही छ त्यो गर्ने निर्णय गर्न सक्नु हो! यहोवासितको आफ्नो सम्बन्धलाई तपाईंले कुनै पनि किसिमको मनोरञ्जनभन्दा अनमोल ठान्‍नै पर्छ।—२ कोरिन्थी ६:१७, १८.

राम्रो छनौट गर्ने सन्दर्भमा आधा मनको वा लर्तरो संकल्प गरेर मात्र पुग्दैन। तपाईंको संकल्प बलियो छैन भने त्यो ढलपल हुन केही बेर लाग्दैन। बाइबलले हामीलाई परमेश्‍वरका जन अय्यूब भन्‍ने व्यक्‍तिले कसरी आफ्नी पत्नीप्रति वफादार रहने संकल्प गरे भनी बताउँछ। तिनले यसो भने: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ़ संकल्प गरें।” (अय्यूब ३१:१) कल्पना गर्नुहोस्‌ त! अय्यूबले आफूले हेर्ने कुरामा सीमा तोक्ने संकल्प गरे वा गम्भीर वाचा बाँधे। तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। आफैसित नराम्रा कुराहरू नहेर्ने दृढ संकल्प अर्थात्‌ गम्भीर वाचा गर्नुहोस्‌। निश्‍चित सीमा तोक्नुहोस्‌। यसलाई प्रार्थनामा राख्नुहोस्‌। त्यसपछि आफ्नो सर्तअनुसार चल्नुहोस्‌, मदतकारी हुन्छ भने, यसलाई लेखेर पनि राख्न सक्नुहुन्छ। तपाईंलाई थप सहयोग चाहिन्छ भने, यस विषयमा आफूभन्दा पाको भरोसायोग्य व्यक्‍ति; जस्तै: आफ्ना आमाबुबासित कुरा गरे कसो होला?

खतराहरूलाई ध्यानमा राख्दै कोही-कोही मसीही युवाहरूले म्युजिक भिडिओ पटक्कै नहेर्ने निधो गरेका छन्‌। यस विषयमा तपाईंले जस्तोसुकै निर्णय गर्नुभए तापनि आफ्नो ज्ञानेन्द्रिय शक्‍ति प्रयोग गर्नुहोस्‌। सफा अन्तस्करण कायम राख्नुहोस्‌। स्वास्थ्यकर तथा स्फूर्तिदायी मनोरञ्जन मात्र हेरेर आफूलाई हानि गर्ने अनि यहोवासितको मित्रतालाई बिगार्ने कुराहरूबाट तपाईं टाढै बस्न सक्नुहुन्छ। (g03 3/22)

[फुटनोट]

a मार्च ८, २००३ को हाम्रो अंकमा दिइएको “युवा जनहरू सोध्छन्‌ . . . के मैले म्युजिक भिडिओ हेर्नु ठीक हो? भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ १४-मा भएको चित्र]

कुनै-कुनै भिडिओहरू प्रत्यक्षतः अनैतिक नदेखिए तापनि त्यसले हानिकारक विचारधारा प्रवर्धन गरिरहेको हुन्छ

[पृष्ठ १५-मा भएको चित्र]

परमेश्‍वरले अस्वीकार गर्नुहुने कुराहरू नहेर्ने निश्‍चय गर्नुहोस्‌