सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जटिल कारण, व्यापक असर

जटिल कारण, व्यापक असर

जटिल कारण, व्यापक असर

“म भोको थिएँ अनि तपाईंहरूले मेरो भोकबारे जाँचबुझ गर्न समिति गठन गर्नुभयो। म घरबारविहीन थिएँ अनि तपाईंहरूले मेरो दुर्दशाबारे प्रतिवेदन पेस गर्नुभयो। म बिरामी थिएँ अनि तपाईंहरूले आफ्नो हक-अधिकारबाट वञ्चितहरूको अवस्थाबारे गोष्ठी आयोजना गर्नुभयो। तपाईंहरूले मेरो दुर्दशाको सबै पक्षबारे अनुसन्धान गर्नुभयो तर म अझै भोको, घरबारविहीन र बिरामी छु।”—अज्ञात लेखक।

कुपोषण निर्मूल गर्न विश्‍व निकायहरूले लाख प्रयास गरिसकेको भए तापनि आशा गरिएजस्तो सफलता हासिल गर्न सकेका छैनन्‌। उदाहरणका लागि, राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको १९९६ मा सम्पन्‍न विश्‍व-खाद्यसम्बन्धी शिखर बैठकले सन्‌ २०१५ सम्ममा विश्‍वका न्यूनपोषित मानिसहरूको संख्या आधा अर्थात्‌ लगभग ४० करोड कम गर्ने लक्ष्य राखेको थियो। a

खुसीको कुरा, केही प्रगतिहरू भएका छन्‌। तर दुःखको कुरा, विश्‍व-खाद्य तथा कृषि संगठनको हालैको रिपोर्ट, द स्टेट अफ फुड इन्सेक्योरिटी इन द वर्ल्ड २००१ यो कुरा मानिलिन्छ: “विश्‍वको न्यूनपोषित जनसमुदाय घटाउने प्रयासमा खासै सफलता हासिल गर्न नसकेको कुरा स्पष्ट छ।” अतः उक्‍त शिखर बैठकको लक्ष्य हासिल गर्न सम्भव जस्तो देखिंदैन। वास्तवमा भन्‍ने हो भने, उक्‍त रिपोर्टले मानिलिएअनुसार “अधिकांश विकासोन्मुख राष्ट्रहरूमा न्यूनपोषित मानिसहरूको संख्यामा निकै वृद्धि भएको छ।”

यो शत्रुलाई पराजित गर्न यत्तिको गाह्रो हुनुको कारण के हो? यसको जवाफ पाउन हामीले सर्वप्रथम कुपोषणको परिभाषा थाह पाउनुपर्छ अनि मात्र यसका व्यापक असर तथा जटिल कारणहरू केलाउन सक्छौं।

कुपोषण हुनुको कारण के हो?

शरीरका कोषहरूले पर्याप्त मात्रामा पौष्टिक तत्त्व प्राप्त गर्न नसक्दा कुपोषण हुन्छ र यसका कारक तत्त्वहरू मुख्यतया दुइटा छन्‌: (१) प्रोटिन, क्यालोरी, भिटामिन र खनिज पदार्थहरू भएको भोजन पर्याप्त मात्रामा नलिनु अनि (२) संक्रामक रोग लागिरहनु।

पखाला, दादुरा, औलो अनि श्‍वासप्रश्‍वाससम्बन्धी रोगहरूले शरीरलाई लखतरान बनाउनुका साथै पौष्टिक तत्त्वहरूको ठूलो खति गर्छ। यसले गर्दा भोक हराउने भएकोले खाना खाने मात्रामा कमी हुँदा कुपोषण हुन्छ। अर्कोतर्फ, न्यूनपोषित बालकलाई सजिलै रोगहरू सर्न सक्छ। यसरी प्रोटिन-एनर्जी म्यालन्युट्रीशन (पि इ एम) मृत्यु दर बढ्‌ने घातक चक्र सुरु हुन्छ।

किन बालबालिकालाई कुपोषण हुने खतरा बढी हुन्छ? तिनीहरूको शारीरिक विकास तीव्रगतिमा हुने हुँदा क्यालोरी र प्रोटिन बढी चाहिन्छ। गर्भवती तथा सुत्केरी महिलालाई कुपोषण हुन सक्ने खतरा बढी हुनुको कारण पनि यही हो।

प्रायजसो, बच्चा जन्मनुभन्दा अघि नै समस्या देखा पर्न थालिसकेको हुन्छ। गर्भवती हुनुअघि र गर्भवती हुँदा आमा न्यूनपोषित वा कुपोषित भएकी छिन्‌ भने बच्चा जन्मँदा उसको तौल कम हुन्छ। त्यसपछि, बच्चालाई चाँडै आमाको दूध छुटाउनु, सही किसिमको खाना कुन हो भन्‍ने ज्ञानको कमी अनि सरसफाइको अभावले गर्दा कुपोषण हुन सक्छ।

आवश्‍यक पौष्टिक तत्त्वहरूको अभावमा बच्चाको विकास र वृद्धि सही अनुपातमा हुँदैन। ऊ धेरै रून्छ र चाँडचाँडो बिरामी हुन्छ। अवस्था झन्‌ झन्‌ बिग्रँदै गएपछि बच्चाको तौल घटेको प्रत्यक्ष देखिन्छ, आँखा र टाउकोको तालु भित्र गाडिन्छ; छाला तथा तन्तुहरू चाउरिन्छ अनि शरीरको तापक्रम कायम गर्ने क्षमतामा ह्रास आउँछ।

न्यूनपोषणका असरहरू फरक फरक हुन्छन्‌। यसले पनि केटाकेटीको विकास अवरुद्ध गर्न सक्छ। उदाहरणका लागि, खास गरी आइरन, आयोडिन, जिंकजस्ता खनिजपदार्थ र भिटामिनहरूमध्ये मुख्यतया भिटामिन ए-को अभावमा त्यस्ता असरहरू देखिन सक्छ। संयुक्‍त राष्ट्रसंघ बालकोषले (युनिसेफ) टिप्पणी गरेअनुसार संसारका लगभग १० करोड साना बालबालिका भिटामिन ए-को कमीले प्रभावित छन्‌ र यसले गर्दा बच्चाहरूमा अन्धोपन हुन्छ। यसले रोग प्रतिरोधात्मक प्रणालीलाई पनि कमजोर बनाउने हुँदा बच्चाले संक्रमण विरुद्ध लड्‌न सक्दैन।

व्यापक असरहरू

कुपोषणले खास गरी बच्चाको शरीरलाई खत्तमै पार्छ। मुटु, मृगौला, पेट, आन्द्रा, फोक्सो र मस्तिष्कलगायत शरीरका सबै अंग र प्रणालीलाई असर गर्न सक्छ।

विभिन्‍न अनुसन्धानहरूले देखाएअनुसार बच्चाको न्यून विकासले गर्दा सुस्त वृद्धि हुनुका साथै पढाइ तथा बौद्धिक कार्यलाई समेत कमजोर बनाएको पाइन्छ। संयुक्‍त राष्ट्रसंघको रिपोर्टले यो “सबैभन्दा गम्भीर कुपोषणको दीर्घकालीन परिणाम हो” भनेको छ।

बाल्यावस्थामा कुपोषणको सिकार भएका व्यक्‍तिहरूमा यसको असर वयस्क हुँदा पनि देखिन सक्छ। त्यसैकारण, युनिसेफले यस्तो बिलौना गऱ्‍यो: “रोकथाम गर्न सकिने हुँदा हुँदै यस्तो अनुपातमा मानव बुद्धि ह्रास हुन दिनु भनेको ठूलो क्षति हुनुका साथै नैतिक दृष्टिकोणबाट समेत गलत हो।” अतः कुपोषणका दीर्घकालीन असरहरू ठूलो चिन्ताको विषय हो। हालैका अनुसन्धानहरूले देखाएअनुसार शैशवकालमा न्यूनपोषित बालबालिकाहरू वयस्क अवस्थामा मुटुको रोग, मधुमेह र उच्च रक्‍तचापजस्ता गम्भीर रोगको सिकार हुन सक्ने सम्भावना देखिन्छ।

तथापि, गम्भीर कुपोषण सबैभन्दा व्यापक समस्या होइन किनभने युनिसेफ यो कुरा मानिलिन्छ: “कुपोषणसित सम्बन्धित कारणबाट हुने मृत्युमध्ये तीन चौथाइ, गम्भीर कुपोषणबाट नभई साधारणमध्यम कुपोषणबाट हुन्छन्‌।” (तेर्सो अक्षर हाम्रो) साधारण वा मध्यम कुपोषणको सिकार भएका बालबालिकामा दीर्घकालीन स्वास्थ्य समस्याहरू देखिनु कुनै अनौठो कुरा होइन। त्यसकारण बालबालिकामा न्यूनपोषणका लक्षणहरू चिन्‍नु आवश्‍यक छ किनभने यसो गरेको खण्डमा मात्र सही उपचार गर्न सकिन्छ।—पृष्ठ ७ को पेटी हेर्नुहोस्‌।

जटिल कारणहरू

माथि उल्लेख गरिएझैं कुपोषणको प्रत्यक्ष कारण खानाको अभाव हो। तर योभन्दा गम्भीर सामाजिक, आर्थिक, सांस्कृतिक र वातावरणीय कारणहरू पनि छन्‌। यसमध्ये प्रमुख कारण गरिबी हो जसबाट खास गरी विकासोन्मुख मुलुकका करोडौं मानिसहरू प्रभावित छन्‌। तथापि, गरिबी एउटा कारण हुनुको अलावा परिणाम पनि हो किनभने न्यूनपोषणले मानिसहरूको उत्पादनशक्‍तिमा ह्रास ल्याउँछ र गरिबीलाई झनै चर्काउँछ।

कुपोषणका अन्य कारणहरू पनि छन्‌। ज्ञानको कमीले गर्दा पोषणयुक्‍त भोजन कुन हो भन्‍ने थाह हुँदैन। हामीले बुझिहाल्यौं, अर्को एउटा कारण सरुवा रोगहरू हुन्‌। साथै, खाद्यान्‍न वितरणमा पक्षपातमहिलाहरू विरुद्ध भेदभावजस्ता सामाजिक तथा सांस्कृतिक कारणहरू पनि छन्‌। महिलाहरूले अक्सर “सबैभन्दा पछि र कम” खान्छन्‌—त्यसको मतलब हो, पुरुषहरूले खाइसकेपछि र पुरुषहरूले भन्दा कम खान्छन्‌। महिलाहरूलाई शिक्षा हासिल गर्ने मौका पनि दिइएको हुँदैन र त्यसले गर्दा तिनीहरू बच्चाहरूको राम्रो स्याहार गर्न जान्दैनन्‌।

साथै, खाद्यान्‍न उत्पादनमा कमी आउनुको एउटा कारण वातावरणीय पक्ष पनि हो। जस्तै, प्राकृतिक प्रकोप र युद्धहरू। “द स्टेट अफ फुड इन्सेक्योरिटी इन द वर्ल्ड २००१”-अनुसार अक्टोबर १९९९ देखि जून २००१ सम्म मात्रै २२ वटा देश खडेरी, १७ वटा आँधीबेह्री वा बाढी, १४ वटा गृहयुद्ध वा कलह, ३ वटा कठाङग्रिने हिउँद याम र २ वटा भुइँचालोबाट प्रभावित भए।

उपचार र रोकथाम

कुपोषित बच्चाको उपचार कसरी गर्न सकिन्छ? बच्चालाई अत्यन्तै न्यूनपोषण भएको छ भने सुरुमा त अस्पतालमा भर्ना गर्नु सबैभन्दा राम्रो उपाय हुन सक्छ। विश्‍व-स्वास्थ्यसंघले चिकित्सकहरूको लागि तयार पारेको निर्देशिकाअनुसार डाक्टरहरूले बच्चाको अवस्था हेर्नेछन्‌ अनि कुनै पनि प्रकारको संक्रमण, जलवियोजन भए नभएको हेरेर उपचार सुरु गर्नेछन्‌। सुरुमा बिस्तारै नलीमार्फत पोषण दिइन्छ। यो प्रारम्भिक उपचार एक हप्तासम्म लम्बिन सक्छ।

त्यसपछि, स्वास्थ्यलाभ प्रक्रिया सुरु हुन्छ। बच्चालाई फेरि आमाको दूध खुवाइन्छ अनि सकेसम्म बढी खाना खान प्रोत्साहन दिइन्छ। यस अवधिमा भावनात्मक तथा शारीरिक तवरमा फकाइफुल्याइ गर्नु महत्त्वपूर्ण हुन्छ। बच्चाको विकासमा स्याहारसुसार र स्नेहको निकै ठूलो भूमिका हुन्छ। अब यो अवस्थामा बच्चालाई सही भोजन दिनुका साथै स्याहारसुसार गर्ने सम्बन्धी आमालाई शिक्षा दिन सकिन्छ र यसो गर्दा स्वास्थ्यस्थिति फेरि खस्कने सम्भावना कम हुन्छ। त्यसपछि, बच्चालाई अस्पतालबाट घर पठाइन्छ। बच्चालाई समय-समयमा जँचाउन अस्पताल वा क्लिनिकमा लैजानुपर्छ।

तथापि, एउटा कुरा भने स्पष्ट छ, रोकथाम सबैभन्दा उत्तम तरिका हो। त्यसैकारण, थुप्रै देशमा सरकार तथा निजी संगठनहरूले भोजन परिपूर्ति कार्यक्रम वा सामान्य आपूर्तिको लागि भोजनमा थप तत्त्वहरू थप्ने कार्यक्रमहरू स्थापना गरेका छन्‌। समुदायहरूले पनि कुपोषण रोकथाम गर्न विभिन्‍न तरिकामा मदत गर्छन्‌। जस्तै, पोषणसम्बन्धी शैक्षिक कार्यक्रम प्रदान गरेर, पिउने पानीको स्रोतलाई सुरक्षित राखेर, शौचालय निर्माण गरेर, वरपरको वातावरण स्वच्छ राखेर, खोप कार्यक्रमहरू प्रायोजन गरेर अनि बालबालिकाहरूको वृद्धि र विकासको रेकर्ड राखेर।

तर कुपोषणलाई रोक्न व्यक्‍तिगत तवरमा के गर्न सकिन्छ? पृष्ठ ८ को पेटीमा केही मदतकारी सुझावहरू छन्‌। यसको साथै, सुत्केरी आमालाई बच्चा जन्मेको सात दिनपछि, एक महिनापछि र त्यसपछि हरेक महिना बाल-चिकित्सक वा स्वास्थ्य चौकीमा जँचाउन लैजानको लागि बाल-पोषणविद्‌ जर्जिना टुशान्त सुझाव दिन्छिन्‌। बच्चाले जलवियोजन, पखाला लागेको वा ज्वरोका लक्षणहरू देखाएको खण्डमा पेशेवर स्वास्थ्यकर्मीकहाँ जँचाउन जानुपर्छ।

यी सुझावहरू बच्चाको भोजनलाई अझ स्तरीय बनाउन मदतकारी भए तापनि कुपोषण एउटा ठूलो समस्या हो र यो समस्या मानव प्रयासले मात्र सुल्झाउन सकिंदैन भनेर स्वीकार्नैपर्छ। इन्साइक्लोपीडिया ब्रिटानिका यो कुरा मानिलिन्छ: “पर्याप्त भोजन आपूर्ति र सबै मानिसहरूको लागि पोषणसम्बन्धी शिक्षा अझै पनि जटिल समस्याको रूपमा यथावतै छ।” तसर्थ, के यो “मौन संकट” अन्त हुने कुनै आशा छ? (g03 2/22)

[फुटनोट]

a विश्‍व-खाद्यसम्बन्धी शिखर बैठकबारे थप जानकारीको लागि सेप्टेम्बर ८, १९९७ ब्यूँझनुहोस्‌! अंकको पृष्ठ १२-१४ हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको पेटी]

के तपाईंको बच्चालाई कुपोषण भएको छ?

पेसेवर स्वास्थ्यकर्मीहरूले बच्चाले पर्याप्त पोषण पाए नपाएको कुरा कसरी पत्ता लगाउँछन्‌? तिनीहरूले विभिन्‍न चिह्न तथा लक्षणहरू जाँच्ने, खाना खाने बानीबारे प्रश्‍न सोध्ने अनि प्रयोगशालामा परीक्षण गर्ने निर्देशन दिन सक्छन्‌। तथापि, तिनीहरूले साधारणतया नाप-तौलबाट पत्ता लगाउँछन्‌। तिनीहरूले बच्चाको उमेरअनुसार आवश्‍यक नाप भए नभएको तुलना गरेर हेर्छन्‌। त्यसले तिनीहरूलाई कुपोषणको प्रकार र गम्भीरता निर्धारण गर्न मदत गर्छ।

सबैभन्दा महत्त्वपूर्ण नाप, बच्चाको तौल, उचाइ र पाखुराको घेरा हो। बच्चाको तौल र उमेर तुलना गर्दा कत्तिको न्यूनपोषण भएको रहेछ भनेर पत्ता लाग्छ; गम्भीर कुपोषण भएको छ भने, बच्चा एकदमै सुकेको र च्याँसे देखिन्छ। बच्चाको वजन सामान्यभन्दा ४० प्रतिशतभन्दा बढीले कम छ भने गम्भीर कुपोषण, २५ देखि ४० प्रतिशतले कम छ भने मध्यम कुपोषण र १० देखि २५ प्रतिशतले कम छ भने साधारण कुपोषण मानिन्छ। उचाइका लागि तौलको अनुपात एकदमै कम छ भने बच्चालाई गम्भीर कुपोषण लागेको अर्थात्‌ सुकेनास भएको हुन सक्छ।

प्रोटिन-एनर्जी म्यालन्युट्रीशन-को (पि इ एम) सबैभन्दा गम्भीर रूप मरासमस, क्वासिवर्कर वा दुवै लागेको अवस्था हो। मरासमस (बिस्तारै-बिस्तारै क्षय हुनु) ६ देखि १८ महिनाबीचका काखे बच्चाहरूमा देखा पर्छ। यो क्यालोरी तथा पौष्टिक तत्त्व दुवैको कमीमा बिस्तारै-बिस्तारै देखा पर्छ अनि समय अगावै आमाको दूध छुटाउँदा वा आमाको दूधको सट्टा पानी मिसाइएको पातलो दूध खुवाउँदा यसले अझ उग्र रूप लिन्छ। बच्चाको तौल एकदमै घट्‌न थाल्छ, मांसपेशी एकदमै पातलिंदै गएर छाला हाडमै टाँसिन्छ अनि वृद्धि रोकिन्छ। बच्चाको “अनुहार बूढो मान्छेको जस्तो,” हुनुका साथै क्याउँक्याउँ गर्ने र सधैं रोइरहने हुन्छ।

क्वासिवर्कर भन्‍ने शब्द अफ्रिकाको एउटा स्थानीय भाषाको शब्द हो र यसको अर्थ, “आमाको काखबाट हटाइएको बच्चा” हो। यसले एउटा बच्चा वर्ष दिन नै नपुग्दै आमाले अर्को बच्चा जन्माउने अवस्थालाई संकेत गर्छ। यो अवस्था बच्चालाई दूध छुटाइसकेपछि देखा पर्छ अनि क्यालोरीको अभावले हुने भए तापनि वास्तवमा प्रोटिनको एकदमै कमीले गर्दा हुन्छ। यसो हुँदा शरीरमा तरल पदार्थको मात्रा बढी हुन्छ र बच्चाको हत्केला, पैताला र पेट सुन्‍निएको देखिन्छ। कहिलेकाहीं यसको असर मुहारमा पनि देखा पर्छ, मुहार सुन्‍निएर भकुण्डोजस्तो देखिन्छ। छालामा घाउ आउने अनि रौंको रङ र बनोट फरक देखिन्छ। यस्तो अवस्थाका बच्चाहरूको कलेजो सुन्‍निनुका साथै मुहारमा कुनै चमक नै हुँदैन र दुःखी देखिन्छन्‌। अघिल्लो लेखमा उल्लिखित एरिकलाई यस्तै भएको थियो। उसकी आमाले उसलाई एक महिना मात्र स्तनपान गराइन्‌; त्यसपछि, पानी मिसाएको गाईको पातलो दूध खुवाइन्‌। तीन महिनाको हुँदा उसलाई तरकारीको झोल र चिनी पानी खुवाइयो अनि छिमेकीको जिम्मामा छोडियो।

तेस्रो प्रकारको पि इ एम-मा मरासमस र क्वासिवर्कर दुवैका लक्षणहरू देखा पर्छन्‌। समयमै उपचार गरिएन भने यी लक्षणहरू घातक साबित हुन सक्छ।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

तपाईंको बच्चालाई कुपोषणबाट जोगाउनुहोस्‌

◼ आमाको भोजनको गुणस्तर बढाउनु अपरिहार्य छ। गर्भवती तथा सुत्केरी महिलाले बढी क्यालोरी तथा प्रोटिन खानुपर्छ। विशेष गरी प्रोटिनले आमाको दूध बढाउन मदत गर्छ। त्यसकारण खाना प्रशस्त छैन भने गर्भवती वा सुत्केरी आमा र साना बच्चाहरूलाई प्राथमिकता दिनुहोस्‌।

◼ प्रायजसो सबै अवस्थामा आमाको दूध नै बच्चाको लागि सर्वोत्तम आहारा हो। यो विशेष गरी नवजात शिशुको लागि लागू हुन्छ किनभने आमाको दूधमा बच्चालाई संक्रमण हुनबाट जोगाउने एन्टिबडीहरू हुन्छन्‌। जन्मेको चार महिनासम्म आमाको दूधले बच्चाको सही वृद्धि र विकास हुन चाहिने सबै पौष्टिक तत्त्व प्रदान गर्छ।

◼ जन्मेको चारदेखि छ महिनासम्म बच्चाको मुख्य आहारा आमाको दूध भए तापनि बच्चाले अरू खाना पनि खान सक्छ। फलफूल र तरकारीलाई गिलो बनाएर बिस्तारै भोजनमा समावेश गर्न थाल्नुहोस्‌। बच्चालाई एक पटकमा एउटा नयाँ खाना खान दिनुहोस्‌। यो खाना बानी परेको दुई तीन दिनपछि अर्को खानेकुरा चाख्न दिनुहोस्‌। निस्सन्देह, बच्चाले नयाँ खाना त्यति सजिलै मन नपराउने हुँदा निकै धीरजी हुनुका साथै धेरै चोटि प्रयास गर्नुपर्ने हुन्छ। त्यस्तो खाना तयार गर्दा एउटा कुरा कहिल्यै नबिर्सनुहोस्‌, सबै थोक सफा—पटक्कै फोहोर नहोस्‌! खानेकुरा र भाँडाकुँडा राम्ररी धुनुहोस्‌!

◼ पाँचदेखि नौ महिनाबीचको बच्चालाई दूधले दिनेभन्दा बढी क्यालोरी तथा प्रोटिनको आवश्‍यकता हुन्छ। बिस्तारै र हरेस नखाई अरू खानेकुरा खान दिनुहोस्‌। बच्चाले खान सक्ने अन्‍न तथा तरकारीबाट सुरु गरेर पछि मासु अनि दूधबाट बनेका खानेकुरा दिन सकिन्छ। सुरु सुरुमा खानेकुरा छानेर बच्चालाई झोल मात्र खुवाउनुपर्छ भने छ महिना पुगेको बच्चालाई भने, मसिनो गरी काटेको खानेकुरा खुवाउन सकिन्छ। यसमा नुन वा चिनी थप्नु आवश्‍यक छैन र त्यसो गर्ने सुझाव पनि दिंइदैन।

◼ आठ महिनापछि बच्चाको लागि आमाको दूध मुख्य आहारा नभई केवल थप आहारा मात्र हुनेछ। बच्चाले आफ्नो परिवारले खानेजस्तै खानेकुरा खान थाल्छ। खाना एकदमै सफा राख्नुपर्छ अनि चपाउन सजिलो बनाउन मसिनो गरी काट्‌नुपर्छ। नमुना भोजनमा फलफूल, तरकारी, अन्‍न, गेडागुडी, मासु अनि दूधबाट बनाइएका परिकारहरू समावेश हुन्छन्‌। b खास गरी, बच्चाहरूलाई भिटामिन-ए प्रशस्त मात्रामा पाइने भोजन चाहिन्छ। जस्तै, आमाको दूध, गाढा हरियो रङको सागपात अनि आँप, गाजर र मेवाजस्ता सुन्तला वा पहेंलो रङका फलफूल तथा तरकारी। तीन वर्ष मुनिका बच्चाहरूले दिनको पाँच छ पटक खाना खानुपर्छ।

◼ विभिन्‍न प्रकारका भोजनबाट पाइने पौष्टिक पदार्थले तपाईंको बच्चाको अधिकतम सुरक्षा गर्छ। आमाले बच्चालाई गुणस्तरीय भोजन दिने लक्ष्य बनाउनुपर्छ, बच्चा अघाइसकेपछि जबरजस्ती खुवाउने वा अझ खान चाहेको अवस्थामा खानाबाट वञ्चित गर्ने गर्नु हुँदैन।

[फुटनोट]

b “तपाईंले खान सक्नुहुने पौष्टिक भोजन” विषयक मे ८, २००२ को अवेक!-मा थप जानकारी पाउन सक्नुहुन्छ।

[चित्र]

नवजात शिशुको लागि आमाको दूध नै सर्वोत्तम आहार हो भन्‍ने कुरामा विशेषज्ञहरू सहमत छन्‌

[स्रोत]

© Caroline Penn/Panos Pictures

[पृष्ठ ७-मा भएको चित्र]

भुटानको एउटा स्कूलमा केटाकेटीहरू सुकेको गहुँ र तरकारी खाइरहेका

[स्रोत]

FAO photo/WFP Photo: F. Mattioli

[पृष्ठ ९-मा भएको चित्र]

तपाईंले आफ्नो बच्चाको भोजन पोषिलो बनाउने कदम चाल्न सक्नुहुन्छ

[स्रोत]

FAO photo