सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के मसीहीहरूले नयाँ वर्षका उत्सवहरूमा भाग लिनुहुन्छ?

के मसीहीहरूले नयाँ वर्षका उत्सवहरूमा भाग लिनुहुन्छ?

बाइबलको दृष्टिकोण

के मसीहीहरूले नयाँ वर्षका उत्सवहरूमा भाग लिनुहुन्छ?

ब्राजिलका चिकित्सक फर्नान्डो यसो भन्छन्‌, “नयाँ वर्षको साँझ असामान्य किसिमको शान्त हुन्छ। लगभग ११ बजेतिर छुरा वा बन्दुकको गोलीले घाइते भएकाहरू, सवारी दुर्घटनामा परेका युवाहरू अनि कुटपिटको सिकार भएका स्वास्नी मानिसहरूको घुइँचो लाग्न थाल्छ। यी सबै हुनुको कारण प्रायजसो मद्यपान हुन्छ।”

उपरोक्‍त कुरालाई विचार गर्दा ब्राजिलका एक जना पत्रकारले वर्षको पहिलो दिनलाई अन्तरराष्ट्रिय ह्‍याङओभर दिवस अर्थात्‌ अघिल्लो रात रक्सी पिएको कारण टाउको दुख्ने दिन भनेर औंल्याए। एउटा युरोपेली समाचार समिति यसो भन्छ “नयाँ वर्षका उत्सवहरू, मोजमज्जा गर्नु नै सबै कुरा हो भन्ठान्‍ने सर्वसाधारण मानिसहरूले मनाउने गर्छन्‌” भन्दै उक्‍त समिति अझ यसो भन्छ “यो मानिस र मद्यबीच हुने अनन्त युद्धको चक्र हो।”

हो, सबै जनाले जाँड रक्सीले लट्ठ मात्तिएर हिंसात्मक गतिविधि गरी नयाँ वर्षको उत्सव मनाउँदैनन्‌। भनौं भने, थुप्रैसित यस्तो अवसरका मीठा सम्झनाहरू हुन्छन्‌। “सानो छँदा हामी नयाँ वर्षको साँझलाई अत्यन्तै उत्सुक भएर पर्खन्थ्यौं” भन्दै माथि उल्लिखित फर्नान्डो बताउँछन्‌। “त्यस दिन किसिम-किसिमका खेलहरू खेल्ने र खानपिन गर्थ्यौं। अनि मध्य रातमा एकअर्कालाई अँगालो हाली म्वाइ खाँदै ‘नयाँ वर्षको शुभकामना’ दिन्थ्यौं!”

त्यस्तै गरी, आज थुप्रै मानिसहरू नयाँ वर्षका उत्सवहरूमा अचाक्ली उत्तेजित नभईकनै भाग लिइरहेका छौं भन्ठान्छन्‌। तैपनि, मसीहीहरूले यस लोकप्रिय उत्सवको सुरुआत तथा महत्त्वलाई केलाउनु बेस हुनेछ। के नयाँ वर्षका उत्सवहरू बाइबल शिक्षासित मेल खान्छ?

विगतका तथ्यहरू

नयाँ वर्षका उत्सवहरू कुनै नौला करा होइनन्‌। पुराना शिलालेखहरूले यस्ता उत्सवहरू सा.यु.पू. तेस्रो सहस्र वर्षको सुरुतिरदेखि नै बेबिलोनमा मनाइन्थ्यो भनी देखाउँछन्‌। यो मार्च महिनाको बीचतिर मनाइने निर्णायक उत्सव थियो। “त्यस बेला मार्डुक देवले त्यस देशको आउँदो वर्षको भाग्य निर्धारण गर्थ्यो” भनी द वर्ल्ड बूक इन्साइक्लोपीडिया बताउँछ। बेबिलोनको त्यस नयाँ वर्षको उत्सव ११ दिनसम्म मनाइन्थ्यो र त्यसमा बलिदानहरू, झाँकी तथा उर्वरतासम्बन्धी रीतिथितिहरू समावेश हुन्थे।

केही समयसम्म रोमीहरूले पनि मार्च महिनादेखि नै आफ्नो सालको सुरुआत गर्न थाले। तर सा.यु.पू. ४६ मा सम्राट जुलियस सिजरले यो जनवरीदेखि सुरु हुनुपर्छ भन्‍ने आदेश दिए। त्यो दिन पहिलादेखि नै उत्पत्ति देव जानुसलाई समर्पण गरिएको थियो र अब त्यसले रोमी वर्षको पहिलो दिनलाई पनि चिनाउने भयो। दिन फरक भए तापनि उत्सवको रमझम भने यथावत्‌ रह्‍यो। प्रथम शताब्दीका लेखक म्याक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया-ले जनवरीको पहिलो दिनमा मानिसहरूले “उत्पात मच्चाउँथे अनि विभिन्‍न प्रकारको असभ्य अन्धविश्‍वासमा भाग लिन्थे” भनी बताउँछ।

आज पनि नयाँ वर्षका उत्सवहरूमा अन्धविश्‍वासपूर्ण प्रचलनहरूले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। उदाहरणका लागि, दक्षिण अमेरिकाका केही भूभागहरूमा थुप्रै मानिसहरू आफ्नो दायाँ खुट्टाले मात्र टेकेर नयाँ वर्षलाई स्वागत गर्छन्‌। अरूले चाहिं तुरही बजाउँछन्‌ र पटाका पड्‌काउँछन्‌। चेक रीतिअनुसार नयाँ वर्षको साँझ मुसुरोको दाल खाने गरिन्छ भने, स्लोभाक परम्परामा चाहिं पैसा अथवा माछाका कत्लाहरू टेबुलपोशमुनि राख्ने गरेको पाइन्छ। यस्तो प्रचलनले अपशकुनलाई हटाएर सम्पन्‍नता ल्याउनेछ भनी गरिने त्यस्ता रीतिथितिहरू वास्तवमा नयाँ वर्षको भाग्य निर्धारण गर्ने समय हो भन्‍ने पुरातन समयको विश्‍वासको अर्को रूप मात्र हो।

बाइबलको दृष्टिकोण

मसीहीहरूलाई “हामी ईमानसाथ चलौं, नता मोज-मजामा र मतवालीपनमा” भनी बाइबलले अर्ती दिन्छ। a (रोमी १३:१२-१४; गलाती ५:१९-२१; १ पत्रुस ४:३) नयाँ वर्षका उत्सवहरूमा प्रायजसो बाइबलले भर्त्सना गर्ने खालका उपद्रवहरू मच्चाइने हुँदा मसीहीहरू त्यसमा सहभागी हुँदैनन्‌। यसको अर्थ मसीहीहरू मनोरञ्जनै गर्दैनन्‌ भनेको चाहिं होइन। त्यसको ठीक विपरीत, बाइबलले साँचो परमेश्‍वरका उपासकहरूलाई आनन्द गर भनी पटक-पटक आग्रह गरेको छ र आनन्द गर्ने विभिन्‍न कारणहरू छन्‌। (व्यवस्था २६:१०, ११; भजन ३२:११; हितोपदेश ५:१५-१९; उपदेशक ३:२२; ११:९) भोजन र पेय पदार्थले आनन्द दिन्छ भनेर पनि बाइबलले स्वीकार्छ।—भजन १०४:१५; उपदेशक ९:७क

तथापि, हामीले देखेझैं नयाँ वर्षका उत्सवहरू मूर्तिपूजक रीतिथितिहरूबाट सुरु भएका हुन्‌। झूटो उपासना यहोवा परमेश्‍वरको दृष्टिमा अशुद्ध अनि घृणित छन्‌ र मसीहीहरू त्यस्ता कुराबाट सुरु भएका कामकुराहरूमा लाग्न इन्कार गर्छन्‌। (व्यवस्था १८:९-१२; इजकिएल २२:३, ४) प्रेरित पावलले यस्तो लेखे: “धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्‌गति? औ ख्रीष्टको शैतानसित के सहमत?” त्यसैकारण, पावलले अझ यसो भने: “अशुद्ध कुरो नछोओ।”—२ कोरिन्थी ६:१४-१७क

अन्धविश्‍वाससित सम्बन्धित रीतिथितिहरूमा भाग लिएर आनन्द तथा सम्पन्‍नता पाउन सकिंदैन भन्‍ने कुरा मसीहीहरूलाई थाह छ र विशेष गरी त्यस्ता उत्सवहरूमा भाग लिंदा परमेश्‍वरको निगाह गुमाउन सक्छौं। (उपदेशक ९:११; यशैया ६५:११, १२) त्यसबाहेक, बाइबलले मसीहीहरूलाई आफ्नो चालचलनमा मर्यादित र संयमी हुन सल्लाह दिन्छ। (१ तिमोथी ३:२, ११) स्पष्टतः ख्रीष्टका शिक्षाहरू पालन गर्छु भनी दाबी गर्ने मानिसले उपद्रव गर्ने जस्ता कुराहरू मुछिएका उत्सवहरूमा भाग लिनु उचित हुनेछैन।

नयाँ वर्षको उत्सव मनै लोभ्याउने अनि आकर्षक देखिए तापनि बाइबलले हामीलाई “अशुद्ध कुरा नछोओ” र “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं” भनी बताएको छ। उहाँको इच्छाअनुरूप चल्नेहरूलाई यहोवाले यस्तो हार्दिक आश्‍वासन दिनुहुन्छ: “म तिमीहरूलाई ग्रहण गर्नेछु, औ तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ।” (२ कोरिन्थी ६:१७ख-७:१) साँच्चै भनौं भने, उहाँप्रति वफादार रहनेहरूलाई अनन्त आशिष्‌ अनि सम्पन्‍नता दिनेछु भनी उहाँ प्रतिज्ञा गर्नुहुन्छ।—भजन ३७:१८, २८; प्रकाश २१:३, ४, ७. (g02 1/8)

[फुटनोट]

a पावलले “मोज-मजामा र मतवालीपन” भनी उल्लेख गर्दा त्यसमा नयाँ वर्षका उत्सवहरू पनि समावेश भएको हुन सक्छ किनभने प्रथम शताब्दीताका रोममा यी उत्सवहरू निकै प्रचलित थिए।