सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राती घरबाट सुटुक्क भाग्नु गलत हो र?

राती घरबाट सुटुक्क भाग्नु गलत हो र?

युवा जनहरू सोध्छन्‌ . . .

राती घरबाट सुटुक्क भाग्नु गलत हो र?

“हामी मध्यरातमा घरबाट सुटुक्क भागेर एउटा कफी पसलमा सबै साथीहरू जम्मा हुन्थ्यौं। त्यसपछि कुनै पाखोमा गएर डेरा जमाउँथ्यौं। सबै केटाकेटीहरू चुरोट तान्थे, तर मैलेचाहिं कहिल्यै तानिनँ। हामी सबै जना बसेर हेभी मेटल संगीत सुन्दै आफूलाई मन लागेको विषयबारे गफ गर्थ्यौं। अनि मेरो आमाबाबु उठ्‌नुअघि बिहान ५:०० बजेतिर म घर फर्कन्थें।”—तारा। a

“मेरो बुबा काममा जान निस्कनुभएपछि र आमा सुतिरहनुभएको बेला, म अगाडिको ढोकाबाट सुटुक्क भाग्थें। फलामको ढोका भएको हुनाले ढोका बन्द गरेको आवाज आमाले सुन्‍नुहोला कि भनेर ढोका खुल्लै छोड्‌थें। रातभरि म साथीहरूसँग बाहिरै बिताउँथें। बिहान घाम झुल्कनै लाग्दा म सकेसम्म कसैलाई थाहै नदिई सुटुक्क घर फर्कन्थें। कहिलेकाहीं आमाले थाह पाउनुहुन्थ्यो र मलाई घरभित्र पस्नै दिनुहुन्‍नथ्यो।”—जोसेफ।

कसैलाई थाहै नदिई राती घरबाट सुटुक्क भाग्नु—सुन्दा रोमाञ्चकारी अनि रमाइलो लाग्छ। यो, केही घण्टा भए पनि आफ्नै इच्छाअनुसार जीवन बिताउने, आफ्नै मनखुसी गर्न पाउने अनि आफूले चाहेको व्यक्‍तिसँग समय बिताउन कसैलाई सोधिरहनु नपर्ने मौका हो। साथै, तपाईंका साथीहरूले राती घरबाट भागेर बिताएका रमाइला क्षणहरूबारे खुब गफ छाँटेको पनि तपाईंले सुन्‍नुभएकै होला। त्यसैकारण तपाईंलाई पनि यस्तो जमघटमा जाऊँ जाऊँ लाग्न सक्छ।

उत्तर अमेरिकाको माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा ११० जना विद्यार्थीहरूसित लिइएको सर्वेक्षणमा ५५ जना विद्यार्थीहरूले एक पटक भए पनि राती कसैलाई थाह नदिई घरबाट सुटुक्क भागेको कुरा स्वीकारे। धेरैजसोले पहिलो पटक १४ वर्षको उमेरमा यसो गरेको पाइयो। समस्या यति गम्भीर छ कि कोही कोही विशेषज्ञले छोराछोरीलाई विना अनुमति बाहिर जानबाट रोक्न आमाबाबुलाई इलेक्ट्रोनिक सूचक प्रणाली जडान गर्ने सल्लाह दिए। किन धेरैजसो किशोरकिशोरीहरू थाहै नदिई राती सुटुक्क भागेर आफ्ना आमाबाबुलाई रिस उठाउँछन्‌?

किन कोही कोही सुटुक्क भाग्छन्‌

कहिलेकाहीं किशोरकिशोरीहरूलाई न्यास्रो लाग्ने हुँदा आफ्ना साथीहरूसँग रमाइलो गर्न कसैलाई नसोधी सुटुक्क भाग्ने गर्छन्‌। अडोल्सेन्टस एण्ड यूथ पुस्तकले व्याख्या गरेअनुसार किशोरकिशोरीहरू भाग्नुको पछाडि “थुप्रै प्रतिबन्ध हुन्छन्‌ जस्तै, बेलुका सबेरै घर फर्कनुपर्ने वा कुनै सामाजिक जमघटमा जान मनाही गरिएकोले हो। तिनीहरू जसरी भए पनि गइहाल्छन्‌ र कहिलेकाहीं त तिनीहरू घर फर्केको पनि आमाबाबुलाई थाहै हुँदैन।” एउटी १६ वर्षीया किशोरीले आफू घरबाट भाग्नुको कारण यसरी बताइन्‌, “मलाई आफू बच्चाजस्तो लाग्छ किनकी मेरो जीवनमा कुनै स्वतन्त्रता नै छैन। मजस्तो घरमा छिटो अरू कोही पनि पुग्नुपर्दैन। मेरा साथीहरू जाने ठाउँहरूमा पनि आमाबाबुले मलाई जानै दिनुहुन्‍न . . . त्यसैले म झूट बोलेर बाहिर जान्छु।” सुरुमा उल्लिखित जोसेफ आमाबाबुले मनाही गरेको ऱ्‍याप कन्सर्ट जान १४ वर्षको उमेरमा पहिलो चोटि घरबाट सुटुक्क भागेका थिए।

हो, आमाबाबुलाई नसोधी राती सुटुक्क घरबाट भाग्दा धेरैजसो किशोरकिशोरीको मनमा त्यस्तो कुनै खराब मनसाय हुँदैन। सुरुमा उल्लिखित जवानहरूमध्ये तारा यसो भन्छिन्‌, “सुरुमा ‘लौ पाप कर्म गर्न जाऊँ’ भन्‍ने विचार हुँदैन। मलाई दिदीसँग पछिलाग्न पाए पुग्थ्यो र मेरी दिदीचाहिं बाहिर गएर आफ्ना साथीहरूसँग रमाइलो गर्न चाहन्थिन्‌।” जोसेफले यसो भने, “हामी त्यतिकै समय बिताउन चाहन्थ्यौं। म मेरा साथीहरूसँग बसेर गफ गर्न चाहन्थें।” तर साथीसँग समय बिताउँदा ठूलठूला अपराध नगरे तापनि धेरै किशोरकिशोरीहरू गम्भीर समस्यामा परेका छन्‌।

खतरा

मानसिक स्वास्थ्य विशेषज्ञ डा. लिन इ. पोन्टन यस्तो तर्क गर्छिन्‌: “किशोरकिशोरीहरूको लागि जोखिम उठाउनु भनेको सामान्य कुरा हो।” डा. पोन्टनको भनाइअनुसार किशोरकिशोरीहरूलाई स्वतन्त्र हुनु, नौलो कुराहरूको जाँच गर्नु र नौलो तथा रोमाञ्चकारी परिस्थितिमा सामेल हुनु सामान्य र लाभदायक कुरा हो। यो बढ्‌दो उमेरको एउटा भाग नै हो। तर धेरैजसो जवानहरूले सीमा नाघेर जोखिम उठाउँछन्‌ अझ विशेष गरेर तिनीहरू आफ्ना आमाबाबुको निगरानीमा नहुँदा यस्तो कदम चाल्छन्‌। टिन पत्रिका यसो भन्छ, “साथीहरूको दबाउ, न्यास्रोपन, जोस र जाँगरको भण्डार र बियरजस्ता अन्य तत्त्वहरूले . . . किशोरकिशोरीहरूलाई गलत जोखिमहरू उठाउन प्रोत्साहित गर्छ र अन्तमा यसले गर्दा ज्यानसम्म गुमाउन पुग्छन्‌। एउटा सर्वेक्षणले तीव्र गतिमा गाडी हाँक्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, मद्यले मात्तिएर गाडी हाँक्ने र चोरीलाई किशोरकिशोरीहरूले उठाउने गरेका जोखिमको सूचीमा राखे।

एक चोटि आज्ञा उल्लंघन गरेपछि अर्को गम्भीर गल्तीहरू गर्न सजिलो हुन्छ। येशूले लूका १६:१० मा भन्‍नुभएजस्तै, “जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ।” तसर्थ, आमाबाबुलाई नसोधी राती घरबाट सुटुक्क साथीहरूसँग भाग्दा गम्भीर पापहरूमा फसिन्छ भन्‍नु कुनै अचम्मलाग्दो कुरा होइन। तारा व्यभिचार गर्न पुगिन्‌। जोसेफले लागूऔषध बेच्न थाले, पक्राउमा परे र उनलाई जेल चलान गरियो। जोन नाउँ गरेका मसीही जवानले लागूऔषधको दुरुपयोग गर्न र गाडीहरू चोर्न थाले। दुःखको कुरा, धेरै किशोरकिशोरीहरूको यस्तो व्यवहारले शारीरिक दुःख झेल्नु परेको छ, जस्तै नचाहिंदो गर्भधारण, यौनजन्य रोगहरू वा रक्सी र लागूऔषधको दुर्व्यसन आदि।—गलाती ६:७, ८.

हानि

यसले शारीरिक हानिभन्दा भयानक भावनात्मक चोट पुऱ्‍याउनसक्छ। विचलित अन्तस्करण साह्रै पीडादायी हुन्छ। (भजन ३८:३, ४) जेसेफ भन्छन्‌: “एउटा भनाइ छ, तपाईंले कुनै कुरा गुमाइसकेपछि मात्र त्यसको कत्ति महत्त्व रहेछ भन्‍ने कुरा जान्‍नुहुन्छ। कहिलेकाहीं आफूले गरेका कामहरूलाई फर्केर हेर्दा मैले कसरी त्यसो गर्न पुगें होला भनेर पत्याउनै सक्दिनँ।”

आफ्नो प्रतिष्ठामा आँच आउन सक्ने कुरालाई पनि बिर्सनु हुँदैन। उपदेशक १०:१, नयाँ संशोधित संस्करण भन्छ: “जसरी मरेका झिंगाहरूले सुगन्धित अत्तरलाई दुर्गन्धित बनाइदिन्छन्‌, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई बेकामको बनाइदिन्छ।” पुरातन समयमा मूल्यवान्‌ अत्तरलाई एउटा सानो मरेको झिंगाले कामै नलाग्ने बनाइदिन्थ्यो। त्यस्तै, तपाईंले मेहनत गरेर कमाउनुभएको प्रतिष्ठालाई “थोरै मूर्खताले” बेकामको बनाइदिनसक्छ। यदि तपाईं मसीही हुनुहुन्छ भने, यस्ता नराम्रा चालचलनहरूले तपाईंलाई मण्डलीको जिम्मेवारीबाट बञ्चित गराउन सक्छ भन्‍ने कुरामा कुनै शंका छैन। तपाईं आफै बाइबल सिद्धान्तअनुरूप हिडिंरहनुभएको छैन भन्‍ने कुरा अरूलाई थाह छ भने तपाईं कसरी अरूलाई बाइबल सिद्धान्त पालन गर्ने प्रोत्साहन दिनसक्नुहुन्छ र?—रोमी २:१-३.

तपाईं घरमा नभएको कुरा आमाबाबुले थाह पाउनुभयो भने उहाँहरूको हालत के होला, विचार गर्नुहोस्‌ त। एउटी आमा आफ्नी १५ वर्षीया छोरी राती घरमा नभएको थाह पाउँदा मर्माहात भएको बताउँछिन्‌। छोरीको कुनै अत्तोपत्तो नहुँदा तिनी अनि तिनका पति ‘असाध्यै चिन्तित’ भए। के तपाईं आफ्ना आमाबाबुलाई यस्तो पीडा दिन चाहनुहुन्छ?—हितोपदेश १०:१.

बढी स्वतन्त्रता पाउने

हो, आफ्ना आमाबाबु चाहिनेभन्दा बढी नै कडा जस्तो देखिएमा दिक्क लाग्नसक्छ। तर के आमाबाबुलाई थाहै नदिई राती सुटुक्क घरबाट बाहिर जानु नै त्यसको समाधान हो र? अरूले यसबारे थाह नपाउने त कुरै छैन। तपाईंले आफ्ना आमाबाबुलाई छक्क्याउन सक्नु भए तापनि चाहे रातको अन्धकारमा गरेको कामै किन नहोस्‌ यहोवाले सबै देख्नुहुन्छ। (अय्यूब ३४:२१) त्यसैले, ढिलो होस्‌ या चाँडो एक न एक दिन त तपाईंको काम उदांग भइहाल्छ र आमाबाबुले तपाईंमाथि राख्नुभएको विश्‍वासमा आघात पुग्नेछ। परिणाम? तपाईंले जे चाहनुभएको हो त्यही गुमाउनुहुनेछ अर्थात्‌ स्वतन्त्रता!

नबिर्सनुहोस्‌, स्वतन्त्रता पाउन तपाईंले आमाबाबुको विश्‍वास जित्नुपर्छ। यसो गर्ने सबैभन्दा उत्तम तरिका उहाँहरूप्रति आज्ञाकारी भएर हो। (एफिसी ६:१-३) तपाईंका आमाबाबु कुनै कुनै कुरामा अव्यावहारिक भइरहनुभएको जस्तो लाग्छ भने, आदरणीय ढंगमा खुलस्त भई उहाँहरूसित कुराकानी गर्नुहोस्‌। तपाईंका कुराहरूमा उहाँहरूले राम्ररी विचार गर्नसक्नुहुन्छ। अर्को तर्फ, तपाईंलाई केही कुरामा मनाही गर्नुको पछाडि तपाईंकै भलाइ रहेछ भनेर पनि थाह पाउनुहुनेछ। तपाईंलाई यो कुरा चित्त नुबझे तापनि उहाँहरू तपाईंलाई प्रेम गर्नुहुन्छ र सधैं तपाईंको भलो चाहनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। तपाईंमाथिको उहाँहरूको भरोसालाई बलियो बनाउँदै लैजानुहोस्‌ अनि समय बित्दै जाँदा तपाईंले चाहेको स्वतन्त्रता पाउनुहुनेछ। b

‘तिनीहरूसँग नहिंड’

पुरातन समयमा ईश्‍वरभीरु जवानहरूलाई खराब आनीबानीमा लाग्न साथीहरूले लोभ्याउँथे। त्यसैकारण सुलेमानले जवानहरूलाई यस्तो आग्रह गरे: “हे मेरो छोरो, यदि दुष्ट मानिसहरूले तँलाई फकाएर यसो भन्ला, ‘‘हामीसँग आऊ। . . . तिनीहरूका चालमा हिंड़दै नहिंड़्‌।” (हितोपदेश १:१०, १५) विशेष गरी यो सल्लाह साथी भनौंदाहरूले आमाबाबुलाई थाहै नदिई राती सुटुक्क घरबाट भाग्ने कुरा गर्दा पालन गर्नुहोस्‌। सुलेमान फेरि यस्तो चेताउनी दिन्छन्‌, “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३.

यदि तपाईंले आमाबाबुलाई थाहै नदिई राती सुटुक्क घरबाट भाग्ने गरिसक्नुभएको छ भने, यसलाई तुरुन्तै बन्द गरिहाल्नुहोस्‌! तपाईंले बेकारमा आफैलाई हानि पुऱ्‍याइरहनुभएको छ। आफूले गरिरहेको कामबारे आमाबाबुलाई थाह दिनुहोस्‌ र उहाँहरूले दिनुहुने कुनै पनि सजाय वा प्रतिबन्ध सहन तयार हुनुहोस्‌। आवश्‍यक परे असल मित्रहरू छान्‍नुहोस्‌। (हितोपदेश १३:२०) लाभदायक र खतरा मोल्नु नपर्ने तरिकाहरूबाट रमाइलो गर्नुहोस्‌।

सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबल पढेर र सभाहरू धाएर आफ्नो आध्यात्मिकता बलियो बनाउनुहोस्‌। भजनरचयिताले यसप्रकार सोधे, “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला?” यसको जवाफ उनी यसरी दिन्छन्‌, “[परमेश्‍वरको] वचनमा ध्यान दिएर नै हो।” (भजन ११९:९) तपाईंले असल कुरामा आफ्नो मन लगाउनु हुँदा आमाबाबुलाई थाहै नदिई राती सुटुक्क घरबाट भाग्नु रमाइलो र रोमाञ्चकजस्तो देखिए तापनि वास्तवमा बेकार रहेछ भनेर थाह पाउनुहुनेछ। (g01 2/22)

[फुटनोटहरू]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

b बढी स्वतन्त्रता पाउने सन्दर्भमा थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकको अध्याय ३ हेर्नुहोस्‌।

[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मेरा साथीहरू जाने ठाउँहरूमा पनि आमाबाबुले मलाई जानै दिनुहुन्‍न . . . त्यसैले म झूटो बोलेर बाहिर जान्छु”

[पृष्ठ २५-मा भएको चित्र]

राती सुटुक्क घरबाट भाग्नाले प्रायः गम्भीर समस्याहरूमा फसिन्छ