सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४१

परमेश्‍वरलाई खुसी पार्ने केटाकेटीहरू

परमेश्‍वरलाई खुसी पार्ने केटाकेटीहरू

पृथ्वीमा जन्मेको कुनचाहिं बच्चाले यहोवालाई सबैभन्दा खुसी पाऱ्‍यो होला?— हो, उहाँको छोरा येशूले। अब हामी येशूले स्वर्गमा बस्नुहुने आफ्ना बुबालाई खुसी पार्न के-के गर्नुभयो, त्यसबारे कुरा गरौं है!

येशूको परिवार बस्ने ठाउँबाट यरूशलेमसम्म पुग्न झन्डै तीन दिनको यात्रा गर्नुपर्थ्यो। यरूशलेममा यहोवाको सुन्दर मन्दिर थियो। येशूले त्यस मन्दिरलाई “बुबाको घर” भन्‍नुभयो। उहाँ र उहाँको परिवार हरेक वर्ष त्यहाँ निस्तार-चाड मनाउन जानुहुन्थ्यो।

येशू १२ वर्षको हुँदा उहाँको परिवार निस्तार-चाड मनाएर यरूशलेमबाट फर्किरहेको थियो। रात परिसकेपछि बास बस्न लाग्दा मात्र नातागोता र साथीहरूबीच येशू हुनुहुन्‍न भनी उहाँका आमाबाबुले थाह पाए। त्यसैले उहाँका आमा मरियम र बुबा यूसुफ येशूलाई खोज्न तुरुन्तै यरूशलेम फर्केर गए। उहाँ कहाँ हुनुहुन्थ्यो होला, तिमी भन्‍न सक्छौ?—

तिनीहरूले येशूलाई मन्दिरमा भेट्टाए। उहाँले शिक्षकहरूको कुरा सुन्दै अनि उनीहरूलाई प्रश्‍न सोध्दै हुनुहुन्थ्यो। अनि उनीहरूले कुनै प्रश्‍न सोध्दा उहाँले त्यसको जवाफ दिनुहुन्थ्यो। उहाँको राम्रो जवाफ सुनेर उनीहरू छक्क परे। परमेश्‍वर आफ्नो छोरासित किन खुसी हुनुहुन्थ्यो, अब तिमीले बुझ्यौ कि?—

पक्कै पनि येशूलाई भेट्टाएपछि मरियम र यूसुफ ढुक्क भए। तर येशूलाई भने चिन्ता लागेको थिएन। मन्दिर सुरक्षित ठाउँ हो भनी उहाँलाई थाह थियो। त्यसैले उहाँले सोध्नुभयो: “म आफ्नो बुबाको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाह थिएन?” त्यो मन्दिर परमेश्‍वरको घर हो भनी उहाँलाई थाह थियो र उहाँ त्यहाँ बस्न मन पराउनुहुन्थ्यो।

पछि मरियम र यूसुफले १२ वर्षीय येशूलाई आफ्नो घर नासरत लगे। येशूले आफ्ना आमाबाबुसित कस्तो व्यवहार गर्नुभयो?— बाइबलले उहाँ “निरन्तर तिनीहरूको अधीनमा बस्नुभयो” भन्छ। त्यसको अर्थ के हो?— त्यसको अर्थ उहाँ तिनीहरूप्रति आज्ञाकारी हुनुभयो। हो, आमाबाबुले भनेको कुरा उहाँ मान्‍नुहुन्थ्यो, जस्तो कि तिनीहरूले इनारबाट पानी ल्याउनू भन्दासमेत उहाँ मान्‍नुहुन्थ्यो।—लूका २:४१-५२.

सानो छँदा येशूले परमेश्‍वरलाई कसरी खुसी पार्नुभयो?

त्यसैले यसबारे सोच त: येशू त्रुटिरहित हुनुहुन्थ्यो। तैपनि उहाँले त्रुटिपूर्ण आमाबाबुको आज्ञा पालन गर्नुभयो। के यसले गर्दा परमेश्‍वर खुसी हुनुभयो?— अवश्‍य खुसी हुनुभयो। किनभने परमेश्‍वरको वचनले केटाकेटीलाई यसो भन्छ: “आफ्ना आमाबाबुप्रति आज्ञाकारी होओ।” (एफिसी ६:१) आफ्ना आमाबाबुको आज्ञा पालन गऱ्‍यौ भने येशूले जस्तै तिमीले पनि परमेश्‍वरलाई खुसी पार्नेछौ।

परमेश्‍वरलाई खुसी पार्ने अर्को तरिका उहाँबारे अरूलाई बताएर हो। हुनत कोही-कोहीले यो साना केटाकेटीले गर्ने काम होइन भन्लान्‌। तर केही मानिसले ठिटाहरूलाई त्यसो गर्नदेखि रोक्न खोज्दा येशूले यसो भन्‍नुभएको थियो: “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: ‘शिशुहरू अनि दूधे बालकहरूलाई तपाईंले आफ्नो प्रशंसा गर्न लगाउनुभयो’?” (मत्ती २१:१६) त्यसैले साँच्चै इच्छा गर्छौं भने हामी सबैले यहोवाबारे र उहाँ कत्तिको असल परमेश्‍वर हुनुहुन्छ भन्‍नेबारे अरूलाई बताउन सक्छौं। त्यसो गऱ्‍यौं भने हामी परमेश्‍वरलाई खुसी पार्नेछौं।

परमेश्‍वरबारे अरूलाई बताउन सक्ने कुराहरू हामी कहाँबाट सिक्छौं?— घरमा गरिने बाइबल अध्ययनबाट। तर परमेश्‍वरका मानिसहरू अध्ययन गर्न भेला हुने ठाउँमा हामी अझ धेरै सिक्न सक्छौं। त्यसो भए हामी कसरी उहाँका मानिसहरू चिन्‍न सक्छौं?—

परमेश्‍वरका मानिसहरूले आफ्ना सभाहरूमा के गर्छन्‌? के तिनीहरूले बाइबलले वास्तवमा के सिकाउँछ, त्यही सिकाउँछन्‌? के तिनीहरूले बाइबल पढ्‌छन्‌ र त्यसबाट छलफल गर्छन्‌? हामीले परमेश्‍वरले भनेको कुरा सुन्‍ने तरिका यही नै हो नि, होइन र?— अनि ख्रीष्टियन सभाहरूमा हामी परमेश्‍वरले भनेको कुरा सुन्‍ने आशा गर्छौं नि, होइन र?— तर अरू मानिसहरूले बाइबलअनुसार जीवन बिताउनुपर्दैन भन्छन्‌ भने नि? त्यस्ता मानिसहरूलाई के तिमी परमेश्‍वरका मानिसहरू भन्‍न सक्छौ?—

हामीले विचार गर्नुपर्ने अर्को एउटा कुरा पनि छ। बाइबलले परमेश्‍वरका मानिसहरू ‘उहाँको नामको लागि छानिएका मानिसहरू’ हुन्‌ भनी बताउँछ। (प्रेषित १५:१४) अनि परमेश्‍वरको नाम यहोवा भएकोले हामी मानिसहरूलाई यहोवा तिनीहरूको परमेश्‍वर हो कि होइन भनी सोध्न सक्छौं। होइन भन्छन्‌ भने तिनीहरू उहाँका मानिसहरू होइनन्‌ भनी हामी थाह पाउन सक्छौं। परमेश्‍वरका मानिसहरूले उहाँको राज्यबारे पनि अरूसित कुरा गर्छन्‌। अनि परमेश्‍वरको आज्ञा पालन गरेर तिनीहरूले उहाँप्रतिको आफ्नो प्रेम देखाउँछन्‌।—१ यूहन्‍ना ५:३.

यस्ता मानिसहरूलाई चिन्छौ भने तिमी तिनीहरूसित परमेश्‍वरको उपासना गर्न भेला हुनुपर्छ। यी सभाहरूमा तिमीले ध्यान दिएर सुन्‍नुपर्छ र प्रश्‍नहरू सोधिंदा त्यसको जवाफ दिनुपर्छ। परमेश्‍वरको घरमा हुँदा येशूले त्यस्तै गर्नुभयो। यी कार्यहरू गऱ्‍यौ भने तिमीले येशूले जस्तै परमेश्‍वरलाई खुसी पार्नेछौ।

परमेश्‍वरलाई खुसी पार्ने बाइबलमा बताइएका अरू केटाकेटीको नाम तिमी भन्‍न सक्छौ कि?— तिमोथी एक राम्रा उदाहरण हुन्‌। उनका बुबा यहोवामा विश्‍वास गर्दैनथे। तर उनकी आमा युनिस र हजुरआमा लोइसचाहिं विश्‍वास गर्थे। तिमोथीले तिनीहरूको कुरा सुने र यहोवाबारे सिके।

तिमोथीका बुबा यहोवामा विश्‍वास गर्दैनथे, तैपनि तिमोथीले के गरे?

तिमोथी ठूलो भएपछि प्रेषित पावल उनी बस्ने सहरमा आए। तिमोथी यहोवाको कत्ति सेवा गर्न चाहन्छन्‌ भनी तिनले देखे। त्यसैले परमेश्‍वरको सेवामा अझ धेरै गर्न तिनले तिमोथीलाई आफूसितै आउन निम्तो दिए। जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको राज्य र येशूबारे बताए।—प्रेषित १६:१-५; २ तिमोथी १:५; ३:१४, १५.

तर के बाइबलमा परमेश्‍वरलाई खुसी पार्ने केटाहरूको मात्र उदाहरण दिइएको छ?— त्यसो त पक्कै होइन। परमेश्‍वरलाई खुसी पार्ने इस्राएली ठिटीबारे विचार गर। उनको समयमा अराम र इस्राएल राष्ट्र एकअर्काका शत्रु थिए। एक दिन अरामीहरूले इस्राएलविरुद्ध युद्ध गरे र ती ठिटीलाई कैदी बनाएर लगे। ती ठिटीलाई नामान नामका सेनापतिको घरमा पठाइयो। त्यहाँ उनलाई नामानकी श्रीमतीको नोकर्नी बनाइयो।

नामानलाई कुष्ठरोग लागेको थियो। कुनै पनि डाक्टरले तिनलाई निको पार्न सकेको थिएन। तर ती इस्राएली ठिटीले परमेश्‍वरका एक विशेष सेवक अर्थात्‌ अगमवक्‍ताले नामानलाई मदत गर्न सक्छन्‌ भनी विश्‍वास गर्थी। पक्कै पनि नामान र तिनकी श्रीमतीले यहोवाको उपासना गर्दैनथे। आफूलाई थाह भएको कुरा ती ठिटीले तिनीहरूलाई भन्‍नु ठीक हुन्थ्यो कि हुँदैनथ्यो? तिमी भएको भए के गर्थ्यौ?—

यी इस्राएली ठिटीले परमेश्‍वरलाई कसरी खुसी पारिन्‌?

ती ठिटीले यसो भनिन्‌: ‘नामानले इस्राएलमा बस्नुहुने अगमवक्‍तालाई भेटेमा तिनको रोग निको हुनेथियो।’ ती ठिटीले भनेको कुरा नामानले मान्छन्‌ र यहोवाको अगमवक्‍ताकहाँ जान्छन्‌। अगमवक्‍ताले भनेझैं गरेपछि तिनको रोग निको हुन्छ। यसले गर्दा नामान साँचो परमेश्‍वरको उपासक बन्छन्‌।—२ राजा ५:१-१५.

ती ठिटीले जस्तै यहोवाबारे र उहाँले गर्न सक्ने कुराबारे बताएर के तिमी पनि अरूलाई मदत गर्न चाहन्छौ?— तिमीले कसलाई मदत गर्न सक्छौ?— अरू मानिसलाई। तर सुरुमा तिनीहरूलाई अरूको मदत चाहिंदैन जस्तो लाग्न सक्छ। तर यहोवाले गर्ने असल कामबारे तिमी तिनीहरूलाई बताउन सक्छौ। अनि तिनीहरूले सुन्लान्‌ पनि। यसो गर्दा परमेश्‍वर खुसी हुनुहुनेछ भन्‍ने कुरामा तिमी पक्का हुन सक्छौ।

जवानहरूले परमेश्‍वरको सेवाबाट आनन्द पाउन यी बाइबल पदबाट थप प्रोत्साहन पाउन सक्छन्‌: भजन १२२:१; १४८:१२, १३; उपदेशक १२:१; १ तिमोथी ४:१२ अनि हिब्रू १०:२३-२५.