सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १

येशू किन महान्‌ शिक्षक हुनुहुन्थ्यो?

येशू किन महान्‌ शिक्षक हुनुहुन्थ्यो?

दुई हजार वर्षभन्दा अघि एक विशेष बालकको जन्म भयो। तिनी ठूला भएपछि आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष भए। त्यतिबेला हवाईजहाज वा मोटरगाडी थिएन। न त टिभी, कम्प्युटर र इन्टरनेट जस्ता कुरा नै थिए।

ती बालकको नाम येशू राखियो। उहाँ पृथ्वीमा बाँचेकाहरूमध्ये सबैभन्दा बुद्धिमान्‌ पुरुष हुनुभयो। उहाँ सबैभन्दा राम्रो शिक्षक पनि हुनुभयो। उहाँले गाह्रो कुरा सजिलै बुझिनेगरि सिकाउनुहुन्थ्यो।

येशूले भेटेजति सबै मानिसलाई सिकाउनुभयो। समुद्र किनारमा र डुङ्‌गामा उहाँले सिकाउनुभयो। उहाँले मानिसहरूको घरमा जाँदा र यात्रा गर्दा पनि सिकाउनुभयो। येशूको गाडी थिएन न त उहाँले बस वा रेलगाडी चढेर नै यात्रा गर्नुभयो। मानिसहरूलाई सिकाउँदै येशू विभिन्‍न ठाउँमा हिंडेर जानुभयो।

अरू मानिसबाट हामी धेरै कुरा सिक्छौं। तर महान्‌ शिक्षक येशूबाट भने सबैभन्दा महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौं। येशूले भनेका कुराहरू हामी बाइबलमा पाउँछौं। ती कुराहरू पढ्‌दा वा पढेको सुन्दा उहाँले हामीसित कुरा गरिरहनुभएझैं लाग्नेछ।

येशू एकदमै महान्‌ शिक्षक हुनुको कारण के हो? एउटा कारण हो: येशू आफैले अरूबाट सिक्नुभएको थियो। सुन्‍नु कत्तिको महत्त्वपूर्ण छ भनेर उहाँलाई थाह थियो। तर उहाँले कसको कुरा सुन्‍नुभयो? अनि कसबाट सिक्नुभयो?—हो, उहाँको बुबाबाट। अनि उहाँको बुबा परमेश्‍वर हुनुहुन्छ।

पृथ्वीमा मानिस भएर जन्मनुअघि येशू परमेश्‍वरसित स्वर्गमा बस्नुहुन्थ्यो। पृथ्वीमा जन्मनुअघि कोही पनि मानिस स्वर्गमा बसेको छैन, त्यसैले येशू अरू मानिसभन्दा फरक हुनुहुन्थ्यो। स्वर्गमा बस्दा येशू आफ्नो बुबाको कुरा सुन्‍ने असल छोरा हुनुहुन्थ्यो। त्यसैकारण आफूले परमेश्‍वरबाट सिकेको कुरा येशूले मानिसहरूलाई सिकाउन सक्नुभयो। आफ्नो आमाबाबुको कुरा सुनेर तिमी पनि येशूजस्तै हुन सक्छौ।

येशू महान्‌ शिक्षक हुनुको अर्को कारण हो: उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो। परमेश्‍वरबारे सिक्न उहाँ मानिसहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। येशूले ठूला व्यक्‍तिहरूलाई मात्र होइन, साना केटाकेटीहरूलाई पनि प्रेम गर्नुहुन्थ्यो। केटाकेटीलाई उहाँसित बस्न मनपर्थ्यो, किनभने उहाँले तिनीहरूसित कुरा गर्नुहुन्थ्यो र तिनीहरूको कुरा सुन्‍नुहुन्थ्यो।

केटाकेटीलाई किन येशूसित बस्न मनपर्थ्यो?

एक दिन केही आमाबाबुले आफ्ना छोराछोरीहरूलाई येशूकहाँ लिएर आए। तर महान्‌ शिक्षकलाई ती साना केटाकेटीसित कुरा गर्ने फुर्सत छैन जस्तो उहाँका साथीहरूलाई लाग्यो। त्यसैले येशूका साथीहरूले तिनीहरूलाई त्यहाँबाट जान भने। तर येशूले के भन्‍नुभयो?—उहाँले भन्‍नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज।” हो, साना केटाकेटीहरू आफूकहाँ आएको येशू चाहनुहुन्थ्यो। उहाँ धेरै बुद्धिमान्‌ र अरूले आदर गर्ने पुरुष हुनुहुन्थ्यो। तैपनि साना केटाकेटीलाई सिकाउन उहाँले समय निकाल्नुभयो।—मर्कूस १०:१३, १४.

येशूले केटाकेटीहरूलाई किन सिकाउनुभयो र तिनीहरूको कुरा किन सुन्‍नुभयो, के तिमीलाई थाह छ? एउटा कारण, स्वर्गमा बस्ने आफ्नो बुबा अर्थात्‌ परमेश्‍वरबारे बताएर उहाँ तिनीहरूलाई खुसी पार्न चाहनुहुन्थ्यो। तिमी अरूलाई कसरी खुसी पार्न सक्छौ?—परमेश्‍वरबारे आफूले सिकिरहेको कुरा बताएर।

एकचोटि आफ्ना साथीहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउन येशूले एक जना सानो बालकलाई प्रयोग गर्नुभयो। उहाँले यो बालकलाई आफ्नो पछि लाग्ने चेलाहरूको बीचमा उभ्याउनुभयो। त्यसपछि यी ठूला व्यक्‍तिहरू आफ्नो सोचाइ परिवर्तन गरेर यो सानो बालकजस्तै हुनुपर्छ भनेर येशूले भन्‍नुभयो।

ठूला व्यक्‍ति वा हुर्किसकेका केटाकेटीले सानो बालकबाट के पाठ सिक्न सक्छन्‌?

येशू के भन्‍न खोज्दै हुनुहुन्थ्यो? ठूला व्यक्‍ति वा हुर्किसकेका केटाकेटीसमेत कसरी सानो बालकजस्तै हुन सक्छन्‌, के तिमीलाई थाह छ?— सानो बालकलाई ठूलो व्यक्‍तिलाई जत्तिकै थाह हुँदैन र ऊ सिक्न इच्छुक हुन्छ। त्यसैले आफ्ना चेलाहरू साना केटाकेटीजस्तै नम्र हुनुपर्छ भनी येशू बताउँदै हुनुहुन्थ्यो। हो, हामी सबैले अरू व्यक्‍तिबाट थुप्रै कुरा सिक्न सक्छौं। अनि हाम्रो आफ्नै सोचाइ भन्दा येशूका शिक्षाहरू झनै महत्त्वपूर्ण छन्‌ भनी हामीले बुझ्नुपर्छ।—मत्ती १८:१-५.

येशू महान्‌ शिक्षक हुनुको अर्को कारण हो: मानिसहरूलाई सुनूँ-सुनूँ लाग्ने गरी कसरी बताउने, त्यो उहाँलाई थाह थियो। उहाँ सजिलो र बुझिने तरिकामा सिकाउनुहुन्थ्यो। मानिसहरूलाई परमेश्‍वरबारे बुझ्न मदत गर्न उहाँले चराचुरुङ्‌गी, फूलहरू र अरू साधारण चीजहरूबारे बताउनुहुन्थ्यो।

एक दिन येशू डाँडामा हुँदा थुप्रै मानिस उहाँकहाँ आए। यो पानाको चित्रमा देखाइएझैं येशूले त्यहाँ बसेर एउटा भाषण अर्थात्‌ उपदेश दिनुभयो। यो भाषणलाई डाँडामा दिइएको उपदेश भनिन्छ। उहाँले भन्‍नुभयो: ‘आकाशका चराचुरुङ्‌गीलाई हेर, तिनीहरू न बीउ छर्छन्‌ न त भण्डारमै जम्मा गर्छन्‌; तैपनि स्वर्गमा बस्नुहुने बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा धेरै मोलका छैनौ र?’

चराचुरुङ्‌गी र फूलहरूबारे बताएर येशू कस्तो पाठ सिकाउँदै हुनुहुन्थ्यो?

येशूले यसो पनि भन्‍नुभयो: ‘मैदानका फूलहरू कसरी बढ्‌छन्‌, त्यो हेरेर पाठ सिक; तिनीहरू मेहनत गर्दैनन्‌। अनि तिनीहरू कत्ति सुन्दर छन्‌! धनी राजा सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिंगारिएका थिएनन्‌। यदि परमेश्‍वरले मैदानका बोटबिरुवाको त हेरविचार गर्नुहुन्छ भने के उहाँले तिमीहरूको हेरविचार गर्नुहुन्‍न र?’—मत्ती ६:२५-३३.

येशूले सिकाएको कुरा के तिमीले बुझ्यौ?— के खाने वा के लगाउने भन्‍ने विषयमा हामीले चिन्ता गरेको उहाँ चाहनुहुन्‍न थियो। हामीलाई यी सबै कुरा चाहिन्छ भनेर परमेश्‍वरलाई थाह छ। खानेकुरा वा लगाउने लुगाको लागि हामीले काम गर्नुपर्दैन भनी येशूले भन्‍नुभएन। तर हामीले पहिला परमेश्‍वरको काम गर्नुपर्छ भनेर उहाँले बताउनुभयो। त्यसो गऱ्‍यौं भने परमेश्‍वरले हामीलाई चाहिने खानेकुरा र लुगाको प्रबन्ध गरिदिनुहुन्छ। के तिमी यो कुरा विश्‍वास गर्छौ?—

येशूको कुरा सुनिसकेपछि मानिसहरूलाई कस्तो लाग्यो?— मानिसहरू उहाँको सिकाउने तरिका देखेर छक्क परे भनी बाइबल बताउँछ। उहाँको कुरा सुन्‍नु निकै रमाइलो हुन्थ्यो। उहाँले भनेका कुराहरूले मानिसहरूलाई सही कुरा गर्न मदत गऱ्‍यो।—मत्ती ७:२८.

त्यसैले येशूबाट सिक्नु धेरै महत्त्वपूर्ण छ। हामी कसरी येशूबाट सिक्न सक्छौं, तिमीलाई थाह छ?— उहाँले भनेका कुराहरू हामी एउटा किताबमा पाउँछौं। त्यो कुन किताब हो, भन्‍न सक्छौ कि?— त्यो किताब पवित्र बाइबल हो। यसको अर्थ बाइबलमा पढेका कुराहरूमा ध्यान दिएर हामी येशूको कुरा सुन्‍न सक्छौं। थाह छ, येशूको कुरा सुन्‍नुपर्छ भनी परमेश्‍वर आफैले भन्‍नुभएको छ र त्यसबारे एउटा रमाइलो कथा बाइबलमा दिइएको छ। त्यस कथामा के भएको थियो, हामी हेरौं है!

एक दिन येशूले आफ्ना तीन जना साथीलाई एउटा डाँडामाथि लानुभयो। तिनीहरूको नाम याकूब, यूहन्‍ना र पत्रुस थियो। ती मानिसहरूबारे हामी पछि अझै धेरै सिक्नेछौं। तिनीहरू येशूका मिल्ने साथीहरू थिए। यो विशेष अवसरमा येशूको अनुहार उज्यालो भयो। अनि सँगैको चित्रमा देखाइएझैं उहाँको लुगा ज्योतिजस्तै चहकिलो भयो।

“यिनी मेरो प्यारो छोरा हुन्‌. . . तिमीहरूले उनको कुरा सुन”

त्यसपछि येशू र उहाँका साथीहरूले स्वर्गबाट यस्तो आवाज आएको सुने: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु; तिमीहरूले उनको कुरा सुन।” (मत्ती १७:१-५) त्यो कसको आवाज थियो, तिमीलाई थाह छ?— त्यो परमेश्‍वरको आवाज थियो! हो, परमेश्‍वरले नै आफ्नो छोराको कुरा सुन भनी तिनीहरूलाई भन्‍नुभयो।

आज नि? के हामी परमेश्‍वरको आज्ञा मान्छौं र उहाँको छोरा, महान्‌ शिक्षकको कुरा सुन्छौं?— हो, हामी सबैले परमेश्‍वरको छोराको कुरा सुन्‍नुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौं, तिमीलाई याद छ कि?—

येशू अर्थात्‌ परमेश्‍वरको छोराबारे बाइबलमा पढेर हामी उहाँको कुरा सुन्‍न सक्छौं। महान्‌ शिक्षक हामीलाई धेरै राम्रा-राम्रा कुरा भन्‍नुहुन्छ। बाइबलमा भएका यी कुराहरू पढ्‌दा तिमीलाई रमाइलो लाग्नेछ। अनि आफूले सिकेका राम्रा कुरा आफ्ना साथीहरूलाई बताउँदा तिमीलाई खुसी लाग्नेछ।

येशूको कुरा सुन्दा पाइने असल कुराहरूबारे अझ बुझ्न आ-आफ्नो बाइबल खोलेर यूहन्‍ना ३:१६; ८:२८-३० अनि प्रेषित ४:१२ पढौं।