सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको स्वर्गदूतबाट बल पाए

परमेश्‍वरको स्वर्गदूतबाट बल पाए

अध्याय बाह्र

परमेश्‍वरको स्वर्गदूतबाट बल पाए

१. यहोवाका उद्देश्‍यहरू कसरी पूरा हुनेछन्‌ भनी गहिरो चासो राख्ने दानियलले के-कस्ता आशिष्‌ पाए?

 यहोवाका उद्देश्‍यहरू कसरी पूरा हुनेछन्‌ भनी गहिरो चासो राख्ने दानियलले प्रशस्त इनाम पाए। तिनलाई मसीह देखापर्ने समयसित सम्बन्धित ७० हप्ताको रोचक भविष्यवाणी दिइयो। दानियलले आफ्ना वफादार शेष जनहरू मातृभूमि फर्केको पनि हेर्न पाए। त्यो घटना, सा.यु.पू. ५३७ मा “फारसका राजा कोरेसको पहिलो वर्ष[को]” अन्ततिर घट्यो।—एज्रा १:१-४.

२, ३. यहूदी शेषजनहरूसित दानियल किन यहूदा फर्केनन्‌ होला?

यहूदा फर्कने समूहमा दानियल थिएनन्‌। उमेर ढल्किसकेको हुँदा तिनलाई यात्रा गर्न गाह्रो परेको हुनसक्छ। जे होस्‌, परमेश्‍वरले तिनलाई बेबिलोनमै थप सेवाको लागि प्रयोग गर्नु हुने थियो। यस्तैमा दुई वर्ष बित्यो। त्यसपछि विवरण यसो भन्छ: “फारसका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा दानियलकहाँ, जसलाई बेलतसजर नाउँ दिइएको थियो, एउटा कुरा प्रकाश गरियो। त्यो कुरा सत्य थियो तापनि तिनलाई त्यो बुझ्न साह्रै परिश्रम गर्नुपऱ्‍यो। तर समयमा तिनले त्यो कुरा बुझे।”—दानियल १०:१.

“कोरेसको शासनकालको तेस्रो वर्ष” भनेको सा.यु.पू. ५३६/५३५ तिर पर्छ। राजकीय र यहूदाका भारदार घरानाका युवाहरूसँगसँगै दानियललाई बेबिलोनमा ल्याइएको ८० वर्षभन्दा बढी भइसकेको थियो। (दानियल १:३) यदि बेबिलोन आउँदा तिनी किशोरावस्थामा थिए भने अहिले तिनी लगभग १०० वर्ष पुगेको हुनुपर्छ। तिनको वफादार सेवाको कस्तो राम्रो रेकर्ड!

४. दानियलको ढल्कँदो उमेरको बावजूद तिनले यहोवाको सेवामा कस्तो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने थिए?

तथापि, आफ्नो ढल्कँदो उमेरको बावजूद दानियलले यहोवाको सेवा गर्न अझ बाँकी नै थियो। परमेश्‍वरले तिनीमार्फत अझै अर्को भविष्यसूचक सन्देश घोषणा गर्नुहुने थियो र त्यसको असर निकै पछिसम्म रहने थियो। यो भविष्यवाणी अहिले हाम्रो समय र अझ पछिसम्म लागू हुने थियो। यस थप कार्यको लागि तयार गर्न यहोवाले दानियललाई अझ सुदृढ पार्न उपयुक्‍त ठान्‍नुभयो।

चिन्ताको कारण

५. दानियललाई चिन्तित तुल्याएका कुराहरू सम्भवतः के के हुनुपर्छ?

यहूदी शेषजनहरूसित दानियल यहूदा नफर्के तापनि तिनी आफ्नो प्यारो मातृभूमिमा भइरहेका घटनाहरूप्रति असाध्यै चासो राख्थे। प्राप्त रिपोर्टअनुसार यरूशलेममा सबै कामकुरा सुचारुरूपले चलिरहेको छैन भन्‍ने कुरा दानियलले थाह पाए। यरूशलेममा वेदी पुनर्निर्माण गरिसकिएको र मन्दिरको जग पनि बसालिसकिएको थियो। (एज्रा, अध्याय ३) तर छिमेकी राष्ट्रहरूले यस निर्माण कार्यको विरोध गरेर आफ्नो देश फर्केका यहूदीहरू विरुद्ध षड्यन्त्र रचिरहेका थिए। (एज्रा ४:१-५) त्यसकारण, यी सबै कुराहरूले गर्दा दानियल पनि चिन्तित हुनसक्ने कारण थियो।

६. यरूशलेमको अवस्थाले गर्दा दानियल किन चिन्तित भए?

दानियललाई यर्मियाको भविष्यवाणीबारे थाह थियो। (दानियल ९:२) यरूशलेममा मन्दिरको पुनर्निर्माण र साँचो उपासनाको पुनर्स्थापनासित आफ्ना जनहरूको लागि यहोवाको उद्देश्‍यको घनिष्ठ सम्बन्ध छ र यो सबै घटना प्रतिज्ञा गरिएको मसीह देखा पर्नुअघि हुनेछ भनेर तिनलाई थाह थियो। साँच्चै भन्‍ने हो भने, दानियलले यहोवाबाट “सत्तरी हप्ता[सम्बन्धी]” भविष्यवाणी पाउनु एउटा ठूलो सुअवसरको कुरा थियो। यसैबाट तिनले यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्‍ने वचन निस्केको ६९ “हप्ता[पछि]” मसीह देखा पर्नेछन्‌ भनेर बुझे। (दानियल ९:२४-२७) तथापि, यरूशलेमको भताभुंग अवस्था र मन्दिर निर्माणकार्यमा ढिला भएको हुँदा दानियल निरुत्साहित, दिक्क र हतोत्साहित भएको कारण बुझ्न सक्छौं।

७. दानियलले तीन हप्तासम्म के गरे?

विवरण यसो भन्छ, “ती दिनमा, म, दानियलले, तीन हप्तासम्म शोक गर्दैरहें। ती तीन हप्ता नबितुञ्जेल सबै मीठो खानेकुरादेखि म अलग बसें, नता मासु, न दाखमद्य मेरो मुखमा पऱ्‍यो, औ न मैले आफ्नो शरीरमा तेल दलें।” (दानियल १०:२, ३) “तीन हप्ता” अथवा २१ दिनसम्म उपवास बसेर बिलौना गर्नु भनेको असाध्यै लामो समय हो। यो उपवास “पहिलो महीनाको चौबीसौं दिनमा” सिद्धिएको हुनुपर्छ। (दानियल १०:४) यसर्थ, दानियल उपवास बसेको समयमा पहिलो महिना, नीसानको १४ औं दिनमा मनाइने निस्तार चाड अनि त्यसपछि सात दिनसम्म मनाइने अखमिरी रोटीको चाड पनि पऱ्‍यो।

८. यसअघि कुन बेला दानियल एकदमै उत्सुक भएर यहोवाको निर्देशन खोजेका थिए र त्यसको परिणाम के भयो?

यसअघि पनि दानियलले यस्तै अनुभव गरिसकेका थिए। यरूशलेमको विनाश र ७० वर्षसम्म उजाड रहने भविष्यवाणीको पूर्तिले त्यतिबेला तिनी अक्क न बक्क भएका थिए। दानियलले के गरे? दानियलले भने, “प्रार्थना र अन्तर–बिन्ती गरी, उपवास बस्तै भाङरा ओढ़ेर खरानी घसी मैले आफ्नो मोहोड़ा परमप्रभु परमेश्‍वरतिर फर्काएँ।” यहोवाले दानियलकहाँ गब्रिएल स्वर्गदूतमार्फत सन्देश पठाउनुभएर तिनको प्रार्थनाको जवाफ दिनुभयो र यसले गर्दा तिनी अत्यन्तै प्रोत्साहित भए। (दानियल ९:३, २१, २२) के यहोवाले अब फेरि फेरि पनि त्यस्तै व्यवहार गर्नुभएर दानियललाई एकदमै आवश्‍यक परेको बेला प्रोत्साहन दिनुहुने थियो?

विस्मयकारी दर्शन

९, १०. (क) दानियलले दर्शन पाउँदा तिनी कहाँ थिए? (ख) दानियलले दर्शनमा देखेको कुरा वर्णन गर्नुहोस्‌।

दानियल निरुत्साहित हुनु परेन। त्यसपछि घटेको घटनाबारे दानियल यसो भन्छन्‌: “मैले आफूलाई ठूलो नदी, अर्थात्‌ टाइग्रिस [हिद्‌देकेल] नदीको किनारमा देखें। मैले मास्तिर हेरें, र मिहिन लुगा लगाएको एउटा मानिसलाई देखें। तिनको कम्मरमा ओपीरको सुनको पटुका बाँधेको थियो।” (दानियल १०:४, ५) यो ठूलो नदी, हिद्‌दकेल ती चार नदीहरूमध्ये एउटा थियो जुन अदनको बगैंचाबाट बग्थ्यो। (उत्पत्ति २:१०-१४) पुरातन फारसमा हिद्‌देकेललाई टाइग्रा भनिन्थ्यो अनि यसैबाट युनानी नाउँ, टाइग्रिसको उत्पत्ति भयो। यो नदी र यूफ्रेटिसबीचको इलाकालाई मेसोपोटामिया भनियो र त्यसको अर्थ “नदीहरूबीचको भूमि” हो। यसबाट के पुष्टि हुन्छ भने, दानियलले यो दर्शन पाउँदा तिनी बेबिलोन शहरमा होइन तर बेबिलोनियामै थिए।

१० दानियलले साह्रै अचम्मको दर्शन देखे! स्पष्टतः तिनले आँखा उठाएर हेर्दा देखेको मानिस कुनै साधारण मानिस थिएन। दानियल यस्तो ज्वलन्त विवरण बताउँछन्‌: “तिनको शरीर फिरोजा–पत्थरजस्तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैं चम्कन्थ्यो, तिनका आँखा राँकोझैं बलिरहेका थिए, तिनका हात र खुट्टाहरू चाहिं टल्काइएको पीतलको पात्रझैं टल्किरहेका थिए। औ जब तिनी बोल्थे तिनको सोर भीड़को सोरझैं सुनिन्थ्यो।”—दानियल १०:६.

११. दानियल र तिनको छेउमा उभिएका मानिसहरूलाई यो दर्शनले कस्तो प्रभाव पाऱ्‍यो?

११ यो दर्शन असाध्यै चहकिलो भए तापनि “मेरो छेउमा हुनेहरू कसैले पनि त्यो दर्शन देखेनन्‌” भनी दानियलले बताए। किन हो कुन्‍नि, “तिनीहरूलाई साह्रै डर भयो र तिनीहरू सुटुक्क भागिहाले।” यसकारण, नदीको किनारमा दानियल एक्लै भए। यो “महा-दर्शन” एकदमै भयानक भएकोले तिनले यो कुरा स्वीकारे: “ममा केही शक्‍तिनै रहेन। म ता मानिसको पुतलाजस्तै भएँ, औ ममा केही बलै रहेन।”—दानियल १०:७, ८.

१२, १३. सन्देशवाहकबारे (क) पोसाकले (ख) बाह्‍य रूपले के संकेत गर्छ?

१२ दानियल यो असामान्य सन्देशवाहक देखेर तर्सिए। आउनुहोस्‌ तिनी कस्ता थिए, नियालेर हेरौं। तिनले “मिहिन लुगा लगाएका” थिए र “कम्मरमा ओपीरको सुनको पटुका” थियो। पुरातन इस्राएलमा प्रधान पूजाहारीको पटुका, एपोद, छातीको पाता र अरू पूजाहारीहरूको लबेदा मसिनो सुती कपडाको बनाएर सुनले सिंगारिएको हुन्थ्यो। (प्रस्थान २८:४-८; ३९:२७-२९) तसर्थ, सन्देशवाहकको पोसाकले ओहदाको पवित्रता र मर्यादा झल्काउँछ।

१३ सन्देशवाहकको रूप देखेर पनि दानियल आश्‍चर्यचकित भए—मणिरूपी शरीरको चमक, आँखै तिरमिराउने चम्किलो अनुहार, राँकोजस्तै बलेको आँखा अनि बलिया हातखुट्टाको टलक। आवाज पनि मुटु थर्काउने थियो। यसबाट तिनी साधारण मानिस पक्कै थिएनन्‌ भन्‍ने कुरा प्रस्ट हुन्छ। यो “मिहिन लुगा लगाएको . . . मानिस” यहोवाको पवित्र उपस्थितिमा सेवा गर्ने उच्च श्रेणीका स्वर्गदूत थिए र यो सन्देश परमेश्‍वरकै थियो। a

“अति प्रिय मानिस[लाई]” सुदृढ पारियो

१४. स्वर्गदूतको सन्देश पाउन दानियललाई कस्तो मदत चाहियो?

१४ यहोवाको स्वर्गदूतले दानियललाई सुनाउन लागेको सन्देश गहन र जटिल थियो। यो सन्देश पाउनुअघि दानियललाई शारीरिक र मानसिक पीडाबाट मुक्‍त हुन मदत चाहिएको थियो। यो कुरा बुझेर स्वर्गदूतले दानियललाई मायालु ढंगमा व्यक्‍तिगत मदत र प्रोत्साहन दिए। उक्‍त घटना विवरणबारे दानियलको आफ्नै शब्द पढौं।

१५. स्वर्गदूतले दानियललाई मदत गर्न के गरे?

१५ “जब मैले त्यो सुनें तब म भूइँमा अचेत अवस्थामा लड़ें।” सम्भवतः डर र आशंकाले दानियल अचेत भए। स्वर्गदूतले तिनलाई कसरी मदत गरे? दानियलले भने, “एक्कासि एउटा हातले मलाई समात्यो र मलाई मेरो हात र घुँड़ामा उभिनलायो।” साथै, स्वर्गदूतले अगमवक्‍तालाई यसरी प्रोत्साहन दिए: “हे दानियल अति प्रिय मानिस, मैले तिमीलाई भनिरहेको वचनहरूमा ध्यान देऊ, र जहाँ तिमी छौ त्यहीं खड़ा होऊ, किनकि अहिले म तिमीकहाँ पठाइएको छु।” यस्तो मदत र सान्त्वनादायी शब्दहरूले दानियलको फेरि होस फर्कियो। दानियल “थरथर” कामिरहेकै भए तापनि “खडा” भए।—दानियल १०:९-११.

१६. (क) यहोवाले आफ्ना सेवकहरूको प्रश्‍नको जवाफ दिन ढिलाइ गर्नुहुन्‍न भनेर कसरी थाह पाउन सक्छौं? (ख) दानियलको मदतको लागि स्वर्गदूत आउन ढिलो हुनुको कारण के थियो? (पेटी हेर्नुहोस्‌।) (ग) स्वर्गदूतले दानियललाई कस्तो सन्देश सुनाए?

१६ यो स्वर्गदूतले तिनी दानियललाई सुदृढ पार्न नै आएका हुन्‌ भने। स्वर्गदूतले यसो भने, “हे दानियल, नडराऊ, किनकि बुझ्नलाई तिमीले मन दिएको र आफ्ना परमेश्‍वरका सामने दीन भएको पहिलो दिनदेखिनै तिम्रा प्रार्थनाहरूको सुनाइ भएको छ, र म तिनीहरूकै जवाफमा आएको हुँ।” त्यसपछि स्वर्गदूतले ढिलो हुनुको कारण बताए। तिनले यसो भने: “तर फारस राज्यको कुमार–दूतले एक्काईस दिनसम्म मसँग युद्ध गरिरह्‍यो, र त्यसपछि मैले त्यसलाई रोकिराखेको देखेर मुख्य कुमारहरूमध्येका एक जना, फारसको राज्यको कुमारको विरुद्धमा मलाई सहायता गर्न माइकल आए।” माइकलको सहायता पाएर स्वर्गदूतले यो कार्य पूरा गर्न सके अनि दानियलकहाँ यो जरुरी सन्देश पुऱ्‍याउन आए: “भविष्यमा तिम्रो जातिलाई के हुनेछ सो म तिमीलाई बताउन आएको छु। किनभने यो पनि ती दिनहरूलाई संकेत गर्ने एक दर्शन हो।”—दानियल १०:१२-१४.

१७, १८. दानियलले कसरी दोस्रो चोटि मदत पाए अनि यसले तिनलाई के गर्न मदत गऱ्‍यो?

१७ यस्तो अचम्मको सन्देश सुनेर दानियल उत्साहित हुनुको साटो यसले तिनलाई खिन्‍न पारेजस्तो देखिन्छ। विवरण यसो भन्छ: “जब तिनी मसित बोलिसके तब मैले आफ्नो शिर निहुराएँ, र म लाटो भइरहें।” तर दोस्रो चोटि पनि उक्‍त स्वर्गदूत दानियललाई मायालु सहयोग दिन तयार भए। दानियलले भने: “एक्कासि मानिसजस्तै कुनै एक जनाले मेरो मुख छोए। तब बोल्नलाई मैले आफ्नो मुख खोलें।” bदानियल १०:१५, १६क

१८ स्वर्गदूतले दानियलको मुख छुँदा तिनले बल पाए। (यशैया ६:७ तुलना गर्नुहोस्‌।) फेरि बोल्नसक्ने भएपछि दानियलले आफूले भोगिरहेका कठिनाइहरू स्वर्गदूतलाई बताउन सके। दानियलले भने: “महाशय, यसले ता मेरो मुटुमानै घोंच्यो, औ मेरो बलनै रहेन। हजूरसँग म हजूरको दासले कसरी बात गर्ने आँट गर्नु किनभने मेरो केही बलनै रहेन, र ममा प्राणनै छैन।”—दानियल १०:१६ख, १७.

१९. दानियलले तेस्रो चोटि कसरी मदत पाए अनि त्यसको परिणाम के भयो?

१९ दानियलले कुनै गुनासो वा बहाना गरिरहेका थिएनन्‌। तिनले केवल आफ्नो अवस्था बताइरहेका थिए र स्वर्गदूतले तिनको कुरालाई समर्थन गरे। तसर्थ, दयालु सन्देशवाहकले दानियललाई तेस्रो पटक मदत गरे। अगमवक्‍ताले भने, “ती व्यक्‍तिले फेरि मलाई छोएर मेरो बल पुनर्प्राप्त गराए।” सन्देशवाहकले त्यसरी छुनुको साथसाथै यी सान्त्वनादायी शब्दहरू पनि भने: “हे अति प्रिय मानिस, नडराऊ। तिमीलाई राम्रै हुनेछ। बलियो होऊ, बलियो होऊ।” यतिबेला दानियललाई चाहिएको नै यो मायालु स्पर्श र सान्त्वनादायी शब्दहरू थिए जस्तो देखिन्छ। परिणाम के भयो? दानियलले यस्तो घोषणा गरे: “जब तिनी मसँग बोलिसके, तब मैले बल पाएँ, र भनें, ‘हे महाशय, बोल्नुहोस्‌, किनभने तपाइँलेनै मलाई बल दिनुभयो।’” अब भने दानियल अर्को चुनौतीपूर्ण कार्यको लागि तयार भए।—दानियल १०:१८, १९.

२०. यस सन्देशवाहक स्वर्गदूतले आफ्नो काम पूरा गर्न किन प्रयास गर्नुपरेको थियो?

२० दानियललाई बल दिएर पुनः मानसिक र शारीरिक तवरमा सक्षम बनाइसकेपछि स्वर्गदूतले तिनलाई आफ्नो विशेष कामको उद्देश्‍य बताए। स्वर्गदूतले भने: “म किन तिमीकहाँ आएको छु, के तिमीलाई थाह छ? पहिले म फारसको कुमारसँग युद्ध गर्नलाई गइरहेछु, मैले छोड़ने बित्तिकै युनानको राजा देखा पर्नेछ। मलाई मदत र सहायता गर्नलाई मतर्फ तिम्रा कुमार माइकलबाहेक अरू कुनै मित्र छैन। तापनि सत्यको पुस्तकमा के लेखिएको छ सो म तिमीलाई बताउनेछु। साँचो के हो, म तिमीलाई अब बताउनेछु।”—दानियल १०:२०, २१.

२१, २२. (क) दानियलको अनुभवबाट यहोवाले आफ्ना जनहरूसित गर्नुहुने व्यवहारबारे हामी के सिक्न सक्छौं? (ख) दानियलले अब कुन कुरा गर्ने बल पाए?

२१ यहोवाको कस्तो मायालु तथा संवेदनशील स्वभाव! उहाँले सधैं आफ्ना सेवकहरूको क्षमता र सीमितता बुझेर त्यसैअनुरूप व्यवहार गर्नुहुन्छ। एकातिर, कहिलेकाहीं उहाँका सेवकहरूलाई आफूले गर्नै नसक्ने काम उहाँले अह्राउनुभएको जस्तो लाग्ला तर तिनीहरूले जे गर्न सक्छन्‌, त्यसलाई विचार गरेर मात्र उहाँ काम अह्राउनुहुन्छ। अर्कोतिर, उहाँ तिनीहरूको कुरा सुन्‍न तयार हुनुहुन्छ र तिनीहरूलाई आफ्नो काम पूरा गर्न चाहिने मदतको प्रबन्ध गर्न पनि तत्पर हुनुहुन्छ। हामी सधैं आफ्ना सँगी उपासकहरूलाई मायालु ढंगमा प्रोत्साहन तथा बल दिंदै हाम्रो स्वर्गमा हुनुहुने पिताको अनुसरण गरिरहौं।—हिब्रू १०:२४.

२२ स्वर्गदूतको सान्त्वनादायी शब्दले दानियललाई निकै प्रोत्साहन दियो। आफ्नो ढल्कँदो उमेरको बावजूद दानियलले बल पाए अनि हाम्रो हितको लागि थप भविष्यवाणी पाउन र त्यो लिपिबद्ध गर्न तयार भए।

[फुटनोटहरू]

a यस स्वर्गदूतको नाउँ नबताइएको भए तापनि दानियलले भर्खरै देखेको दर्शनको अर्थ खुलाउन यही स्वर्गदूतले गब्रिएल स्वर्गदूतलाई निर्देशन दिइरहेको हुनुपर्छ। (दानियल ८:२, १५, १६ सित १२:७, ८ तुलना गर्नुहोस्‌।) साथै, दानियल १०:१३ ले देखाएअनुसार “मुख्य कुमारहरूमध्येका एक जना” अर्थात्‌ माइकल, यो स्वर्गदूतलाई मदत गर्न आए। तसर्थ, यस बेनामी स्वर्गदूतले गब्रिएल र माइकलसँगसँगै काम गर्ने सुअवसर पाएको हुनुपर्छ।

b हुन त, दानियलसित कुरा गर्ने स्वर्गदूतले नै तिनको मुख छोएर होस फर्काएको हुनसक्छ तर अर्को स्वर्गदूत, गब्रिएलले पनि यसो गरेको हुनसक्ने सम्भावना छ। जे होस्‌, यो दयालु सन्देशवाहकबाट दानियलले बल पाए।

तपाईंले के बुझ्नुभयो?

• सा.यु.पू. ५३६/५३५ मा दानियललाई मदत गर्न यहोवाको स्वर्गदूत आउन ढिलो हुनुको कारण के थियो?

• परमेश्‍वरको सन्देशवाहक स्वर्गदूतको पोसाक र बाह्‍य रूपले के संकेत गऱ्‍यो?

• दानियललाई कस्तो मदत चाहिएको थियो र तीन चोटिसम्म स्वर्गदूतले कसरी मदत गरे?

• स्वर्गदूतले दानियललाई कस्तो सन्देश सुनाए?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २०४-मा भएको पेटी]

रक्षा गर्ने स्वर्गदूतहरू वा पैशाचिक शासकहरू

दानियलको पुस्तकमा भएको स्वर्गदूतहरूसम्बन्धी विवरणबाट हामी धेरै कुरा सिक्न सक्छौं। यहोवाको वचन अनि आफ्नो काम पूरा गर्न तिनीहरूले कस्तो प्रयास गर्छन्‌ भनेर दानियलको पुस्तकले बताउँछ।

दानियलसित कुरा गर्न जाँदा “फारस राज्यको कुमार-दूतले” अवरोध खडा गऱ्‍यो भनी परमेश्‍वरको स्वर्गदूतले बताए। यस सन्देशवाहक स्वर्गदूतले २१ दिनसम्म युद्ध गरेपछि बल्ल “मुख्य कुमारहरूमध्येका एक जना” माइकलको सहायताले उम्कन सके। स्वर्गदूतले त्यो शत्रु र सम्भवतः “युनानको राजा[सित]” युद्ध गर्नुपर्नेछ भनेर पनि बताए। (दानियल १०:१३, २०) स्वर्गदूतको लागि पनि यो कुनै मामुली काम थिएन! तर यी फारस र युनानका राजाहरू को थिए?

सर्वप्रथम, हामीले माइकललाई “मुख्य कुमारहरूमध्येका एक जना” र “तिम्रा कुमार” भनिएको देख्यौं। पछि, माइकललाई ‘[दानियलका] संगी–देशबासीहरूमाथि रक्षा गर्ने ठूलो कप्तान’ भनियो। (दानियल १०:२१; १२:१) यहोवाले इस्राएलीहरूलाई मिश्रबाट डोऱ्‍याउन खटाउनुभएको स्वर्गदूत पनि माइकल नै थिए भनेर यसले संकेत गर्छ।—प्रस्थान २३:२०-२३; ३२:३४; ३३:२.

यो निष्कर्षलाई चेला यहूदाको यस वाक्यांशले समर्थन गर्छ, “प्रधान दूत माइकलले मोशाको लाशको विषयमा शैतानसँग विवाद” गरे। (यहूदा ९) माइकलको ओहदा, शक्‍ति र अख्तियारले तिनी साँच्चै “प्रधान दूत” अर्थात्‌ “प्रमुख स्वर्गदूत” वा “मुख्य स्वर्गदूत” भए। पृथ्वीमा आउनुअघि र पृथ्वीबाट जानु भइसकेपछि परमेश्‍वरको पुत्र, येशू ख्रीष्टलाई बुझाउन यो उच्च ओहदा एकदमै उपयुक्‍त छ।—१ थिस्सलोनिकी ४:१६; प्रकाश १२:७-९.

के यसको मतलब यहोवाले फारस र युनानजस्ता राष्ट्रहरूलाई तिनीहरूको क्रियाकलापमा डोऱ्‍याउन पनि स्वर्गदूतहरू नियुक्‍त गर्नुभएको हो त? परमेश्‍वरको पुत्र, येशू ख्रीष्टले खुल्लमखुल्ला यसो भन्‍नुभयो: “संसारको शासक[को] . . . मसँग केही छैन।” येशूले यसो पनि भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन। . . . मेरो राज्य यहाँको होइन।” (यूहन्‍ना १४:३०; १८:३६) प्रेरित यूहन्‍नाले “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भने। (१ यूहन्‍ना ५:१९) कुरा स्पष्ट छ, यस संसारका राज्यहरू परमेश्‍वर वा ख्रीष्टको डोऱ्‍याइ वा शासनअन्तर्गत पहिले पनि थिएन र अहिले पनि छैन। यहोवाले अनुमति देउञ्जेल “उच्च अख्तियारवालाहरू[ले]” पृथ्वीका सरकारी गतिविधिमाथि अख्तियार जमाउँछन्‌ तर उहाँले ती सरकारहरूमाथि स्वर्गदूत नियुक्‍त गर्नुभएको छैन। (रोमी १३:१-७) अतः तिनीहरूमाथि “राजकुमार” वा “शासक” नियुक्‍त गर्ने “यस संसारको शासक,” शैतान अर्थात्‌ दियाबल हुनुपर्छ। तिनीहरू रक्षा गर्ने स्वर्गदूत नभई पैशाचिक शासकहरू हुनुपर्छ। त्यसकारण, मानव शासकहरूको पछाडि पैशाचिक शक्‍ति वा “राजकुमारहरू” छन्‌ र राष्ट्रहरूबीचको गोलमालमा मानिसहरू मात्र मुछिएका हुँदैनन्‌।

[पृष्ठ १९९-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ २०७-मा भएको पृष्ठभरिको चित्र]