सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गलाती, एफिसी, फिलिप्पी र कलस्सीकाहरूलाई लेखेको पत्रका विशेषताहरू

गलाती, एफिसी, फिलिप्पी र कलस्सीकाहरूलाई लेखेको पत्रका विशेषताहरू

यहोवाको वचन जीवित छ

गलाती, एफिसी, फिलिप्पी र कलस्सीकाहरूलाई लेखेको पत्रका विशेषताहरू

यहूदी धर्म मान्‍नेहरूको प्रभावले गर्दा कोही-कोही ख्रीष्टियानहरू शुद्ध उपासनाबाट तर्केको सुनेपछि प्रेरित पावल “गलातियाका मण्डलीहरूलाई” कडाइका साथ पत्र लेख्छन्‌। (गला. १:२) इस्वी संवत्‌ ५० देखि ५२ को दौडान लेखिएको यस पत्रमा सुस्पष्ट सल्लाह र कडा अर्ती पाउन सकिन्छ।

त्यसको झन्डै १० वर्षपछि रोममा “ख्रीष्ट येशूको कैदी”-को रूपमा हुँदा पावलले एफिसी, फिलिप्पी र कलस्सीका मण्डलीहरूलाई पत्र लेखेर गतिलो सल्लाह र मायालु प्रोत्साहन दिन्छन्‌। (एफि. ३:१) यी बाइबल पुस्तकहरूमा पाइने सन्देशहरूलाई ध्यान दिंदा आज पनि हामी फाइदा उठाउन सक्छौं।—हिब्रू ४:१२.

‘धर्मी ठहऱ्‍याइएको’—कसरी?

(गला. १:१–६:१८)

यहूदी धर्म मान्‍नेहरूले धूर्ततापूर्वक पावलको बदनाम गर्न खोजेको कारण आफ्नो जीवनका केही वृत्तान्त सुनाएर तिनी आफू प्रेरित हुँ भन्‍ने कुराको बचाउ गर्छन्‌। (गला. १:११-२:१४) तिनीहरूको झूटा शिक्षाको प्रतिरोध गर्दै पावल आफ्नो कुरा यसरी राख्छन्‌: “येशू ख्रीष्टमाथिको विश्‍वासबाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिदैन।”—गला. २:१६.

ख्रीष्टले ‘व्यवस्थाको अधीनमा रहनेहरूलाई, मोल तिरेर छुट्टाउनुभयो’ र ख्रीष्टियान स्वतन्त्रताको आनन्द उठाउन मुक्‍त गराउनुभयो भनी पावल भन्छन्‌। तिनी गलातीका ख्रीष्टियानहरूलाई यस्तो कडा सल्लाह दिन्छन्‌: “दह्रो भएर खडा होओ, र फेरि बन्धनको जुवामा नअल्मलिओ।”—गला. ४:४, ५; ५:१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३:१६-१८, २८, २९—अब्राहामसित बाँधिएको करार के अझै वैध छ? अवश्‍यै छ। परमेश्‍वरले यस करारको ठाउँमा मोशाको व्यवस्था दिनुभएको थिएन, यो केवल त्यसमा थप मात्र थियो। त्यसैले, मोशाको व्यवस्था “खारिज” भइसकेपछि पनि अब्राहामसित बाँधिएको करार चाहिं वैध रहिरह्‍यो। (एफि. २:१५) अब्राहामको असली “वंश”—ख्रीष्ट येशू जो “वंश”-को प्रमुख भाग हुनुहुन्छ र ‘तिनीहरू जो ख्रीष्टका’ हुन्‌, तिनीहरूमा उक्‍त करारका प्रतिज्ञाहरू पूरा हुन्छन्‌।

६:२—“ख्रीष्टको व्यवस्था” के हो? यस व्यवस्थामा येशूले सिकाउनुभएको र आज्ञा गर्नुभएको सबै कुरा पर्छ। विशेष गरी “आपसमा प्रेम गर” भन्‍ने आज्ञा यसमा समावेश छ।—यूह. १३:३४.

६:८—हामी कसरी ‘आत्माको लागि रोप्तछौं’? यसको लागि हामीले आफ्नो जीवन यस्तो ढंगमा बिताउनुपर्छ जसले गर्दा परमेश्‍वरको आत्मा हामीमा कुनै अवरोधविना क्रियाशील रहिरहन सकोस्‌। आत्माको लागि रोप्नुमा आत्मा क्रियाशील रहिरहन मदत गर्ने गतिविधिमा तनमनले भाग लिनु समावेश छ।

हाम्रो लागि पाठ:

१:६-९. मण्डलीमा समस्या उत्पन्‍न हुँदा ख्रीष्टियान प्राचीनहरूले ढिलासुस्ती नगरी कदम चालिहाल्नुपर्छ। धर्मशास्त्रका साथै विवेक चलाएर तिनीहरूले चाँडै झूटा तर्कहरूको खण्डन गर्न सक्छन्‌।

२:२०. छुटकाराको बलिदान परमेश्‍वरले हामीलाई व्यक्‍तिगत तवरमा दिनुभएको उपहार हो। हामीले यसलाई त्यही रूपमा हेर्न सिक्नुपर्छ।—यूह. ३:१६.

५:७-९. खराब संगतिले ‘सत्यलाई मान्‍न छोड्‌न’ लगाउन सक्छ। त्यस्तो संगतिबाट अलग रहनु बुद्धिमानी हो।

६:१, २, . कहिलेकाहीं अनजानमै गलत कदम चालेकोले कठिन परिस्थिति आइपर्दा “आत्मिकी”-हरूले हामीलाई यो भार उठाउन मदत गर्न सक्छन्‌। तर आफ्नो आध्यात्मिक जिम्मेवारी बहन गर्ने सन्दर्भमा चाहिं आफ्नो भार आफै उठाउनुपर्छ।

‘सबै कुरा ख्रीष्टमा गाभ्ने’

(एफि. १:१–६:२४)

एफिसीका ख्रीष्टियानहरूलाई लेखेको पत्रमा ख्रीष्टियान एकतालाई प्रकाश पार्दै पावल यसो भन्छन्‌, “चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्नलाई समयको पूर्णताको प्रबन्धको निम्ति।” ‘विश्‍वासको एकता प्राप्त गर्न’ ख्रीष्टले “मानिसहरूलाई वरदान [अर्थात्‌ “पुरुषहरूमध्ये वरदान,” NW]” दिनुभएको छ।—एफि. १:१०; ४:८, १३.

परमेश्‍वरको आदर गर्न र एकतालाई बढावा दिन ख्रीष्टियानहरूले “नयाँ मानिसलाई धारण” गर्नुपर्छ र “ख्रीष्टको भयमा एउटा अर्कोको अधीनमा” बस्नुपर्छ। साथै, तिनीहरूले सारा आध्यात्मिक हात-हतियार धारण गरेर “शैतानका युक्‍तिहरूका विरुद्धमा खडा” पनि हुनुपर्छ।—एफि. ४:२४; ५:२१; ६:११.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:४-७—अभिषिक्‍त ख्रीष्टियानहरूलाई अघिबाटै नियुक्‍त गरियो, कसरी? तिनीहरू व्यक्‍तिविशेषको रूपमा होइन तर समूह वा वर्गको रूपमा अघिबाटै नियुक्‍त गरिए। पापी संसार अस्तित्वमा आउनुअघि नै तिनीहरू नियुक्‍त भएका थिए। कुनै पापी मानिस गर्भमा रहनुअघि नै गरिएको उत्पत्ति ३:१५ को भविष्यवाणीमा ख्रीष्टका केही अनुयायीहरूले उहाँसँगै स्वर्गमा शासन गर्नेछन्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍यबारे पनि बताइएको छ।—गला. ३:१६, २९.

२:२, NW—संसारको आत्मा कसरी हावा जस्तै हो र यसले संसारमाथि कसरी अधिकार जमाउँछ? “संसारको आत्मा” अर्थात्‌ स्वतन्त्रता र अनाज्ञाकारिताको आत्मा हामीले सास फेर्ने हावा जत्तिकै सर्वव्याप्त छ। (१ कोरि. २:१२) यसले आफ्नो बलियो र निरन्तर प्रभावले गर्दा संसारमाथि अख्तियार वा शक्‍ति जमाउँछ।

२:६—पृथ्वीमै हुँदा पनि अभिषिक्‍त ख्रीष्टियानहरू कसरी “स्वर्गीय स्थानहरूमा” हुन सक्छन्‌? यस पदमा भनिएको “स्वर्गीय स्थानहरू”-ले तिनीहरूलाई प्रतिज्ञा गरिएको स्वर्गीय इनामलाई बुझाउँदैन। बरु, तिनीहरूको उच्च आध्यात्मिक स्थानलाई बुझाउँछ किनभने तिनीहरूलाई “प्रतिज्ञाको पवित्र आत्माले . . . छाप लगाएका” छन्‌।—एफि. १:१३, १४.

हाम्रो लागि पाठ:

४:८, ११-१५. येशू ख्रीष्टले “कैदलाई कैद गरेर लानुभयो।” मतलब, ख्रीष्टियान मण्डली निर्माणको लागि पुरुषहरू वरदानको रूपमा प्रयोग गर्न येशूले तिनीहरूलाई शैतानको पन्जाबाट फुकाउनुभयो। हामीमाझ अगुवा लिनेहरूको आज्ञा पालन गरेर र तिनीहरूको अधीनमा बसेर र मण्डलीको प्रबन्धमा सहयोग गरेर “प्रेममा . . . सबै कुरामा . . . ख्रीष्टसम्मै बढ्‌दै” जान सक्छौं।—हिब्रू १३:७, १७.

५:२२-२४, ३३. पतिको अधीनमा बस्नुको अलावा पत्नीले पतिको आदर पनि गर्नुपर्छ। “नम्र र शान्त आत्मा” देखाएर, पतिबारे राम्रो कुरा गरेर र तिनको निर्णय सफल पार्न मेहनत गरेर पतिको आदर गर्छिन्‌।—१ पत्रु. ३:३, ४; ती. २:३-५.

५:२५, २८, २९. जसरी पतिले आफ्नो “पालन पोषण” गर्दछ त्यसरी नै पत्नीलाई पनि शारीरिक, भावनात्मक र आध्यात्मिक तवरमा राम्ररी पालन पोषण गर्नुपर्छ। पत्नीसित पर्याप्त समय बिताएर अनि बोली र कार्य दुवैमा कोमल व्यवहार गरेर तिनको कदर गर्नुपर्छ।

६:१०-१३. प्रेतहरूको प्रतिरोध गर्न हामीले तनमन लगाएर परमेश्‍वरबाट पाएको सारा हात-हतियार धारण गर्नुपर्छ।

‘व्यवस्थित रूपमा हामी चलिरहौं’

(फिलि. १:१–४:२३)

पावलले फिलिप्पीहरूलाई लेखेको पत्रको मुख्य विषय प्रेम हो। तिनी भन्छन्‌: “म यही प्रार्थना गर्दछु, कि ज्ञान र सबै विवेकमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्त हुँदै जाओस्‌।” बढ्‌तै विश्‍वस्त हुनुको पासोबाट बच्न तिनीहरूलाई मदत दिंदै पावल यस्तो अर्ती दिन्छन्‌: “डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा गर्दै जाओ।”—फिलि. १:९; २:१२.

परिपक्व ख्रीष्टियानहरूलाई “माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर . . . अगाडि” बढ्‌न पावल प्रोत्साहन दिन्छन्‌। तिनी भन्छन्‌: “केवल जहाँसम्म हामी पुगिसकेका छौं, त्यहीबमोजिम [“व्यवस्थित रूपमा,” NW] हामी चलौं।”—फिलि. ३:१४-१६.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:२३पावल कुन “दुवैका बीचमा” परे र तिनले केबाट छुटकारा पाउने इच्छा गरे? पावल आफ्नो परिस्थितिको कारण यी दुइटा सम्भाव्यताको दबाबबीच परेका थिए: जीवन वा मृत्यु। (फिलि. १:२१) तिनको छनौट के हुनेथियो, तिनले नखुलाए तापनि आफ्नो इच्छा भने व्यक्‍त गरेका छन्‌। त्यो हो, छुटकारा पाएर अर्थात्‌ “गइगएर ख्रीष्टको साथमा हुने।” (फिलि. ३:२०, २१; १ थिस्स. ४:१६) ख्रीष्टको उपस्थितिको दौडान यसरी छुटकारा पाउँदा यहोवाले तिनको लागि तयार पार्नुभएको इनाम पावलले पाउनेथिए।—मत्ती २४:३.

२:१२, १३परमेश्‍वरले हामीलाई कसरी “इच्छा गर्ने र काम गर्ने” तुल्याउनुहुन्छ? यहोवाको पवित्र आत्माले हाम्रो मन-मस्तिष्कमा उहाँको सेवा सक्दो गर्ने इच्छा तीव्र पार्न सक्छ। त्यसैले ‘आफ्नो मुक्‍तिको काम पूरा गर्न’ हामी बेसहारा छैनौं।

हाम्रो लागि पाठ:

१:३-५. फिलिप्पीका ख्रीष्टियानहरूको आर्थिक अवस्था कमजोर थियो। तैपनि तिनीहरूले उदारता देखाउने सन्दर्भमा हाम्रो निम्ति असल उदाहरण बसाले।—२ कोरि. ८:१-६.

२:५-११. येशूको उदाहरणले देखाएझैं नम्रता कमजोरीको चिह्न होइन बरु यो नैतिक बल हो। यसबाहेक, यहोवा नम्रहरूको प्रशंसा गर्नुहुन्छ।—हितो. २२:४.

३:१३. “पछाडिका कुराहरू” भन्‍नाले लोभलाग्दो जागिर, सम्पन्‍न परिवारको सदस्य भएको नाताले पाइने आर्थिक सुरक्षा वा विगतमा गरेको गम्भीर पाप समेत हुन सक्छ जसको लागि पश्‍चात्ताप गरेर हामी ‘पखालिसकेका’ छौं। (१ कोरि. ६:११) हामीले यी कुराहरूलाई बिर्सनुपर्छ अर्थात्‌ तीबारे चिन्तित हुन बन्द गर्नुपर्छ र ‘अगाडिका कुराहरूतिर लम्कनुपर्छ।’

“विश्‍वासमा दृढ” भई बस्ने

(कल. १:१-४:१८)

कलस्सीहरूलाई लेखेको पत्रमा पावल झूटा शिक्षकहरूको गलत धारणालाई उदाङ्‌ग पारिदिन्छन्‌। मुक्‍ति, व्यवस्थाको माग पूरा गर्नुमा होइन तर “विश्‍वासमा रहिरहनुमा’ निर्भर छ भनी तिनी तर्क गर्छन्‌। पावलले कलस्सीहरूलाई “[ख्रीष्टमा] जरा हालेका र बनिएका भएर, . . . विश्‍वासमा दृढ भएर . . . उहाँकै चालमा चल” भनी प्रोत्साहन दिन्छन्‌। त्यसरी दृढ भई बस्दा तिनीहरूमा कस्तो प्रभाव पर्नेछ?—कल. १:२३; २:६, ७.

“यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो। औ ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्‌” भनी पावल लेख्छन्‌। उनी तिनीहरूलाई यसो भन्छन्‌: “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको [यहोवाको] निम्ति जस्तैगरी मनतनले गर।” मण्डली बाहिरकाहरूको सन्दर्भमा तिनी यसो भन्छन्‌: “बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल।”—कल. ३:१४, १५, २३; ४:५.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:८पावलले चेतावनी दिएको “संसारको अनुसारका तत्वज्ञान” के हो? यो, शैतानको संसार बनिएको, यसलाई डोऱ्‍याउने वा उत्प्रेरित गर्ने तत्त्व अर्थात्‌ आधारभूत कुरा वा सिद्धान्त हो। (१ यूह. २:१६) यसमा, यस संसारको दर्शन, भौतिकवाद र झूटो धर्म पनि समावेश छ।

४:१६—लाओडिसियाका ख्रीष्टियानहरूलाई लेखेको पत्र किन बाइबलको भाग बनेन? आज हामीलाई आवश्‍यक जानकारी यसमा नभएकोले हुन सक्छ। अथवा अन्य पत्रहरूमा भनिएको कुरा नै यसमा दोहोऱ्‍याइएकोले पनि हुन सक्छ।

हाम्रो लागि पाठ:

१:२, २०. परमेश्‍वरले अनुग्रहको कारण प्रबन्ध गर्नुभएको छुटकाराको बलिदानले हामीलाई दोषी अन्तस्करणबाट स्वच्छ पारेर मनोशान्ति दिन सक्छ।

२:१८, २३. भौतिक कुराहरूलाई त्यागेर वा आफ्नो शरीरलाई सास्ती दिएर “देखावटी नम्रता” (NW) देखाउनु “दैहिक मनमा व्यर्थमा गम्केर” बस्नुको संकेत हो। (w08 8/15)