सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सात गोठाला र आठ मुखिया को हुन्‌?

सात गोठाला र आठ मुखिया को हुन्‌?

“हामी त्यसको विरुद्धमा सात गोठाला र आठ मुखियाहरू खडा गर्नेछौं।”मीका ५:५.

१. अराम र इस्राएलका राजाहरूको योजना किन सफल भएन?

येशू जन्मनुभन्दा लगभग ७५० वर्षअघि इस्राएल र अरामका राजाले यहूदा राज्यमा आक्रमण गरे। तिनीहरू यरूशलेमलाई कब्जा गरेर राजा आहाजलाई हटाउन र राजा दाऊदको सन्तानलाई होइन तर अर्कै व्यक्तिलाई राजा बनाउन चाहन्थे। (यशै. ७:५, ६) तर तिनीहरूको योजना सफल भएन। दाऊदको सन्तानले नै सदासर्वदा शासन गर्नेछ भनेर यहोवाले पहिल्यै प्रतिज्ञा गरिसक्नुभएको थियो। यहोवाको वचन सधैं पूरा हुन्छ।—यहो. २३:१४; २ शमू. ७:१६.

२-४. (क) येशू जन्मनुभन्दा लगभग ७५० वर्षअघि यशैया ७:१४, १६ कसरी पूरा भयो? (ख) उक्त भविष्यवाणी येशूको समयमा कसरी पूरा भयो?

सुरुमा त अराम र इस्राएलले युद्ध जित्लान्‌ जस्तो देखिएको थियो। आहाजले एउटै युद्धमा १ लाख २० हजार सिपाही गुमाए! उनका छोरा मासेयाह पनि मारिए। (२ इति. २८:६, ७) तर यहोवा चुप लागेर बस्नुभएन। उहाँले दाऊदसित गरेको प्रतिज्ञा सम्झनुभयो र भविष्यवक्ता यशैयामार्फत प्रोत्साहनदायी सन्देश दिनुभयो।

यशैयाले यसो भने: “हेर, कन्या गर्भवती हुनेछ, र त्यसले एउटा छोरो जन्माउनेछ, र उनको नाउँ इम्मानुएल राखिनेछ।” तिनले अझै यसो भने: “बालकले खराबलाई इन्कार गर्न र असललाई जान्नअघि त्यो देश त्यागिनेछ, जसका दुई राजाहरूदेखि [अराम र इस्राएल] तिमीहरू घबराएका छौ।” (यशै. ७:१४, १६) यस भविष्यवाणीको पहिलो अंश मुख्यतः मसीहको जन्मसित सम्बन्धित छ। (मत्ती १:२३) तर इम्मानुएलसम्बन्धी भविष्यवाणीको पहिलो पूर्ति यशैयाको समयमा भएको हुनुपर्छ। किनकि अराम र इस्राएलका यी “दुई राजाहरू”-ले येशूको समयमा यहूदामाथि आक्रमण गरेका थिएनन्‌।

यशैयाले भविष्यवाणी गरे लगत्तै तिनकी पत्नी गर्भवती भइन्‌। तिनीहरूको छोराको नाम महेर-शालल-हाज-बज राखियो। यशैयाले “इम्मानुएल” भनेर उल्लेख गरेको बालक  सायद यही हुन सक्छ। * बाइबलकालीन समयमा कुनै विशेष घटनालाई सम्झन बच्चा जन्मँदा एउटा नाम दिइन्थ्यो तर पछि आमाबाबु र आफन्तले अर्कै नामले बोलाउँथे। (२ शमू. १२:२४, २५) येशूलाई इम्मानुएल भनेर बोलाइएको कुनै प्रमाण छैन।यशैया ७:१४; ८:३, ४ पढ्नुहोस्।

५. राजा आहाजले कस्तो मूर्ख कदम चाले?

इस्राएल र अरामले यहूदामा चढाइ गर्न खोजेको बेला अश्शूरले पनि यहूदालाई कब्जा गर्न खोजिरहेको थियो। अश्शूर अत्यन्तै क्रूर राष्ट्र थियो र झन्‌झन्‌ शक्तिशाली हुँदै गइरहेको थियो। यशैया ८:३, ४ अनुसार यहूदामाथि आक्रमण गर्नुअघि अश्शूरले अराम र इस्राएललाई कब्जा गर्नेथियो। यहूदाका राजा आहाजले यशैयामार्फत आएको परमेश्वरको वचनमा भरोसा गर्नुपर्थ्यो। तर उनले अश्शूरीहरूसित सम्झौता गरेर मूर्ख कदम चाले। फलस्वरूप, अश्शूरीहरूले यहूदामाथि दमन गर्न थाले। (२ राजा १६:७-१०) यहूदाको गोठालो भएकाले आहाजले आफ्नो जनताको सुरक्षा गर्नुपर्थ्यो। तर उनले त्यसो गरेनन्‌। हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौं: ‘कुनै महत्त्वपूर्ण निर्णय गर्नुअघि म परमेश्वरमाथि भरोसा गर्छु वा मानिसमाथि?’—हितो. ३:५, ६.

नयाँ गोठालो भिन्नै कदम चाल्छन्‌

६. हिजकियाह कसरी आहाजभन्दा भिन्नै थिए?

ईसापूर्व ७४६ मा आहाजको मृत्यु भयो। त्यसपछि उनका छोरा हिजकियाह राजा भए। त्यतिखेर यहूदाका मानिसहरू गरिब थिए र तिनीहरूले यहोवाको उपासना गर्न छोडिसकेका थिए। त्यसोभए राजा हिजकियाहले सबैभन्दा पहिले के गर्नेथिए? के तिनी यहूदा राष्ट्रलाई फेरि धनी बनाउने धुनमा लाग्नेथिए? अहँ, थिएनन्‌। हिजकियाह यहोवालाई माया गर्थे र तिनी यहूदा राष्ट्रका असल गोठालो थिए। त्यसैकारण सबैभन्दा पहिला तिनले मानिसहरूलाई फेरि यहोवाको उपासना गर्न मदत गरे। यहोवाले तिनीबाट चाहनुभएको कुरा बुझेपछि तिनले तुरुन्तै कदम चाले। तिनले हाम्रो लागि उत्कृष्ट उदाहरण बसाले।—२ इति. २९:१-१९.

७. लेवीहरूलाई नयाँ राजाको सहयोग किन चाहिन्थ्यो?

मानिसहरूलाई फेरि यहोवाको उपासना गर्न मदत गर्ने सम्बन्धमा लेवीहरूको जिम्मेवारी महत्त्वपूर्ण थियो। त्यसैले हिजकियाहले लेवीहरूलाई भेटे र तिनीहरूलाई सहयोग गर्ने प्रतिज्ञा गरे। राजा हिजकियाहका यी शब्दहरू सुन्दा ती वफादार लेवीहरूको आँखा भरिएको हुनुपर्छ: “परमप्रभुले उहाँको सामने खडा भएर उहाँको सेवा गर्न र उहाँको निम्ति बलिदान चढाउन तिमीहरूलाई चुन्नुभएको हो।” (२ इति. २९:११) ती लेवीहरूले मानिसहरूलाई साँचो परमेश्वरको सेवा गर्न मदत गर्ने स्पष्ट निर्देशन पाएका थिए।

८. मानिसहरूलाई फेरि यहोवाको उपासना गर्न मदत दिन हिजकियाहले अरू के गरे? नतिजा कस्तो भयो?

हिजकियाहले यहूदा र इस्राएलका सबै मानिसलाई निस्तार चाडमा निम्तो दिए। निस्तार चाडपछि तिनीहरूले सात दिनसम्म अखमिरे रोटीको चाड मनाए। तिनीहरूले त्यो चाड धूमधामसित मनाए। त्यो चाड अर्को सात दिनसम्म लम्बियो। बाइबल भन्छ: “यरूशलेममा ठूलो रमाहट भयो। त्यस्तो ता इस्राएलका राजा दाऊदका छोरा सुलेमानको पालादेखि यसो त्यहाँ भएको थिएन।” (२ इति. ३०:२५, २६) त्यस चाडबाट सबै मानिसले प्रोत्साहन पाएको हुनुपर्छ। दोस्रो इतिहास ३१:१ अनुसार यो चाड सिद्धिनेबित्तिकै ‘तिनीहरूले पवित्र मानेका खामाहरू टुक्रा-टुक्रा पारिदिए र अशेरा-देवीहरू ढालिदिए अनि डाँडाहरूमा भएका पूजा गर्ने थानहरू र वेदीहरू भत्काइदिए।’ यहूदा राष्ट्रले फेरि यहोवाको उपासना गर्न थाल्यो। यसले तिनीहरूलाई आउनै लागेको कष्टको लागि तयार रहन मदत गऱ्यो।

 हिजकियाह यहोवामाथि भरोसा गर्छन्‌

९. (क) इस्राएलको योजना कसरी विफल भयो? (ख) सुरुमा सनहेरीबले यहूदामा कस्तो सफलता हासिल गरे?

यशैयाले भनेझैं अश्शूरीहरूले इस्राएलको उत्तरी राज्यलाई कब्जा गरे र त्यहाँका बासिन्दाहरूलाई कैदी बनाएर लगे। यसरी यहूदामा दाऊदको सन्तानलाई नभई अर्को व्यक्तिलाई राजा बनाउने इस्राएलको योजना विफल भयो। तर उत्तरी राज्यलाई कब्जा गरेपछि अश्शूरीहरू के गर्न चाहन्थे? अब तिनीहरू यहूदालाई कब्जा गर्न चाहन्थे। बाइबल भन्छ: “हिजकियाहका राजकालको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्ला भएका सबै शहरहरूलाई आक्रमण गरेर ती कब्जा गरे।” सनहेरीबले यहूदाका ४६ वटा सहर कब्जा गरे। त्यसबेला यरूशलेममा हुनुभएको भए कस्तो महसुस गर्नुहुन्थ्यो होला, कल्पना गर्नुहोस्। अश्शूरी सेनाले एकपछि अर्को गर्दै यहूदाका सहरहरू कब्जा गर्दैछन्‌। तिनीहरू तपाईंको घरनजिकै आइसके!—२ राजा १८:१३, NRV.

१०. मीका ५:५, ६ बाट हिजकियाहले के प्रोत्साहन पाए?

१० हिजकियाहलाई आउनै लागेको खतराबारे थाह थियो। तर तिनी आत्तिएनन्‌ र आफ्नो अवफादार बुबाले जस्तो मूर्तिपूजक राष्ट्रहरूसित मदत मागेनन्‌। बरु तिनी यहोवामा भर परे। (२ इति. २८:२०, २१) सायद तिनलाई भविष्यवक्ता मीकाले “अश्शूरीहरू”-बारे भनेको यो कुरा थाह थियो: ‘हामी अश्शूरीहरूविरुद्ध सात गोठाला र आठ मुखियाहरू खडा गर्नेछौं। अनि तिनीहरूले अश्शूर देशलाई तरवारले शासन गर्नेछन्‌।’ (मीका ५:५, ६) यहोवाका यी शब्दहरूबाट हिजकियाहलाई प्रोत्साहन मिलेको हुनुपर्छ। अश्शूरीहरूलाई परास्त गर्न यहोवाले फरक किसिमको फौज प्रयोग गर्नुहुनेछ भनेर ती शब्दहरूले देखाउँथ्यो।

११. सात गोठाला र आठ मुखियाबारे गरिएको भविष्यवाणीको प्रमुख पूर्ति कहिले हुनेछ?

११ सात गोठाला र आठ मुखियाबारे गरिएको भविष्यवाणीको प्रमुख पूर्ति “इस्राएलका शासक” येशू जन्मिएको धेरै पछि हुनेथियो, “जसको शुरु अघिदेखि, अर्थात्‌ प्राचीनकालदेखिनै छ।” (मीका ५:१, २ पढ्नुहोस्) वास्तवमा, आधुनिक समयका “अश्शूरीहरू” अर्थात्‌ शत्रुहरूले यहोवाका सेवकहरूलाई आक्रमण गर्दा यो भविष्यवाणी पूरा हुनेछ। ती शत्रुहरूलाई पराजित गर्न यहोवाले येशूको नेतृत्वमा कुन फौज प्रयोग गर्नुहुनेछ? यो प्रश्नको जवाफ यस लेखको अन्ततिर पाउनेछौं। अश्शूरीहरूले आक्रमण गर्दा हिजकियाहले चालेको कदमबाट  के सिक्न सक्छौं, पहिला त्यसबारे बुझौं।

हिजकियाह व्यावहारिक कदम चाल्छन्‌

१२. परमेश्वरका सेवकहरूको सुरक्षा गर्न हिजकियाह र तिनीसित भएका मानिसहरूले के गरे?

१२ हामीले समस्या सुल्झाउन नसक्दा हामीलाई मदत गर्न यहोवा सधैं इच्छुक हुनुहुन्छ। तर समस्या सुल्झाउन जे-जति गर्न सक्छौं, त्यो गरेको यहोवा चाहनुहुन्छ। हिजकियाहले पनि आफूले सकेजति गरे। तिनले “राजनैतिक र फौजी अफिसरहरूसित सल्लाह लिए” अनि “शहरबाहिरका खोलाहरूका मूल बन्द” गर्ने निर्णय गरे। साथै “तिनले शहरको पर्खालका सबै प्वालहरू राम्ररी मर्मत गरेर तिनमा बुर्जाहरू बनाए। पर्खालको बाहिरपट्टि तिनले अर्को पर्खाल बनाए।” त्यतिमात्र होइन, “तिनले धेरै हातहतियार र ढालहरू पनि जम्मा गरे।” (२ इति. ३२:३-५) यहोवाले आफ्ना सेवकहरूको सुरक्षा गर्न र गोठालो गर्न त्यतिखेर हिजकियाह, तिनका अफिसरहरू र वफादार भविष्यवक्ताहरू प्रयोग गर्नुभयो।

१३. अश्शूरीहरूको आक्रमणविरुद्ध खडा हुन मानिसहरूलाई तयार पार्ने सम्बन्धमा हिजकियाहले चालेको सबैभन्दा महत्त्वपूर्ण कदम के थियो? हिजकियाहका शब्दहरूले मानिसहरूलाई कसरी मदत गऱ्यो?

१३ त्यसपछि हिजकियाहले खोलाहरूको मूल बन्द गरिदिने र सहरको पर्खाललाई सुदृढ पार्नेभन्दा पनि महत्त्वपूर्ण कदम चाले। असल गोठालो भएकोले तिनले मानिसहरूलाई जम्मा गरे र यी शब्दहरू भनेर तिनीहरूलाई प्रोत्साहन दिए: “अश्शूरका राजा अथवा तिनले ल्याएको यस भीडले तिमीहरूका हृदयमा त्रास नल्याओस्! हामीसित तिनीहरूभन्दा अझ बढी सामर्थी एक हुनुहुन्छ। तिनीहरूसित शारीरिक शक्ति होला, तर परमप्रभु हाम्रा परमेश्वर हामीलाई सहायता गर्ने र हाम्रा निम्ति युद्ध गर्ने हामीसित हुनुहुन्छ।” यहोवाले तिनीहरूको लागि युद्ध लड्नुहुनेछ भनेर हिजकियाहले मानिसहरूलाई सम्झाए। यसले गर्दा मानिसहरूलाई परमेश्वरमाथि भरोसा राख्न र साहसी हुन मदत मिल्यो। यहोवाले आफ्नो भविष्यवक्तामार्फत भन्नुभएझैं हिजकियाह र तिनका राजनैतिक र फौजी अफिसरहरूका साथै भविष्यवक्ता मीका र यशैया सबैले आफूहरू असल गोठालो भएको प्रमाण दिए।—२ इति. ३२:७, ८; मीका ५:५, ६ पढ्नुहोस्।

हिजकियाहका शब्दहरू सुनेर मानिसहरू साहसी भए (अनुच्छेद १२, १३ हेर्नुहोस्)

१४. मुख्य अफिसरले के भने? मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?

१४ अश्शूरका राजा र तिनका सेनाले यरूशलेमबाट ४४ किलोमिटर दक्षिण-पश्‍चिममा पर्ने लाकीशमा पाल टाँगे। यरूशलेमवासीलाई आत्मसमर्पण गर्न लगाउन त्यहाँबाट तिनले तीन जना सन्देशवाहक पठाए। मुख्य अफिसरले यरूशलेमवासीसित उनीहरूकै भाषामा बोले। सुरुमा ती मुख्य अफिसरले मानिसहरूलाई हिजकियाहको कुरा नसुन्न र अश्शूरीहरूको आज्ञा मान्न आग्रह गरे। त्यसपछि उक्त अफिसरले उनीहरूलाई सुविधासम्पन्न देशमा लैजाने आश्वासन दिएर झुक्क्याउन खोजे। (२ राजा १८:३१, ३२ पढ्नुहोस्) अरू राष्ट्रका देवताहरूले आफ्ना उपासकहरूलाई बचाउन नसकेझैं यहोवाले पनि ती यहूदीहरूलाई बचाउन सक्नुहुनेछैन समेत भने! तर ती यहूदीहरू बुद्धिमान्‌ थिए। उनीहरूले त्यो झूटलाई पत्याएनन्‌ र त्यसबारे केही बोल्न पनि चाहेनन्‌। अहिले पनि यहोवाका सेवकहरू अक्सर त्यसै गर्छन्‌।२ राजा १८:३५, ३६ पढ्नुहोस्।

१५. यरूशलेमवासीले के गर्नुपर्थ्यो? यहोवाले त्यस सहरलाई कसरी जोगाउनुभयो?

१५ हिजकियाहले पक्कै नमीठो महसुस गरे। तर अर्को राष्ट्रसित मदत माग्नुको सट्टा तिनले यशैयामार्फत यहोवासित मदत मागे। यशैयाले हिजकियाहलाई यसो भने: “अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ, ‘त्यो यसभित्र पस्नेछैन, नता त्यसले एउटा काँड हान्नेछ।’” (२ राजा १९:३२) यरूशलेमवासी साहसी हुनुपर्थ्यो र उनीहरूले लत्तो छोड्नु हुँदैनथ्यो। यहोवा नै उनीहरूका निम्ति लड्नुहुने थियो र वास्तवमा लड्नु पनि भयो। “त्यस रात परमप्रभुका स्वर्गदूत निस्केर अश्शूरको छाउनीमा एक लाख पचासी  हजार मानिसहरूलाई मारे।” (२ राजा १९:३५) हिजकियाहले खोलाहरूको मूल बन्द गरेकोले र सहरको पर्खाल सुदृढ पारेकोले होइन; यहोवाको शक्तिले गर्दा यरूशलेमवासी बचे।

हामीले सिक्न सक्ने पाठ

१६. (क) यरूशलेमवासीले आज कसलाई चित्रण गर्छ? (ख) ‘अश्शूरीले’ कसलाई चित्रण गर्छ? (ग) सात गोठाला र आठ मुखियाले कसलाई चित्रण गर्छ?

१६ सात गोठाला र आठ मुखियासम्बन्धी भविष्यवाणीको प्रमुख पूर्ति अहिले हाम्रो समयमा भइरहेको छ। विगतमा यरूशलेमवासीलाई अश्शूरीहरूले आक्रमण गरेका थिए। निकट भविष्यमा यहोवाका जनहरूलाई आधुनिक समयका ‘अश्शूरीले’ अर्थात्‌ शत्रुहरूले आक्रमण गर्नेछन्‌ र तिनीहरूलाई निमिट्यान्न पार्न खोज्नेछन्‌। बाइबलमा त्यस आक्रमणका साथै ‘मागोग देशको गोगले’ गर्ने आक्रमण, “उत्तरका राजा”-ले गर्ने आक्रमण र “पृथ्वीका राजाहरू”-ले गर्ने आक्रमणबारे पनि उल्लेख गरिएको छ। (इज. ३८:२, १०-१३; दानि. ११:४०, ४४, ४५; प्रका. १७:१४; १९:१९) के यी आक्रमण फरक-फरक हुन्‌? हामीलाई थाह छैन। बाइबलमा एउटै आक्रमणलाई भिन्नाभिन्नै नाम दिइएको पनि हुन सक्छ। मीकाको भविष्यवाणीमा सङ्केत गरिएअनुसार यो क्रूर शत्रु “अश्शूरी”-विरुद्ध लड्न यहोवाले कुन फौज प्रयोग गर्नुहुनेछ? एउटा फरक किसिमको फौज। यो फौज “सात गोठाला र आठ मुखिया” मिलेर बनेको छ। (मीका ५:५) तिनीहरू को हुन्‌? मण्डलीका एल्डरहरू। (१ पत्रु. ५:२) यहोवाले आफ्ना जनहरूको गोठालो गर्न र तिनीहरूलाई बलियो पार्न अहिले थुप्रै वफादार एल्डरहरू प्रयोग गर्दै हुनुहुन्छ। यी वफादार एल्डरहरूले उहाँका जनहरूलाई भविष्यमा ‘अश्शूरीले’ गर्ने आक्रमणको प्रतिरोध गर्न तयार पार्दै छन्‌। * यी एल्डरहरूले “अश्शूर देशलाई तरवारले . . . शासन गर्नेछन्‌” भनेर मीकाको भविष्यवाणीमा बताइएको छ। (मीका ५:६) शत्रुलाई हराउन यिनीहरूले प्रयोग गर्ने एउटा हतियार “पवित्र शक्तिको तरबार अर्थात्‌ परमेश्वरको वचन” हो।—२ कोरि. १०:४; एफि. ६:१७.

१७. हामीले छलफल गरेको विवरणबाट एल्डरहरूले सिक्न सक्ने चारवटा पाठ के हो?

१७ तपाईं एल्डरहरूले भर्खरै छलफल गरेको विवरणबाट केही मदतकारी पाठ सिक्न सक्नुहुन्छ: (१) निकट भविष्यमा ‘अश्शूरीले’ आक्रमण गर्दा त्यसको प्रतिरोध गर्न तपाईंले अहिले चाल्न सक्ने सबैभन्दा व्यावहारिक कदम भनेको परमेश्वरमाथिको आफ्नो विश्वास बलियो बनाउनु र भाइबहिनीलाई पनि त्यसै गर्न मदत दिनु हो। (२) ‘अश्शूरीले’ आक्रमण गर्दा यहोवाले हामीलाई बचाउनुहुनेछ भनेर तपाईं पूर्णतया विश्वस्त हुनैपर्छ। (३) त्यतिखेर तपाईंलाई यहोवाको सङ्गठनबाट पाएको निर्देशन अनौठो लाग्न सक्छ। ती निर्देशनसित सहमत छैनौं भने पनि पालन गर्न तयार हुनैपर्छ किनकि ती पालन गर्नुमा नै हाम्रो जीवन निर्भर छ। (४) संसारको शिक्षा, भौतिक सर-साधन वा मानव सङ्गठनमा भरोसा गर्नेहरूले आफ्नो सोचाइ परिवर्तन गर्नुपर्ने समय अहिले नै हो। यहोवामाथिको भरोसा ढलपल भइरहेकाहरूलाई मदत गर्न तपाईं तयार हुनैपर्छ।

१८. यस लेखमा छलफल गरिएको विवरणलाई सम्झ्यौं भने यसले हामीलाई भविष्यमा कसरी मदत गर्नेछ?

१८ हिजकियाहको समयमा यरूशलेमवासी असहाय देखिएझैं हामी पनि असहाय देखिने समय आउँदैछ। त्यतिखेर आफ्नो विश्वासलाई ढलपल हुन नदिन हिजकियाहका शब्दहरूबाट बल प्राप्त गर्न सक्छौं। हाम्रा शत्रुहरूसित “शारीरिक शक्ति होला” तर “हामीलाई सहायता गर्ने र हाम्रा निम्ति युद्ध गर्ने” हाम्रा परमेश्वर यहोवा “हामीसित हुनुहुन्छ” भनेर कहिल्यै नबिर्सौं।—२ इति. ३२:८.

^ अनु. 4 यशैया ७:१४ मा “कन्या” भनेर अनुवाद गरिएको शब्दले मूल हिब्रूमा विवाहित स्त्रीलाई पनि सङ्केत गर्छ। त्यसकारण “कन्या” शब्द यशैयाकी पत्नी र मरियम दुवैलाई लागू हुन्थ्यो।

^ अनु. 16 सात सङ्ख्याले बाइबलमा अक्सर पूर्णतालाई बुझाउँछ। आठ सङ्ख्याले (सातमा एक थप्दा) कहिलेकाहीं प्रशस्त भन्ने अर्थ दिन्छ।