यहोसु २३:१-१६

  • इस्राएलीहरूका नाइकेहरूलाई यहोसुका अन्तिम शब्द (१-१६)

    • यहोवाको एउटा प्रतिज्ञा पनि अधुरो रहेको छैन (१४)

२३  यहोवा परमेश्‍वरले वरपरका शत्रुहरूबाट इस्राएलीहरूलाई आराम+ दिनुभएको धेरै समय भइसकेको थियो। यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+ २  यहोसुले सबै इस्राएलीलाई, नाइकेहरूलाई, मुखियाहरूलाई, न्यायकर्ताहरूलाई र अफिसरहरूलाई+ एक ठाउँमा भेला गराए+ र यसो भने: “म धेरै बूढा भइसकेँ र मैले निकै उमेर खाइसकेँ। ३  तिमीहरूको खातिर यी सबै जातिलाई यहोवा तिमीहरूका परमेश्‍वरले के गर्नुभयो भनेर तिमीहरूले आफ्नै आँखाले देख्यौ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले नै तिमीहरूको तर्फबाट लडाइँ गर्नुभएको थियो।+ ४  हेर, यर्दनदेखि पश्‍चिममा महासागरसम्म* बसोबास गरेका जातिहरूलाई मैले धपाइसकेँ+ र तिनीहरूको इलाका मैले गोला हालेर पैतृक सम्पत्तिको रूपमा तिमीहरूलाई बाँडिदिएको छु।+ त्यहाँ बस्ने अरू जातिहरूलाई धपाउन अझै बाँकी छ तर त्यो इलाका तिमीहरूकै हो। ५  यहोवा तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनुभएको हो+ र तिनीहरूलाई यहाँबाट निकालिदिनुभएको हो। यसरी यहोवा परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको इलाकामाथि अधिकार गऱ्‍यौ।+ ६  “त्यसैले अब साहसी होओ अनि मोसाले लेखेको व्यवस्थाको पुस्तकमा भएका सबै कुरा होसियार भएर पालन गर;+ त्यसबाट तर्केर कहिल्यै दायाँबायाँ नलाग+ ७  र तिमीहरूसँग बसोबास गर्ने अन्य जातिहरूसित कहिल्यै घुलमिल नहोओ।+ तिनीहरूका देवीदेवताको नामसमेत नलेओ,+ तिनीहरूका देवीदेवताको नाममा कसम नखाओ र तिनीहरूका देवीदेवतालाई कहिल्यै नपुज र तिनलाई नढोग।+ ८  तर तिमीहरू जसरी अहिलेसम्म यहोवा आफ्ना परमेश्‍वरसित घनिष्ठ भएर बसेका छौ, त्यसैगरि उहाँसँग सधैँ घनिष्ठ भइरहो।+ ९  यहोवा परमेश्‍वरले शक्‍तिशाली र ठूला जातिहरूलाई तिमीहरूको सामनेबाट धपाइदिनुहुनेछ+ किनभने अहिलेसम्म तिमीहरूविरुद्ध कुनै पनि मानिस खडा हुन सकेको छैन।+ १०  तिमीहरू एक जनाले हजार जना शत्रुलाई खेद्‌नेछौ+ किनभने यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ+ उहाँले नै तिमीहरूको तर्फबाट लडाइँ गर्नुहुनेछ।+ ११  त्यसैले तिमीहरूले आफ्ना परमेश्‍वर यहोवालाई प्रेम गरेका छौ कि छैनौ,+ त्यसबारे सधैँ होसियार रहनू।+ १२  “तर तिमीहरूले परमेश्‍वरलाई त्याग्यौ, तिमीहरूसँग बसोबास गरिरहेका अरू जातिहरू, जो-जो बाँकी छन्‌, तिनीहरूसित घुलमिल भयौ,+ तिनीहरूसित बिहाबारी गऱ्‍यौ+ र तिनीहरूसँग सरसङ्‌गत गऱ्‍यौ भने १३  यो कुरा नबिर्स, यहोवा परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट फेरि धपाउनुहुनेछैन।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरू तिमीहरूका लागि पासो र फन्दा हुनेछन्‌। तिनीहरू तिमीहरूको पिठिउँमा कोर्रा+ र आँखामा छेस्कोसरह हुनेछन्‌। १४  “हेर! अब म मर्ने बेला आइसक्यो।* यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएका सबै असल प्रतिज्ञामा एउटा पनि अधुरो रहेको छैन भनी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले थाह पाएकै छौ। ती सबै पूरा भएका छन्‌; तीमध्ये एउटा कुरा पनि फरक परेको छैन।+ १५  जसरी यहोवा परमेश्‍वरले तिमीहरूलाई जे-जति असल थोक दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो र त्यो पूरा गर्नुभयो,+ त्यसरी नै यहोवा परमेश्‍वरले तिमीहरूमाथि जे-जस्ता विपत्ति आउनेछन्‌ भनेर बताउनुभएको थियो, ती पनि पूरा हुनेछन्‌। अनि यहोवा तिमीहरूका परमेश्‍वरले दिनुभएको यस असल देशबाट उहाँले तिमीहरूको नामोनिसान मेटाउनुहुनेछ।+ १६  यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जुन करार नतोड भन्‍नुभएको थियो, त्यो तिमीहरूले तोड्‌यौ र अरू देवताहरूलाई पुज्यौ अनि तिनीहरूलाई ढोग्यौ भने यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ+ र उहाँले दिनुभएको यस असल देशबाट तुरुन्तै तिमीहरूको नामोनिसान मेटिनेछ।”+

फुटनोटहरू

अर्थात्‌, भूमध्यसागरसम्म।
शा., “म यस संसारको बाटोमा गइरहेछु।”