सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यर्मियाको पुस्तकका विशेषताहरू

यर्मियाको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

यर्मियाको पुस्तकका विशेषताहरू

यर्मियाले आफ्ना मानिसहरूलाई सुनाएको विपत्तिको घोषणा सुनेर तिनीहरू कत्ति भयभीत भए होलान्‌! तीन सय वर्षभन्दा अघिदेखि उपासनाको केन्द्र रहँदै आएको भव्य मन्दिर डढेर भस्म हुने थियो। यरूशलेम सहर र यहूदाको भूमि उजाड रहनेथियो अनि त्यहाँका बासिन्दाहरू कैदमा लगिने थिए। यी घटनाको विवरण र न्यायदण्डका अन्य घोषणाहरू बाइबलको दोस्रो सबैभन्दा ठूलो पुस्तक यर्मियामा पाइन्छ। यर्मियाले ६७ वर्षसम्म विश्‍वासीपूर्वक सेवा गर्दा कस्तो अनुभव गरे भनेर पनि यस पुस्तकमा बताइएको छ। यस पुस्तकमा जानकारीहरू घटनाक्रमअनुसार नभई विषयअनुसार छन्‌।

यर्मियाको पुस्तकमा हामीले किन चासो राख्नुपर्छ? यसमा दिइएका भविष्यवाणीहरू पूरा भएको देख्दा यहोवाले आफ्नो प्रतिज्ञा अवश्‍यै पूरा गर्नुहुन्छ भनेर हामी झन्‌ विश्‍वस्त हुन्छौं। (यशैया ५५:१०, ११) भविष्यवक्‍ताको हैसियतमा यर्मियाले गरेका काम र उनको सन्देशप्रति मानिसहरूले देखाएको प्रतिक्रिया हाम्रो समयसित मिल्दोजुल्दो छ। (१ कोरिन्थी १०:११) त्यसबाहेक, यहोवाले आफ्ना मानिसहरूसित जुन तरिकामा व्यवहार गर्नुभयो त्यसबाट उहाँका गुणहरू थाह पाउनुका साथै हामीमा गहिरो प्रभाव पार्छ।—हिब्रू ४:१२.

“मेरो प्रजाले दुइ दुष्ट काम गरेका छन्‌”

(यर्मिया १:१–२०:१८)

यहूदाको राजा योशियाहको शासनकालको १३ औं वर्षमा अर्थात्‌ ईसापूर्व ६०७ मा यरूशलेमको विनाश हुनुभन्दा ४० वर्षअघि यर्मियालाई अगमवक्‍ताको काम सुम्पिएको छ। (यर्मिया १:१, २) यर्मियाले योशियाहको शासनकालको बाँकी १८ वर्षको दौडान गरेका घोषणाले यहूदामा भएको खराबीको पर्दाफास गर्नुका साथै त्यसमाथि यहोवाले ल्याउनुहुने न्यायदण्डबारे बताउँछ। यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “म यरूशलेमलाई भत्केको थुप्रो, . . . [र] म यहूदाका शहरहरूलाई कुनै बासिन्दा नभएको उजाड-स्थान तुल्याइदिनेछु।” (यर्मिया ९:११) किन? “किनभने मेरो प्रजाले दुइ दुष्ट काम गरेका छन्‌” भनी उहाँ भन्‍नुहुन्छ।—यर्मिया २:१३.

यर्मियाको सन्देश बाँकी रहेका पश्‍चात्तापी इस्राएलीहरूको पुनर्स्थापनाबारे पनि हो। (यर्मिया ३:१४-१८; १२:१४, १५; १६:१४-२१) तर मानिसहरू यर्मियाको सन्देश सुन्दैनन्‌। ‘परमप्रभुको भवनका मुख्य अफिसरले’ यर्मियालाई पिट्‌छन्‌ र रातभरि ठिंगुरोमा हालिदिन्छन्‌।—यर्मिया २०:१-३.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

१:११, १२, NRV.—यहोवाले आफ्नो वचन पूरा गर्ने सन्दर्भमा नियालेर हेर्नु (वा “जागा रहनु” NW) किन ‘हाडे-बदामका रूखको एउटा हाँगासित’ सम्बन्धित छ? वसन्त ऋतुमा सबैभन्दा पहिला पालुवा लाग्ने रूखहरूमध्ये हाडे-बदामको रूख पनि एउटा हो। यहोवाले प्रतीकात्मक अर्थमा चाँडो उठेर ‘बारम्बार दिनैपिच्छे अगमवक्‍ताहरूलाई’ न्यायदण्डबारे चेताउनी दिन पठाइरहनुभयो र त्यो पूरा नहोऊञ्जेल ‘नियालेर हेरिरहनुभयो’ अर्थात्‌ ‘जागा रहनुभयो।’—यर्मिया ७:२५.

२:१०, ११—अविश्‍वासी इस्राएलीहरूको काम किन एकदमै अनौठो थियो? पश्‍चिममा कित्तीम र पूर्वमा केदार मूर्तिपूजक राष्ट्रहरू थिए र तिनीहरूले अन्य देशका देवीदेवताहरू आफ्नोसित गाभ्न ल्याएको हुन सक्छ। तैपनि तिनीहरूले आफ्ना देवीदेवताहरू पूरै हटाएर त्यसको ठाउँमा ती विदेशी देवताहरू राखेको कुरा त कहिल्यै सुनिएन। तर, इस्राएलीहरूले त जीवित परमेश्‍वरको ठाउँमा निर्जीव मूर्तिहरूको महिमा गरेर यहोवालाई त्यागे।

३:११-२२; ११:१०-१२, १७—ईसापूर्व ७४० मा सामरिया पतन भइसकेको भए तापनि यर्मियाले आफ्नो सन्देशमा किन दश-गोत्रे उत्तरी राज्यलाई पनि समावेश गरे? किनभने ईसापूर्व ६०७ मा भएको यरूशलेमको विनाश यहूदामाथि मात्र नभई सम्पूर्ण इस्राएल राष्ट्रमाथि यहोवाको न्यायदण्ड थियो। (इजकिएल ९:९, १०) त्यसबाहेक, त्यो दश-गोत्रे राज्य पतन भएपछि पनि परमेश्‍वरका अगमवक्‍ताहरूले आफ्नो सन्देशमा ती इस्राएलीहरूलाई अझै पनि समावेश गर्दै आएका थिए।

४:३, ४—यस आज्ञाको अर्थ के हो? अविश्‍वासी यहूदीहरूले आफ्नो हृदयको माटो तयारी गर्नु, मलिलो बनाउनु र सफा गर्नुपर्थ्यो। तिनीहरूले आफ्नो हृदयको “अपवित्रता” फाल्नुपर्ने थियो। त्यसको मतलब तिनीहरूले खराब विचार, भावना र मनोवृत्ति त्याग्नुपर्ने थियो। (यर्मिया ९:२५, २६; प्रेरित ७:५१) यसको लागि तिनीहरूले आफ्नो जीवनशैली बदल्नु आवश्‍यक थियो अर्थात्‌ खराबी गर्न छोडेर परमेश्‍वरको अनुमोदन पाउने काम गर्नुपर्ने थियो।

४:१०; १५:१८—कुन अर्थमा यहोवाले आफ्ना विद्रोही जनहरूलाई धोका दिनुभयो? यर्मियाको समयमा ‘झूटा अगमवाणी कहने’ अगमवक्‍ताहरू थिए। (यर्मिया ५:३१; २०:६; २३:१६, १७, २५-२८, ३२) यहोवाले तिनीहरूलाई झूटो सन्देश सुनाउनदेखि रोक्नुभएन।

१६:१६—यहोवाले “धेरै जालहारीहरू” र “धेरै शिकारीहरू” पठाउँदैछु भन्‍नुभयो। यसले कुन कुरालाई बुझाउँछ? यसले अविश्‍वासी यहूदीहरूलाई खोज्न शत्रुहरूको फौज पठाउने कुरालाई बुझाएको हुन सक्छ। ती यहूदीहरूमाथि यहोवाले न्यायदण्ड ल्याउनुहुने थियो। तर, यर्मिया १६:१५ मा बताइएको कुरालाई विचार गर्दा पद १६ ले पश्‍चात्तापी इस्राएलीहरूलाई खोज्ने कुरालाई पनि संकेत गरेको हुन सक्छ।

२०:७—कुन अर्थमा यहोवा यर्मियाभन्दा “सामर्थी” हुनुभयो र तिनलाई मूर्ख बनाउनुभयो? यहोवाको न्यायदण्ड सुनाउँदा मानिसहरूले उदासीनता देखाएकोले, अस्वीकार गरेकोले र सतावट दिएकोले आफूसित त्यो न्यायदण्ड सुनाउने शक्‍ति नै नरहेको यर्मियाले महसुस गरेका हुन सक्छन्‌। तर यहोवाले यर्मियालाई बल दिनुभएर त्यस्ता झुकाउ विरुद्ध आफ्नो शक्‍ति प्रयोग गर्नुभयो। यसरी यहोवाले यर्मियालाई उनले नसक्ने जस्तो लागेको काम पूरा गर्न प्रयोग गर्नुभएर मूर्ख बनाउनुभयो अर्थात्‌ यर्मिया आफूबाट असम्भव ठानिएको काम गर्न सक्दा वाल्लै परे।

हाम्रो लागि पाठ:

१:८. यहोवाले आफ्ना जनहरूलाई सतावटबाट छुटाउन कहिलेकाहीं निष्पक्ष न्यायाधीशहरू, विरोध गर्ने अधिकारीको ठाउँमा हाम्रो विश्‍वासको कदर गर्ने अधिकारी चलाउनुहुन्छ वा आफ्ना उपासकहरूलाई सहने बल दिनुहुन्छ।—१ कोरिन्थी १०:१३.

२:१३, १८. अविश्‍वासी इस्राएलीहरूले दुइटा दुष्ट काम गरे। तिनीहरूले आशिष्‌, डोऱ्‍याइ र सुरक्षाको स्रोत यहोवालाई त्यागे। अनि तिनीहरूले मिश्र र अश्‍शूरीहरूसित सैनिक साँठगाँठ बढाएर प्रतीकात्मक अर्थमा आफ्नै इनार खने। अहिले हाम्रो समयमा पनि मानव दर्शन तथा सिद्धान्त र संसारको राजनीतिलाई अंगालेर साँचो परमेश्‍वरलाई त्याग्नु भनेको ‘जीवित पानीको मूलको’ ठाउँमा “फुटेको इनार” खन्‍नु बराबर हो।

६:१६. यहोवाले आफ्ना विद्रोही जनहरूलाई रोकिएर हेर्न, आफैलाई जाँच्न अनि विश्‍वासी पितापुर्खा हिंडेका ‘बाटोतिर’ फर्कन सल्लाह दिनुहुन्छ। हामी पनि यहोवाले चाहनुभएको बाटोमा साँच्चै हिंडिरहेका छौं कि छैनौं भनी समय-समयमा जाँचेर हेर्नुपर्दैन र?

७:१-१५. यहूदीहरूले मन्दिरलाई सुरक्षा दिने एक प्रकारको जन्तर ठानेर त्यसमा भरोसा राख्दैमा तिनीहरूको ज्यान बचेन। हामी पनि दृष्टिले होइन विश्‍वासले हिंड्‌नुपर्छ।—२ कोरिन्थी ५:७.

१५:१६, १७. यर्मियाजस्तै हामी पनि निरुत्साहसित लड्‌न सक्छौं। कसरी? रमाइलो मान्दै अर्थपूर्ण बाइबल अध्ययन गरेर, सेवकाईमा यहोवाको नाउँ उच्च पारेर अनि खराब संगत त्यागेर।

१७:१, २. यहूदाका बासिन्दाहरूको पापले गर्दा तिनीहरूले चढाएको बलिदान यहोवाले स्वीकार्नु भएन। नैतिक अशुद्धताले हाम्रो प्रशंसाको बलिदानलाई पनि अस्वीकार्य बनाउँछ।

१७:५-८. मानिसहरू र तिनीहरूका संघ-संस्थाले गर्ने काम परमेश्‍वरको इच्छा र उहाँको सिद्धान्तअनुरूप होउन्जेलसम्म मात्र ती हाम्रो भरोसाको योग्य हुन्छन्‌। मुक्‍ति, साँचो शान्ति र सुरक्षाको सन्दर्भमा चाहिं यहोवामा मात्र भरोसा राख्नु बुद्धिमानी कुरा हो।—भजन १४६:३.

२०:८-११. मानिसहरूले देखाउने उदासीनता, उनीहरूबाट आउने विरोध वा सतावटले गर्दा हामीले राज्य प्रचारकार्यप्रतिको आफ्नो जोसलाई सेलाउन दिनु हुँदैन।—याकूब ५:१०, ११.

“बाबेलका राजाको जुवा आफ्नो काँधमा लेऊ”

(यर्मिया २१:१–५१:६४)

यर्मियाले यहूदाका अन्तिम चार राजाहरू, झूटा अगमवक्‍ताहरू, लापरवाह गोठालाहरू र भ्रष्ट पूजाहारीहरूको विरुद्धमा न्यायदण्ड सुनाउँछन्‌। बाँकी रहेका विश्‍वासी इस्राएलीहरू राम्रा नेभाराहरू जस्तै हुन्‌ भनी बताउँदै यहोवा यसो भन्‍नुहुन्छ: “तिनीहरूको भलाइको निम्ति म मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु।” (यर्मिया २४:५, ६) अध्याय २५ मा दिइएका तीनवटा भविष्यवाणीले त्यसपछिका अध्यायमा विस्तृत रूपले व्याख्या गरिएका न्यायदण्डहरूलाई संक्षेपमा बताउँछ।

पूजाहारी र अगमवक्‍ताहरूले यर्मियालाई मार्ने षड्यन्त्र रच्छन्‌। तिनीहरूले बेबिलोनका राजाको सेवा गर्नुपर्नेछ भनेर यर्मियाले सन्देश सुनाउँछन्‌। राजा सिदकियाहलाई यर्मिया यसो भन्छन्‌: “बाबेलका राजाको जुवा आफ्नो काँधमा लेऊ।” (यर्मिया २७:१२) तर, “इस्राएललाई तितर-बितर पार्नेले त्यसलाई [इस्राएल] भेला गर्नुहुनेछ।” (यर्मिया ३१:१०) रेकाबीहरूले परमेश्‍वरको आशिष्‌ पाउने प्रतिज्ञा गरियो। यर्मियालाई “प्रहरीहरूको चोकमा” कैद गरेर राखिन्छ। (यर्मिया ३७:२१) यरूशलेम तहसनहस पारिन्छ अनि त्यहाँका धेरैजसो बासिन्दा कैदमा लगिन्छन्‌। कैदमा नलगिएका थौरे व्यक्‍तिहरूमध्ये यर्मिया र उनका सचिव बारुक पनि पर्छ। यर्मियाले नजानू भनी चेताउनी दिंदादिंदै पनि डराएका इस्राएलीहरू मिश्र जान्छन्‌। अध्याय ४६ देखि ५१ मा यर्मियाले ती राष्ट्रहरूबारे सुनाएको सन्देश पाइन्छ।

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

२२:३०—के यस आदेशले दाऊदको सिंहासनमा बस्न पाउने येशूको अधिकारलाई रद्द गर्छ? (मत्ती १:१, ११) अहँ, गर्दैन। यस आदेशले यहोयाकीनको सम्पूर्ण सन्तानलाई ‘यहूदामा दाऊदको सिंहासनमा’ बस्नदेखि रोक्यो। येशूले यहूदाको सिंहासनबाट होइन, स्वर्गबाट शासन गर्नुहुने थियो।

२३:३३—‘यहोवाको बोझ’ के हो? यर्मियाले आफ्नो समयमा यरूशलेमको विनाशसम्बन्धी सुनाएका न्यायका गम्भीर घोषणाहरू तिनका सँगी देशबासीको लागि बोझ भएको थियो। अर्कोतर्फ न्यायदण्डको चेताउनी नसुन्‍ने ती मानिसहरू यहोवाको लागि पनि यस्तो बोझ भए कि उहाँले तिनीहरूलाई इन्कार गर्नुहुने थियो। त्यसै गरी चर्चहरूमाथि आउँदै गरेको विनाशबारे बाइबलले दिने सन्देश तिनीहरूका लागि बोझ हो र त्यो सन्देश नसुन्‍ने मानिसहरू परमेश्‍वरको लागि ठूलो बोझ हुन्‌।

३१:३३—कसरी परमेश्‍वरको व्यवस्था हृदयमा लेखिन्छ? कुनै व्यक्‍तिले परमेश्‍वरको व्यवस्थालाई असाध्यै माया गरेको कारण उहाँको इच्छाबमोजिम गर्न तीव्र इच्छा गर्छन्‌ भने, तिनको हृदयमा परमेश्‍वरको व्यवस्था लेखिएको छ भन्‍न सकिन्छ।

३२:१०-१५—एउटै कारोबारको दुई वटा लिखित कागजात अर्थात्‌ तमसुक बनाउनुको उद्देश्‍य के थियो? खुला तमसुक हेर्नको लागि थियो। छाप लगाएको तमसुक चाहिं खुला तमसुक ठीक छ कि छैन भनेर चाहिएको खण्डमा जाँच्नको लागि थियो। आफन्त र सँगी विश्‍वासीसित कारोबार गर्दा समेत यर्मियाले आवश्‍यक कानुनी प्रक्रिया पूरा गरी हाम्रो लागि उदाहरण बसाले।

३३:२३, २४—यहाँ बताइएको “दुई घराना” कुन कुन हुन्‌? एउटा चाहिं राजा दाऊदको वंशबाट आएको राजकीय घराना र अर्को चाहिं हारूनको सन्तानबाट आएको पूजाहारीगिरिको घराना। यरूशलेम अनि त्यसको मन्दिरको विनाशसितै यहोवाले यी दुई घरानालाई इन्कार गर्नुभएको, पृथ्वीबाट आफ्नो राज्य हटाउनुभएको र यरूशलेमलाई आफ्नो उपासनाको केन्द्रको रूपमा हेर्न छोड्‌नुभएको जस्तो देखियो।

४६:२२—मिश्रको आवाजलाई किन सर्पको आवाजसित तुलना गरिएको छ? यसले सर्पजस्तै सुलुसुलु गर्दै पछि हट्‌नुलाई वा विपत्ति भोग्नुपरेको कारण अपमानित हुनुपरेको अवस्थालाई बुझाउन सक्छ। यस उदाहरणले के पनि देखाउँछ भने, नागदेवी युआचिटबाट सुरक्षा पाइन्छ भन्‍ने विश्‍वासमा मिश्रको फिरऊनले आफ्नो शिरपेचमा पवित्र मानिने सर्पको चिह्न लगाउनु एकदमै बेकार थियो।

हाम्रो लागि पाठ:

२१:८, ९; ३८:१९. यरूशलेमका बासिन्दाहरू विनाशका योग्य भए तापनि यहोवाले तिनीहरूलाई अन्तिम समयसम्म पनि जीवन छान्‍ने मौका दिनुभयो। हो, “उहाँको करूणा महान्‌ छ।”—२ शमूएल २४:१४; भजन ११९:१५६.

३१:३४. यहोवाले क्षमा गरिसक्नुभएकाहरूको पाप सम्झिराख्नुहुन्‍न र भविष्यमा तिनीहरू विरुद्ध कारबाही गर्नुहुन्‍न भनी थाह पाउनु कत्ति सान्त्वनादायी!

३८:७-१३; ३९:१५-१८. हामीले विश्‍वासी भई गरेको सेवालाई यहोवा बिर्सनुहुन्‍न जसमा ‘पवित्र जनहरूको सेवा गर्नु’ पनि समावेश छ।—हिब्रू ६:१०.

४५:४, ५. यहूदा राज्यको अन्तअघिको समयमा जस्तै वर्तमान रीतिरिवाजको “आखिरी दिन” पनि धनसम्पत्ति, मानमर्यादा वा भौतिक सुरक्षाजस्ता “ठूला कुराहरू” खोज्ने समय होइन।—२ तिमोथी ३:१; १ यूहन्‍ना २:१७.

यरूशलेम आगोले भस्म भयो

(यर्मिया ५२:१-३४)

ईसापूर्व ६०७ को कुरा हो। सिदकियाहले राज्य गरेको ११ वर्ष भएको छ। बाबेलको राजा नबूकदनेसरले १८ महिनादेखि यरूशलेमलाई घेरा हालेर बसेको छ। नबूकदनेसरले शासन गरेको १९ औं वर्षको पाँचौं महिनाको सातौं दिन अङ्‌गरक्षकहरूका कप्तान नबू-जरदान यरूशलेम ‘आइपुग्छन्‌।’ (२ राजा २५:८) शहरबाहिर खडा गरेको छाउनीबाट नबू-जरदानले परिस्थिति जाँच्छन्‌ र आक्रमण गर्ने योजना बनाउँछन्‌। त्यसको तीन दिनपछि अर्थात्‌ पाँचौं महिनाको दसौं दिनमा तिनी यरूशलेममा ‘पस्छन्‌’ र यरूशलेमलाई आगो लगाइदिन्छन्‌।—यर्मिया ५२:१२, १३.

यर्मियाले यरूशलेमको विनाशबारे विस्तृत विवरण दिन्छन्‌। त्यसरी उनको यो विवरण विलाप-गीत अर्थात्‌ शोक-गीतको आधार बन्छ। त्यो शोक-गीत बाइबलको विलाप पुस्तकमा पाइन्छ। (w07 3/15)

[पृष्ठ ८-मा भएको चित्र]

यर्मियाले यरूशलेम विरुद्ध यहोवाको न्यायदण्डको घोषणा पनि सुनाए

[पृष्ठ ९-मा भएको चित्र]

कसरी यहोवा यर्मियाभन्दा “सामर्थी” हुनुभयो?

[पृष्ठ १०-मा भएको चित्र]

‘यी राम्रा नेभाराहरू जस्तै यहूदाबाट पठाएकाहरूलाई सम्झनेछु।’—यर्मिया २४:५.