सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चमत्कारहरू तथ्य कि मिथ्या?

चमत्कारहरू तथ्य कि मिथ्या?

चमत्कारहरू तथ्य कि मिथ्या?

“चमत्कारहरू हुन्छन्‌—सोध्नुहोस्‌ स्वर्गदूतलाई” गाडीको बम्परमा टाँसिएको यस्तो स्टिकरले एक भद्र पुरुषको ध्यान तुरुन्तै खिच्यो। धार्मिक प्रवृत्तिका मानिस भए तापनि त्यसको खास अर्थ के हो, उनलाई थाह थिएन। के त्यो स्टिकरले चमत्कारमाथि ड्राइभरको विश्‍वासलाई देखाउन खोजेको थियो? अथवा कतै त्यो स्टिकर चमत्कार र स्वर्गदूत दुवैप्रति अविश्‍वासको व्यङ्‌ग पो थियो कि?

जर्मन लेखक म्यानफ्रेट बार्थलको यो भनाइ तपाईंलाई रोचक लाग्न सक्छ: “चमत्कार एउटा यस्तो शब्द हो जसले पाठकलाई तुरुन्तै दुइटा पृथक वर्गमा छुट्याइदिन्छ। चमत्कारमा विश्‍वास गर्नेहरू चमत्कार हुन्छ र अक्सर भइरहन्छ भन्‍ने कुरामा विश्‍वास गर्छन्‌। a उदाहरणको लागि, ग्रीसमा गत केही वर्षको दौडान चमत्कारमा विश्‍वास गर्नेहरूले लगभग महिनाको एक पटक चमत्कार हुन्छ भनी दाबी गरेका रिपोर्ट पाइन्छ। फलतः ग्रीक अर्थोडक्स चर्चका विशपहरू यसरी सावधान गराउन बाध्य भए: “विश्‍वासीहरूमा परमेश्‍वर, मरियम र सन्तहरूलाई मानिसको रूपमा हेर्ने प्रवृत्ति छ। तिनीहरूले कुरालाई यो हदसम्म लैजानु ठीक होइन।”

अन्य कतिपय देशहरूमा भने थोरैले मात्र चमत्कारमा विश्‍वास गर्छन्‌। सन्‌ २००२ मा जर्मनीमा प्रकाशित एलेन्स्‌बाक सर्वेक्षणअनुसार जर्मनका ७१ प्रतिशत नागरिकले चमत्कारलाई तथ्य नभई मिथ्या ठान्छन्‌। तर चमत्कारमा विश्‍वास गर्ने एक तिहाइभन्दा कम मानिसहरूमा तीन जना महिलाले कुमारी मरियमबाट सन्देश प्राप्त गरेको दाबी गरे। तिनीहरूले स्वर्गदूत र ढुकुरहरूका साथमा मरियम आफूकहाँ देखापरेको दाबी गरेको केही महिनापश्‍चात्‌ जर्मन अखबार भेस्टफालनपोस्ट-ले यस्तो रिपोर्ट गऱ्‍यो:  “हालसम्म रोग निको पार्न भौंतारिहेका तीर्थयात्रीहरू लगायत अन्य धेरै जिज्ञासुहरू गरेर ५०,००० भन्दा धेरैले यी महिलाहरूले देखेको दर्शनमा औधी चासो देखाएका छन्‌।” अझ यस्तै दर्शन पाउने आशामा थप १०,००० व्यक्‍तिहरू उक्‍त गाउँमा ओइरिने अपेक्षा गरिएको थियो। कुमारी मरियमका यस्तै दर्शनहरू १८५८ मा फ्रान्सको लोड्‌र्स अनि १९१७ मा पोर्चुगलको फातिमामा देखापरेको हल्ला छ।

गैर-मसीही धर्महरू नि?

चमत्कारहरूमाथिको विश्‍वास प्रायः सबै धर्महरूमा पाइन्छ। दी इन्साइक्लोपिडिया अफ रिलिजन-ले (धर्मसम्बन्धी विश्‍वकोश) बताएअनुसार बौद्ध, मसीहीजगत्‌ र इस्लाममा चमत्कारबारे विभिन्‍न धारणाहरू रहेको पाइन्छ तर सोही इन्साइक्लोपिडिया यसो भन्छ: “यी धर्मका इतिहासहरू केलाउने हो भने चमत्कार अनि चमत्कारपूर्ण कथाहरू मानिसको धार्मिक जीवनको एउटा अभिन्‍न भाग भएको कुरा स्पष्ट प्रस्तुत गरिएको छ।” यस सन्दर्भसामग्रीअनुसार “बुद्ध स्वयम्‌ले कहिलेकाहीं चमत्कार गरे।” पछि “बौद्धधर्म चीनमा फैलिंदा यसका मिसनरीहरूले अक्सर चमत्कारिक शक्‍तिहरू देखाउँथे।”

यस्ता धेरै अनुमानित चमत्कारहरूबारे बताइसकेपछि सोही इन्साइक्लोपिडिया अन्तमा यसो भन्छ: “धर्मसम्बन्धी जीवन वृत्तान्त लेख्ने लेखकहरूले भनेका चमत्कारसम्बन्धी कथाहरूलाई कसै-कसले सहजै पत्यार नगर्लान्‌ तर यी सब कथाहरू बुद्धको महिमा गर्ने असल मनसायले बुनिएका थिए र आफ्ना उत्कट भक्‍तहरूलाई चमत्कारिक शक्‍ति प्रदान गर्न उनी सक्षम थिए भन्‍ने कुरामा चाहिं कुनै शङ्‌का छैन।” इस्लामबारे सोही पुस्तक यसो भन्छ: “इस्लाम समुदायका अधिकांश व्यक्‍तिहरूले चमत्कारमाथिको आफ्नो विश्‍वासलाई छाडेका छैनन्‌। किंवदन्तीहरूमा (हादिथ्स) मोहम्मदलाई सार्वजनिक तवरमै धेरै चमत्कारहरू गर्ने व्यक्‍तिको रूपमा चित्रण गरिएको छ। . . . मृत्युपश्‍चात्‌ समेत सन्तहरूले आफ्नै चिहानमा चमत्कारहरू गर्छन्‌ भनी विश्‍वासीहरू विश्‍वास गर्थे अनि सन्तहरूबाट गुहार माग्न जोरदार पुकारा गरिन्थ्यो।”

मसीहीधर्ममा भएको चमत्कार नि?

मसीहीधर्म स्वीकार्ने धेरैको चमत्कारबारे फरक-फरक धारणा रहेको छ। कसै-कसैले येशू ख्रीष्ट अथवा मसीहीपूर्व समयमा उहाँका सेवकहरूले गरेका चमत्कारी कार्यहरूको बाइबल रिपोर्टहरूलाई तथ्य भनी मानिलिन्छन्‌। यद्यपि, धेरै व्यक्‍तिहरू प्रोटेस्टेन्ट सुधारवादी मार्टिन लुथरसित सहमत छन्‌। उनीबारे दी इन्साक्लोपिडिया अफ रिलिजन यसो भन्छ, “चमत्कार युगको अन्त भइसक्यो र चमत्कारहरू फेरि हुन्छन्‌ भनेर आशा गर्नु हुँदैन भनेर लुथर र क्यालभिन दुवैले लेखे।” उक्‍त स्रोत अझै बताउँछ, “चमत्कारलाई बौद्धिक रूपमा समर्थन गर्ने कोसिस नगरी” क्याथोलिक चर्चहरूले चमत्कारमाथि विश्‍वास गरेको ढ्‌वाङ फुक्छन्‌। यद्यपि, “प्रोटेस्टेन्ट बौद्धिक मण्डलका अनुसार नैतिक कुरा नै मसीही धर्म पालन गर्नुको मुख्य आधार हो अनि परमेश्‍वर वा आध्यात्मिकजगत्‌ दुवैले वास्तविक मानव जीवनलाई रत्तीभर असर वा प्रभाव पार्दैन।”

पादरीलगायत मसीही हुँ भनी दाबी गर्ने अन्य धेरैले बाइबलमा लिपिबद्ध चमत्कारको सत्यतामाथि शङ्‌का गर्छन्‌। उदाहरणको लागि, प्रस्थान ३:१-५ बताइएको जलिरहेको झाँङको विवरणलाई लिनुहोस्‌। ह्वाट्‌ द बाइबल रिएली सेज्‌ नामक पुस्तकले धेरै जर्मन धर्म-विज्ञानीहरूले यस चमत्कारलाई शाब्दिक अर्थमा लिंदैनन्‌ भनी बताउँछ। बरु, तिनीहरू यस चमत्कारलाई “मार्मिक चोट र अन्तस्करणको तीव्र मानसिक क्लेश भोगेका मोशाको अन्तर सङ्‌घर्षको सङ्‌केत हो” भन्‍ने अर्थ लाउँछन्‌। उक्‍त पुस्तक अझै भन्छ: “त्यो ज्वाला चाहिं ईश्‍वरीय उपस्थितिमा घाममा फूलहरू अचानक फक्रँदाको अवस्था हुन सक्थो।”

तपाईंलाई यस्ता व्याख्याहरू त्यति चित्त नबुझ्ला। त्यसोभए, तपाईंले विश्‍वास गर्नुपर्ने कुरा चाहिं के हो? विगतमा चमत्कारहरू भएको थियो भनेर विश्‍वास गर्नु के उचित हो? अनि आधुनिक समयका चमत्कारहरू नि? हामी स्वर्गदूतहरूलाई त सोध्न सक्दैनौं, त्यसोभए कसलाई सोध्ने?

बाइबलको दृष्टिकोण

विगतमा मानिसको वशमा नभएको काम गर्न स्वयम्‌ परमेश्‍वरले हस्तक्षेप गर्नुभएका बाइबलका लिपिबद्ध विवरणहरूलाई कसैले नकार्न सक्दैन। उहाँबारे यस्तो लेखिएको हामी पाउँछौं: “तपाईंलेनै आफ्नो प्रजा इस्राएलीहरूलाई मिश्र देशबाट चिन्ह र आश्‍चर्यकामहरूका साथ बलियो हात र बाहुबलद्वारा भीषण आतङ्‌क फैलाउँदै निकालेर ल्याउनुभयो।” (छड्‌के अक्षर हाम्रो, यर्मिया ३२:२१) कल्पना गर्नुहोस्‌ त, जेठा सन्तानको मृत्युलगायत दस ईश्‍वरीय विपत्तिहरूद्वारा त्यसताकाको विश्‍वशक्‍तिलाई घुँडा टेकाउन लगाइयो। साँच्चै कस्तो चमत्कार!—प्रस्थान अध्याय ७ देखि १४.

शताब्दीयौं पछि सुसमाचारका पुस्तकका चार जना लेखकले येशूले गर्नुभएका ३५ वटा चमत्कारबारे वर्णन गरे। वास्तवमा, तिनीहरूले लिपिबद्ध गरेको भन्दा अझ धेरै अलौकिक चमत्कारहरू येशूले गर्नुभयो भन्‍ने कुरा तिनीहरूका शब्दहरूद्वारा प्रस्टिन्छ। यी लिपिबद्ध विवरणहरू तथ्य हुन्‌ कि मिथ्या? bमत्ती ९:३५; लूका ९:११.

बाइबलले दाबी गरेअनुसार यदि यो साँच्चै परमेश्‍वरको सत्य वचन हो भने यसमा लिपिबद्ध आश्‍चर्यका कामहरूमा विश्‍वास गर्ने तपाईंसित ठोस आधार पनि अवश्‍य नै हुनपर्छ। विगतमा चमत्कारपूर्ण निवारण, पुनरुत्थान र यस्तै अन्य चमत्कारहरू भएको थियो भनेर बाइबलमा स्पष्ट बताइएको छ र साथै अब यस्ता चमत्कारहरू हुनेछैनन्‌ भनेर पनि स्पष्टसित बताइएको छ। (“किन कुनै खास चमत्कारहरू अब हुँदैनन्‌” भन्‍ने पृष्ठ ४ को पेटी हेर्नुहोस्‌।) के यसको मतलब, बाइबलमा विश्‍वास गर्नेहरू समेत आधुनिक समयको चमत्कारलाई विश्‍वास गर्दैनन्‌ भनेको हो? अर्को लेखमा यसको जवाफ खोजौं।

[फुटनोटहरू]

a यस लेखमा चलाइएको “चमत्कार” शब्द बाइबल शब्दकोशमा यसरी परिभाषित गरिएको छ: “मानिसजातिलाई थाह भएका सारा ज्ञान र सारा प्राकृतिक शक्‍तिलाई माथ गर्ने भौतिक संसारमा रहेको प्रभाव जसको श्रेय कुनै अलौकिक माध्यमलाई दिइन्छ।”

b बाइबल विश्‍वास गर्न योग्यको छ भन्‍ने प्रमाण तपाईं केलाउन सक्नुहुन्छ। यो प्रमाण यहोवाका साक्षीहरूद्वारा प्रकाशित द बाइबल—गड्‌स वड्‌र्स अर मेन्स? शीर्षकको पुस्तकमा पाइन्छ।

[पृष्ठ ४-मा भएको पेटी]

किन कुनै खास चमत्कारहरू अब हुँदैनन्‌

बाइबलमा विभिन्‍न प्रकारका चमत्कारहरूबारे उल्लेख गरिएको छ। (प्रस्थान ७:१९-२१; १ राजा १७:१-७; १ राजा १८:२२-३८; २ राजा ५:१-१४; मत्ती ८:२४-२७; लूका १७:११-१९; यूहन्‍ना २:१-११; ९:१-७) यी चमत्कारहरू मध्ये धेरैजसोले येशूलाई मसीहको रूपमा चिनाउनुका साथै उहाँलाई परमेश्‍वरको समर्थन थियो भन्‍ने कुरालाई प्रमाणित गऱ्‍यो। येशूका प्रारम्भिक अनुयायीहरूले विभिन्‍न भाषामा बोल्ने अनि प्रेरित वाणीहरूको अर्थ खुट्याउने जस्ता चमत्कारपूर्ण वरदानहरू प्रदर्शित गरे। (प्रेरित २:५-१२; १ कोरिन्थी १२:२८-३१) भर्खरै स्थापना भएको मसीही मण्डलीको लागि यस्ता चमत्कारी वरदानहरू उपयोगी थिए। कारण के हो?

एउटा कारण त, धर्मशास्त्रका प्रतिहरू थोरै थिए। अक्सर धनीमानीहरूसित मात्र कुनै पनि प्रकारका पुस्तक तथा बेरुवाहरू हुने गर्थ्यो। गैरमसीही भूमिहरू बाइबल तथा यसका लेखक यहोवाबारे अनभिज्ञ थिए। मसीही शिक्षाहरू मौखिक रूपमै व्यक्‍त गर्नुपर्थ्यो। परमेश्‍वरले मसीही मण्डलीलाई चलाउँदै हुनुहुन्थ्यो भनेर देखाउन चमत्कारी वरदानहरू उपयोगी थिए।

तर यस्ता वरदानहरूको आवश्‍यकता नभएपछि यी हराउनेछन्‌ भनेर पावलले बताए। “प्रेम कहिल्यै टल्दैन, तर चाहे अगमवाणीहरू होऊन्‌, ती टली जान्छन्‌, चाहे भाषाहरू होऊन्‌, ती बन्द हुन्छन्‌। चाहे बुद्धि होस्‌, त्यो रद्दी हुन्छ। किनकि हामी केही मात्र जान्दछौं, औ केही मात्र अगमवाणी बोल्दछौं। तर जब सिद्धचाहिं आउँछ, तब अपूरो कुरो टलेर जान्छ।”—१ कोरिन्थी १३:८-१०.

आज मानिसहरूले बाइबलका साथै, अनुक्रमणिका र इन्साइक्लोपिडियाहरू हेर्न सक्छन्‌। साठी लाखभन्दा धेरै प्रशिक्षित मसीहीहरूले अरूलाई बाइबल आधारित ईश्‍वरीय ज्ञान हासिल गर्न मदत गर्दैछन्‌। तसर्थ, येशू ख्रीष्ट परमेश्‍वरद्वारा नियुक्‍त मुक्‍तिदाता हुनुहुन्छ भनेर पुष्टि गर्न अथवा यहोवाले आफ्ना सेवकहरूलाई समर्थन गरिरहनुभएको छ भनेर प्रमाणित गर्न चमत्कारको अब आवश्‍यकता छैन।